संगीत : राही, कार्की र फ्वाँ बागा रे

भीम घिमिरे

भारतको एक रेलवे स्टेसनमा सधैं भेटिने दृष्टिविहीनले गाएको सुनेपछि राहीले एउटा नाटकमा प्रयोग गरेको गीत उत्तराखण्डमा कालजयी भएको छ  ।

गत असार तेस्रो सातादेखि ‘टिकटक’ मा भाइरल कुमाउ–गढवालको गीत हो फ्वाँ बागा रे । साउनको महिनाभरि विरलै यस्ता दिन थिए, जुन दिन टिकटकका नेपाली प्रयोगकर्तामध्ये कसै न कसैले उक्त गीत बजाएर नाचेको संक्षिप्त भिडियो अपलोड गरेको नहोस् । संगीतलाई मानवताको भाषा भनिनु यहीँ चरितार्थ हुन्छ, भाषा नबुझे पनि धुन मन परे धेरैले सुनेकै हुन्छन् ।


कोरियन कलाकार साइको ‘गङनम स्टाइल’ होस् वा स्पेनिस–अमेरिकी भाषामा लुइस फोन्सी र ड्याडी यांकीले ल्याएको ‘डेस्पासिटो ।’ गीतहरू चर्चित हुनुका पछाडि संसारभरका संगीतप्रेमी भाषा होइन धुनको सम्मोहनमा परेको पुष्टि हुन्छ । यस्ता गीत जसमा कम्मर मर्काउन उपयुक्त छ, ती युट्युबमा धेरैपटक हेरिन्छन् । अब जे हेर्न र सुन्न खोजे पनि पाइन्छ भन्न सकिने अवस्था आइसकेको छ ।


भारत, उत्तराखण्डको क्यासेट कम्पनी नीलम उत्तराखण्डीले अपलोड गरेको ‘फ्वाँ बागा रे’ भिडियोविहीन छ । गीत र कलाकारका बारेमा पढ्न चाहनेका लागि अपलोडरले धेरै जानकारी दिएका छैनन् । ४ मिनेट ५६ सेकेन्डको गीत बजुन्जेल गीतकार चन्दरसिंह राही, गायक/गायिका पप्पु कार्की र सन्दीप सोनुको एउटै फोटो मात्रै देख्न सकिन्छ । भिडियो नभएकाले गीतमा नाच्न चाहनेका लागि बजाएर आफ्ना भावभंगिमा आफैं तय गर्ने छुट छ ।

गत बुधबारसम्ममा ९३ लाख ३८ हजार भ्युज पुगेको गीत भारतको उत्तराखण्डबाट नजिक सुदूरपश्चिम र कर्णाली हुँदै विभिन्न भूभागका नेपालीको ध्यानाकर्षण गरिरहेको छ । भाषा बुझ्नेहरू गढवाली उक्त भाकाको नयाँ भर्सनमा रमाएका छन्, नबुझ्नेहरू इन्टरनेटमा अर्थ खोज्न वेबसाइटका लिंकहरूका क्लिक गरिरहेका छन् । टिकटकमा रमाउनेहरू गीत बजाएर नाच्दै छोटो भिडियो दिनदिनै अपलोड गरिरहेका छन् ।

०००


‘फ्वाँ बागा रे’ को कान्छे भर्सन युट्युबमा अपलोड हुँदा त्यसका मुख्य गायक पप्पु कार्की ३४ वर्षको उमेरमै दिवंगत भएको वर्ष दिन र ७३ वर्षीय संकलक/सर्जक चन्दरसिंह राहीले भौतिक शरीर छाडेको तीन वर्ष बितिसकेको छ । गढवाली संगीतप्रेमीलाई गीतले पुनः दुवैलाई सम्झिरहन बाध्य पारेको छ । गीतमा कार्कीलाई बराबरीको साथ दिएका सन्दीप सोनु र कल्पना चौहान अहिले पनि उत्तराखण्डी गीत गाइरहेका छन् ।


