कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पच्चीस सय वर्ष लामो विचारको खडेरी

यादव देवकोटा

पार्श्वघटना
महाभारत, वेद, पुराण, स्मृति, रामायणमा वर्णित मिथकीय कथा र संस्कृतिको चर्को प्रभाव क्षेत्रकै रूपमा छ अझैं पनि हाम्रो समाज । मानिस जस्तोखाले समाज, परिवेश, ऐतिहासिक समयक्रममा जन्मे, हुर्केको हुन्छ, उसमा सोहीबमोजिम समाजले आफ्नो मूल्यमान्यता, दृष्टिकोण, चेतना आरोपित गरिदिन्छ ।

पच्चीस सय वर्ष लामो विचारको खडेरी

यहाँको समाज/राज्य वेद, पुराण, स्मृति, महाभारतमा वर्णित वीरता मात्रै होइन शासन र शासित हुने परिपाटीको समेत अनुकरणमा लागेको पाइन्छ । कमाराकमारी, दासदासी, सेवकसेविकाको प्रचलन पनि हस्तान्तरित भएर आयो । ऋषिमुनि, विद्वान्हरू सत्तासँग जोडिएर रहने वर्णनहरूको प्रभाव पनि रहने नै भयो । कृपाचार्य, द्रोणाचार्यजस्ता प्रसिद्ध गुरुहरूसमेतले गलत बाटो लिएको थाहा पाउँदासमेत राज्यसत्ताको संस्थापनप्रति बफादार रहने शीर्षकमुनि बाँधिएर सत्ता संस्थापनको गलत कृत्यमा सामेल भएको देखासिकीमा आज पनि विवेक बन्धकी राखेर सत्तासीनहरूको च्याम्बरमा चमर हल्लाउन भर्ती भएका र हुन लालायितहरूको कमी छैन ।

ऋग्वेदका मन्त्रकर्ता ऋषिमा क्रमशः विश्वामित्र, वशिष्ठ, भारद्वाज, गौतम, अत्रिलाई मानिन्छ । अंगिराका नाति तथा बृहस्पतिका छोरा भारद्वाज उत्तर पाञ्चालका राजा दिवोदासका पुरोहित थिए । विश्वामित्र दक्षिण पाञ्चालसँग सम्बन्धित थिए । वशिष्ठ कुरु राजपुरोहित थिए । वेद, उपनिषद्का प्रणयनकर्ता विश्वामित्र, भारद्वाज क्षेत्रीय राजकुलका सदस्य थिए । कुरु/पाञ्चालका ब्राह्मण आरुसीका शिष्य (पुत्र) थिए याज्ञवल्क्य (सांकृत्यायन, राहुल–दर्शन दिग्दर्शन, पृ ३८४) । तसर्थ तिनले ब्राह्मण–क्षत्रिय समाजको स्वार्थ रक्षा र राजकीय सत्ताको हितोपकारी सूक्तहरू आफ्नो रचनाको आधारकथाका रुपमा प्रणयन गर्नु कुनै विस्मातको विषय थिएन ।

पूराण, वेद, स्मृतिहरूमा आचार, आशौच, आश्रमधर्म, वर्णधर्म, द्रव्याशुद्धि, गोत्र एवं प्रवर, नरक नीति, पातक, प्रायश्चित्त, राजधर्म, संस्कार, श्राद्ध, स्त्रीधर्म, वर्त, युगधर्मजस्ता विषय समेटिएको पाइन्छ । जो कालान्तरमा यसको प्रभाव रहेको भूगोलमा नागरिक, समाज, राज्य र शासकहरूको संहिता बनेर विकसित भयो । जीवन पद्धति बन्यो । विचार र चिन्तनमा लाग्नेहरूले पनि त्यसैबाट निर्देशित हुने या अनुबन्धित रहने घोषित, अघोषित प्रथा रह्यो । त्यसको प्रभाव रहेको नेपाली समाजमै स्थिति मल्ल र जंगबहादुरद्वारा जारी ऐन, नियमहरू यिनै धार्मिक ग्रन्थद्वारा परिपोषित थिए । किन पनि भने, त्यो यहाँको समाजको जीवन, व्यवहार, चिन्तनको उत्कर्ष थियो ।

वैयक्तिक, सामाजिक, राजकीय कारोबार र जीविकाको निर्देशिकामा धार्मिक विधिविधानको प्रखर र निर्णायक भूमिका रहेपछि स्वाभाविक तवरले त्यसबखतको रचना, सिर्जना या बौद्धिक यत्न सबै तिनै धार्मिक कृत्यहरूको महिमामण्डनमा केन्द्रित थियो । ईश्वरीय लीला, आराधना, स्तुतिमा संकेन्द्रित सिर्जनात्मकता त्यसबाट बलै उम्कियो भने राजा, महाराजाहरूको विरुदावलीमा झ्याम्मिन्थ्यो, आजका दिनमा सत्तारूढ शासकहरूको चाकरीलाई मानिसले जीविकोपार्जनको आधार बनाए जसरी नै । स्तुति मन पराउने र स्तुति, प्रशंसा र चाकरीबाट शासक रत्याएर जीविका चलाउने प्राचीन दासचेतको उत्तराधिकारी बन्न लालायितहरूको गर्जो परेको छैन, आजको समयलाई पनि ।

