कबै अर्घ्यालो नथाप्नू !

महाराजको मृत्युपछि रानी, महारानीहरू काठमाडौं फर्किए । भाइभारदारहरू फर्किए । राजकवि र इतिहासकारहरू फर्किए । भजनमण्डली पनि फर्कियो । बाँकी नचनियाँहरू छपरा र आगरा नै फर्किए । खानसामाहरू ग्वालियर फर्किए । तम्बु र सामियानाहरू उखेलिए । रातभरि बल्ने मेनटोलहरू निभाइए । गाउँमा फेरि पुरानै अँध्यारो कायम भयो ।
नयनराज पाण्डे

१. गाउँमा श्री ३ जंगबहादुर आए र आदेश जारी गरे— ‘हे नयाँ मुलुकका रैतिहरू ! अबउपरान्त तिमीहरू हाम्रा अधीन भयाका छौ । इमानदार भईकन मुलुकको नियमकानुन, रीतिथितिको पालना गर्नू ! सधैं हाम्रो आदेश पालन गर्नू ! कबै अर्घ्यालो नथाप्नू ! बाठो भएर कुनै तकसीर नगर्नू ! जो येस बन्देजमा रहैन सो पातकी होला ।’

‘गाउँले जङ्गबहादुरको भाषा बुझेन । तर, उनको डरले गाउँ युगौँदेखि ‘बन्देज’ मा बस्यो । इमानदार भएर मुलुकको नियमकानुन मानिरह्यो । कहिल्यै बाठो भएर मलाई यस्तो चाहियो भनेन, मैले यस्तो किन पाइनँ भनेर ‘अर्घ्यालो थाप्ने’ कुनै कसुर गरेन । सधैँ ‘हैसियत’ मा बसिरह्यो, कहिल्यै ‘पातकी’ भएन ।’ मलाई मरिसकेको शिवरामले यसै भनेको थियो ।

२.
शिवरामको आत्मा एउटा जोगीको शरीरभित्र प्रवेश गरेको थियो र मलाई बताउँदै थियो आफ्नो रामकहानी ।‘मेरो मिरतु भएको त सालभर भन्दा ज्यादा भैसक्यो । सबले आफ्नै हातले माटी दिएर मेरो सदगत गरेका थिए । परसपुरको बाभन आएर मेरो सराद पनि गरिदिएको थियो । गाउँका कुकुर, गाई, कौवा, कमिला र देवता सबले भोजन गरेका थिए । बाभनहरूले त पत्तल चाट्दै शिवराम पितर भयो, सुरगलोगमा गयो भनेका थिए । तर, आज गाउँका सब भोंसडीहरू मेरो आत्मा स्कुलको कोठाकोठामा भट्किरहेको छ भन्छन् । सबले मेरो बदनाम गरिरहेछन् ।’

मैले सोधें, ‘उसो भए गाउँलेहरूले झूटो बोलेका हुन् त ?’

जीउभरि खरानी धसेको, जगल्टाको जुरो बनाएको, गलामा अनेकथरी माला लगाएको जोगीको मुखबाट शिवराम बोल्न थाल्यो ।
‘उनीहरूको कुरा पूरै नभए पनि आधा गलत हो । किनभने मेरो आत्मा त स्कुलको बाहिरबाहिर भट्किरहेछ । भित्र पस्न त मेरो आत्मा पनि डराउँछ ।’
‘किन डराउँछ ?’
‘स्कुल भित्रबाट अहिले पनि मलाई महाट्टरहरूले आदेश दिइरहेजस्तो लाग्छ । मानौं सबै भनिरहेछन्, ‘ए शिवराम, अर्घ्यालो
नथाप् ! बढ्ता बाठो भएर तकसीर नगर् ! जो येस बन्देजमा रहैन सो पातकी होला ।’ म त्यो आवाज केही पनि बुझ्दिनँ । त्यसमा मेरो भाषा छैन । तर, मलाई ती आवाजहरूसित बहुत डर लाग्छ । त्यसैले स्कुलभित्र म पस्नै सक्दिनँ ।’
शिवरामको आत्माले बोलेको कुरा कति सत्य हो, मलाई थाहा छैन । तर, उसको कुराले मलाई उसको जीवन–कहानीप्रति आकर्षित गरेका थियो । मैले सोधेँ, ‘शिवराम, तिम्रो गाउँको नाम के हो ?’

३.
यहाँ फल्ने धानका नाम थिए । यहाँ उभिएका रूखबिरुवा र उम्रिएका पातपतिंगरका नाम थिए । यहाँका खेत, खलिहान र चरनका नाम थिए । यहाँका बालीनाली र ती बालीनाली सखाप पारिदिने कीरा–फट्याङ्ग्राहरूका नाम थिए । यहाँ उम्रिने सागपात र फलफूलका नाम थिए । यहाँ पालिएका चौपायाहरूका नाम थिए । यहाँ उड्ने चराहरूका नाम थिए । यहाँ बग्ने कुला, खोला र खोल्साहरूका नाम थिए । यहाँ मान्छे र गाईभैंसी एकै ठाउँमा नुहाउने तलाउ र गडाहाहरूका नाम थिए । यहाँका अदृश्य भूतप्रेत, डाकिनीसाकिनीका पनि नाम थिए । तर, यो गाउँको नाम थिएन र नाम राख्ने उत्साह पनि थिएन कसैमा । भन्थे, ‘गाउँको नाम चैनपुर्वा वा आनन्दगढ राख्दैमा यहाँ सुखचैन भैहाल्ने होइन ! हाम्रो लागि त चौसठ घडी नै अशुभ र बाह्रै महिना खरमास ।’
एक दिन गाउँमा काखीमा बहीखाता च्यापेर पटबारी आए । भने, ‘आज म असुली र उगाही गर्न आएको होइन । महाराजको आदेश सुनाउन आएको हुँ ।’


उनले पहाडी कागजमा लेखिएको एउटा आदेश पढेर गाउँलेहरूलाई सुनाए—‘हामी श्री ३ महाराज आफ्ना महारानी र रानीहरूका साथ नेपालबाट मधेसमा सिकार खेल्न आइबक्सँदै छौं । तिमी मदिसेहरू हामी नेपालका महाराज, महारानी र अरू रानीको सेवाशुश्रूषाका लागि तन, मन र धनले तयार भएर बस्नू ! हामी र हाम्रा रानी महारानीलाई प्रसन्न पार्नू !’