गीतको चर्चा बढेसँगै विभिन्न अनलाइनहरूले ‘फ्वाँ बागा रे’ कसरी सिर्जना भएको हो भन्नेमा श्रष्टा चन्दरसिंह राहीले विभिन्न कार्यक्रममा बताएका प्रसंगलाई अनलाइनहरूले उल्लेख गरेका छन् । सन् ६०/७० को दशकमा दिल्ली–लखनउ हुँदै कोटद्धारको रेल स्टेसनमा एक दृष्टिविहीनले यो गीत गाउँथे । तिनको गीत सुनेकाहरूले आफूलाई त्यो रेलवे स्टेसन आउजाउ गरेको अपनत्व अनुभव गर्थे । संकलक एवं सर्जक राहीले केही वर्षअघिको एउटा अन्तर्वार्तामा भनेका छन्, ‘मैले उसैको मुखबाट सुनेको गीतलाई पूर्ण रूप दिएको हो ।’


कुमाउ–गढवालमा त्यो समय बाघको आतंक थियो । बाघ कसरी आउँछ, त्यसबाट कसले जोगाउँछ भन्ने दृष्टिविहीनले रेलवे स्टेसनमा यात्रीलाई गीतमा सुनाउँथे । गढवाली नाटककार राजेन्द्र धष्माणाको नाटक ‘अर्ध ग्रामेश्वर’ मा कोटद्धार रेलवे स्टेसनको दृश्य थियो । उनले राहीसँग सल्लाह गरे, नाटकमा स्टेसन कसरी देखाउने । त्यसको झल्को दिलाउने उक्त गीत राहीले मुम्बईमा मञ्चनका बेला प्रयोग गरे । त्यसयता सन् १९८५ देखि धेरैजनाले फ्वाँ बागा रे पटक पटक गाउँदै आएका छन् ।


युट्युबमै यसका थुप्रै भर्सन भेटिन्छन् । चर्चामा आएको पप्पु, सन्दीप र कल्पनाद्वारा स्वरबद्ध सबैभन्दा नयाँ भर्सन हो । जसरी झलकमान गन्धर्वका गीत नेपालीका नयाँ पुस्ता र अरू भाषाभाषीका कलाकारले गाएका भर्सन बेलाबेला युट्युबमा अपलोड गरिरहेका छन्, त्यस्तै छन् राहीद्वारा सिर्जना र संकलन भएका लोकगीतहरू । गीतले पुनः चर्चा पाउँदै गर्दा केही गढवालीले ब्लगमा लेखेका छन्— यो गीतले त्यो रेलवे स्टेसन र जमाना याद गराउँछ ।
०००


उत्तराखण्डको लोकसंगीत जगत्मा भीष्मपितामह भनिने चन्दरसिंह राही गढवालको गाउँमा जन्मिएका थिए । पहिलोपटक सन् १९६३ मार्च १३ मा अल इन्डिया रेडियोको देल्ही स्टेसनमा उनले ‘पर विना की’ गाए । कार्यक्रम भारतीय सैनिकका लागि थियो । उनको लोकप्रियता सन् १९७० मा एआईआरको नजिवावाद स्टेसनबाट गीत बज्न थालेपछि बढेको थियो ।

सन् १९८० ताका जन उनको गीत दूरदर्शनबाट प्रसारण भयो, लोकप्रियता अझ चुलियो । लोकभाका संकलन, सिर्जना र आफैं संगीत दिने उनी सरल स्वभावका थिए ।


गढवाली लवज उनको मोहक थियो । रेडियोमा गढवालीले उनको आवाज मन पराउँथे । सन् १९६६ मा उनले तयार पारेको ‘दिल को उमाल’ चर्चित छ । उनका प्रेरणाका स्रोत थिए गढवाली कवि कन्हैयालाल दान्द्रियल । चन्दरसिंह यात्रा गरिरहने भएकाले कन्हैयालालले नै उनलाई ‘राही’ को उपनाम दिएका थिए ।