बुद्धले सनातन विश्वास र ईश्वरवादमाथि प्रश्न गरे । चलिरहेको चिन्तन र चेतना अपूर्ण लागेपछि जसरी बुद्ध तर्क र प्रश्नहरूसहित वैकल्पिक चेतना र चिन्तनको बाटोमा लागे, त्यसले दुनियाँलाई युगान्तकारी नयाँ विचार र चेतना दियो । सिंगो मानव समाज त्यसबाट लाभान्वित भयो । तर पछि त्यसबाट आक्रोशित या ईश्वरवादबाट लाभान्वितहरूले बुद्ध दर्शनमाथि हमला गरे र विमर्शलाई सर्वथा बन्देज गराउने बाटो समाते । बुद्धकै अनुयायी दाबी गर्नेहरूले बुद्ध दर्शनलाई विश्वास या रुढीको रूपमा, ईश्वरवादको रूपमा भ्रष्टीकरण गरिदिए ।

विश्वासमाथि तर्क र बहसलाई ठाउँ नरहेपछि बौद्धिकहरू उत्पादन हुने कुरै भएन । बौद्धिकहरू नभएपछि विचार उत्पादन हुने कुरै भएन । जति पनि बौद्धिक या विचारहरू बुद्धको समयपछि आए ती किन पनि बुद्ध या उनको समकालीन समाजका अन्य दार्शनिकहरूको स्तरमा पुग्न सकेनन् भने खासगरी इसाको दोस्रो शताब्दी पहिलेदेखि अभिलेखित हुन थालेका हाम्रा धर्मग्रन्थ, स्मृति, नीतिहरू वैचारिक सामग्री कम र सम्पूर्ण तवरले ईश्वरीय विश्वासका साधन बन्न गए । तर्कभन्दा पर पनि केही हुन्छ भन्ने तर्क गरेर विश्वासलाई तर्कबाट अलग गराउने झन्डै पच्चीस सय वर्षभन्दा लामो समयदेखिको अभ्यासले हामीकहाँ बुद्धको समययता लामो विचारक र विचारको खडेरी परेको छ । यो आलेख नेपाली समाजको चिन्तन परम्परा, सामाजिक अभ्यास कसरी लामो समयदेखि विमर्श र चिन्तनको बाधकका रूपमा क्रियाशील छ र त्यसले कसरी २५ सय वर्षवरिपरिको समयदेखि विचारको खडेरी भोग्न हाम्रो समाजलाई अभिशप्त बनाएको छ भन्ने प्राथमिक विवरणमा केन्द्रित रहनेछ ।

आरम्भ
झन्डै पैंतालीस सय वर्षअघितिर सरगोन (प्रथम) ले आक्रमण गरी सुमेरियासहित सम्पूर्ण मेसोपोटामिया क्षेत्र अरबी अक्कड साम्राज्यको अधीनमा लिएर फारसको घाँटीमा तरबार पखालेपछि सुमेरहरू त्यहाँबाट तितरबितर भए । पूर्व लागेकाहरू इरानमा पुगी त्यहाँका निवासीहरूसँग मिसिएर ‘आर्य’ नामले परिचित भए । आर्यहरू त्यहाँबाट पनि पूर्व लागेर अफगानिस्तान हुँदै खैवर भञ्ज्याङ पार गरेर सिन्धु प्रदेशमा पुगे । द्रविडहरूले विकास गरेको सिन्धु प्रदेशमा घोडचढी र रथहरूको प्रयोग गर्ने युद्धकौशल जानेका नवागत आर्यहरू र सुधा द्रविडहरूको युद्धले मोहनजोदाडो र हडप्पाका सहरहरू भग्नावशेषमा परिणत भए (अधिकारी, सूर्यमणि–नेपाली भाषाको इतिहास, पृ ५) ।

त्यसको केही समयपछि आर्यहरूको अर्को हूल मध्य–एसियाबाट मुञ्जवान पर्वत पार गरेर स्वात नदी किनारमा आइपुगेर ‘सुवास्तु’ नामक बस्ती बसायो । यही पछिल्लो समूहले ‘ऋग्वेदसंहिता’ को बीजारोपण गर्‍यो । वशिष्ठ, विश्वामित्रजस्ता प्रतिष्ठित ऋषिहरू यिनै दोस्रो हूलका आर्यवंशी दिवोदास, सुदासहरूको राजसभाका सहायकहरू थिए । जमेर एकैथलो, विचारमा बसिरहने चेतनाभन्दा पर विकल्पहरूको खोजी, त्यस विकल्पमा आफ्नो समुदायलाई बाँच्ने र श्रेष्ठ बन्ने आधार तयार गर्नुपर्ने चिन्तनकै कारण आर्यहरूको प्राचीन तप्काले लामो समय एकापसमा गरेको संवाद, विमर्श, बहस, शास्त्रार्थ कालान्तरमा वेद, स्मृति, पुराणका रूपमा अभिलेखनमा आएको थियो ।