पूर्वनिर्धारित समयमै महाराज आफ्नी पटरानी, आधा दर्जन ल्याइते रानी, राजकुमार, राजकुमारी, तिनका धाई र सुसारेहरूसहित सिकार खेल्न आए । उनीसँगै गोलीगट्ठा र हतियारसहितको पल्टन पनि आयो । महाराजका विश्वास प्राप्त भाइभारदारहरू पनि आए । गाउँनजिकै विशाल र भव्य शिविर खडा भयो ।

त्यो जाडोको महिना थियो । कति दिनदेखि लगातार पुरवाई चलिरहेको थियो । तोरी खेतमा कीरा लाग्न थालेकाले किसानहरू दुःखी थिए । कञ्चटमा अफिम र चुनको लेप लगाएर रुघा र चिसोसित जोगिने प्रयासमा गर्दागर्दै पनि कतिपय बूढाबूढीका छातीबाट बेसुरको बाँसुरी बजेजस्तो आवाज आउन थालेको थियो । गाउँलेहरूले दाउरा बालेर त ताप्थे । तर, छाती ताते ढाड चिसो, ढाड ताते छाती चिसो हुन्थ्यो । मुसाले टोकेर दस ठाउँमा प्वाल पारिदिएको पातलो कथरीबाट छिरेको जाडो हाडहाडसम्म पसेर रातभरि निदाउनै दिन्नथ्यो । जोर्नीहरू अकडिन्थे । शब्दहरू उच्चार गर्न गाह्रो हुन्थ्यो । जब रातमा सन्नाटा छाउँथ्यो, घर रुँगेर बसेका जहानहरू सीमापारि लखनउ, कानपुर या दिल्लीमा मजदुरी गर्न गएका आफ्ना खसमहरूलाई सम्झँदै चिसोले जमेका शब्दहरूलाई बिस्तारैबिस्तारै फुटाउँदै आफ्नो दुखेसो गीत बनाएर पोख्थे ।
खसम बिन जाडा नजइहै हो रामा
खसम बिन जाडा नजइहै,
खसम मोरे होते तो गोदिया मे सोते
असर न करत यी जाडा,
खसम बिन जाडा नजइहै हो रामा ।।

४.
मैले शिवरामसित उसको गाउँको नाम सोधेको थिएँ । तर, उसले गाउँको इतिहास बताइरहेको थियो । उसको मृत्यु र उसले सुनाइरहेको इतिहासबीच के सम्बन्ध हुन सक्छ भन्ने मैले पहिल्याउन सकेको थिइनँ । तर, इतिहासकै जगमा उभिएर वर्तमानको निर्माण हुन्छ र त्यसैले भविष्यको कहानी पनि बताउँछ भन्ने चेत भने थियो मलाई ।
शिवराम कसरी मर्‍यो भन्नेबारेमा गाउँमा अनेक किसिमका कथाहरू प्रचलित थिए । कोही भन्थे, ‘पढ्न नसकेपछि शिवरामले स्कुलको दिवालमा आफ्नो शिर फोड्यो ।’
अर्कोथरीले भन्थ्यो, ‘किताब पढ्दापढ्दै उसलाई मिरगी भयो । उसको मुखबाट फिँज आउन थाल्यो । देहीं तिरपट हुन थाल्यो । जुता सुँघाएको भए ऊ जुरतै ठीक भैहाल्थ्यो । तर, कसैले उसको मदत गरेन । ऊ त्यहीँ तडपीतडपी मरिगयो ।’
अझ अर्कोथरीको अर्को धारणा थियो, ‘स्कुल बसेको ठाउँमा पहिलादेखि नै एउटा मुर्कट्टाको साया थियो । त्यसैले शिवरामलाई खुदकुसी गर्न उक्सायो ।’
मैले मरिसकेको शिवरामसितै सोधेँ, ‘तिम्रो मृत्युबारे अनेक हल्लाहरू चलेका छन् । तिमी नै भन शिवराम, तिमी कसरी मर्‍यौ ?’
‘मेरो मिरतुको बहुतै दर्दनाक कहानी छ । तर, मेरो मिरतुको कहानी त उहिल्यै तयार भएको थियो, जब महाराजा हाम्रो गाउँमा आएका थिए ।’
योचाहिँ अचम्मैको कुरा भनेको थियो शिवरामले । के कसैको मृत्युको पटकथा दशकौंअघि नै तयार भएको हुन सक्छ ?
मैले प्रश्न त सोधेको थिइनँ । तर, शिवरामको आत्मा बोल्यो, ‘गरिबहरूको इतिहास बहुत लम्बा हुन्छ ।’
शिवरामले यस्तो भनिसकेपछि मैले त्यो इतिहास–कथाको बाँकी अध्याय किन नसुन्नु ?

५.
श्री ३ महाराज दिनभरि हात्तीमा चढेर जंगलमा सिकार खेल्थे । राति भने यही गाउँसँगै जोडिएको पर्ती मैदानमा सामियाना गाडेर बनाइएका विलासी विश्रामगृहमा ‘सुकला’ हुन आउँथे ।
अनेक तम्बु र सामियानाले सुसज्जित त्यो पूरा इलाकालाई तारबार र कनातले घेरेर राखिएको थियो । सर्वसाधारणलाई त्यहाँ प्रवेश वर्जित थियो । बेलाबेलामा सैनिकहरू गाउँमै आएर उर्दी सुनाउँथे, ‘ए मदिसेहरू, महाराज राज भइबक्सिएको ठाउँतिर हेर्दा पनि नहेर्नू ! नत्र तिमीहरूलाई गाथगादी ताकेको मुद्दा लाग्ला । तिमीहरूको सर्वस्व होला ।’

यसरी गाउँभित्रै एउटा दसगजा तयार भएको थियो । उता पहाडिया, यता मधेसी । उता मालिक, यता रैयत । उता सुकिलामुकिला, यता ‘अलिफ नङ्गा’ । उता आवाज भएका वाचाल प्राणी, यता बोली गुमाएका निसद्द । उता बलियाबाङ्गा, यता निबर । उता सभ्य नगरहा, यता असभ्य देहाती ।
इतिहास–कथा सुनाइरहेको शिवरामको आत्माले बीचमा झस्काउँदै भन्यो, ‘कुनै तारबार नलागे पनि हाम्रो गाउँमा सधैं एउटा अदृश्य दसगजा बनिरह्यो । त्यो दसगजा हिजो पनि थियो, आज पनि कायम छ ।’

शिविरलाई झलमल्ल उज्यालो पार्न काठका खम्बाहरू गाडेर त्यसको टुप्पोमा मेनटोल झुन्ड्याइएको थियो । त्यो उज्यालो गाउँसम्मै आइपुग्थ्यो र राति पनि गाउँमा सूर्य उदाएजस्तै झलमल्ल हुन्थ्यो । बिहानसम्मै धपक्कै उज्यालो हुने भएकाले गाउँभरिका भालेले बास्ने समय बिर्सेका थिए ।

सामियानाभित्रै स्नान कक्ष बनाइएको हुन्थ्यो । सुसारेहरूले त्यहीं महाराज र रानीहरूलाई गुलाबजल मिसिएको पानीले स्नान गराइदिन्थे । लघुशंका र दीर्घशंकाका लागि केही सुसारेहरू चाँदीको कोपरा लिएर उभिएका हुन्थे । एउटा सेवक हरबखत खमिर मिसाएको वास्नादार तम्बाखु भरिएको चाँदीको हुक्का लिएर उभिइरहन्थ्यो । रानी–महारानीहरूका लागि लाखका हरिया राता चुराहरू बनाउन जयपुरबाट लखेरहरू ल्याइएका थिए । मांसाहारी भोजन पकाउन ग्वालियरका राजाले आफ्नो दरबारका सिपालु खानसामा नै पठाइदिएका थिए । शिविरभित्रका गतिविधि जति नै गोप्य राखिए पनि हावामै बग्दैबग्दै दुई–चार रोचक खबर त गाउँसम्म आई नै हाल्थ्यो ।
‘महाराज र उनकी रानीहरूको मन बहलाउन नखलउ (लखनउ) बाट नौटङ्की र तमासा आएको छ रे । एक दर्जन नचनियाँहरू पनि छन् ।’
यस्तै एउटा किस्सा फेरि बाहिर आयो ।