राही गीत संकलन गर्थे, लेख्थे, धुन बनाउँथे र गाउँथे । उनका १४० वटा अडियो एल्बम छन् । जीवनकालमा उनले भारतका विभिन्न भागमा १५ सय हाराहारी सांगीतिक कार्यक्रममा प्रस्तुति दिएका थिए । उनले किताब लेखेका छन्, सामूहिक नृत्यका लागि धुन पनि बनाएका छन् । उनी ढोल, डमरु, दौर, थाली र हुरुकीजस्ता लोकबाजा पनि बजाउँथे । लोकसंगीतको विभिन्न आयामबारे उनका पुस्तक प्रकाशित छन् । उत्तराखण्डका विभिन्न भेगबाट उनले आफ्नो जीवनकालमा उनले करिब २५ सय हाराहारी लोकगीत संकलन गरेका थिए । युवावस्थामा कामको खोजीका लागि उनी दिल्ली पनि बसे । कमाइको बचत उनले घरपरिवार र अचल सम्पत्ति जोड्नको साटो उत्तराखण्डी लोकसंगीतमा लगाए । पैसा हुनेबित्तिकै उनी एल्बम रेकर्डिङ गर्थे ।
०००


‘फ्वाँ बागा रे’ बाट उत्तराखण्डबाहिर पनि चर्चा पाइरहेका पप्पु भनिने प्रवेन्द्रसिंह कार्कीका स्वरबद्ध तीन दर्जन गीत कुमाउ–गढवालमा सदाबहार छन् । गायन क्षेत्रलाई निरन्तरता दिनुअघि उनले निकै संघर्ष गर्नुपरेको थियो । घरको आर्थिक अवस्था नाजुक भएका उनी सन् २००३ देखि चार वर्ष नोकरीका लागि दिल्ली गएका थिए । त्यहाँ प्रिन्टिङ प्रेस र बैंकमा कार्यालय सहयोगीको काम गरेका थिए ।


पछि उत्तराखण्डको रुद्रपुर फिरेका उनी सन् २००६ को उत्तराखण्ड आइडलमा फर्स्ट रनरअप घोषित भए । त्यसपछि भने उनको सांगीतिक करिअर अघि बढ्यो । लगालग एल्बमहरू निकाले । सबैजसो हिट भए । उत्तराखण्डका विभिन्न सहरमा कन्सर्टका लागि व्यस्त भए ।

सानैदेखि लोकगीतको गायनमा रमाउने उनका थुप्रै गीत चर्चित छन् । नैनिताल महोत्सवमा आफ्नो प्रस्तुति दिएर चार साथीसँग हल्दवानी फिर्दै गर्दा भएको कार दुर्घटनामा सन् २०१८ जुन ९ मा उनको निधन भएको थियो । छोरा ७ वर्षीय दक्ष कार्कीले पिताको गीत आएको भिडियो पनि युट्युबमा छ ।


‘फ्वाँ बागा रे’ को नयाँ भर्सनमा कार्कीसँगै स्वर दिएका कल्पना चौहान र सन्दीप सोनु गढवाली लोकसंगीतका जमेका कलाकार हुन् । मुम्बईमा जन्मे–हुर्के पनि ५२ वर्षीया पिताको पुर्ख्यौली थलोको भाषा जान्दछिन् । गढवाली गीत नै गाउँछिन् । चौहानका पिता मुम्बई–गढवाल समाजका अध्यक्ष थिए ।
०००


राजनीतिक घटनाक्रम र शासन व्यवस्थाको फेरबदलले देशका भूगोलमा प्रभाव पारे पनि नेपालका साँध सिमाना वारिपारि परेर बसेकाहरूको पारिवारिक सम्बन्ध अझै पुरानै छ । सुदूरपश्चिम र कर्णालीका जिल्लाको उत्तराञ्चलसँगको पारिवारिक सम्बन्ध प्रगाढ छ । मुलुकको पश्चिमी सिमाना कञ्चनपुरको नाका नाघ्नेबित्तिकै सुरु हुने उत्तराखण्डको भूगोल सुदूरपश्चिमका पहाडी जिल्लाभन्दा पृथक् छैन । भाषा, वेशभूषा र रहनसहन मिल्ने भएकाले उताका लोकभाकामा सुदूरपश्चिम रमाउँछ, सुदूरका गीत संगीत कुमाउ–गढवालले चिन्छ।