इपू १४ सय आसपास सतलज पार गरी यमुना नदी किनारमा सभ्यता विकास गर्न पुगेको तिनै आर्यवंशीहरूको परिवार कुरु र पाण्डवबीच भएको भनिएको युद्ध (इपू १२५० आसपास) ‘महाभारत’ का नामले सुप्रसिद्ध छ (आचार्य, बाबुराम–नेपालको सांस्कृतिक परम्परा, पृ. ८) । महाभारत कथामा वर्णित नीति, धर्म, व्यवहार, त्याग, तपस्या, बहादुरी, समपर्ण, बलिदान, दमन, भेदभाव त्यसयताको समाजको मूल धमनीका रूपमा सामाजिक चेतनामा सिञ्चित छ ।

विभिन्न गणराज्यहरूमा अन्य शक्तिशाली राज्यको आक्रमण थेग्न नसकेर ज्यान जोगाउन भागेर हिँडेका मानिसमा सामूहिक तवरले हारको कुण्ठाग्रस्त चेतना सँगै आएको थियो । आफूभन्दा शक्तिशालीले हराएको कुण्ठाको चेतनाभित्र आफूभन्दा कमजोरलाई हराउने लालसा लपेटिएको हुन्थ्यो । त्यही चेतना बोकेर छिरेका सुरुका शरणार्थी या भगौडा समुदाय कालान्तरमा त्यहाँको सत्ता उल्ट्याएर शासक बने । शासकीय अहंले हारको कुण्ठा दबाउन शासित जनतामाथि शोषण र दमनको बाटो अख्तियार गर्‍यो । कालान्तरमा सक्नेले नसक्नेमाथि शोषण, दमन गर्ने सामाजिक चेतना विस्तारित भएर आयो । त्यस्तो शोषण, शासन, दमनलाई न्यायोचित, राजकीय धर्मका रूपमा रक्षाकवच पहिर्‍याउन धार्मिक, दैवी कथ्यहरूको, पुराण, स्मृतिहरूको सिर्जना त्यही समयबीचमा भयो । मुख्य पुराण, वेद, स्मृति, महाकथाहरूको सिर्जनाको कालखण्ड तीन हजारदेखि १६ सय वर्षअघिको समयमा रहेको अनुसन्धानकर्ताहरूको निष्कर्ष आउनु संयोग मात्रै नमानिएला ।

युरोपमा दर्शनको आरम्भ छैटौं शताब्दी इपूमा भएको पाइन्छ । आजको नेपालसमेत समेटिने त्यसबखतको भारतीय उपमहाद्वीपमा भने इसाको दसौं शताब्दी पूर्वार्द्धमै दर्शनको विकास भएको देखिन्छ (सांकृत्यायन, उही, पृ. ३७९) । प्राचीन ब्राह्मण दर्शन इपू १००० देखि ६०० वर्षमा, उपनिषद् ७०० देखि १०० इपूमा सिर्जित भएको मानिन्छ । ऋग्वेद, अर्थववेद, उपनिषद्का केही ऋचाहरू इपू ४००० देखि १००० वर्षको बीचमा संकलित भएको मानिन्छ । इपू ६०० देखि २०० भित्र भगवत् गीताको रचनाकाल एवं इपू ३०० देखि इसाको पहिलो शताब्दीलाई कौटिल्य अर्थशास्त्र, पतञ्जली महाकाव्य, याज्ञवल्क्य स्मृतिको अभिलेखनकाल मानिन्छ । मनुस्मृति रचनाको समय महाभारतको रचनाकालभन्दा प्राचीन देखिएको छ । मनुस्मृतिको संशोधन इपू दोस्रो शताब्दीदेखि इसाको दोस्रो शताब्दीको बीचमा भएको यसको गहिरो अध्ययन र तुलना गरेका विद्वान्हरूको राय रहेको छ (कोणे, पाण्डुरंग वामन–धर्मशास्त्रको इतिहास, भाग १, पृ. ४६) ।

तिनै धार्मिक पूराण, वेद, स्मृति, नीति, महाकथनहरूको प्रभाव मानिसहरूमा यसरी गडेर बस्यो कि त्यो एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरित हुने ‘जिन’ कै तवरले स्वत हस्तन्तरित हुँदै सामाजिक, शासकीय आवश्यकतालाई पूरा गर्ने तवरले सम्पादित, संशोधित, परिमार्जित हुँदै फस्टाइरह्यो । जसको प्रभाव आजको दिनमा पनि सबैभन्दा प्रखर रूपमा सामाजिक, वैयक्तिक, शासकीय चेतना, चिन्तन निमार्णको पहिलो सर्तका रूपमा उपस्थित छ ।