यो गाउँकी एउटी नचनियाँ आगरा र छपराबाट आएका नचनियाँभन्दा पनि सुन्दर थिइन् । नाच देखाउन उनलाई पनि शिविरभित्र लगिएको थियो । उनको देह त सिमलको रुवाजस्तै नरम र बाँसको फट्टीजस्तै लचकदार थियो । उनको हेराइ कटारीजस्तै धारदार थियो । त्यसमाथि उनले आँखामा काबुली सुरमा पनि लगाउँथिन् । उनले आफ्नो पातलो कम्मरलाई पानीको छालझैं हल्लाएर ठुमका लगाउँदा महाराजको पनि मुटु हक्क हुन्थ्यो र नसानसामा वेगले रगत बग्न थाल्थ्यो । इन्द्रियहरू छटपटाउन थाल्थे ।

एक दिन महाराजले ती नचनियाँलाई आफ्नो सामियानाभित्र बोलाए । महाराजले पनि आफ्नो बालिष्ठकै छेउमा बक्सिस दिने असर्फीले भरिएको जरीवाला सुर्के थैली राखेका थिए । नचनियाँलाई महाराजको अनुहारतिर हेर्ने अनुमति थिएन । उनी रंगीन र बुट्टेदार जोधपुरी जुत्ताले सजिएको महाराजको पाउतिर हेरिरहेकी थिइन् । महाराजले आफ्नो सुरुवालको इजार खुकुलो पार्दै सोधे, ‘के चाहिन्छ तँलाई ?’

उनले महाराजका पाउतिर हेर्दै अदबसाथ भनिन्, ‘महाराज, मलाई असर्फीको थैली चाहिँदैन । हजुरको गलामा रहेको मोतीको त्यो किमती माला पनि चाहिँदैन । मलाई सुनको पाउजू र चाँदीको हसुली पनि चाहिन्न । म यो गाउँकी लड्की हुँ । मैले मेरो मागमा खसमको नामको सेनुर र लिलारमा उसैको मायाले भरिएको टिकुली लगाएकी छु । महाराज, मलाई बेआबरु नगरिदिनुस् । मेरो इज्जत बक्स होस् ।’
महाराजले उनको याचना सुनेनन् ।
अस्मिता गुमाएकी नचनियाँ रातभरि रोइरहिन् । तर, उनको आवाज सामियानाबाट बाहिर निस्कन पाएन ।

६.
‘त्यो जमानामा जुन ठाउँमा महाराजाको सामियाना गाडिएको थियो र जुन ठाउँमा नचनियाँहरूको नाचगान चल्थ्यो, पछि त्यही ठाउँमा हाम्रो स्कुल खुलेको थियो ।’
यसरी दुई असम्बद्धजस्तो लाग्ने कहानीलाई शिवरामले एक ठाउँमा जोड्ने प्रयास गरिरहेको थियो । मलाई शिवरामको कहानीप्रति उत्सुकता थियो र उसले सुनाइरहेको इतिहास–कथाप्रति चासो पनि थियो ।
स्कुल खुलेको दिन गाउँलेहरूले ढोल, मंजिरा र करताल बजाएर उत्सव मनाए । विधाकी देवी सरस्वतीको वन्दनामा रातभरि जै जै जै सुरसुती मात भवानी, दिजो ग्यान सुरसुती मात भवानी भन्दै भजन कीर्तन पनि गरे । तर, स्कुल खुलेकोमा अगलबगलको गाउँमा भने कसैलाई पनि चित्त बुझेको थिएन । उनीहरूले भन्थे, ‘पढेर के हुन्छ ? पढतम भी मरतम, न पढतम भी मरतम । मर्ने नै हो भने पढाइगिरी गरेर के काम ?’
तर, यो गाउँका बूढापुरानाहरूले बिरादरी र पन्चैतीको बैठकमा सुझबुझवाला निर्णय गरे र एक स्वरमा भने, ‘अक्षर नचिनेर, गिन्ती, पहाडा, पौवा, अद्धा, पौना, सवाया, ड्योढा नआएर हामीले दुःख पायौं । हाम्रा लागि सधैं एक एकान सौ भयो । साँझ बिहानको हातमुख जोर्ने जुगाडमै हाम्रो जिन्नगी जाया गयो । आफूले लिएको रिनको साँवा र ब्याजको पनि हिसाब गर्न आएन हामीलाई । अब हामीले आफ्ना छोराछोरीलाई पढाउनुपर्छ । कम से कम यिनले आफ्नो बापदादाले लिएको उधारीको तमन्सुख त पढ्न सकुन् । आफूलाई ठग्नेहरूसित आफ्नो हिसाबकिताब त माग्न सकुन् ।’
गाउँका हरेक बुजुर्गहरूलाई थाहा थियो, उनीहरूले पढ्न लेख्न जानेको भए यो गाउँको इतिहास अर्कै हुने थियो । यहाँका मान्छेहरूको अहिले पनि यसरी उपेक्षित र अपहेलित भएर बस्नुपर्ने थिएन ।

७.
एक दिन सिकारबाट शिविरमा फर्केका महाराजका सामु सरकारी इतिहासकार र शाही कविले शिर निहुराएर र हात जोडेर अनुरोध गरे, ‘सरकार ! हजुरले भ्रमण गरिबक्सेको यो गाउँको नाम भएन भने हामीले लेख्ने हजुरको जीवनी र भजन अपूर्ण र अप्रमाणित हुन्छ ।’
महाराजलाई कुरो उचित लाग्यो । उनले तत्काल एउटा नामकरण समिति गठन गरे । केही दिनमै समितिले यस्तो रिपोर्ट तयार पार्‍यो—
श्रीश्रीश्री महाराजकी जयजयजय । सरकार ! यो गाउँमा चोटपटक लाग्दा घाउमा ओखती हैन, धूलो लगाउने मूर्खहरू बस्छन् । यिनीहरू बिरामी हुँदा दूध र फलफूल पनि खाँदैनन् । यिनीहरू हरिकंगाल छन् । यिनीहरूसित चुनदाम पनि हुँदैन । त्यसैले लुगा सिउने सुचीकारले यिनीहरूका कमिज या पाइजामामा खल्ती सिउनै मान्दैन । यिनीहरूलाई आफ्नो राजाको नाम पनि थाहा छैन । यिनीहरूको भाषा पनि ठीक छैन । नुनलाई लोन, नीलकण्ठलाई लीलकण्ठ, निधारलाई लिलार र लखनउलाई नखलउ भन्छन् । एउटा शिवालय पनि स्थापना नगर्ने अधर्मीहरू बस्छन्् यो गाउँमा । यिनीहरू खाना खानुअघि देउताको नाम स्मरण गर्दैनन् । मन्त्रोच्चारणसहित भूमिमा जल र भोजन अर्पित गरेर औसानी हाल्दैनन् र आचमन पनि गर्दैनन् । लगाइरहेको लुगाले नै आफ्नो पसिना पुछ्ने नीच मनुवाहरू बस्छन् यो गाउँमा । त्यसैले यो गाउँको नाम नीचगाउँ राख्नु नै उचित हुन्छ । महाराज, जो हुकुम, जो निगाह !’
त्यसपछि कालिजको भुटुवासँग ब्रितानी सोमरस खाँदै महाराजले दुर्गा भवानीको छापसहितको लालमोहर जारी गरिदिए । लालमोहरमा अन्तिममा लेखियो, ‘अबउपरान्त नीचगाउँका कुनै रैतीले यस गाउँको नामकरणका विषयमा अर्घ्यालो नथाप्नू । बाठो भएर कुनै तकसीर नगर्नू । जो येस बन्देजमा रहैन सो पातकी होला ।’