(एजेन्सीहरुको सहयोगमा) प्रकाशित : भाद्र २८, २०७६ ०९:०७

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रकृति : माछा सिकारी

मान्छेको सम्पर्कबाट टाढै बस्ने यो जन्तु ॅमलाहा बिरालो’ राति राति सिकारका लागि निस्कन्छ । यसका बास रहेका क्षेत्र र आनीबानीका विषय विस्तृत अध्ययन हुनै बाँकी छ ।
भीम घिमिरे

 खोला किनार वा जलाशय छेउको बसाइँका बेला माछा खान मन लाग्यो  । जाल थाप्ने साधन वा बल्छी छैन भने चिन्ता लिनै पर्दैन  ।

एउटा टर्चलाइट र छुरी/खुकुरी वा कुनै प्रकारको तिखो घोचो खोजे पुग्छ । बेलुकी माछा किनारकिनार आएका हुन्छन् । टर्च बाल्दै पक्रन सकिन्छ । यो प्राकृतिक तरिकामा मान्छेभन्दा बढी अभ्यस्त बिरालो प्रजातिको एउटा जन्तु छ— फिसिङ क्याट अर्थात् मलाहा बिरालो ।


सप्तकोसी नदीको पूर्वी तटबन्ध छेउ राजावासदेखि हरिपुर कटानसम्म करिब चार सयवटा माछापोखरी छन् । सातवटा नदी मिलेर बनेको सप्तकोसीले नेपालभन्दा भारतमा विहारको भूभागलाई वर्षायाममा धेरै दुःख दिन्छ । विहारको यो दुःख निदानका लागि चार वर्ष लगाएर बनाइएको ब्यारेज सन् १९६२ देखि हालसम्म सञ्चालनमै छ । कोसीमा पश्चिम क्षेत्र सप्तरीका तुलनामा तमोर आएर मिसिने चतरादेखि हरिपुरसम्म नै पूर्वी क्षेत्रमा तटबन्ध छ । पश्चिम कुसाहामा जहाँ कोसीटप्पु वन्यजन्तु आरक्षको कार्यालय छ, त्यहाँ पुगेर घुम्नुपरे टेक्ने पहिलो बाटो कोसीको बाँध नै हो ।


बाँधपारि बस्ती र सिमसार क्षेत्रमा कोसीको पानी रसाएर आउने भएकाले वर्षैभरि सुक्ने अवस्था छैन । सिमसार भेटेका किसानले बाँध नजिक खेतीपाती गर्नुको साटो माछापालन उपयुक्त भन्ने बुझेपछि माछापालन गरेका छन् । तर, पोखरीमा भुरा हालेर लगानी र परिश्रमका तुलनामा फाइदा पाएनन् । डेढ दशकअघिसम्म पनि उक्त क्षेत्रका किसानले आफ्ना पोखरीका माछा कम हुनुको दोष चरालाई मात्रै दिइरहेका हुन्थे । पोखरीका माछा खाने जीव अरू पनि छन् भन्ने बुझ्न निकै समय लाग्यो ।