महिलाद्वेषी चेतना
यस्ता धर्मग्रन्थ, सामाजिक, राजकीय सभामा सर्वथा पुरुषहरूको अग्राधिकार प्रधान थियो । महिलालाई केवल पूरक/‘भोग्या’/दोयम ‘वस्तु’ को रूपमा व्यावहार हुन्थ्यो । धार्मिक कानुनमा पुरुषको सुविधाको सुरक्षामा दख्खल नपुग्ने हदसम्म मात्र महिलाले अधिकारको उपयोग गर्न पाउँथे । त्यही धार्मिक नियम, बन्धनले तयार गरेको वैयक्तिक, सामाजिक, शासकीय चेतना उप्रान्तको बौद्धिक चेतनामा समेत प्रतिविम्बित भएको पाइन्छ । त्यसयताको लामो कालखण्ड हुँदै भानुभक्तीय वधूशिक्षकालसम्म मात्र होइन आजको दिनमा पनि ‘छोरी दोयम, छोरा प्रथम’ को जुन खाले सामाजिक चिन्तन, संस्कृतिको कठघराले छोरीलाई ‘वस्तु’ को रूपमा प्रस्तुत गर्छ, त्यो प्राचीन समाजबाट उत्तराधिकारको रूपमा हस्तान्तरित सामाजिक चेतनाको प्रतिफल हो । ठूलाठूला राजनीतिक, सामाजिक क्रान्ति, उलटफेरपछि पनि महिलालाई दोयम ‘वस्तु’ को रूपमा व्यावहार गर्ने चिन्तन निमार्णको आधार शताब्दीऔं लामो सामाजिक शिक्षा, व्यावहार, चेतना हो । छुवाछूत, भेदभाव, उचनीचको जुन निलडाम छ आजको समाजमा, वौद्धिक, व्यावहारिक चिन्तनमा, त्यसको मूलआधार फेरि पनि यहाँका बासिन्दाले कमसेकम तीन हजारभन्दा बढी वर्षदेखि व्यवहार गरिआएको धर्मिक, दैवी नियम, नीति, सूक्तहरूका नाममा चलाखहरूले लादेको संस्कार, संस्कृति, चिन्तन नै हो ।

महिलाहरूलाई सार्वजनिक शिक्षाबाट घोषित तवरले नै तीन हजार वर्ष आसपासदेखि नै निरपेक्ष राख्ने र कथम् कसैले ज्ञान हासिल गरिहाले दवाउने र अपमानित गर्ने संस्कृतिका बीचबाट जसरी हाम्रो समाज गुज्रियो, त्यसको परिणाममा सार्वजनिक बौद्धिक चेतनाको क्षेत्रमा आजको समयले बेहोरिरहेको भुत्तेपना सर्वथा उचित छ । वैयक्तिक सिकाइको सबैभन्दा मैत्रीपूर्ण शिक्षालयको प्रथम आधारमाथि नै दमनको परेड चलाइएपछि परिणाममा भुत्तेपनाको धूलोले समाजिक चेतनाको बाटो छोपिदिनु कुनै आश्चर्यको विषय होइन ।

गार्गीमाथि जनकको सभामा याज्ञवल्क्यले अपमान र उनको प्रश्नमाथि निषेधको जुन व्यवहार गरे आजपर्यन्त त्यो जारी छ, योजनाबद्ध चिन्तन, अभ्यासका रूपमा । जनकको सभामा याज्ञवल्क्य, जनक वैदेह, जरत्कारव आर्तभाग, उषीस्त चक्रायण, गार्गी, विदग्ध सकल्य, जित्वाशैलिनी, उदंग शौल्वायनजस्ता प्रतिस्पर्धी तथा शिष्यहरूको शास्त्रार्थ चलिरहँदा गार्गी वाचक्नवीले ‘ब्रह्मलोक कसमा ओतप्रोत छ ?’ भनेर प्रश्न गरेपछि उत्तेजना र आक्रोशमा आएर याज्ञवल्क्य गार्गीलाई हतोत्साहित पार्छन्, ‘प्रश्नको सीमालाई पार नगर गार्गी ! नत्र तिम्रो शिर उछिट्टिनेछ ! प्रश्नको सीमा पार गरेर तिमी देवताको बारेमा अति प्रश्न गरिरहेकी छौ । गार्गी अति प्रश्न नगर !’

यसरी विश्वासमाथि प्रश्न, बहस र तर्कलाई निषेध गर्ने र सभामा उपस्थित विदुषिकामाथि अपमानित गर्ने भाले चिन्तन जसरी याज्ञवल्क्यले सार्वजनिक तवरले आरम्भ गरे, त्यसको सिको आजपर्यन्त जारी छ । मौलाएको छ तर मुर्झाएको छैन । गार्गी, माण्डवी, मैत्रेयी, श्रुतकीर्ति, सुनयनाजस्ता महिमाशालिनी विदुषीहरूको योगदानबाट लाभावान्वित मिथिला क्षेत्रपछि आजको नेपाली सरहदभित्र महिला विद्वता अघि आउन सक्ने सामाजिक वातावरण नै बन्न सकेन । आज विश्वासमाथिको तर्कलाई बन्देज गरिएको छ । जब तर्क, बहस, विचारमाथि बन्देज लाग्छ, त्यसपछि समाजमा पूजा र आराधनाबाहेक बाँकी हरचिज वर्जित हुन्छ । तर्क वञ्चित समाजले तर्कबाजहरू जन्माउने कुरै भएन । विचारकहरू आउने नै बहस, विवाद र तर्कहरूको कष्टसाध्य प्रक्रिया पार गरेर हो । त्यो निषेधित छ ।

