कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जीवन : अप्प दीपो भव

घनश्याम खड्का

आँकडाहरू परिस्थितिका सूचक हुन् । आत्महत्याका सम्बन्धमा उपलब्ध आँकडाहरूलाई हेर्ने हो भने यसले मानव हृदयको दुःखलाग्दो अवस्थाको तस्बिर अनावरण गरिरहेको देख्न सकिन्छ  ।

जीवन : अप्प दीपो भव

यस वर्ष सार्वजनिक भएको विश्व स्वास्थ्य संगठनको आँकडाले भन्छ— प्रत्येक वर्ष संसारमा ८ लाख मानिसले आत्महत्या गर्छन् । यो भनेको प्रत्येक ४० सेकेन्डमा पृथ्वीमा एक जनाले आफ्नो जीवनको खाता आफैंले बन्द गरिरहेका छन् । विश्व स्वास्थ्य संगठनकै अद्यावधिक अर्को तथ्याङ्कले के पनि भन्छ भने कम्तीमा २० मानिसले आत्महत्याको प्रयास गर्दा एउटाले सफलता पाउँछ । अनि, दुःखको सघन अनुभूतिका कारण मर्ने विचार आएका हजार मान्छेमध्ये एउटाले आत्महत्याको प्रयास गर्छ । यी सब आँकडाहरूको विश्लेषण गर्दा प्रस्टिने एउटै तथ्य हो, मान्छे हरपल छटपटीमा छ र यसबाट मुक्त हुन जीवनको हठात अन्त गर्न उद्यत छ ।


तात्कालिक उत्प्रेरक जेसुकै भए पनि आत्महत्याको मूल कारण हो विषाद । यसलाई आमरूपमा अंग्रेजी शब्द ‘डिप्रेसन’ भन्दा ज्यादा मानिसले सजिलो गरी बुझ्न थालेका छन् । विकसित अविकसित सबै देशमा धनी, गरिब सबैले आत्महत्या गरेको देखिएको हुनाले सम्पन्तासँग यसको खास साइनो छैन भन्नुमा बाधा छैन ।


हामीले पनि सबै क्षेत्र र वर्गका मानिसले आत्महत्या गर्दै आइरहेको देखेकै छौं जसको पछिल्लो दर तीव्रतम हुँदै गएको देखिन्छ । नेपालमा दिनको औसत १५ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ । दसवर्षे द्वन्द्वमा मारिएका मानिसलाई दैनिक औसत मृत्यु दरमा निकाल्ने हो भने आत्महत्या गनेर जीवनसँग बिदा माग्नेको संख्या तीन सय प्रतिशतभन्दा बढी हुन आउँछ । संसारभर बढ्दै गएको विषादको प्रकोप नेपाली हृदयमा पनि पर्न थालेको यसले प्रस्टै देखाउँछ ।


अब प्रश्न आउँछ, आखिर के हो विषाद ? किन यो हुन्छ र यसलाई रोक्ने कसरी ?
जीवनप्रति चरम वितृष्णा भएको अवस्था नै विषाद हो । मान्छे मात्रै नभएर हरेक जीवको सामान्य र सर्वकालिक वृत्ति हुन्छ सुखप्रतिको झुकाव । असलमा यही वृत्तिगत आकांक्षा पूरा गर्न मनुष्यले गर्ने इच्छाकै अर्को नाम हो तृष्णा । मान्छेले गरिरहेको हजारथोक यही तृष्णाको पूर्तिका लागि हो । हामी पढ्छौं– सुख पाउँला भनेर । काम गर्छौं– सुखै मिल्ला भनेर । अनि सम्बन्धहरू गाँस्छौं त्यही सुखैको मुख ताकेर । घुमफिर, प्रेम, उत्सव इत्यादि सब सुखका लागि आयोजना गरिएका अवसरहरू हुन् । यी सब कुरामा लागिरहन मान्छेलाई केले प्रेरित गर्छ त ?