८.
स्कुल खुल्ने भएपछि शिवरामको बप्पाले आफ्नी जहानसित खुसी हुँदै भने, ‘हामीले त पढ्न पाएनौं पाएनौं । हाम्रा छोराछोरीले पढ्न पाए भने यिनीहरूको जिनगानी मजामा बित्ला ।

बिटियाको बियाहमा दाइजो दिनु नपर्ला । एब्बीसिड्डी पढेर अङ्ग्रेजी बोली पनि बुझ्लान् । बेटुवाले सरकारी आपिसमा साहिबीवाला नोकरी पनि पाउला ।’
स्कुल जान पाउने भएपछि शिवराम पनि खुसी भयो । उसकी बैनी मिठी पनि खुसी भई । उनीहरूलाई स्कुलले किताबहरू पनि निःशुल्क दियो । किताब राख्ने बाक्लो कपडाको बकलवाला ब्याग पनि दियो । लेसवाला छालाका जुत्ताहरू पनि दियो । स्कुल जाने अघिल्लो दिन नै बप्पाले दुवै जनाको लागि काठको एक हातको पटरालाई रन्दाले चिल्लो बनाएर लेख्ने पाटी बनाइदिए । टर्चलाइटका पावर सकिएका ब्याट्रीहरू फोडेर कार्बन जम्मा गरे । त्यही कार्बन दलेर पाटीलाई कालो पनि बनाइदिए । अम्माले नर्कट ताछेर कलम बनाइदिइन् । सानो बुतकामा सेतो कमेट घोलेर बनाएको मसी पनि भरिदिइन् ।
पयरभन्दा ठूलो जुत्ता लगाएर, काखीमा पाटी च्यापेर, हातमा नर्कटको कलम समातेर, बकलवाला स्कुल ब्यागमा किताबहरूसँगै सेतो खडिया र बुतका पनि बोकेर मिठी र शिवराम स्कुल गए । उनीहरूसँगै गाउँका अरू केटाकेटीहरू पनि स्कुल गए । भोलिपल्टदेखि स्कुलबाट फर्किँदा उनीहरूले के के न जानेजस्तै गरी फुर्केर गाउन थाले—‘वान टू थिरी, चवन्नी गिरी, लमकन्ना पाइस्, पकौडा खाइस् ।’
मिठी केही दिन स्कुल गई । वान टू थिरीवाला गीत त उसले पनि जानी । तर, त्यसभन्दा बढ्ता केही आएन । मास्टरहरूले पढाएका कुरा रत्तिभर पनि बुझिन । उसलाई कक्षा कोठामा बस्दा हाईहाई आउन थाल्यो । एक दिन घरमा आएर भनी, ‘अब म स्कुल जान्नँ । मेरो भेजामा महाट्टरले बोलेको केही घुस्दैन ।’
शिवरामले भने हरेस खाएन । बप्पाले उसलाई सम्झाए पनि, ‘बेटुवा, केही दिन मेनहत (मेहनत) गरेर पढिस् भने सब समझमा आउँछ । अक्षर अक्षरको मतबल पनि समझमा आउँछ । हाम्रो जिनिगी त घुइरयाजस्तो भयो भयो, अच्छासित पढिस् भने तेरो जिनिगी बन्छ । तँलाई हामीले जस्तो दुःख पाउनु पर्दैन । पछि सरकारी नुकरी पाउँछस् । पढालिखा नौकरिहा बाभनजस्तै ठाँट रवाफ हुन्छ तेरो । सबले परनाम, पैलागी, नमस्कार गर्छन् । केही नभए पनि कुनै स्कुलमा मास्टर हुन पाउँछस् । हरेक महिना तलबमा नयाँ नयाँ नम्मरी नोट पाउँछस् । ठाटसित बस्न पाउँछस् । हामीले जस्तो रूखासुखा खानु पर्दैन ।’
उसले बप्पा र अम्माको कुरा मान्यो । उनीहरूले भनेझैँ आफू एक दिन ठूलो मान्छे बन्नेछु भन्ने नाबालक सपनालाई किताब र कापीमाझ जतनसाथ च्यापेर ऊ स्कुल गइरह्यो ।

९.
सिकारमा आएका महाराज एक रात आफ्नो शयनकक्षमै मृत फेला परे । उनको छातीमा धारिलो कटारी गाडिएको थियो । राजवैद्य र निजी चिकित्सकले उपचार गर्दा गर्दै उनी मरे । गाउँलेहरूले हल्ला सुने— ‘आफ्नो सतित्व गुमेको आक्रोशमा नचनियाँले छातीमा कटारी हानेर महाराजको हत्या गरी ।’
तर, शाही लेखकहरूले भने महाराजको मृत्युको बारेमा यस्तो आख्यान तयार पारे—‘महाराज असाध्यै बहादुर योद्धा र कुशल कुस्तीबाज होइबक्सिन्थ्यो । एक दिन मौसुफ चार–चारवटा बब्बर शेरसित महाराज एक्लै भिडिबक्सियो । जित्न त महाराजले नै जितिबक्सेको थियो । तर, एउटा कुबुद्धिको पापी शेरले घात गरेर महाराजलाई पछाडिबाट आक्रमण गर्‍यो । घाइते अवस्थामा पनि महाराज विचलित होइबक्सिएन । आफ्ना बलिष्ठ हातले पालैपालो चारै शेरका छाती चिरिबक्सियो । शेरको मुटुको रगतले आफ्ना पुर्खाहरूलाई तर्पण दिइबक्सियो र हाँसीहाँसी नश्वर देह त्याग गरेर स्वर्ग प्रस्थान गरिबक्सियो ।’
महाराजको मृत्युपछि रानी, महारानीहरू काठमाडौं फर्किए । भाइभारदारहरू फर्किए । सुसारेहरू पनि फर्किए । राजकवि र इतिहासकारहरू फर्किए । भजनमण्डली पनि फर्कियो । नाचगान बन्द भयो । बाँकी नचनियाँहरू छपरा र आगरा नै फर्किए । खानसामाहरू ग्वालियर फर्किए । तम्बु र सामियानाहरू उखेलिए । रातभरि बल्ने मेनटोलहरू निभाइए ।
गाउँमा फेरि पुरानै अँध्यारो कायम भयो ।
‘त्यो बेलादेखिको यो गाउँको अँध्यारो आजसम्म पनि हटेको छैन ।’
शिवरामको आत्माले बडो गम्भीर कुरा बतायो । मैले प्रश्न सोधेँ, ‘शिवराम तिमीले यति गम्भीर कुरा गर्न कसरी जान्यौ ?’
‘समयले सधैँ लाटो भएर बस्ने अनुमति दिँदैन ।’
अर्को भयानक कुरा गर्‍यो उसले ।