आज पनि महिला चेतना, ज्ञान, विचार पुरुषप्रधान समाजको स्तरबाट रत्तिभर माथि उठ्न लागेको आभास हुनासाथ दमनको एसिड फ्याँकेर सिध्याइदिने यत्न जारी छ । त्यतिले नपुगे महिला चेतनाको पाठशाला नै आरोपित गरिने सिलसिला अकण्टक जारी छ । परिणाम, आज हाम्रो बौद्धिक विवेकको कर्म धार मरेको कर्दजस्तो भुत्ते छ ।

चेतनाको कोर्रा
किरातकालीन समयदेखि नै तुलनात्मक तवरले द्वन्द्वात्मक चेत रहेको मानिने शैव सम्प्रदायी मतमा अभिशारित हाम्रो समाजमा जब वैष्णव मतको प्रभाव महाभारत, रामायणजस्ता कथ्यशास्त्रहरू मार्फत अघि आयो, त्यसले यहाँको चेतनामा पुनर्जन्म, दैवी चमत्कारको चेतना मात्रै थोपरेन उच–नीच, सत्ताभक्ति, याचना, समपर्णको चेतनासमेत आरोपित गरिदियो ।

लिच्छवि शासनकालीन नेपाली समाज वर्णाश्रम व्यवस्थाबाट निर्देशित थियो । वृषदेवको पालादेखि नेपाल उपत्यकामा बौद्ध धर्म र हिन्दु धर्मले सहअस्तित्व र सहिष्णु स्वरूपमा विस्तारित हुन पायो । भारतवर्षमा समेत कोशल, बृज्जी, मगधजस्ता समाजमा वुद्ध दर्शनले राजकीय धर्मको परिचय ग्रहण गर्न सकेको थियो । त्यसबाट चिढिएका वर्णाश्रमवादी परम्परावादीले बौद्धमतविरुद्ध टाउको उठाउन थाले । जयस्थिति मल्ल शक्तिमा आएपछि मुर्झाएको हिन्दु मतले फँडा उठाउन थाल्यो । उनी शक्तिमा आउनुअघि नै पनि हिन्दुहरू संगठित भई बौद्ध विहारहरूमा आक्रमणको अभ्यास भएको थियो । आठौं शताब्दीका भारतीय विद्वान् शंकराचार्य पनि यहाँ आइपुगेको उल्लेख भएको पाइन्छ । शंकराचार्यले बौद्ध धर्मको खण्डन गरी शैवधर्मको प्रचार गरे । सहिष्णु धार्मिक समाजमा शंकराचार्य मतले असहिष्णु चेतनाको बीजारोपण गर्‍यो । कतिपय वंशावलीमा त शंकराचार्यले नेपाल आई हजारौं बौद्ध मतावलम्बी मारेको वर्णन गरिएको छ (रेग्मी, जगदीशचन्द्र–नेपालको धार्मिक इतिहास, पृ. ११५) ।

जयस्थिति मल्लले आफ्ना मन्त्री जयन्तको सहयोगमा कट्टर हिन्दु ब्राह्मणहरू कीर्तिनाथ उपाध्याय, रघुनाथ झा, रामनाथ झा, श्रीनाथ भट्ट र मदीनाथ भट्ट सामेल समिति गठन गरी लोप हुँदै जान थालेको वर्णाश्रम व्यवस्थामा आधारित नियमहरूको तर्जुमा गराई हिन्दु धर्मको राजकीय स्वरूपमा पुनःस्थापित गरे (बुढाथोकी, चन्द्रविक्रम–जयस्थिति मल्लको सुधार, पृ. घ) । बाहिरी आवरण क्षतिग्रस्त भए पनि चुरो नष्ट नभएसम्म अनुकूल वातावरण पाउनेबित्तिकै आफ्नो पुरानो रौनकलाई पुनः प्रकट गर्न जुर्मराउने हरेक तत्त्वहरूको चरित्र (आचार्य, उही, पृ. ५) यहाँनेर हिन्दु धर्मको पुनर्जागरणको सवालमा दोहोरिएको थियो । आजकै दिनमा पनि शताब्दीऔं लामो सत्ता निर्मित भाष्य आन्दोलनका दिन केही ओइलाएजस्तो देखिए पनि हालैका दिनमा इतिहास, संस्कृति, समाज, नागरिक सवालहरूलाई लिएर हुने बहसमा सत्ता भाष्यले प्रज्ञाचक्षुको जाली बर्को ओढेर फेरि फँडा उठाउन थालेको छ ।

त्यसयता आजपर्यन्त सत्ता संरक्षित, प्रवर्द्धित हिन्दु धर्म नेपाली समाजको चेतना निर्माणको प्रमुख आधारको रूपमा क्रियाशील छ । बौद्ध दर्शनको शान्त प्रवृत्ति र पश्चिमा क्रिस्चियन मतको आर्थिक लगानीसहितको प्रलोभनपूर्ण प्रचारका बीच पनि आजसम्मको नेपाली समाजको क्रियाको सबैभन्दा प्रखर विचार निमाणकर्ता र निर्धारकका रूपमा हिन्दु धर्म, संस्कृति नै रहेको छ ।