फ्रायड भन्छन्— बाँच्न चाहने इच्छा अर्थात् जीवेषणाले । फ्रायडले यस बाँच्न चाहने वृत्तिलाई जनाउन प्राचीन ग्रीसेली धर्मावलम्बीले रती र रागका देवता भनी आराधना गर्ने इरोजको नाम दिए । मान्छेमा इरोजको मात्रा प्रचुर हुन्जेलजस्तै संकट आइपरे पनि परिस्थितिसँग ऊ पौंठेजोरी खेलिरहन्छ, जीवनको अन्तिम धुकधुकी चलुन्जेलसम्म पनि ऊ बाँच्नका लागि प्रयत्नशील हुन्छ । भुइँचालोमा पुरिएर चार दिनपछि पनि जीवितै उद्धार गरिएका घटना, बाघले झम्टँदा उल्टै बाघसँग कुस्ती खेलेर कसैले ज्यान बनाएको अचम्मको खबर र वा क्यान्सरलाई जित्ने मनीषा कोइरालाजस्ता थुप्रै मानिसमा ‘इरोज’ नामको यही बाँच्न चाहने इच्छा नभइदिएको भए ती व्यक्ति र घटनाको अवस्था अर्कै हुन्थ्यो ।


बाँच्नका लागि, अझ सुख र मस्तीपूर्वक बाँच्नका लागि मानिसले प्रसिद्धि, पैसा, कामवासना इत्यादि मन र इन्द्रियजनित सुखहरूको सेतु खोजिरहेको हुन्छ । यी सुख पूरा गर्ने अरू हजार इच्छाहरू मनमा पलाएर आउँछन् । तृष्णाको यो अनवरत नदी मनमा हरबखत चलिरहेकै हुन्छ । समय, परिस्थिति र सामाजिक व्यवस्थाका कारण कतिपय इच्छा पूरा गर्न सकिने अवस्था आउँदैन । सभ्यताको मादपण्डका कारण भन्नै पनि नसकिने तृष्णागत विचारहरूले पनि मनमा घर गरिहेका हुन्छन् । व्यक्त गर्न नसकिने तर मनमा भने आई नै रहने यस्ता भावलाई मस्तिष्कले भित्र दबाएर राख्ने काम गर्छ । मनको ठूलो हिस्सा यस्तै भावहरूले ओगटेको हुन्छ भन्ने फ्रायडको प्रयोगले देखाएको छ । यो ठूलो हिस्सालाई उनी अर्धचेतन र अवचेतन मन भन्ने गर्थे । समाज, धार्मिक मान्यता र सभ्यताको कसीमा मात्रै उत्रिने मनलाई चाहिँ उनले चेतन मनको नाम दिए जो मस्तिष्कको साह्रै सानो हिस्सा हो ।

भनेको खेलौना नपाउँदा जसरी बच्चाहरू ठुस्किन्छन् र रुन्छन्, अवचेतन तहमा रहने अपूर्ण इच्छाहरूले भरिएको मनको ठूलो हिस्साले चेतन मनसँग त्यसै गरी पिरोलिरहेको हुन्छ । त्यसैले हामीलाई दुःखको अनुभूति गराउने काम गर्छ ज्यादातर अवस्थामा । यही पिरोल्याइ बढ्ता हुन गयो र चेतन मनले थेग्न सकेन भने मानिसको हृदयमा दुःखले लामो काल बास गर्छ । अतिशय दुःख र वेदनाहरूले भरिएको जीवनको यही अवस्थाको नाम हो विषाद । आत्महत्याको विचार विषादको यही क्षणमा प्रबल भएर आउँछ । विषाद जति गहिरो छ, विचार पनि उत्तिकै कार्यरूपमा बदलिने सम्भावना ज्यादा हुँदै जान्छ । यस्तो अवसादग्रस्त व्यक्तिबाट हत्या वा हिंसाका अन्य घटना पनि हुन सक्ने सम्भावना उत्तिकै रहन्छ ।


अवसादका कारण आत्महत्याको विचार आउने मनको यो अवस्थालाई फ्रायडले युनानी सभ्यताले मृत्युको प्रतीकका रूपमा मान्दै आएको मिथकीय पात्र ‘थानाटोस’ को नाम थिए । आत्महत्या वा विध्वंसको भावलाई आर्यावर्तमा मृत्येषणा भन्ने गरिन्छ जो फ्रायडको यही थानाटोसको पर्यायवाचीजस्तो प्रतीत हुन्छ । यति बुझिसकेपछि प्रबल तृष्णा अर्थात् इरोज नै विषाद अर्थात थानाटोसको कारण भएको सीधै देखिन्छ । किनभने, पूरा नहुने इच्छाहरूको सघन संकलन नै अन्ततः विषादको कारण हो । अनि विषाद आत्महत्याको । आत्महत्या गर्नु भनेको आकांक्षाहरू पूरा नभएको आधी अधुरो जीवन बाँच्नलाई अस्वीकार गर्ने भावको व्यावहारिक कार्यान्वयन हो अर्को ढंगले भन्दा ।