‘फरक–फरक पोखरीमा सातथरीका माछा हाल्यो, कमन र गास कार्प त हुँदै नहुने,’ सुनसरीको वराह–९ प्रकाशपुरका भीष्म अधिकारी भन्छन्, ‘सुरुसुरुमा चराले हाम्रो माछा ढुट्यायो भनेर भनेर झुल हाल्थ्यौं, अनेक उपाय लाउँथ्यौं । खाइदिने जन्तु अर्को पनि रहेछ ।’ केही दिनसम्म पोखरी आसपास ठूलो आवाजमा रेडियो खोलेर छाडिदिने उपाय पनि गरिहेर्दा काम नलागेपछि बिरालो मार्न थालेको उनले बताए । ‘मैले नै २०/२२ वटा बिरालो मारे हुँला । तर, त्यो दुर्लभ प्रजाति भन्ने के थाहा,’ उनी भन्छन्, ‘त्यो दुर्लभ हो, मार्न हुन्न भनेर बुझाउनेहरू आएयता मार्न छाडियो ।’ माछापालकले बिरालोलाई मात्रै दोष दिएर पनि ढुक्क बस्ने अवस्था नभएको उनले बताए । ‘हामी चरालाई पनि छेकबार लाउन पाउने अवस्थामा छैनौं,’ उनले भने, ‘वन्यजन्तु र चराले गर्ने नोक्सानीको क्षतिपूर्ति दिने व्यवस्था नभएसम्म आरक्ष जोगाइदिनुपर्छ भन्ने जनतालाई लाग्दैन ।’ अधिकारीले माछा खाइदिएर हुने क्षतिमा मलाहा बिरालोको दोष देखाए पनि माछापालकपिच्छे मत फरक छन् । ठूलो जमातले चिल, बकुल्ला र विभिन्न प्रजातिका पानीचराले माछा खाइदिने बताउँछन् ।


चरा र वन्यजन्तु संरक्षणबारे चेतनामूलक कार्यक्रम लिएर टप्पु पुग्ने संस्थाहरूका विकासे कार्यकर्ताको साझा अनुभव जनता आसे भए भन्ने छ । जुनसुकै वन्यजन्तु संरक्षणका कार्यक्रम लिएर पुगेकाले स्थानीयको सामना गर्ने पहिलो प्रश्न हुन्छ— त्यो जोगिएर हामीले के पाउँछौं ?

केही फरक विषयमा शोध गर्न रुचि राखेका प्राणीशास्त्रका विद्यार्थी सागर दाहालले जब सन् २००९ मा बम्बई नेचुरल हिस्ट्री म्युजियमको एउटा जर्नल किनेर ल्याए, त्यसमा आफ्ना लागि अध्ययनको एउटा विषय फेला पारे— विषय थियो फिसिङ क्याट अर्थात् मलाहा बिरालो । घरपालुवा बिरालो देखेका/पालेकाहरूका लागि यो नौलो लाग्ने विषय थिएन । तर, उक्त जर्नलमा सन् १९२१ मा मोरङको बंकलवामा एउटा भाले मलाहा बिरालो भेटिएको उल्लेख थियो । ‘त्योबेला सुनसरी र मोरङ एउटै जिल्ला रहेछ, यो झन्डै सय वर्षअघिको कुरा थियो,’ दाहाल भन्छन्, ‘अब पनि त्यसको अस्तित्व होला/नहोला भन्दै खोजी गर्ने योजना बनाइयो ।’ मान्छेका बस्तीछेउका सिमसार क्षेत्रमा रमाउने त्यो जन्तुको फोटो र सांकेतिक पहिचानबिनै बंकलवा भनिने ठाउँको खोजी सुरु भयो । त्यो क्षेत्रमा दुई महिना बसेपछि सप्तकोसीको पूर्वी तटबन्ध नजिकका बस्ती, खोला, रामधुनी जंगल छिचोलेका दाहालको टोलीले मलाहा बिरालो ‘क्यामेरा ट्र्याप’ मा फेला पार्‍यो । ‘हामीले सुनसरी र बारा गरी दुई जिल्लाका विभिन्न ठाउँलाई सम्भावित मानेर अध्ययन गर्‍यौं, क्यामेरा ट्र्यापमा भेटिएपछि अझै पाइने रहेछ भन्ने पुष्टि भयो,’ उनले भने, ‘जंगली भए पनि केही पशुपन्छी मान्छेका बस्ती वरपर नै बस्न रुचाउँछन्, त्यसमध्येको एउटा फिसिङ क्याट हो ।’


