युनानको रोबोट

घनश्याम खड्का

 उसको छातीमा टाँसिएको थियो एउटा आइप्याड  । ‘तपाईं ऊसँग कुरा गर्ने कि उसले नाचेको हेर्ने ?’ चिम्सो आँखा मुन्तिरको एक जोर चिनियाँ ओठले मलाई सोध्यो  ।

‘दुवै !’ मैले संक्षिप्त प्रतिक्रिया दिएँ । त्यसपछि उसका सुरिला औंलाहरू आइप्याडको एउटा एप्स क्लिक गर्न तल्लीन भए । तत्काल एउटा गीत बज्न थाल्यो र ऊचाहिँ नाच्न । बाटामा हिँडिरहेकाहरू टक्क रोक्किए, पर उभिएकाहरू नजिक आए र आपसमा गफिएकाहरू चुप लागे । सबका उत्सुक आँखा उसको नाच हेर्नमा केन्द्रित हुन पुगे । स्टिलले बनेका उसका हात–खुट्टाको लयदार नृत्य अनि सिसाले बनेका उसका आँखामा टल्किएको आनन्दजस्तो लाग्ने उज्यालो हेर्दा सबको अनुहार आश्चर्य र खुसीले एकसाथ बलेजस्तो भएको थियो ।


चीनको प्रसिद्ध प्रान्त युनानको राजधानी कुनमिङमा गएको साता भेटिएको यो रोबोट मान्छे आकारको थियो र चिनियाँ भाषा बोल्नेसँग मज्जाले कुरा गर्न सक्थ्यो । सुन्दरी युवतीको आकारमा निर्माण भएकी सोफियाको चर्चा संसारभर भइरहेका बेला चीनले आफ्नो भाषामा गफिन सक्ने रोबोट बनाउने भित्रभित्रै तयारी गरिरहेको रहेछ । गत साताको एक भव्य प्रदर्शनीमा यो राखिएको थियो । टाउको र छाती मात्रै भएकी सोफियाभन्दा यो चिनियाँ रोबोट के कुरामा फरक थियो भने यो हिँड्न सक्थ्यो किनभने मान्छेजस्तै देखिनका लागि चाहिने सबै अंग ऊसँग थियो । अनुहारको बान्कीमा दुईतिर टाँसिएका ठूला चम्किला आँखाले भने यो कान्छो रोबोटको अनुहार अंग्रेजी सिनेमाको कुनै एलियनलाई सम्झाउने खालको थियो ।


गएको वर्ष राष्ट्रसंघले एक दिनका लागि नेपाल झिकाएको सोफियासँग हूलमूलमा झुलुक्क भेटेको थिएँ तर कुराकानी भने समय नहुनाले हुन पाएन । पूरै कदको चिल्लो जीउ भएको त्यस रोबोटलाई भेटेको दिनचाहिं म जति समय पनि ऊसँग कुरा गर्न सक्थें तर समस्या के भने ऊ अंग्रेजी नबुझ्ने म चिनियाँ बोल्न नजान्ने । जसरी साताभर अन्य चिनियाँसँग दोभाषे मार्फत कुरा गरेर काम चलाउनुपरेको थियो, त्यस रोबोटसँग पनि उसैगरी दोभाषे मार्फतै कुरा गर्नुपर्ने अवस्था आइलाग्यो ।


सिनेमाहरूमा वा वेभ पेजहरूमा रोबर्टका बारेमा देखे सुने पनि कुनै मान्छेजस्तो बोल्ने र हिँड्ने अमानुषलाई पहिलो पटक भेटेको अवसर भने मेरो त्यही एक थियो । त्यसैले पनि म उसप्रति ज्यादा उत्सुक थिएँ । कृत्रिम बौद्धिकताको कमाल के थियो भने यो रोबोट आम मानिसले झैं बातचित गर्न र तर्कपूर्ण निष्कर्षहरू निकाल्न सक्थ्यो । क्यानबोट नाम पाएको यो रोबोटलाई छिट्टै नै अंग्रेजीमा पनि कुरा गर्न सक्ने बनाएर विश्व बजारमा पुर्‍याउने योजना प्रदर्शनीस्थलकी युवतीले सुनाउँदै गर्दा म भने उसको लयपूर्ण नित्य हेर्नमा ज्यादा उत्सुक थिएँ ।