१०.
गाउँमा खुलेको स्कुलभित्र पुस्तकालय पनि थियो । बडेबडे दराजमा खाँदाखाँद किताबहरू थिए । मास्टरले भनेका थिए, ‘यी नेपाली साहित्य, इतिहास, भूगोल र दर्शनशास्त्रका किताब हुन् । राजनीति र अर्थशास्त्रका किताब हुन् । कृषि, विज्ञान र स्वास्थ्यशिक्षाका किताब हुन् ।’
शिवरामले केही बुझेन । बस्, ती किताबहरू हुन् भन्ने मात्र बुझ्यो । त्योभन्दा बढ्ता बुझ्ने आँट पनि थिएन । बस्, आफ्नै मनसित प्रश्न गर्थ्यो— साहित्य भनेको के हो ? इतिहास र भूगोल भनेको के हो ? दर्शनशास्त्र भनेको के हो ? राजनीति र अर्थशास्त्र भनेको के हो ? कृषि भनेको के हो ? विज्ञान भनेको के हो ?
मन मुला पनि उस्तै । प्रश्नको जवाफै दिन्नथ्यो ।
पढ्न नजाने पनि शिवरामलाई किताबहरूले आकर्षित गरेका थिए । त्यसका आवरणहरूले आकर्षित गरेका थिए । उसलाई किताबको वास्ना पनि मन पर्न थालेको थियो । त्यसैले ऊ पुस्तकालयको दराजबाहिरैबाट किताबहरूलाई हेरिरहन्थ्यो ।
एक रात उसले मिठीसित भन्यो पनि, ‘एक दिन म स्कुलमा भएको सबै किताब पढ्छु र ठूलो मान्छे बन्छु । सरकारी जागिर खान्छु र साहेब बन्छु ।’
पुस्ताकालयको दराज खोलेर त्यहाँ भएका किताबलाई हातमा लिने र त्यसका पानाहरू पल्टाउने आँट अझै ऊभित्र पलाएको थिएन । तर, उसले बुझिसकेको थियो, ती उसको जिन्दगी बदल्ने किताबहरू हुन् । ती किताबहरू पढ्न जान्यो भने उसले सरकारी जागिर पाउँछ । हरेक महिना तलबको रूपमा नयाँ नयाँ नम्बरी नोट पाउँछ । हरेक दिन दालभात खान पाउँछ ।
केही महिनामै उसले अलिअलि अक्षर चिन्न थाल्यो ।
एक दिन एक जना जोगी उसको गाउँमा आए र अचम्मको कुरा भने, ‘तेरो स्कुलको पुस्तकालयमा तैंले बुझ्ने एउटा किताब छ । त्यो पढिस् भने तेरो दिमाग अर्कै भैहाल्छ ।’
जोगीको कुरा शिवरामको मनमै गाडियो ।
एक दिन उसले हिम्मत गर्‍यो । जोगीले भनेको किताब खोज्ने निश्चय गर्‍यो । ऊ सुटुक्क पुस्तकालयमा पस्यो र दराज खोल्यो । दराजबाट पालैपालो किताबहरू झिक्यो र पानाहरू पल्टायो । ती उसले बुझ्ने किताबहरू थिएनन् । तर, उसलाई ती किताबहरूले आदेश दिइरहेजस्तो लाग्यो—कबै अर्घ्यालो नथाप्नू ! बाठो भएर कुनै तकसीर नगर्नू ! जो येस बन्देजमा रहैन सो पातकी होला ।

११.
शिवरामको बोली बोल्दाबोल्दा जोगी थाकेका थिए । उनको निधारबाट चिटचिट पसिना आइरहेको थियो । पसिनाले शरीरभरिको खरानी लतपत भएको थियो । शिवरामको आत्मा आफ्नो देहमा प्रवेश गरेपछि सायद उनलाई निकै कष्ट भइरहेको थियो । उनको अनुहार रातोरातो भएको थियो । सास फुलिरहेको रहेको थियो ।
मेरो जिज्ञासा तैपनि शान्त भएको थिएन । शिवरामले पूरा कथा सुनाएको पनि त थिएन । त्यसैले मैले फेरि प्रश्न गरें ।
‘तिमीले किताबको दराज खोलेपछि के कुनै साँप निस्कियो त्यहाँबाट ? कतै त्यसैले डसेको त हैन तिमीलाई ?’
‘हैन, कहानी अर्कै छ । पहिला पूरा त सुन्नुस् हजुर ।’
मैले सुनिरहेँ, उसले भनिरह्यो ।
‘जोगीले भनेको किताब खोज्न मैले अर्को दराज पनि खोलें र त्यहाँबाट अर्को किताब झिकेँ । त्यसको पनि पाना पल्टाएँ । मैले त्यो किताब पनि बुझिनँ । त्यसपछि अर्को, अनि अर्को, अनि अर्को । मैले थुप्रै दराज खोलेँ । थुप्रै किताबका पानाहरू पल्टाएँ । तर, मैले खोजको किताब भेटिनँ । मेरो मन उदास भयो ।’
के त्यही उदासीले मार्‍यो शिवरामलाई ?
मेरो मनमा प्रश्न आयो । तर, मैले त्यसको जवाफ खोजिनँ ।
शिवराम बोलिरहेको थियो, ‘अचानक मैले एउटा दराजको सबैभन्दा माथितिर रहेको एउटा रंगीन किताब देखेँ । हेर्दै लोभलाग्दो । मलाई लाग्यो, सायद मैले बुझ्ने किताब त्यही हो ।’
शिवराम बिस्तारै दराजमा चढ्यो र त्यो किताब झिक्ने प्रयास गर्‍यो । त्यही बखत दराज हल्लियो । ऊ असन्तुलित भयो र जमिनमा खस्यो । ऊमाथि भर्रर दराजका किताबहरू खसे । त्यसपछि अरूअरू दराज पनि हल्लिए । ती दराजका किताबहरू पनि शिवराममाथि खस्न थाले । किताबसँगै दराज पनि खस्न थाले । एउटा ठूलो दराज उसको टाउकामै बजारियो । ऊ बेहोस भएर ढल्यो । ऊमाथि किताबहरू खसिरहे । ऊ किताबैकिताबले पुरियो ।
हतारहतार सर र मिसहरू आए । हेडसर र विद्यालय सञ्चालक समितिका अध्यक्ष पनि आए । ऊमाथि खसेका किताबहरू पन्छाए । तर, त्यतिन्जेल अबेर भइसकेको थियो । उसले नबुझ्ने किताबैकिताबको रासभित्र निसास्सिएर शिवरामको प्राणपखेरु उडिसकेको थियो ।
कति विश्वास थियो उसलाई यो स्कुलप्रति ! त्यसैले त आँखाभरि ठूलो मान्छे बन्ने सपना बोकेर ऊ हरेक दिन स्कुल जान्थ्यो । उसलाई विश्वास थियो, उसको घरको र गाउँको सुखियाली त्यही स्कुलको ढोकाबाट फुत्त निस्किन्छ र उसको घरघरसम्म पस्छ । चाँडै । भोलि, पर्सि या निपर्सिको नयाँ सूर्योदयसँगै ।
त्यस्तो सूर्योदय उसले देख्नै पाएन ।
तर, सबैले देखे, मर्ने बेलामा शिवरामको हातमा एउटा किताब थियो ।
ऊ मरेको केही दिनपछि गाउँमा हल्ला फैलियो, ‘स्कुलमा सिउरामको आत्मा भट्किरहेको छ । राति–राति कोठाभित्र पसेर किताब पढिरहन्छ ।’
अन्ततः गाउँका भद्रभलाद्मीको पञ्चैतीले निष्कर्ष निकाल्यो, ‘अब यो जीउधारी स्कुल भैसक्यो । यसले अरूको पनि बली लिन सक्छ । हामीले आफ्ना बालबच्चालाई यो आदमखोर स्कुलमा पठाउनुहुन्न ।’
‘तर, यसमा मेरो कुनै दोष थिएन । मैले कसैलाई तर्साएकै थिइनँ,’ जोगीको शरीरमा पसेको शिवरामले रुन्चे स्वरमा बोल्यो ।