आईयूसीएनको सूचीमा लोपोन्मुख प्रजातिमा परेको उक्त बिरालोका बारेमा यतिबेला दाहाल नेपालभित्रै मात्र होइन अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि अवस्था प्रस्ट्याउन सहभागिता जनाइरहेका छन् । ‘ठूला आकारका वन्यजन्तुका लागि संसारभरका संरक्षणकर्मी र संस्थाको ध्यान पुगेको छ, सानामा छैन,’ उनी भन्छन्, ‘त्यसैले यो बिरालोमाथि पनि ध्यान पुग्न ढिला भएको स्थिति थियो ।’ तेजाब पुन र स्वेच्छा श्रेष्ठसहित दाहालको टोलीले रामधुनी वन क्षेत्रको दक्षिण र कोसीको पूर्वी भेगमा पुगेर उक्त बिरालोबारे अध्ययन मात्रै गरेन, त्यहाँका किसानलाई वन्यजन्तुबाट जोगाउने कुखुराको सुरक्षित खोर बनाउन सहयोग पनि गर्‍यो । साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनका अध्यक्षसमेत रहेका दाहाल भन्छन्, ‘हामीले बाराका तुलनामा कोसीमा मलाहा बिरालोको गतिविधि बढी भेटेका हौं तर यसको अनुसन्धान देशको अझै १७ ठाउँमा गर्न सकिने पहिल्याएका छौं ।’ मान्छेका घरमा नबस्ने तर, बस्ती र आवादी क्षेत्रकै वरिपरि बस्न रुचाउने यो जन्तुका विषयमा अझै अध्ययन हुन बाँकी रहेको उनले बताए ।

शोधार्थीहरूका अनुसार संसारभर पाइएका बिरालो प्रजातिका ४० जन्तुमध्ये हामीले ‘बिरालो’ नै भन्ने जन्तु नेपालमा नौवटा रहेको रेकर्ड छन् । घरपालुवा बिरालोभन्दा आकारमा दोब्बर ठूलो हुने मलाहा बिरालो दक्षिण पूर्वी एसियामा मात्रै पाइएका छन् । यो जन्तु नेपालसँगै बंगलादेश, कम्बोडिया, भारत, भियतनाम, इन्डोनेसिया, म्यान्मार, पाकिस्तान, श्रीलंका र थाइल्यान्डमा पाइन्छ । संरक्षणका लागि सम्बद्ध मुलुकका संरक्षणकर्मीको सञ्जाल पनि छ ।


लोपोन्मुखको सूचीमा रहेका गैंडा र हिउँ चितुवाजस्तै अवस्था मलाहा बिरालोको पनि छ । तर, सानो जन्तु भएकाले संरक्षणका कार्यक्रम सञ्चालन गर्ने निकायको ध्यान यसमा पुगेको छैन । सन् २०११ मा हिउँ चितुवा ३ सयदेखि ५ सय र गैंडा ४३५ वटा भएको ‘द स्टेटस अफ नेपाल्स म्यामल्स ः द नेसनल रेड लिस्ट सिरिज’ मा छ । नेपालमा उक्त बिरालो २०११ ताका १ सय ५० देखि २ सयवटा भएको अनुमान गरिएको भए पनि विस्तृत अध्ययन नै भएको छैन । बस्ती बिस्तारको तीव्रताले जंगल मासिएका छन्, धाप र सिमसार पुरिने क्रम पनि अचाक्ली छ । मान्छेसँग प्रत्यक्ष घम्साघम्सी हुनबाट आफूलाई जोगाएर बाँचेका मलाहा बिरालोजस्ता जन्तु सधैं संकटमा छन् ।