कुनमिङले हरेक वर्ष आयोजना गर्ने दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाको व्यापार मेलामा गत साता घुम्दै गर्दा अरू पनि थुप्रै रोबोटहरूसँग भेट भयो । चीनका प्रदर्शनीस्थलहरूमा रोबोटका अतिरिक्त रेल, हावाबाट बिजुली निकाल्ने संयन्त्र र अरू यस्तै भव्यतम प्राविधिक र वैज्ञानिक खोजका कुरा ज्यादा थिए । त्यस विराट हाट बजारमा मेला भर्न आएका अरू देशका सामग्री भने काठ, फलाम र अरू यस्तै धातुले बनेका थिए । जस्तो कि, श्रीलंकाले पत्थरका गहना र केही चियाका परिकारहरू बेच्न राखेको थियो भने पाकिस्तानले चाहिँ ज्दादातर सिंगमरमर र धातुका सामग्री अनि छालाका कपडा । भारतले काठका सामान र खद्दरका लुगा राखेको थियो भने नेपालको स्टलमा चाहिँ बुद्धका मूर्ति थाङ्का चित्र अनि सिंगिङ बाउलहरू थिए ।


प्रदर्शनी हेर्दा यस्तो लाग्थ्यो, हरेक देश आफूसँग भएको उत्कृष्ट चीज बोकेर बजारमा बेच्न भनी आएको छ । अरू सबको बजार हेरिसकेपछि नेपालको प्रदर्शनीका मालहरू दाँजी हेर्दा मलाई के लाग्यो भने, विदेशीका लागि बेच्न भनेर हामीसँग यही एउटा बुद्धको मूर्ति र उनका उपदेश अनि ध्यानहरूसँग जोडिएका सामग्रीबाहेक अरू केही छ भने भने पस्मिनाको पच्छ्यौरा र सल नै त रहेछ नि । हामीलाई सुरुदेखि नै कुनमिङमा हिँडडुल गर्दा दोभाषेको काम गर्दे आएकी चिनियाँ कम्युनिस्ट पार्टीकी स्वयंसेविका विन्जीले नेपालको प्रदर्शनीस्थलमा खास चासो देखाई, मैले चीनका प्राविधिक कुराहरूमा चाख देखाएजस्तै गरी ।


खासगरी सिंगिङ बाउल उसलाई मन परेछ, किनी । मन अशान्त भएका बखत यसलाई रगडेर निक्लने धुनले भित्री आनन्द मिल्छ भन्ने नेपाली व्यापारीको कुरा उसले पत्याई । त्यस क्षण मलाई लाग्यो, मान्छेले आफूजस्तै रोबोट बनाए पनि र चन्द्रमामै पुगे पनि खोज्न त सुखै खोज्ने हो जो एउटा कचौराको आवाजमा पनि मिल्न सक्छ लिन जान्यो भने । यही भएर होला, हरेक वर्ष बुद्धका अन्धोन्मिलित मूर्तिहरू बेच्न भनेर नेपाली व्यापारीहरू कुनमिङ पुग्दा रहेछन् । रेलजस्तो छिटो कुद्न थालेको जिन्दगीबाट केही बेर फुत्किऊँ भनेर चिनियाँहरू यसलाई किन्न भनेर आउँदारहेछन् ।


भारत, पाकिस्तान, बंगलादेशदेखि इन्डोनेसिया, थाइल्यान्ड र भियतनामदेखि आएका पत्रकारहरूचाहिँ मैलेझैं उन्नतिको शिखरमा चढ्दो चमकधमकवाला चिनियाँ समाज र वस्तुहरू हेर्नमा ज्यादा फुरफुर गरिरहेका थिए । प्रेस ट्रस्ट अफ इन्डियाका सञ्चिव चोप्रा गोलीझैं कुद्ने बुलेट ट्रेनका बारेमा निकै सोधपुछ गर्नतिर लागे । बंगलादेशकी अनलाइन पोर्टलकी संवाददाता जस्मिन पप्रीलाई चीनको हरेक तरक्कीले उदेक पारिरहेको थियो ।


पाकिस्तान टेलिभिजनका सलिम र अलीचाहिँ हरेक कुरामा आफ्नो देशको अस्तव्यस्तता र चीनको उन्नतिलाई दाँज्दै गुनासिइरहेका थिए । ‘हाम्रा नेताहरू नगएको देश छैन, तर सिक्नचाहिँ के सिके त विदेशबाट ?’ वीरगन्जमा प्रतीक दैनिक पत्रिका निकाल्ने काम गरिरहेकी हाम्रै टोलीकी सुष्मा शर्मा पनि सलिमहरूकै लयमा भनिरहेकी थिइन्, ‘संसारमा यस्तो भइसक्दा पनि नेपालचाहिँ जहिल्यै उस्तै !’ यसरी अरूको प्रगति हेरेर आफ्नो देशको उपद्रवलाई सम्झँदै हामीले कुनमिङको त्यो भव्यतम हाट बजारका नौला चीजहरू नियाल्यौं, चिनियाँ उड्ने कारमा पसेर तस्बिरहरू खिचायौं र युनानका आदिवासीहरूले देखाएको सांस्कृतिक नृत्यहरू ग्रिन टीको चुस्की लिँदै हेरिरह्यौं ।