पृथ्वीनारायणको समयपछि लडाइँ, भिडन्तका लागि चाहिने शिक्षाको प्रचलन तीव्र भयो । महाभारतकालीन समयअघिदेखि नै राज्यका लागि जमिन जोड्ने चेतना लिच्छविकाल हुँदै बाइसी चौबिसी राज्यको समय पार गरेर पृथ्वीनारायणको समयमा आइपुगेपछि उत्कर्षमा पुग्यो । वैचारिक चेतनाको उत्कृष्टता हासिल हुन नसके पनि उनले दक्षिण एसियाकै दूरगामी शासन चिन्तकका रूपमा आफू, आफ्नो फौज र समयलाई परिचित गराउने क्षमता देखाए । अन्यथा, वरपरका भारत र चीनसमेत जापानी, युरोपियन साम्राज्यवादको अधीनस्थ भएको समयमा नेपाललाई त्यसबाट मुक्त राख्न पृथ्वीनारायणले गरेको गोरखा राज्य विस्तार अभियानको निष्कर्षले काम गर्नु उच्चतम राजनीतिक चेतनाको प्रतिफल थियो भन्न लजाउनुपर्ने जरुरी छैन । गोर्खाली र बेलायती फौजको महाभिडन्तपछि राज्यका लागि जमिन जोड्ने हाम्रो चेतना आफ्ना लागि जमिन जोड्ने चिन्तनमा विघटित भयो र उप्रान्त आजसम्म त्यसैबाट ग्रसित छ । उसै पनि पृथ्वीनारायणकै समयमा विजित राज्यका जनताको जमिन आफ्ना सैनिक अधिकारीका परिवारमा वितरित गर्न हत्याउने चेतनाको वितरण भैसकेको थियो ।

पृथ्वीनारायणले काठमाडौं विजय गर्नुअघि नै लिच्छवि/मल्लकालीन समयमा काठमाडौंका मठ, वहाःहरू अनेकन प्राचीन हस्तलिखित सामग्रीहरूको भण्डारको रूपमा विकसित भएको थियो । त्यहाँ हजारौं हस्तलिखित पत्रहरू, पुस्तकहरू संगृहीत थिए । पृथ्वीनारायणले काठमाडौं जितेपछि पुस्तकालयको स्थापना गरेका थिए । उनका समयकालीन विदेशी पादरीले पृथ्वीनाराणकालीन पुस्तकालयमा चौध हजार जति पुस्तक रहेको उल्लेख गरेका छन् । विसं १८६९ मा हनुमानढोकाभित्र पुस्तकालय खुलेको थियो, जसलाई जंगबहादुर सत्तामा आएपछि थापाथलीमा सारेका थिए । उनैको पालामा मुलुकमा भएका पुस्तक र हस्तलिखित सामग्रीको सुरक्षा गर्न मुन्सीखाना र जैसीकोठाजस्ता कार्यालय खुले । वीरशमशेरले विसं १९५९ मा नेपाल दरबार पुस्तकालय खोले, जसलाई वीर पुस्तकालयका नामले समेत चिनिन्छ । राणाकालीन प्रतिबन्धकै समयमा पनि विराटनगरमा आदर्श पुस्तकालय, काठमाडौंमा प्रदीप्त पुस्तकालय, पोखरामा पण्डित पुस्तकालय, धरानमा सार्वजनिक विद्याभवन खुले (दाहाल र खत्री–आधुनिक नेपालको सामाजिक इतिहास, पृ. ११५) र तिनले मानिसलाई अनेकन व्यवधान, सीमाका बाबजुद ज्ञानको भोक न्यूनीकरणमा योगदान गरे ।

विमान बनाएर उडाउन खोजेका धादिङ चरंगेका अच्युतानन्दलाई विष्णु अवतार राजा बस्ने दरबारलाई मानिसले नाघ्छ भनेर उडाउन दिइएन (सम, बालकृष्ण–मेरो कविताको आराधन, पृ. १०५) भने गेहेन्द्रशमशेरको वैज्ञानिक खोजलाई चन्द्रशमशेरले सर्वथा निरुत्साहित मात्रै गरेनन्, उनको प्रतिभासँग त्रसित भएर मदिरामा मन्द विष मिसाएर गेहेन्द्रलाई सिध्याए । आजकै दिनमा पनि वैज्ञानिक अनुसन्धानका लागि सहयोगको याचना गरेका महावीर पुनहरूलाई हतोत्साहित गरेर वैज्ञानिक विचारको पक्षधर दाबी गर्ने वामपन्थी भनिनेहरूको सरकार शारीरिक तवरले असुविधामा रहेका बालक आदित्य दाहाललाई दैवी चमत्कार मानेर प्रतिष्ठान बनाउन राज्यकोषको करोडौं खन्याउन प्रतिस्पर्धा गरिरहेका छन् ।