व्यवस्थाहीन अवस्थाले ल्याएको अनेक आपत्विपत्का बाबजुद पशुपन्छी र कीरा फट्याङ्ग्राले आत्महत्या नगर्नु, तिनमा विषादको प्रभाव नदेखिनु तर सुखका अनेक हेतुहरू उपलब्ध हुँदाहुँदै पनि मान्छेचाहिँ आत्मघात गर्ने मेलोमा अग्रसर हुँदै जानुलाई आधुनिक मनोविज्ञानले एउटा चुनौतीका रूपमा लिएको छ, जसको स्थायी समाधान खोज्न उसले अध्यात्मतिर नजर लगाएको देखिन्छ । यस काममा अग्रस्थानमा छन् अमेरिकी प्राध्यापक जोन कबाट–जिन जसले मनोवैज्ञानिक उपायहरूले निको हुन नसकेका मनोरोगीहरूलाई ध्यान विधिले उपचार गर्न सुरु गरे । आफैं पनि जेन बुद्धिजमका अनुयायी र अनुसन्धाता जोनले सन् १९७० को दशकमा पश्चिममा ‘माइन्डफुलनेस’ भन्ने शब्दलाई व्यापक चर्चामा ल्याए र यसैको माध्ययमबाट उपचार सुरु गरे । पश्चिमा जीवनशैलीको मोहमा परेका हामी आज योगलाई योगा र निर्वाणलाई निर्वाना भनेपछि मात्रै बुझ्ने अवस्थामा पुगेजसरी ‘सम्यक् स्मृति’ लाई पनि ‘माइन्डफुलनेस’ नभनीकन छेउटुप्पो भेउ नपाउने अवस्थामा पुगेका छौं ।


अतीतका अतृप्त तृष्णाहरूको संग्रहले भरिएको मान्छेको मन कि बितेका कुराहरूमा अल्झिबस्छ कि आउने समयको कल्पना गरेर अघाउँदैन । अटोमोडमा गएको कुनै एप्लिकेसनझैं मनमा हजारौं हजार अवाञ्छित विचारको अविच्छिन्न तरंगले फन्को लगाई नै रहन्छ । यस्तो अवस्थाबाट मुक्त हुन मानिस सिनेमा हेर्ने, गीत सुन्ने वा कतै घुम्न जाने कर्ममा संलग्न भइरहन्छन् । सामाजिक तहमा स्वीकार्य यस्ता व्यवहारहरूबाटै तनाव कम भएसम्म कुनै समस्या आइहाल्दैन । त्यसैले यसमा कुनै हानि छैन । चुरोट, रक्सी हुँदै कडा खालका अन्य नशालु पदार्थको सहारा लिएर कचकचे मनलाई बेहोस पार्ने विधि पनि एउटा तहसम्म समाजमा स्वीकार्य नै छ किनभने लगभग सबैजसो यही तहमा भएकाले यो सभ्यताइतरको काम मान्न अब मुस्किल छ । लागूपदार्थको मात्रा बढ्ता भएपछि वा अवसादले स्थायी घर गरेपछि भने मान्छे दुःखलाई झेल्न नसक्ने अवस्थामा पुग्छ जसलाई मनोविज्ञानका कुनै उपायले ठीक पार्न सक्दैन ।


यस्तो अवस्थामा जोनले बुद्धले दुःख मुक्तिका लागि २५ सय वर्षअघि नै सिफारिस गरेको आर्य अष्टाङ्गिक मार्गको सहारा लिन पुगे । दृष्टि, संकल्प, वाणी, कर्म, पेसा, व्यायाम, स्मृति र समाधि गरी आठ सम्यक् मार्गको अवलम्बनले दुःखको जरो तृष्णा पूर्ण रूपमा नष्ट हुने र जीवनमा मोक्षको फल लाग्ने बुद्धको वचन छ । दुःखलाई काट्ने यो मार्ग नै श्रेष्ठ अर्थात् आर्य भएकाले निर्वाणका आकांक्षी हरेकले यसको अवलम्बन गर्नुपर्ने उनको उपदेश थियो । जोन कबट–जिनले यही आर्य मार्गको सप्तम पद सम्यक् स्मृतिलाई माइन्डफुलनेस भनेर पश्चिमा जगत्मा प्रचलित गराए ।