फुजियान लेकको किनारमा उभिएको पाँचतारे होटल हिल्टनको फराकिलो सभाहलमा सबै देशका सञ्चारकर्मीलाई भेला गराएर सूचनाको एसियाली सञ्जाल तयार पार्नेबारे बहस छेड्ने चिनियाँ सरकारको तयारी रहेछ । आफ्नो क्षेत्रलाई आर्थिक सूचना र समृद्धिको सपनाहरूले कसरी जोड्ने भन्नेबारे हामीले बहस गर्‍यौं । विश्व बजारमा तीव्र गतिका साथ आफ्ना मालहरू र संस्कृतिसमेत पुर्‍याउन उद्यत रहेको चीन कुनै समय आफूले प्रयोग गर्ने गरेको रेसमी मार्ग आधुनिक साजसज्जाका साथ पुनः ब्युँताउन ज्यादै व्यग्र छ भन्ने कुरो त्यहाँ पुग्दा त्यसै थाहा पाइन्थ्यो ।


संसारमा सबभन्दा बढी डलरको सञ्चिति भएको देश चीनले पछिल्लो दस वर्षमा भौतिक संरचनाहरूको निर्माणमा जति बालुवाको प्रयोग गर्‍यो, त्यति बालुवाको प्रयोग अमेरिकाले एक सय वर्षमा मात्रै गर्न सकेको थियो भन्ने तथ्याङ्क आइरहेका बेला उसका फराकिला सडकहरू, फ्लाइओभर र कोसौंकोस विस्तार भएका रेलमार्ग अनि चारकोसे झाडीझैं फैलिंदै गएका गगनचुम्बी भवनहरूले सुसज्जित चिनियाँ सहर हेरेर दक्षिण एसियाका र दक्षिणपूर्वी एसियाका खबरकर्मीहरू विस्मित भइरहेका थिए ।


आधुनिक संरचना र प्रगति मात्रै नभएर चीनको सांस्कृतिक सम्पदा र यसको इतिहास हेर्दा पनि ऊ संसारमा बेग्लै सभ्यताका साथ अस्तित्वमा थियो भन्ने बुझाउन हामीलाई सहर घुमाउने काममा खटिएका स्वयंसेवी युवतीहरू आफूले जानेको अंग्रेजी भाषाको प्रयोग गरिरहेका थिए । हुन पनि उत्पादन र व्यापारमा पूर्णतः लागिपरेको चीनजत्तिको अर्को देश उतिबेला पनि थिएनझैं लाग्छ इतिहास उधिन्दा । कागज, पैसा र कम्पासको आविष्कार चीनमा भएको थियो ।


आवश्यकता नै आविष्कारकी आमा हो भन्ने बेलायती उखान मान्ने हो भने यी तीन चीज उत्पादन गर्ने आवश्यकता व्यापारकै कारण चीनलाई परेको थियो भन्न सकिन्छ । व्यापारको हिसाबकिताब राख्न कागजले, एउटा सामान लिएर अर्को सामान दिने सट्टापट्टाको कारोबारलाई नगदमा बदल्न पैसाले र संसारभर पुगेर मालहरू बेच्न जाँदा बाटो नभुल्न कम्पासले चिनियाँहरूलाई सघाएको थियो । त्यसैले पनि चीन एक व्यापारिक देश हो भन्ने अर्थ प्रस्टै खुल्छ । त्यसैले उनीहरू पश्चिमा उपनिवेशको सिकार हुनुअघि संसारभर व्यापारकै कारण फैलिएका थिए र समृद्ध भएका पनि थिए । अहिले फेरि उनीहरूको उत्पादन प्रणाली र त्यसलाई संसारभर बेच्नका लागि छ वर्षअघि राष्ट्रपति सी जिन पिङले अघि सारेको वान रोड वान वेल्टको अवधारणा हेर्दा चीन समृद्धिको पुरानै लयमा फर्किन लागेको प्रस्ट हुन्छ ।