पञ्चायतकालमा इतिहास, राष्ट्रियता, देशप्रेमका नयाँ भाष्यहरू तयार भए । ती सबैका अजस्र स्रोत सत्तासीन शासक, राजा, महाराजाहरू हुन् भन्ने पाठ तयार गरियो । सत्ता र शासकका कृत्यहरूलाई दैवी क्रियाकै स्तरमा नागरिक चेतनामा मिसावट गराइयो । राजा, सत्ता, शासक, नेता भनेको विश्वास हो भन्ने स्थापित गरियो । विश्वासहरूमाथि प्रश्न वर्जित गरिएकाले पृथ्वीनारायण, महेन्द्र, पञ्चायत मात्रै होइन आजको दिनमा शासनमा रहेका या नरहेका आ–आफ्ना विश्वासका दल, नेतामाथिको प्रश्नले तिनका विश्वासी चाकरीदारहरूलाई ज्वरो आउँछ । हालैका दिनमा प्रधानमन्त्री ओलीले आफ्ना बफादार मण्डलीलाई आलोचकहरूविरुद्ध अरिंगाल बनेर जाइलाग्न दिएको निर्देशनको चेतना स्रोत त्यही विश्वासलाई तर्कबाट मुक्त राख्ने झन्डै पच्चीस सय वर्ष लामो हाम्रो अभ्यास हो ।

यसरी २५०० वर्षदेखि यताको हाम्रो समाजले उल्लेखनीय विचारक उत्पादन गर्न सकेन । जति पनि बौद्धिक, चेतनशील कर्महरू भए, ती केवल गुजारामुखी विचार, चिन्तनको तहबाट माथि उठ्न सकेन । कला, संस्कृतिको क्षेत्रमा भएका केही रचनात्मक कर्मले नेपाली वास्तुकला र उत्सव, संस्कृतिहरूले नेपाली समाजलाई बेग्लै पहिचान दिन सके पनि विचारको क्षेत्रमा यो सर्वथा बाँझो पल्टिएको छ । केही आफ्नो समयलाई तरंगित पार्न सक्ने विचारहरू आए पनि त्यो सर्वथा आफ्नो समयको घेरा पार गरेर अघि बढ्न सकेन ।

आज पनि हामी विचारका नाममा अमूक नेताले गरेको भाषणमाथिका टिप्पणी–प्रतिटिप्पणी छपाएर गुजारा चलाउने स्तरबाट माथि उठ्न सकेका छैनौं । दरिद्रता, अभाव, भोकमरी, अशिक्षा, कुरीति, व्यभिचारको जडताबाट हामी निस्कन सकेका छैनौं । पच्चीस सय वर्षभन्दा लामो समयदेखि हाम्रो सोचाइ, विचार, चेतना, चिन्तन, संस्कृति ‘जाम’ भएर बसेको छ । पश्चिमा समाजबाट आयातित अनेक वादहरूमा नेपाली समाजलाई ‘फिट’ गर्ने प्रयास किन पनि असफल भैरहेको छ भने, ती विचारले यहाँको वस्तुगत आवश्यकता, सामाजिक चेतना, उत्पादन सम्बन्ध, श्रमजीवी वर्गको संघर्षको स्तरसँग मेल खान सकेको छैन । यो समाज अगाडि बढ्न २५०० वर्षअघिको बुद्धकालीन समयपछिबाट जाम भएर बसेको विचारको एकालय र नयाॅ विचारको खडेरी तोडिनु आवश्यक छ । त्यसका लागि विश्वास र तर्कहरूबीच महाविवादले स्थान पाउनु जररी छ ।

पाठशाला
याज्ञवल्क्य, गार्गी, कपिलमुनि, बुद्ध, अष्टावक्रलाई नेपाली दार्शनिकका रूपमा परिचय दिने अभ्यास नेपाली समाजले गर्ने गरेको छ । विश्वामित्रले विदेहको राजधानी मिथिलाको पूर्वी भागबाट प्रवाहित कोसी नदी तटमा ऋग्वेदका सूक्तहरूको प्रणयन गरेका थिए भनिन्छ । याज्ञवल्क्यले शुक्ल यजुर्वेद, शतपथ ब्राह्मण, वृहदारण्यकोपनिषद्लगायतको प्रणयन गरेका थिए । महर्षि कपिल सांख्य दर्शनका प्रणेता थिए । उनले प्रकृतिलाई प्रधान मानेर आफूलाई भौतिकवादी दार्शनिकका रूपमा उभ्याएका छन् । बुद्ध ईश्वरवादी मत, मूर्तिपूजा, विश्वासी मतको विपक्षमा थिए (वैद्य, मोहन (किरण)–हिमाली दर्शन, पृ. २८०) । याज्ञवल्क्य, गार्गीहरूको शास्त्रार्थ चल्ने मिथिला र जीवन शान्तिको भौतिकवादी चेतमा आधारित दर्शनका प्रवर्तक गौतम बुद्धपछि आजको नेपालको रूपमा अवस्थित भूगोलको परिधि नाघेर बाहिरी समाजलाई उद्वेलित पार्न सक्ने बौद्धिक चिन्तक, दार्शनिक या विचारकको खडेरी यहाँको समाजले बेहोरेको कम्तीमा पनि २५०० वर्ष नाघ्यो । पच्चीस सय वर्षभन्दा लामो समयदेखि गुजारामुखी चिन्तन, विचार र बौद्धिक अभ्यासबाट गुज्रिएको समाजको अवस्थाजस्तो हुनुपर्ने हो, आज त्यसको अनुहार हेर्न नेपाली समाज चियाए पुग्छ ।

