कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विमर्श : के हो बीपी चिन्तन?

बीपी कोइरालाको बहुआयामिक व्यक्तित्वबारे बेलाबेला चर्चा भइरहन्छ । उनको जन्मतिथि आइरहेका बेला यहाँ ती आयाम तथा बीपी चिन्तनका विविध पक्षबारे खोतलिएको छ ।
रत्नमणि नेपाल

बीपी कोइरालापछिको समय जति तन्किँदो छ त्यति नै उनको विचारक व्यक्तित्व स्वीकार्य हुँदै गएको देखिन्छ  । बीपी विचारका नयाँ पोयाहरू पनि खोलिँदै गएका छन्  ।

विमर्श : के हो बीपी चिन्तन?

कुनै समय अन्तर्राष्ट्रिय तहमा समेत उनको वैचारिक उचाइको खुलेर प्रशंसा भएको थियो । जर्मनीका तत्कालीन चान्सलर विली ब्रान्टले बीपीलाई समाजवादको समसामयिक व्याख्याताका रूपमा प्रशंसा गरेका छन् । कदाचित आधुनिक नेपालमा विचारकको सम्मानित स्थान पाउने उनी एक भाग्यमानी व्यक्ति होऊन् ।


उत्तर सामन्तवादी चिन्तन
राष्ट्रियता, प्रजातन्त्र र समाजवाद बीपी चिन्तनका तीन खम्बाहरू मानिन्छन् । तर यी तीनै विषयको अन्तर्यमा आधुनिकता रहेको देखिन्छ । व्यापक आधुनिकीकरण मूल रूपमा उत्तर सामन्तवादी समयकालको दर्शन हो । यसको साइनो पुँजीवादसँग पनि उत्तिकै छ । राणाशाहीका विरूद्ध सशस्त्र क्रान्तिको उद्घोष गर्दा बीपीले सामन्तवादले सदियौंदेखि गाडेको जरा उखेलेर फाल्ने र आधुनिक नेपाल निर्माण गर्ने ध्येय प्रकट गरेका छन् । हुकुमी शासनको ठाउँमा जनउत्तरदायी लोकतान्त्रिक शासनको पक्षमा जनमत निर्माण गर्न आह्वान गरेका छन् । आवधिक निर्वाचन, कानुनी शासन, बहुदलीय संसदीय व्यवस्था, विकेन्द्रीकरणजस्ता पुँजीवादी लोकतन्त्र निकट संस्थाहरूको स्थापनामा बीपीले जोड दिएका छन् । राजदरबार या सेना या एकल नेतृत्वको आदेशमा कुनै प्रणाली चल्छ भने त्यो सामन्तवादी ठहरिन्छ । शासन सञ्चालनमा लोकतान्त्रिक संस्थाहरूको आधार लिइन्छ भने त्यो आधुनिकीकरणको परिचायक हो ।


आर्थिक विकास चिन्तनको क्षेत्रमा औद्योगिक संरक्षणवाद र आयात प्रतिस्थापनजस्ता रणनीतिको आंशिक कुरा गरे तापनि बीपी मूल रूपमा खुला बजार अर्थतन्त्रको पक्षमा देखिन्छन् । उनी निजी सम्पत्तिका पक्षधर छन् । वैदेशिक लगानीमा उनको विरोध छैन । बाहिरी दुनियासँग ऋण लिने सन्दर्भमा पनि बीपीको आपत्ति छैन । विदेशी तथा स्वदेशी दुवै लगानीको परिचालन गरी औद्योगिकीकरण र औद्योगिकीकरण मार्फत राष्ट्रिय पुँजीको निर्माण गर्ने उनको सोच रहेको छ । औद्योगिकीकरणलाई कृषिमाथिको निर्भरता घटाउने र आम रोजगारी सिर्जना गर्ने रणनीतिका रूपमा लिएको देखिन्छ । अर्कोतिर बीपीको बुझाइ रहेको छ कि समाजबाट छुवाछूत, उँच–नीचजस्ता दुर्भावना अन्त्य गर्न पनि औद्योगिकीकरण चाहिन्छ । उनको यो भनाइमा सामाजिक आधुनिकीकरणको सोच निहित छ । सामन्तवादी समाजमा नै सामाजिक पदसोपान र छुवाछूतजस्ता संस्कार हुने हुनाले बीपीको उक्त चिन्तन उत्तर सामन्तवादी देखिन पुगेको हो ।