मलाहाले माछापोखरीमा पुर्‍याउने क्षति वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देर्िशकामा समेटिएको छैन । हात्ती, गैंडा, बाघ, भालु, चितुवा, हिउँचितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जंगली कुकुर, जंगली बँदेल, अर्ना, मगर गोही, गौरीगाई र अजिंगरबाट हुने मानवीय, पशुधन वा भण्डारण गरेको अन्नबाली, घरगोठ र उखु र केराखेती पुर्‍याएको नोक्सानीलाई निर्देशिकाले वन्यजन्तुबाट हुने क्षतिमा समेटेको छ । नेपालमा यो जन्तु सन् १८३६ मै पाइएको जर्नलहरूमा उल्लेख भए पनि सन् २०१६ पछि मात्रै चर्चा हुन थालेको पाइएका छन् । ‘जर्नल अफ थ्रेटेन्ड ट्याक्सा’ मा भेटिने लेखमा लेन रोथी टेलर, हेमसागर बराल, प्रभा पाण्डे र प्रतिभा कसपालले सन् २०११ देखि चार वर्ष कोसी टप्पुमा गरिएको अध्ययनले मलाहा बिरालो पाइएको उल्लेख छ । उक्त बिरालो टप्पुको माछा प्रशस्त पाइने ६ किमि क्षेत्र वरिपरि पाइएको जर्नलमा छ ।


‘फर्स्ट फोटोग्राफिक इभिडेन्स अफ फिसिङ क्याट इन पर्सा नेसनल पार्क, नेपाल’ शीर्षकको १३ जना मिलेर तयार पारेको अनुसन्धानात्मक लेखमा सन् २०१४ र २०१६ मा पर्सा निकुञ्ज क्षेत्रमा पनि मलाहा पाइएको उल्लेख छ । उक्त अनुसन्धानका क्रममा त्यो जन्तुको क्यामेरा ट्र्यापबाट खिचिएको तस्बिर पर्सा राष्ट्रिय निकुञ्जमा देख्न पाइन्छ । उक्त समूहका शोधार्थीमध्येका बाबुराम लामिछाने भन्छन् ‘त्यो क्यामेरा ट्र्याप खासमा बाघको अवस्था अनुगमन गर्नका लागि राखिएको थियो । रेकर्ड हेर्दै जाँदा फिसिङ क्याट पनि परेको भेटियो ।’ राति खिचिएको फोटो हेरेपछि त्यो बिरालो आहाराको खोजीमा कतै जाँदै गरेको हुनुपर्ने अवस्था बुझिएको उनले बताए । ‘सामान्यतः हामी त्यो बिरालो सिमसार र पानी रहेको एरियामै भेटिन्छ भनिरहेका थियौं तर त्यो खोलाको करिब ५ किमि पर्तिर क्यामेरामा परेको थियो,’ उनले भने, ‘त्यो फोटोले पर्सामा फिसिङ क्याट पाइने प्रमाणित मात्रै नगरी अध्ययनमा रुचि राख्नेलाई पनि सघायो ।’ क्यामेरा ट्रयापमा नपरुन्जेल मलाहा बिरालो पर्सामा पनि पाइन्छ भन्ने जानकारी बाहिर नआएको उनले बताए ।

टाढाबाट बाघ वा चितुवाजस्तो भान पर्ने मलाहा बिरालो आकारमा भने केही सानो हुन्छ । प्रस्ट खुट्याउन नसक्नेहरू यसलाई सानो चितुवा भन्ठान्छन् । यसको टाउकोदेखि पुच्छरतर्फ खेरौ पृष्ठभूमिमा झन्डै समानान्तर रूपमा ६ देखि ८ वटासम्म काला थोप्ला लहरै हुन्छन्  । ७ किलोसम्मको हुने यो जन्तु १ फिट अग्लो र ८० सेमिसम्म लामो हुन्छ । राति मात्रै सक्रिय हुने यो प्राणी घर बिरालोभन्दा भुँडी ठूलो भएको र अलि अल्छी हुन्छ । दिउसो सिमसार नजिकका झाडीहरूमा बस्छ । मलाहाका ढाडेले एकभन्दा बढी पोथीसँग संसर्ग गर्छ । पोथीले करिब १० हप्तामा दुईदेखि चारवटासम्म बच्चा जन्माउँछे । जन्मेको दुई सातादेखि आँखा खुल्ने छाउरा छाउरी १० महिनाको भएपछि माउबाट छुट्टिन्छन् । पोथी करिब ६ किमि क्षेत्रभित्र घुम्छन् भने भाले २२ किमि क्षेत्रसम्म घुम्छन् । मुख्य आहारा माछा भए पनि मलाहा बिरालोहरू मुसा, भ्यागुता, गंगटा, शंखेकीरा, सर्प र चराको पनि सिकार गर्छन् ।