गाउँका केटाकेटीहरू स्कुल जान छाडे । तिनका किताब, कापी, पाटी र नरकटको कलम चुल्हो बाल्न काम लागे । बुतका बनाएका ससाना सिसी भने केटाकेटीहरूले सिटी बजाउन प्रयोग गर्न थाले । सेतो खडिया उनीहरूले आफ्नै घरका भित्तामा अन्टसन्ट चित्र बनाएर सिध्याए । बकलवाला स्कुल ब्याग गाउँका जनानाहरूले किराना दोकानबाट सौदा ल्याउन प्रयोग गर्न थाले ।
स्कुल सधैंका लागि बन्द भयो ।
एक दिन सरकारी मान्छेहरू आए र स्कुलका दराज, टेबुल, कुर्सी पनि लगे । पुस्तकालयका किताबहरू पनि लगे । स्कुल सुनसान भयो । स्कुलका रित्ता कोठाहरूमा दिनभरि चौपायाहरू बस्न थाले । गाउँभरिका कुकुरले कात्तिक त्यहीं मनाए । बिरालाहरूले त्यहीं गृहस्थी जमाए । मुसाहरूले त्यहींबाट जमिन भित्रभित्रै गाउँसम्म पुग्ने द्रुतमार्ग बनाए र गरिबका डेहरीभित्र जोगाएर राखेका अनाज कुटुकुटु खाइदिन थाले ।
रातिराति भने अगलबगलको गाउँबाट जवानीले मदमस्त भएका लड्कालड्की आएर त्यहाँ रासलीला गर्न थाले । गाउँलेहरूले तिनका छाया देख्थे र भन्थे, ‘स्कुलभित्र सिउरामको आत्मा नाचिरहेछ ।’
‘तर, म त स्कुलबाहिरै छु । श्री ३ जङ्गबहादुरको पालादेखि ।’

१२.
यसरी शिवराम आफैंले मलाई आफ्नो मृत्युको कथा सुनायो र एक छिनपछि जोगीको शरीरबाट निस्कियो । जोगीले एक पटक शरीरलाई जोडले झट्कारे र सहज भए । उनको अनुहारबाट बिस्तारै रातो हरायो । निधारबाट पसिना आउन रोकियो ।
जोगीले वरिपरि उभिएका गाउँलेहरूसित सोधे, ‘कसकसलाई शिवरामको यो कहानीमा विसुवास भयो ? हात उठाऊ ।’
सबैले हात उठाए । तर, म चुप रहेँ । हात पनि उठाइनँ ।
सबै गएपछि जोगी र म बाँकी रह्यौं । मैले जोगीसित सोधें, ‘शिवरामको कहानी सही हो ?’
उनले हाँस्दै भने, ‘कहानी पनि कहीँ सही हुन्छ ?’
यति भनेर उनी आफ्नो झोलीतुम्बी, कमन्डलु र त्रिशूल बोकेर अलखनिरञ्जन भन्दै हिँडे । एकै छिनमा कता अलप भए कता !
म ठिंग उभिइरहें । जोगीले जे भने पनि मलाई थाहा थियो, सबै कहानी गलत हुँदैनन् ।
जोगीको शरीरमा शिवरामको आत्मा प्रवेश गर्नेबित्तिकै मैले सोधेको पहिलो प्रश्न थियो, ‘शिवराम तिमी कहिले मरेको ?’
उसले जवाफ दिएको थियो, ‘म २०७७ सालको भादौ महिनामा मरेको हुँ ।’
जोगी गइसकेपछि पो म झल्याँस्स भएँ र भविष्यको सम्भावनाले आत्तिएँ । विगतजस्तो भयो भयो, अब उसको भविष्य ठीक हुनुपर्छ । म उठेँ र छिटोछिटो शिवरामको घरतिर लागेँ । किनभने मलाई शिवरामलाई त्यसरी मर्न दिनु थिएन । २०७७ सालको भदौ महिना आउन अझै एक वर्ष बाँकी पनि त थियो ।
अन्ततः मैले शिवरामलाई उसकै घरबाहिर भेटेँ । ऊ एउटा रंगीन किताब पढिरहेको थियो । एउटी युवती पनि ऊसँगै त्यही किताब पढिरहेकी थिइन् । मैले शिवरामसित सोधेँ, ‘यी युवती को हुन् ?’
उसले जवाफ दियो, ‘महाराजको छातीमा कटारी रोप्ने नचनियाँ यिनै हुन् ।’
त्यो भ्रम थियो या यथार्थ, मैले ठम्याउन सकिनँ । तर, मैले टाढा कतैबाट अझै पनि कुनै महाराजले आदेश दिइरहेको सुनेँ, ‘यो गाउँमा कुनै रैतीले पनि अर्घ्यालो नथाप्नू ! हाम्रो अधीनमा बस्नू ! सधैं हाम्रो आदेश पालन गर्नू र कुनै तकसीर नगर्नू ! जो येस बन्देजमा रहैन सो पातकी होला ।’
यता, शिवराम र नचनियाँ भने कटारीमा धार लगाउँदै थिए ।
मैले बुझिहालेँ, अब शिवरामहरू ‘बन्देज’ मा बस्दैनन् ।

प्रकाशित : श्रावण ११, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्

लाङटाङसँग मितेरी

प्रभा बराल

बसम्म हामीले हाम्रो देशको माटोको सुगन्ध र भूगोललाई नजिकबाट साक्षात्कार गर्न सक्दैनौँ तबसम्म हामीले आफूलाई चिन्न सक्दैनौँ भन्ने चेत मैले विदेशमा गएर गरेँ  । यसैले मौसमको प्रतिकूलतामा पनि लाङटाङ पदयात्राको निम्तो पाउनासाथ म जान तयार भइहालें  ।

असार महिनामा प्रशस्त पानी परे पनि जमिन पर्याप्त मात्रामा गलिसकेको हुँदैन। जमिन गले पनि साउन, भदौमा मात्र पहिरोको डर हुन्छ। फेरि हिमाली क्षेत्रमा उतिसारो वर्षा पनि नहोला भन्ने अनुमान गरेर असार २३ गते लाङटाङ जाने टुङ्गो लगायौँ । असार २२ गते काठमाडौँमा लगातार वर्षा भइरहेको थियो। यो वर्षाले मनमा डरको ढ्याङ्ग्रो नठोकेको भने होइन । परिवारका सदस्यबाट मञ्जुरी पाउन पनि त उत्तिकै गाह्रो थियो। तर पनि जान्छु भनेर चुरीफुरी गरिरहेकी मलाई मौसमका कारण नजा भन्न कसैले सकेनन् । नियात्रा समाजको आयोजनामा आठ जनाको टोली असार २३ गते काठमाडौंबाट हिँड्यौं ।