खुला बजारका पक्षमा हुँदाहुँदै पनि बीपीले राज्यको निमयनकारी नेतृत्वदायी क्रियाशील भूमिकालाई विशेष महत्त्व दिएका छन् । उत्पादनमुखी लगानीलाई कर छुट, विर्ता खारेजी, प्रगतिशील करको घोषणा आदि यसैका केही निदान हुन् । उत्पादन प्रक्रियामा समुदाय, बजार संयन्त्र र राज्यको समुचित परिचालनका पक्षमा उनी देखिन्छन् । आजभोलिको भाषामा भन्दा यो विचार समन्वयकारी बजार अर्थतन्त्रको निकट छ । यस अर्थमा बीपीको आर्थिक र सामाजिक चिन्तनको समुच्च भनेको विकासे राज्यको रूपमा नेपाललाई क्रियाशील गराउनु रहेको बुझ्न सकिन्छ । त्यस्तो राज्य जसका हरेक संस्था आर्थिक, सामाजिक उत्पादनको व्यापक प्रक्रियामा हरहमेसा क्रियाशील रहन्छन् ।


समाजवादी चिन्तन
समाजवाद के हो भन्नेबारे बीपीको बडो महत्त्वपूर्ण कथन छ । उनी भन्छन्— साम्यवाद या कम्युनिज्ममा प्रजातन्त्र थपिदियो भने त्यो समाजवाद हुन्छ, समाजवादबाट प्रजातन्त्र झिकिदियो भने त्यो साम्यवाद हुन्छ । यसको अर्थ हो बीपीको समाजवादी चिन्तनमा राजनीति र आर्थिक नीति दुवै अन्तरनिहित छन् । त्यो राजनीति भनेको प्रजातन्त्र हो । समाजवादी अर्थनीति के हो भन्ने प्रश्नमा बीपीले लामो व्याख्या गरेको नपाइए तापनि उनको आर्थिक प्रजातन्त्रबारेको अवधारणामा त्यो देख्न सकिन्छ । बीपीको भनाइमा प्रजातन्त्रको प्राप्ति राजनीतिक र आर्थिक दुवै किसिमले हुनु आवश्यक छ । यसको अर्थ हो राजनीतिक अधिकार प्राप्त भयो तर आर्थिक अधिकार उपलब्ध भएन भने त्यहाँ वास्तविक प्रजातन्त्र अझै आइसकेको मान्न सकिन्न । आर्थिक अधिकार भनेका सम्मानित रोजगारी, राष्ट्रिय आयको समुचित वितरण र सबै वर्ग र समुदायको स्रोत र साधनमा न्यायपूर्ण पहुँचलगायतका विषय हुन् । यसको आधार आर्थिक प्रजातन्त्र हो जसले उत्पादन प्रक्रियामा राज्य र राज्यका सम्पूर्ण संस्थाहरूको उत्साहबर्द्धक सहभागिताको माग गर्छ । यसले अर्थतन्त्रको उत्पादन क्षमता वृद्धि गर्छ र राष्ट्रिय पुँजीको निर्माण द्रुत गतिमा गराउँछ ।


बीपीले सामाजवादको कुरा गर्दा राजनीतिक विषयलाई पहिलो प्राथमिकता दिएका छन् । आर्थिक विषयहरू प्राथमिकतामा पछि छन् । राजनीतिक विषयलाई बढी महत्त्व दिनुमा देशमा प्रजातन्त्र संस्थागत नभइसकेको अवस्था मूल कारण देखिन्छ । किनभने बीपी विचारमा बिनाप्रजातन्त्रको समाजवाद साम्यवाद वा परम्परागत कम्युनिज्म मात्र हो । त्यसैलाई उनले प्रजातान्त्रिक समाजवाद नाम दिए । बीपी विचारको केन्द्रीय तत्त्व भनेको व्यक्ति हो । यसको सम्बन्ध पनि प्रजातान्त्रिक समाजवादसँगै छ । उनी हरेक व्यक्तिमा प्रचुर सम्भावना रहेको देख्दछन् । तर त्यो सम्भावनाको उद्घाटन कुन राजनीतिक प्रणालीमा सम्भव छ त ? त्यो उद्घाटित सम्भावनालाई अराजक, अनैतिक हुन कसरी रोक्ने ? बीपी भन्छन्— समाजवाद भनेको त्यो लहर हो जसले मानिसको क्षमताको उद्बोधन गर्छ । हरेक क्षण मानव हुनुको आत्मगौरव गराउँछ । र, महान् लक्ष्यका लागि क्रियाशील हुन उत्प्रेरित गरिरहन्छ । बीपीको समाजवाद आधुनिक तथा भौतिकवादी स्वरूप ग्रहण गर्छ । बीपी भन्छन्— समाज कुनै दैवी संरचना होइन । न यो दैवी नियमले नै चल्छ । उनका विचारमा समाज भौतिक हो र यसको सञ्चालन त्यहाँ बस्ने मानिसहरूको सामूहिक इच्छा र चाहनाले हुन्छ । त्यसकारण समाजवाद भनेको धर्म, वर्ग, जात, निरपेक्ष अवधारणा हो भन्ने उनको विचार देखिन्छ । बीपीले पशुपति मन्दिरमा तीर्थ गर्न आएका तीर्थालुहरूको सम्मान गरेका छन् । तर पूजापाठ, व्रत, होम गर्दैमा भगवान्ले व्रतालुका सबै दुःख हरण गरिदिन्छन्, उसलाई समृद्ध बनाइदिन्छन् भन्नेमा बीपीलाई विश्वास छैन । बीपीले २०१९ सालको संविधानले व्यवस्था गरेको हिन्द ुराष्ट्र नेपाल घोषणाको खुलेर विरोध गरेका छन् । उनी ब्राह्मण कुलका थिए तर जनै लगाउँदैन थिए । आमाबाबुको काज–किरिया पनि नगरेको उल्लेख पाइन्छ । बीपी भन्छन्— समाजवाद भनेको जीवित सिद्धान्त हो जसको अन्तिम लक्ष्य स्वतन्त्र आधुनिक समाज र नयाँ मानिसको निमार्ण गर्नु हो ।