मलाहा बिरालोलाई नै मूल विषय बनाएर विद्यावारिधि गर्ने तयारीमा रहेकी चितवनकी रमा मिश्र भन्छिन्, ‘कतिपय माछापालकले त्यो बिरालो पर्यावरणीय सन्तुलनका हिसाबले हाम्रो सहयोगी भनेर बल्ल बुझ्दै छन् ।’ राष्ट्रिय प्रकृति संरक्षण कोषका तीन फरक परियोजनाअन्तर्गत उक्त बिरालोका बारेकै अध्ययनको सिलसिलामा कोसीटप्पु पनि पुगेकी उनले समुदाय बिस्तारै सकारात्मक हुँदै आएको पाइएको बताइन् । ‘मलाहा बिरालोले खाने माछा एक पाउदेखि आधा किलोको मात्रै हुन्छ, त्योभन्दा सानो वा ठूलो त्यसले अँठ्याउन सक्दैन,’ उनी भन्छिन्, ‘भुरा खायो, १/२ किलोकै खायो भन्नेहरू पनि भेटिन्छन् तर त्यसको पुष्टिको आधार छैन ।’ पोखरी आसपासको क्षेत्रमा धान वा गहुँ खेती हुन्छ । त्यहाँ पाइने मुसा मलाहाले सिकार गर्दा किसानलाई नजानिँदो पाराले सहयोग हुने उनले बताइन् । ‘टप्पुमा बाघ र चितुवा पाइँदैन, संरक्षण प्रभावकारी हुन सके त्यही बिरालो देखाएर पनि घुम्न आउनेलाई हामीकहाँ पाइने सिकारी जन्तु यही हो भन्न सकिन्छ,’ उनी भन्छिन्, ‘मैले चितवनको जंगल क्षेत्र र कोसीको बस्ती क्षेत्रमा अध्ययन गर्दा कोसीमा त्यसको संख्या राम्रो छ भन्न सक्छु ।’


सन् २०१० यता नेपाली शोधार्थीहरूको ध्यान मलाहा बिरालोमा रहिआएको अनुसन्धानका जर्नलहरूले देखाउँछन् । खास खास क्षेत्र छनोट गरेर अरू नै विषयको अध्ययन गर्दा मलाहाले ध्यान खिचेका शोधार्थी थुप्रै जना छन् । संरक्षितको सूचीमा नपरेको यो जन्तु वन बिरालो र चरी बाघभन्दा फरक श्रेणीको होइन । त्यसैले संरक्षण हुन सके यसका विचरण हुने क्षेत्रमा वन्यजन्तुमाथि अध्ययनमा रुचि राख्नेका लागि पर्यटनको अर्को आधार पनि तयार हुनेछ । हालसम्म सीमित क्षेत्रमा भएका अध्ययनले यो जन्तु हामीकहाँ निकै कम संख्यामा रहेको अनुमान गरिएको छ । त्यसैले यो दुर्लभ हो । तर, सरकारलाई उक्त जन्तु संरक्षित सूचीमा राख्ने आवश्यकता बोध भइसकेको छैन । संरक्षितको सूचीमा परेको लेपर्ड क्याट (चरी बाघ) को अवस्था मलाहाको भन्दा राम्रो छ । छिमेकी देश भारतमा बाघ संरक्षणको हैसियतमै मलाहा पनि छ । मलाहालाई फश्चिम बंगालमा ‘स्टेट एनिमल’ को दर्जामा राखिएको छ ।
bhim@kmg.com.np

प्रकाशित : भाद्र २१, २०७६ १०:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×