हामी एक हप्ताका लागि काठमाडौँ छाड्दै थियौँ । गल्छी हुँदै नुवाकोट कटेर रसुवाको स्याफ्रुबेंसीमा आज हाम्रो पहिलो बास हुने थियो । त्यसैले नियमित दैनिकीलाई थाँती राख्दै नयाँ शिराबाट हाम्रो यात्रा सुरु भएको थियो । नयाँपनले पक्कै पनि नयाँ खुसी नै प्रदान गर्दोरहेछ, हामी भित्रैदेखि यात्राको सुखानुभूति गर्दै थियौँ । नौबिसेसम्म नै गाडी कतै जाममा परेन ।

रसुवाको स्याफ्रुबेंसी पुग्दा दिनको तीन बजेको थियो । गाडीबाट झर्नेबित्तिकै देखियो गणेश हिमाल होटल । हाम्रा झोलातुम्बा त्यहाँ बिसाएपछि हामी फुक्काफाल भयौँ र लाग्यौँ मनमौजी गफ गर्न । घरको चौरस्ताबाट उम्केर आकाशको पन्छीजस्तै स्वतन्त्र भएका थियौँ, हिमालको फेदीमा पुगेर फर्कंदा हाम्रा गोडा गलेर टेकिन छाड्छन् अहिल्यै नै ‘चिलिमे जलविद्युत्’ हेर्न जाऊँ भनी टोली नेता प्रतीक ढकालले भन्नुभयो । हेलमेट लगाएर चिलिमेको संरचनाभित्र छिर्नुअघि भवनको मास्तिर ‘नेपालीको पौरख, नेपालको गौरव’ लेखिएको नारा देखियो । शिर गर्वले ठाडो भयो । नेपालीकै सीप र लगानीले पहरा खोपेर भित्र यति विशाल संरचना बनाइएको रहेछ कि मैले त यसअघि यसका बारेमा बुझेकै रहेनछु ।

भोलिपल्ट बिहानै रसुवा स्याफ्रुबेंसीबाट लट्ठी टेक्दै उकालो लाग्यौं । स्याफ्रुबेंसी बजारको पुल तरेर पूर्वपट्टि लागेपछि हरियाली वनकुञ्ज भेटियो । तलपट्टि भोटेकोसी स्वाँवा गरेर सुसाइरहेको थियो । एक अर्कामा बोलेको बुझ्न नजिकै गएर कान जोड्नुपर्ने अवस्था थियो । सिजनमा दैनिक साठीदेखि सत्तरी पर्यटकको लर्को लाग्ने यो बाटो अहिले भने खाली–खालीजस्तो थियो । फाट्टफुट्ट स्थानीयहरू हिँडेको देख्न सकिन्थ्यो । ठाउँठाउँमा झोलुंगे पुल रहेछन् र हिमालको फेदीबाट आएको भोटेकोसी नदीको बहाव अत्यन्तै तीव्र थियो, वनै उचाल्ने नदीको आवाज सुनेर हामीले अचम्म मानेका थियौँ ।

आठ जनाको समूह हामी घरी अघि र घरी पछि भइरहेका थियौँ । करिब एक घण्टाको हिँडाइपछि ‘तिवारी’ भन्ने ठाउँमा पुग्यौँ । थर तिवारी हो कि भनेको ठाउँको नाम नै तिवारी रहेछ । एक जना तामाङ दाइले कालो चिया खुवाएबापत एक कपको पचासका दरले पैसा लिए । राजधानीबाट आएका मान्छे भनेर थाहा पाएपछि उनले वाक्य सकिनेबित्तिकै ‘सरकार’ लगाएर बोलिरहेका थिए । ‘सरकार हजुरका खुट्टामा जुकाले खाएछ’ भनेपछि हामी सबै जना एकपल्ट तर्सियौँ र आफ्ना आफ्ना गोडा जाँच गर्न थाल्यौँ । नभन्दै सबै जनालाई जुकाले आक्रमण गरिसकेको रहेछ । डराउनु पर्दैन जुकाले फोहोर रगत खाने हो, अघाएपछि आफैँ झर्छ भन्ने सुने पनि तर्सियौँ सबै जना ।

हाम्रो कछुवा हिँडाइले आजको बास ‘लामा होटल’ पुग्न दस घण्टा पैदल हिँड्नुपर्छ रे । पिँठ्युमा बाह्र–पन्ध्र केजीको झोला । खुइय्य सुस्केरा हाल्दै र लट्ठी टेक्दै हामी हिँडिरह्यौं । ‘सहरिया ज्यानजस्तो छ, मोटो भएर हिँड्न सकेन बहिनीहरू त’ भन्दै स्थानीयले गीता रेग्मी दिदी र मलाई जिस्काउँदै हिँड्थे । हामी पनि हाँसेरै टारिदिन्थ्यौँ, हुन पनि यति सारो दःुख काटेर कहाँ नै हिँडिएको थियो र ?

असिनापसिना हुँदै ‘पहिरो’ भन्ने ठाउँमा पुगेर एक जना दिदीसँग आठ कप तातोपानी माग्यौँ । हामी आफैँले तयारी कफी बोकेर गएका थियौँ । यो बल्ल १८०० मिटरमा थियो । तर, हामीलाई हिमालै आइपुगेजस्तो लाग्दै थियो । तातोपानीको ८ सय रुपैयाँ बुझाएपछि हाम्रा पाइला स्वचालित गतिमा अगाडि बढे । सिमसिम पानीले लफ्रक्कै भिजेका पातहरूमा बडो सर्तकतापूर्वक कुल्चँदै अगाडि बढिरह्यौँ । किसिम किसिमका बाटो झल्किने गरी कहीँ रूख बाङ्गोजस्तै बन्दै बाटो नै गुफाजस्तो बनेको थियो, कहीँ रूख नै ढलेर गेटजस्तो आकार बनेको थियो । घरी उक्लँदै र घरी ओर्लंदै ‘व्याम्बु’ भन्ने ठाउँमा आइपुग्छौँ । नदीको भीमकाय छाल ढुंगामा पछारिँदा सुनिने आवाजले हामी झसंग हुन्छौँ । यस्तो ठाउँमा पनि रेस्टुरेन्ट रहेछ । थाकेर लोत परेकोले आराम गर्‍यौँ एक छिन । चाउचाउको अर्डर गर्‍यौँ ।

यो पसलकी साउनीकी नर्स छोरीको २०७२ सालको भूकम्पमा परी लाङटाङमा ज्यान गएको रहेछ । ‘तपार्इंहरू यो वर्षामास किन आउनुभएको, आफ्नो राम्ररी ख्याल राख्नुहोला है,’ भनेर छोरीको वियोगमा ती दिदी रोइन् । उनको कुराले हामी सबैको छाती भक्कानियो । बिहान छ बजेदेखि हिँडेका हामी दिउसोको तीन बजिसक्यो, गन्तव्यमा कति बेला पुग्ने अझै टुंगो छैन । ठाउँ ठाउँमा झोलुंगे पुल । घरी नदीवारि तर्छौं घरी पारि तर्छौं । हिमालको सिरानमा नदीको मुहान भेट्टाउन हामी हिँडेका हिँड्यै छौँ ।

रिम्चे पुग्नुअगाडि माथिबाट ढुंगाको पहिरो खसेको जस्तो डरलाग्दो खोँच काट्न आधा घण्टा जति लाग्यो । ‘निकै डरलाग्दो बाटो रहेछ यो, फर्कदा त शेर्पा गाउँ भएर फर्कनुपर्छ है,’ टोलीको कोही हामीलाई सुझाउँछ । माथि डाँडाको नाम रिम्चे रहेछ । छिरिङ डोल्माको पसलमा बसेर कालो चिया र कोकोनट बिस्कुट खायौँ । यहाँ त एक कप कालो चियाकै सत्तरी रुपैयाँ पो लिइन् अनि कोकोनट बिस्कुट एउटैको सय रुपैयाँ रे ।