विकास चिन्तन
बीपी कोइरालाको विकासवादका बारेमा आम बुझाइ के रहेको छ भने उनी गान्धीवादका नजिक थिए । उनी स्वयम्ले भनेका छन् कि म प्रारम्भमा गान्धीवादी रहें । बीचमा मार्क्सवादी र अन्त्यमा फेरि गान्धीवादी । गान्धीवादकै मुताविक बीपी विकेन्द्रीकृत स्वायत्त एकाइहरूको गठन मार्फत जनसहभागितामूलक विकास होस् भन्ने चाहन्थे । गान्धीको झैं साना तथा मझौला प्रविधि र पर्यावरणमैत्री इन्धनको प्रयोगमा बीपीले पनि जोड दिएका छन् । ठूला उद्योग कलकारखाना, सडक तथा बृहत्तर विकास योजनाका विपक्षमा बीपी देखिन्छन् । यसबाट बीपीको विकास चिन्तन गान्धीवादी नै थियो भन्ने पुष्टि पनि हुन्छ । तर प्रश्न के हो भने बीपीका यी विचार कुन समयका हुन् ? के उनी जीवनको सम्पूर्ण समय यस्तै विचारका पक्षपाती थिए त ? उत्तर हुन्छ— थिएनन् । न्धीवादको निकट लाग्ने खालका विकास अवधारणा बीपीले तीसको दशकको अन्त्यतिर राखेका छन् । प्रधानमन्त्री हुँदासम्मका बीपीका विकास अवधारणा गान्धीवादको बीपीरत देखिन्छन् । कदाचित यस कालमा बीपी मार्क्सवादको प्रभावमा पुँजीवादी शैलीको तीव्र आधुनिकीकरणको पक्षमा उभिएका देखिन्छन् ।


यो कस्तो विकास चिन्तनको अवस्था हो ? क्यालिफोर्निया विश्वविद्यालयका समाजशास्त्र र विकास अध्ययनका प्राध्यापक यान नेदरभिन पिटर्स भन्छन् विकास चिन्तन कुनै शून्यबाट उत्पत्ति हुने कुरा होइन । यो कि आफ्नो विचारधाराको हैकम जमाउने नभए स्थापित हुकुमी विचारधाराको विरोध गर्ने खालको हुन्छ । सरल अर्थमा भन्ने हो भने विकास चिन्तन राजनीतिक प्रतिरोध गर्ने साधन पनि हो । उनले यसको व्याख्या प्रभुत्व र प्रतिप्रभुत्वजस्ता अवधारणाको सहायताले गरेका छन् । उनका विचारमा आधुनिक विकास अवधारणाहरूजस्तै आधुनिकीकरण, परनिर्भरता सिद्धान्त, दिगो विकास आदिको विकास पनि प्रभुत्व र प्रतिप्रभुत्वको चक्करबाटै भएको हो । यसअनुसार बीपीको विकास अवधारणाको पछिल्लो चरणमा गान्धीवाद आउनुमा प्रतिप्रभुत्वको परिस्थितिजन्य कारण मात्र हो कि भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।