अनावश्यक आइरहने तर्कनाहरूबाट मुक्त भएर जीवनलाई जस्ताको तस्तै अनुभूत गर्नु नै सम्यक् स्मृति हो । विषादग्रस्त अवस्थामा मानिसहरू दुर्विचारले वशीभूत हुने हुनाले जीवनको सौन्दर्य र सुखका अवसहरूप्रति निस्पृह हुन जान्छन् । एक हिसाबले भन्दा आँखा भए पनि ती देख्नलायक हुँदैनन् त्यस क्षणमा । कान भए पनि तिनले मनलाई शीतलता दिने वचन सुन्न सक्दैनन् । एक दुःखदायी भावले पोलिएर जीवनलाई घिसारिरहेका बेला हरेक पल त्यस तप्त अवस्थाबाट मुक्त हुने इच्छा प्रबल भएर आउँछ र अन्ततः तय हुन्छ आत्महत्याको बाटो । जोनले यस अवस्थाका मानिसलाई बिस्तारै बिस्तारै सम्यक् स्मृतिको अभ्यास गर्न लगाए । परिणामत अवचेतन मनको हिस्सा घट्दै र चेतन मनको हिस्सा बढ्दै गयो । अतीतमा पलाएका दुसाध्य तृष्णाका नदी वर्तमानको होसपूर्ण जीवनमा हराएर गयो । र, बिस्तारै ती पहिलेझैं हाँसखेल गर्न सक्ने सामान्य अवस्थामा पुगे ।


सम्यक् स्मृतिको सामान्य अभ्यासले पारेको अभूतपूर्व प्रभावका कारण अचेल पश्चिमा देशका बच्चाहरूलाई अक्षर चिनाउनुअघि ध्यान कक्षामा बसाउने गर्न थालिएको छ । सम्यक् स्मृति कुनै जटिल अवधारणा होइन र यसको अभ्यास गर्न समयबाहेक अरू कुराको आवश्यकता पनि पर्दैन । कुनै विचार र भावना मनमा आउन नदिई हिँड्दा जागृतिपूर्ण अवस्थामा हिँड्नु, खाँदा जागृतिपूर्ण अवस्थामा खानु र पढ्दा पनि पढेकै क्षणमा मनलाई अड्याउनु नै सम्यक् स्मृति हो । के गरिरहेको छु भनेर चित्तले थाहा पाउनु र त्यसको पूर्ण अवलोकन पनि गर्नु नै सम्यक् स्मृति हो । शरीर, यसले अनुभव गर्ने वेदना, मनमा आइरहने विचार र यो चराचर जगत्मा दृश्यमान पदार्थहरूप्रति शुद्धतम चैतन्यको अनुभव नै सम्यक् स्मृति हो । यसो गर्दा मन चेतन, अवचेत र अचेतन गरेर भिन्नभिन्न खण्डहरूमा बाँडिएको अवस्थाबाट पूर्ण चेतन अवस्थामा आइपुग्छ । मनलाई दुःख दिने हेतु प्रत्ययहरूको क्षय हुँदै जाने हुनाले आनन्द बढ्दै गएको अनुभव एक दुई दिनकै अभ्यासले आउँछ । त्यसपछि इच्छाहरू पूरा नभएकामा रिस वा आवेग होइन तृष्णा भेट्न नसकिने मनको अवस्थाको एक नाम हो भन्ने एक गहिरो समझको उदय हुन्छ हृदयमा ।


यो यति सजिलो र सरल छ कि जसका लागि केही गरिरहनु नै पर्दैन, मात्र दृष्टिकोण बदले पुग्छ । दुःखको अँध्यारोमा उधारो प्रकाश मागी हिँड्न छाडेर आफैं प्रकाश होऊ भन्ने बुद्ध वचनको सत्यलाई अनुभव गराउने सम्यक् स्मृतिको अभ्यास सबै कालका सबै उमेरका र सबै अवस्थाका मानिसले गर्न सक्छन् । तर, विडम्बना के भने सारा संसारले यसलाई दुःखमोचनको मार्ग भनेर पच्छ्याइरहेका बेला हामीचाहिँ ट्रक र टिसर्टमा ‘बुद्ध वाज वर्न इन नेपाल’ झनेर लेख्नमै सीमित छौं ।

प्रकाशित : भाद्र १४, २०७६ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?