टोलीले आर्थिक कारोबार प्रमुख मलाई बनाएको थियो । मैले चिया र बिस्कुटको पैसा दिँदा पसलकी शेर्पिनी दिदीले भनिन्, ‘तँ यो टोलीको बोस होस् ? पैसा त तैंले दिइस् नि ?’ उनको लवज सुनेर हामी मज्जाले हाँस्यौं । ‘आज तिमीहरू मेरोमै बास बस न, छ बजिसक्यो’ भनेर शेर्पिनी दिदीले जोड गरे पनि पच्चीस मिनेट पर रहेको लामा होटलसम्म पुगेर बाटो छोट्याउनु मनासिब लागेकाले हामी चिप्लेकीरा जसरी घस्रिन थाल्यौं ।

शेर्पा होटलमै बासको निधो गर्छौं । लामा होटल कुनै होटलको नाम होला भनेको यो त स्थानविशेषको नाम पो रहेछ, अघि तिवारी भनेजस्तै । भोलिपल्ट होटलको पैसा तिर्दा शुल्कसम्बन्धी नयाँ ज्ञान प्राप्त भयो– अफ सिजन भएकाले कोठाको प्रतिकोठा सय रुपैयाँ मात्र । तर, मासुरहित खानाको पाँच सय । र, बिहानको खाजाको दुई सय । मिनरल वाटर सबभन्दा महँगो, एक बोटलकै दुई सय । चिया भने पचास रुपैयाँमै दिए, हिजो रिम्चेकी छिरिङले भने सत्तरी रुपैयाँ लिएकी थिइन् ।

लामा होटलबाट लाङटाङका लागि प्रस्थान गर्दा बाटैभरि सामान बोकेका खच्चडहरू भेटिए । बाटोमा मान्छे धेरै भेटिएर होला, देख्नेबित्तिकै बाटो छोड्न जानेका । २७०० मिटरको आसपासमा हामी हिँडिरहेका छौँ । एघार बजेतिर ‘घोडा तबेला’ भन्ने ठाउँमा पुग्छौँ । यो ठाउँ अलि रमणीय रहेछ । लाङटाङ राष्ट्रिय निकुञ्जको सरकारी भवनमा पुग्दा फोनमा नेटवर्क देखियो । दोस्रो दिन बल्ल घरमा कुरा भयो । भूकम्पले ध्वस्त पारेपछि सेनाको ब्यारेक हटेको रहेछ, माथिपट्टि रित्तो भवन मात्रै देख्न सकिन्थ्यो । बाटोको आडैमा थियो, हेलिप्याड ।

मूर्तिकारले कुँदेजस्ता पहाड र आकाशमा निख्खर सेतो बादलको मनमोहक दृश्य देख्दा लाग्थ्यो, प्रकृतिले हामीलाई कति ठूलो वरदान दिएको छ तर पनि हामीले प्रशस्त पर्यटक भित्र्याउन सकेका छैनौं । न पर्यटकमैत्री बाटो छ न होटल छ न प्रशस्त भौतिक सुविधाहरू छन् । युवाजति विदेश धपाएर दायीत्व पूरा गरेझैं गरिरहेछ सरकार । विदेशमा युवाले कति सास्ती बेहोरेका छन्, मैले जापानमा दुई वर्ष बस्दा देखेर आएँ ।

‘थाङ्सेप’ धेरै पर्यटकको विश्रामस्थल रहेछ । यहाँ आधुनिक तरकारी खेतीका प्लट पनि रहेछन् । बारीभरि लहरै बन्दा थिए, देख्दै आनन्द आयो । ग्रिन हाउस बनाएर पनि तरकारी रोपेका थिए । यहाँ भएका आठ–दसवटा घर सबै लज, होटल र रेस्टुराँ थिए । थाङसेपबाट लाङटाङ पुग्न अझै चार घण्टा बाँकी थियो । बाटो सम्झिँदा दिक्क लागे पनि प्रकृतिको हरियाली थुम्काहरूले थकाइलाई बिर्साइदिएको थियो । वर्षायाम भएकाले होला डाँडाका टुप्पाहरू बादलले छोपिएका थिए तर त्यो छोपिँदाको सौन्दर्य पनि मनमोहक थियो ।

स्थानीयहरू देख्नेबित्तिकै अब लाङटाङ आउन कति बाँकी छ भनेर सोध्न बिर्सदैन्थ्यौँ । समान दूरीलाई कसैले दुई घण्टा, कसैले तीन घण्टा र कसैले चार घण्टा भनेपछि हामीले त्यस्तो प्रश्न सोध्न छाड्को थियौं । ‘गुम्बागाउँ’ भन्ने ठाउँमा केही सोभेनियर सप देखे पनि वर्षा सिजनले होला पसलमा ताला लागेका थिए । यही ठाउँमा एकपटक अमेरिकी युवती हराएकी र फेला पार्नेलाई बीस लाख पुरस्कार दिने कुरा कतै पढेको याद आयो । उनी फेला परिन् कि परिनन् त्यो भने थाहा पाउन सकिएन ।

लाङटाङ आइपुग्न लाग्दा २०७२ सालको भूकम्प ताण्डव देखाएको ठाउको छेउमा आइपुगियो । लगभग पाँच सय जनाको ज्यान यहाँ गएको थियो । यसमा विदेशी पर्यटकसमेत परेका थिए । यति धेरै मानिस एउटै चिहान परेको यो ठाउँ देख्दै डरलाग्दो थियो । हिमाल फुटेर डाँडै खस्दा यत्रो क्षति भएको रहेछ । गाउँमा स्थानीय पर्व ‘घेवा’ मा धेरै मानिसको जमघट थियो रे यसैबेला भूकम्प आउँदा सारा गाउँ नै सोत्तर परेको रहेछ । भाँडा माझ्दामाझ्दैको जाली र केही चप्पलहरू यत्रतत्र देखिए । हे भगवान् ! कति ठूलो पीडामा परेछन् लाङटाङवासी भन्दै भावुक बनेर बगरलाई हेरिरह्यौँ ।

अलिकति पर केही घरहरू देखिए, पछिल्लो लाङटाङ त त्यही हो रे । डरलाग्दो बगर काटेर नयाँ बस्तीमा पुग्दा बेलुकाको सात बज्नै लागेको थियो । एउटा तिब्बतियन गेस्टहाउसमा बासको निधो गर्‍यौं । त्यहाँ भित्तामा पुरानो लाङटाङ बस्तीको चित्र झुन्डाइएको थियो, कति आकर्षक रहेछ पहिला यो गाउँ । गाउँको सिरानमा सेतो हिमाल । हामी काठमाडौँवासीले भूकम्पको गम्भीर असर बेहोर्‍यौं भनेको त यहाँ यति भयानक अवस्था सिर्जना भएको रहेछ । हिमालको काखमुनि आएका थियौँ हामी, भोलिपल्ट बिहान हिमाल हेर्नु छ । हिमाली जनजीवन बुझ्नु छ र यहाँबाट फेरि तीन घण्टा पैदल हिँडेर केन्जिन गुम्बा पुग्नु छ ।

प्रकाशित : श्रावण ११, २०७६ १०:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्