उपनिषद्कालमा जनकपुर महत्त्वपूर्ण शिक्षाकेन्द्र बनेको थियो । त्यसयताको समयमा पाठ्यसामग्रीका रूपमा वेद, पुराण, स्मृति, नीतिशास्त्र, रामायण, महाभारत आदि प्राचीन धर्मग्रन्थ नै थिए । परम्परागत शिल्पशास्त्र, आयुर्वेदको पठनपाठन पनि हुन्थ्यो । धार्मिक मठ, गोष्ठी, विहारहरूले शैक्षिक केन्द्रको भूमिका निर्वाह गरेका थिए । सरकारी स्तरबाट निश्चित गरिएका अग्रहारहरू पनि शैक्षिक इलाकाका रूपमा क्रियाशील थिए (दाहाल र खत्री, उही, पृ. ९५) ।

तक्षशिला, नालन्दा, विक्रमशिलाजस्ता महाविद्यालयका वज्रयानी बौद्ध गुरु (प्राध्यापक ?) हरू शान्तरक्षित, पद्मसम्भव, कमलशीलहरू आठौं शताब्दीको चौथोदेखि छैटौं दशकसम्म काठमाडौं आइबसेका थिए । वज्रयान मत र तिब्बतमा प्रचलित बोन धर्मको सम्मिश्रण गराई तन्त्र विद्यामा आधारित जुन लामा मत पद्मसम्भवले तिब्बतमा प्रचारित गरे, त्यसको प्रणयन काठमाडौंको बौद्ध स्तूपमा गरेका थिए । आठौं शताब्दीको अन्त्यतिर नेपालमा सिद्ध परम्पराको सुरुआत भयो र त्यस परम्पराका अग्रणी चिन्तकका रूपमा गोरखनाथ अघि आए । विक्रमशिला महाविहारका शीर्षस्थ आचार्य अतिशा दीपंकर श्रीज्ञान पनि दसौं शताब्दीमा नेपाल आएका थिए (प्रधान, भुवनलाल–नेपालमा बुद्ध धर्म, विभिन्न पृष्ठ) ।

इसापूर्व सातौं शताब्दीअघिदेखिको तक्षशिलामा चाणक्य, पाणिनिहरू दीक्षित भएका थिए भने इसाको पाँचौंदेखि बाह्रौं शताब्दीको प्रसिद्ध महाविद्यालय नालान्दा जितामित्र, नागार्जुन, ज्ञानमति, स्थिरमति, धर्मपालजस्ता विद्वान्हरूको केन्द्र बन्न सकेको थियो । बुद्धकालीन कपिलवस्तु जनपदको सामगाममा वेधञ्जा (वैधन्वा) भनिने धनुर्वेदको शिक्षणालय थियो । बनारस, विक्रमशिलाले पनि दक्षिण एसियामा सार्वजनिक ज्ञानकेन्द्रको रूपमा भूमिका निर्वाह गरे (खत्री, प्रेमकुमार–नेपाली समाज र संस्कृति, पृ. ९१) । त्यसैको परिणाम बौद्विक, सांस्कृतिक, कला, दर्शनमा सर्वप्रभावी विचारक या बौद्धिकहरू उत्पादन नभए पनि आफ्नो युगलाई स्वर्णिम बनाउने सांस्कृतिक चिन्तक उत्पादनमा खडेरी पर्न दिएनन् ती महाविद्यालयहरूले । आज हाम्रा विश्वविद्यालयहरू सार्वजनिक बौद्धिक चेतनाको विमर्श केन्द्र होइन, विदेशी कारखानाका लागि आवश्यक कामदार उत्पादन गर्ने उद्योगमा परिणत हुनुको मूल्य नेपाली समाजले चुकाउन अभिशप्त भएको छ । यसैको उत्कर्षमा बौद्धिक खडेरी नेपाली समाजले बेहोर्नुपरेको छ ।

समाधि
बाह्रौं शताब्दीपछि पूर्वीय दर्शनले यस्तो चिर समाधि लियो कि आजसम्म त्यो समाधिबाट बिउँझन सकेको छैन । युरोपियन दर्शनले भने सोह्रौं शताब्दीमा धर्मबाट आफूलाई अलग गर्न सकेकाले उसले पूर्वीय दर्शनको हविगत बेहोरेर समाधिमा जानुपरेन (सांकृत्यायन, उही, पृ. ष्ष्ष्) । सोह्रौं शताब्दीदेखि नै विश्वासमाथि अनेकन पटक तर्कहरूको महसंग्राममा युरोपियन दर्शनले आफ्नो यात्रा फराकिलो बनाउन सकेको प्रतिफल युरोपियन समाजले त्यसयता विश्वप्रभावी दार्शनिक, वैज्ञानिकहरूको उत्पादन गर्न सक्यो । त्यसको उल्टो युरोपियन दर्शनभन्दा पुरानो मानिने पूर्वीय दर्शनको स्रोतभूमि मानिने हाम्रो समाजले त्यही समयकालमा सबैभन्दा चर्कोसॅग तर्क, प्रश्न, विर्मशहरूमाथि धार्मिक विश्वासको डन्डा चलायो । विमर्शको नियोजन गर्ने विश्वासी मतको प्रभावको परिणाममा पच्चीस सय वर्षदेखि हाम्रो समाजले विचारको खडेरीको सामना गर्नुपरिरहेको छ ।

प्रकाशित : श्रावण ११, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?