कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बढ्दो लोकप्रियता

कुशल तिमल्सिना

सात वर्ष अघि स्कुल पढ्दै गरेकी रमिला तण्डुकार स्पोर्टस अवार्डमा लोकप्रिय खेलाडी बनिन्  । उनी स्कुलकै न्यू डायमन्ड एकेडेमीबाट भलिबल खेल्दै थिइन्  ।

बढ्दो लोकप्रियता

राष्ट्रिय टोलीमा पनि छिर्न भ्याएकी थिइनन् । उनले फुटबलको स्थापित नाम स्ट्राइकर भरत खवासलाई पछि पार्दै खेलकुद पत्रकारले प्रदान गर्ने प्रतिष्ठित अवार्डमा लोकप्रिय विधा जित्न सफल भइन् ।

स्पोर्टस अवार्डको इतिहास हेर्ने हो भने भलिबल खेलकै वर्चस्व रहँदै आएको छ । अवार्डको १६ औं संस्करणसम्म आउँदा लोकप्रिय खेलाडीको विधामा अधिकांश भलिबलकै खेलाडीले जित हासिल गरेका छन् । मञ्जु, सिपोरा, रमिला, सरस्वती चौधरी, प्रतिभा मालीदेखि यस संस्करणमा रेश्मा भण्डारी पनि लोकप्रियताकै आधारमा अवार्ड विजेता बनेका छन् । भलिबलको खेलाडी मनोनयनमा परेमा उसले नै यो अवार्ड जित्ने निश्चितजस्तै भएको छ ।

नेपाल भलिबल संघले हालै एसियाली सिनियर मेन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिता आयोजना गर्‍यो । यसलाई सफल आयोजनाको रूपमा हेरियो । एसियालीस्तरको प्रतियोगिता नेपालमा आयोजना भएको यो पहिलो पटक थियो । २ वर्षअघि राष्ट्रिय खेलको रूपमा मान्यता पाएको भलिबलले पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसर पाउनुमा नेपालमा यसको लोकप्रियताले धेरै हदसम्म भूमिका थियो । नेपाली सेनाको शारीरिक सुगठन तथा तालिम केन्द्रको कभर्डहलमा दर्शकको चाप नेपालको खेल भएको दिन मात्र होइन प्रतियोगिताभर उस्तै रह्यो ।

यसबाट भलिबल संघ के निष्कर्षमा पुगेको छ भने व्यवस्थापनको हिसाबमा एसियाली स्तरको जुनसुकै प्रतियोगिता आयोजना गर्न सक्षम छ । करिब ३ हजार दर्शक क्षमता रहेको आर्मीको कभर्डहलमा नेपालको खेल भएका दिन गेट बाहिरैबाट फर्कनुपरेका समर्थकको संख्या पनि उत्तिकै थियो । उल्लेखनीय के रह्यो भने किर्गिस्तान र उज्वेकिस्तानबीचको फाइनलको दिन पनि कभर्डहलमा बस्ने ठाउँ थिएन । यो माहोल र उत्साहलाई कायम राख्न सकेको खण्डमा नेपालमा फुटबल र क्रिकेटपछि भलिबल नै लोकप्रिय खेलको क्रममा आउनेछ ।

सामान्यतः लोकप्रियताको आधार उसको समर्थकको लगाव नै हो । नेपालका सबै जिल्ला क्षेत्रमा खेलिने भलिबलको लोकप्रियताको आधार पनि यही हो । देशभर महिला र पुरुषको गरी दुई दर्जनजति राष्ट्रियस्तरका प्रतियोगिता हुन्छन् । दसैं, तीज, नयाँ वर्षलगायतका चाडपर्वमा खेलकुद गतिविधिको आयोजना गर्दा भलिबल पहिलो प्राथमिकतामा पर्छ ।

अन्य खेलका धेरै खेलाडी सुगम क्षेत्रका हुन्छन् । भलिबलका खेलाडी ठीक त्यसको उल्टो छ । सबैजसो खेलाडी पहाडी भेगका छन् । गाउँगाउँबाट भलिबल सिकेर करिअर विकास गरेका छन् । अहिले पुरुष राष्ट्रिय टोलीका ओखलढुंगा, दार्चुला, डडेल्धुरा, बझाङ, गोरखा, कास्की, गुल्मी, तनहुँ, खोटाङ र रामेछापका खेलाडी छन् । यसले पनि भलिबलको लोकप्रियतालाई मापन गर्छ । महिला राष्ट्रिय खेलाडीहरू पनि अधिकांश ग्रामीण क्षेत्रका छन् ।

सन् १९७८ को एसियाली खेलकुदमा नेपालको भलिबलले पहिलोपल्ट अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको थियो । ४ दशकको इतिहासमा यसले धेरै उतारचढाव बेहोर्‍यो । अन्तर्राष्ट्रियस्तरका ठूला प्रतियोगिताको आयोजना तथा राष्ट्रिय खेलको माहोलसँगै उसले आफ्नो गुमेको विरासत फिर्ता पाउँदै छ ।

सन् १९७८ को एसियाली खेलकुदमा नेपालको भलिबल मार्फत प्रतिनिधित्व गर्नेमध्येका एक हुन् कपिलकिशोर श्रेष्ठ । घरेलु भलिबलका सफल प्रशिक्षकमध्येका एक श्रेष्ठको अनुभवमा पनि नेपालमा भलिबलको लोकप्रियता सुरुदेखि नै उस्तै ग्राफमा देखिन्छ । ‘त्यति बेला पनि भलिबललाई माया गर्नेहरूको कमी थिएन । २०४४ सालमा रुस, चीन, थाइल्यान्डलाई बोलाएर गरिएको प्रतियोगितामा पनि समर्थकको सहभागिता त्यस्तै थियोजस्तो हालै सेन्ट्रल जोनमा थियो,’ उनले थपे, ‘अहिले प्रतियोगिता धेरै भयो । सञ्चारमाध्यमको प्रभावकारिताले पनि मानिसहरूलाई भलिबलको अपडेटका लागि सहज बन्यो ।