यसो भन्नुको तात्पर्य के हो भने पञ्चायती विकास शैलीको विरोधमा बीपीका पछिल्ला गान्धीवादी मत आएका हुन् । यो भनेको पञ्चायती निरंकुश शासनकै विरोध पनि हो, प्रतिप्रभुत्व हो । त्यसैले उनले पूर्वपश्चिम राजमार्गको विरोध गरे । जब कि उक्त राजमार्गको अवधारणा बीपी नेतृत्वकै सरकारले अगाडि बढाएर मित्रराष्ट्र रुसको सहयोगमा सर्वेक्षण गर्ने निधोसमेत भइसकेको थियो । त्यति मात्र होइन उनी प्रधानमन्त्री हुँदै केही युवालाई अत्याधुनिक प्रविधिजस्तै बुल्डोजर चलाउनेलगायतका अल्पकालिन तालिम दिनेबारे अमेरिकासँग सम्झौता भइसकेको थियो । जब कि पछिल्लो गान्धीवादी चरणमा बीपीले विकास निमार्णमा बुल्डोजरको प्रयोगको खुलेर विरोध गरेका छन् ।


विकासका सन्दर्भमा बीपीको विचार त उनी प्रधानमन्त्री भएको समयमा अख्तियार गरिएका कार्यक्रमहरूबाट स्पष्ट देखिन्छ । ज्ञातव्य छ कि यो समयमा बीपी उनकै भनाइमा मार्क्सवादी थिए । यो समयमा उनी स्वदेशी तथा विदेशी दुवै स्रोतको परिचालन गरी तीव्र आर्थिक वृद्धि गर्ने ध्येयमा देखिन्छन् । उनले उद्योग, सडक, यातायात, सिँचाइ, सञ्चारका क्षेत्रमा व्यापक लगानी विस्तार गरी भौतिक विकास गर्ने योजना अघि सारेका छन् । त्यसका लागि भारत, अमेरिकासमेत संलग्न भएको क्षेत्रीय यातायात संगठनको निर्माण गरी पूर्व पश्चिम, पहाड तथा तराईमा सडक निर्माणको अभियानै चलाइएको पाइन्छ । उद्योगका क्षेत्रमा त भारतको बम्बै कर्पोरेसनमा आबद्ध लगानीकर्ता, उद्योगी, व्यापारीलाई नेपालमा लगानी गरे दस वर्षसम्म आम्दानीमा कर नलगाउने वचनसमेत दिइएको थियो । अमेरिका, रुस, चीन, भारत, स्विटजरल्यान्डलगायतका देशसँग उद्योगधन्दा खोल्न सम्झौता गर्ने निर्णय गरी प्रक्रिया अघि बढाइएको थियो । काठमाडौंबाहेक जनकपुर, राजविराज, गोरखा, भरतपुर, सुर्खेत, तुम्लिङटारलगायतका ठाउँमा विमानस्थल निमार्ण अघि बढाइको समेत पाइन्छ ।


यहाँ बीपी गान्धीका अन्धभक्त थिएनन् भन्ने कुरा पनि बिर्सनु हुँदैन । विसं २०२६ असोजमा भारतको बनारसमा गान्धीको शतवार्षिकीका अवसरमा आयोजित कार्यक्रमा प्रमुख वक्ताका रूपमा बीपीले गान्धीवादी अहिंसा र विकेन्द्रीकरण नेपालजस्ता सामन्तवादी समाजमा अव्यावहारिक हुने बताएका छन् । साना र परम्परागत प्रविधिले उत्पादनको मात्रा न्यून हुने भन्दै बढ्दो जनसंख्याको मागको पूर्ति, दरिद्रता र आर्थिक पछौटेपनको अन्त्य हुँदैन भन्ने उनको भनाइ छ । त्यसकारण गान्धीवादी राजनीतिक, आर्थिक र सामाजिक संरचना प्रगतिशील हुँदैन भन्ने बीपीको भनाइ देखिन्छ । गान्धीवादी दर्शन नै धेरै हदसम्म स्थिर र महाआदर्शवादी भएको उनको भनाइ छ । बरु गान्धीवादमा भएको अध्यात्मवादी धार्मिक तत्त्व पश्चिमा समाजमा आवश्यक रहेको उनको मत छ । बीपीको गान्धीवाद आलोचनाबाट पनि यो कुरा बुझ्न सकिन्छ कि उनले पछिल्लो चरणमा गान्धीवादी मत राख्नुको कारण तत्कालीन राज्यले अख्तियार गरेको विकास नीतिको प्रतिरोधकै एउटा अंग हो ।


निष्कर्षमा यो भन्न सकिन्छ कि बीपी चिन्तन उदारवादी र व्यवहारवादी भएको हुनाले यसको समग्रताको भेउ पाउन कठिन छ । तथापि उनका साहित्येत्तर विचार उत्तर सामन्तवादका निकट छन् जसले समग्र आधुनिकीकरणको वकालत गर्छन् ।

प्रकाशित : भाद्र २१, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?