सशस्त्र युद्धका क्रममा तत्कालीन माओवादी विद्रोहीहरूले भलिबल प्रतियोगिता आयोजना गर्थे । ‘कतिपय समयमा हाम्रा रेफ्रीहरूलाई अपहरणको शैलीमा लगेर प्रतियोगितापछि ससम्मान बिदाइ गरेको उदाहरण पनि छ,’ श्रेष्ठले भने । सम्भवतः लामो इतिहास बोकेको भलिबल अहिले लोकप्रियताको चरम अवस्थामा छ । पुरुषको तुलनामा महिला भलिबलको माहोल बढेको देखिन्छ । महिलाका दर्जनभन्दा बढी राष्ट्रियस्तरका प्रतियोगिता आयोजना हुने गरेका छन् ।

नेपालमा भलिबलको लोकप्रियताको आधार अवलोकन गर्नका लागि हरेक वर्ष जाडो मौसममा नयाँ बसपार्क परिसरमा आयोजना हुने ढोरपाटन कप भलिबल प्रतियोगिता हेरे पुग्छ । यसमा महिलाको १४ औं संस्करणसम्म निरन्तरता पाउनु आफैंमा उल्लेख्य उपलब्धि हो । नेपालकै पहिलो र एक मात्र डबल लिग भलिबलको आकर्षण यतिसम्म थियो कि प्रतियोगिताको दौरान उपत्यकाबाहिरबाट समेत समर्थकहरू आउने गरेका थिए । राष्ट्रिय खेलाडीको छनोटको आधार यही प्रतियोगिताबाट पनि हुने गरेको थियो/छ । सिपोरा गुरुङ, मञ्जु गुरुङ, सरस्वती चौधरी, निमा श्रेष्ठको करिअरको गति बढाउन ढोरपाटनको योगदान उल्लेखनीय थियो ।

गृहजिल्ला बाग्लुङको ढोरपाटन क्षेत्रलाई प्रतिनिधित्व गरी क्लब स्थापना गरेका मनवीर छन्त्यालले देशकै भलिबलको व्यावसायिकतामा कोसेढुंगाको योगदान दिएका छन् । आफू राष्ट्रिय टोलीबाट खेल्न नपाए पनि भलिबलप्रतिको समर्पणकै कारण उनले धेरै राष्ट्रिय खेलाडी जन्माएका छन् । क्षमतावान खेलाडीका लागि अवसर दिएका छन् । १५ वर्षसम्म लगातार प्रतियोगिताको सफलता देखेका उनलाई के लागेको छ भने निरन्तरता दिन सकियो भने सफलता र लोकप्रियता आफैं आउने कुरा हुन् । उनले आफ्नोजस्तो प्रतियोगिता हरेक प्रदेशमा, जिल्लामा र स्थानीय तहमा पनि हुनुपर्ने राय प्रस्तुत गरे । उनी भलिबल संघका सचिवसमेत हुन् ।
६ वर्षअघिसम्म नेपालमा भलिबल गतिविधि सीमित थियो । दानबहादुर तामाङ नेतृत्वको कार्यसमितिले वार्षिक क्यालेन्डर बनाएर भलिबलको प्रचारमा जोड दियो । वर्तमान कार्यसमितिले त्यसलाई विस्तार मात्र गरेन राष्ट्रिय खेल घोषणा गर्नदेखि एसियालीस्तरको प्रतियोगिता आयोजना गर्नसम्म अहोरात्र खटियो । भलिबलको यो माहोललाई कायम राख्नका लागि संघले गर्नुपर्ने कामहरू धेरै देखिन्छन् । अहिलेसम्म भलिबल संघको संरचना नै प्रभावकारी देखिन्न । वर्षमा एउटा राष्ट्रिय प्रतियोगिता र एउटा क्लबस्तरको प्रतियोगितामा सीमित छ । क्षत्रीय र जिल्लास्तरका प्रतियोगिता नै आयोजना हुँदैनन् । खेलाडी उत्पादनमा भलिबल संघले माखो मारेको छैन । स्थानीयस्तरका प्रतिभावान खेलाडी पहिचान गरी आर्मी, पुलिस र एपीएफले नेपालको भलिबल धानेका छन् भन्दा अत्युक्ति हुँदैन ।
महिला र पुरुष भलिबलका लागि व्यावसायिक क्लबहरू अहिलेसम्म देखिएका छैनन् । महिलामा न्यू डायमन्ड एकेडेमीले खेलाडी उत्पादनमा विशेष योगदान गरिरहेको छ । पुरुषतर्फ विभागमै भर पर्नुपरेको छ । क्लबस्तरीय व्यावसायिक
लिग हुन सकेका छैनन् । ७७ जिल्लामै शाखा भएको खेल संघले स्थानीयस्तरमा धेरै खेलिने भलिबललाई व्यवस्थित पार्न सकेको छैन ।
त्योभन्दा महत्त्वपूर्ण पाटो भनेको विद्यालयस्तरमा भलिबलको संरचनाले काम गर्न सकेको छैन । विद्यालय भलिबल कमिसनको स्थापना भएको थियो । एउटा संस्करणको लिग आयोजना गरेपछि त्यो कमिसन पनि निष्क्रियजस्तै बनेको छ ।

प्रकाशित : भाद्र १४, २०७६ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?