चीनले हरेक वर्ष संसारका हजारौंलाई आफ्नो देशमा बोलाएर गराउने व्यापार मेलादेखि विभिन्न सांस्कृतिक गोष्ठी र पर्यटकीय भ्रमण उसको त्यही समृद्धि अनि त्यसलाई फैलाउने व्यापारको भावनाले अनुप्राणित छ । आफ्नो हुवावे कम्पनी मार्फत फाइभजीको व्यापार विश्वभर विस्तार गरेर सूचना र सञ्चारको क्षेत्रलाई एकलौटी कब्जा गर्न खोजेको चीनदेखि कुँढिएर अमेरिकाले उसको व्यापारमा लगाएको अनेक करमाथि अनेक चर्चा गर्दै पत्रकारहरूको अन्तर्राष्ट्रिय डफ्फा बुलेट रेल चढेर डाली युनिभर्सिटी पुग्यो । त्यहाँ आफ्ना देशबाट सयौं विद्यार्थी पढ्न भनेर पुगेको देख्दा दक्षिण एसियाली पत्रकारहरू जिल परे ।


सबले पढ्ने एउटै विषय रहेछ, मेडिकल साइन्स । भारत, पाकिस्तान, बंगलादेश, नेपाल इत्यादि जतै पनि मेडिकल कलेजहरू महँगा भएको र हजारौं हजार विद्यार्थीले चाहेर पनि डाक्टरी पढ्न नपाइरहेको तथ्य बुझेपछि चीनले तिनका लागि अलिक सस्तोमै पढाउने योजना ल्याएर भटाभट आफ्ना देशका विद्यार्थी तानिरहेको रहेछ भन्ने पत्तो पाउँदा भारतीय, पाकिस्तानी र बंगलादेशी मित्रहरू अचम्ममा परे । उति टाढा सयभन्दा बढी नेपाली छात्रछात्रा भेट्दा म पनि जिल परेको थिएँ ।


‘चीनभरिमा हामी हजारौं हौंला, यहाँचाहिँ अहिले पढिरहेका सय जना छौं,’ चिकित्साशास्त्रको अन्तिम वर्ष पढिरहेका वीरगन्जका पवीन्द्र शाह भन्दै थिए, ‘भाषा नजानेर मात्रै हो, पढाइ त नेपालमा भन्दा राम्रो हुन्छ ।’नेपालमा भन्दा आधै सस्तोमा पढ्न पाइने हुनाले चीनमा पवीन्द्रजस्ता असंख्य युवा डाक्टरी पढ्न जाँदा रहेछन् जसलाई हरेक दिन चिकित्साशास्त्रको कक्षमा छिर्नुअघि भाषा चिनियाँ भाषाको कक्षा पनि लिनुपर्ने आवश्यकताले पढाइमा भनेजति समय छुट्याउन मुस्किल परिरहेको थियो । यही हालतमा भारतदेखि पाकिस्तानसम्मका विद्यार्थीहरू पनि भेटिए । मालतालको मात्रै होइन, भाषा, संस्कृति र शिक्षाको पनि व्यापार गर्न चीन अब लागिपरिरहेको छ भन्ने तथ्यको एक उदाहरण थियो डाली युनिभर्सिटीमा भेटिएका यी विद्यार्थी ।


कृषिदेखि शिक्षासम्म र रेलदेखि रोबोटसम्मलाई व्यापारिक जीवन दिएको चीनको चमकधमक जता गए पनि छताछुल्ल हुन्थ्यो युनानमा । पश्चिमा समाजले समृद्धिले मात्रै नभएर भाषा र सम्यताले पनि संसार जितेका बेला त्यसलाई परास्त गर्ने तहमा पुगेर चीनले गरेको यो तरक्कीको आखिर राज के हो ? मौका मिल्यो कि यसबारे दक्षिण एसियाली पत्रकारहरू छलफलमा जुटहाल्थे । साँझ तलाउको छेउमा बियर पिउँदै यसबारे थप विमर्श गर्थे भारतीय मित्रहरू । सन् १९४९ पछि चीनमा छाएको शान्ति, राजनीतिक स्थिरता र योग्य नेतृत्व नै यसको मूल कारण हो भन्ने निचोड उनीहरू निकाल्थे ।
Twitter: @bodhighanashyam

प्रकाशित : असार १४, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्

संकटमा हिटी

नेपाली समाजको धमनी बनेर सेवा दिएका, पानी प्राप्तिको प्रमुख स्रोत काठमाडौं उपत्यकाका हिति (हिटी–ढुंगेधारा) हरू अब दन्त्यकथाजस्तो हुन थालेको बेला तिनै हितिहरूको महत्त्व, अवस्थिति र तिनको समयकथामा यो आलेख केन्द्रित हुनेछ ।
यादव देवकोटा

मानव सभ्यताको विकासक्रम पढ्दै जाँदा पाइने सबैतिरको एकनासजस्तो समानता– नदी किनार छानेर मानिसहरूले बसोबास सुरु गरे  । जीवनका लागि अनिवार्य पानीको स्रोतका लागि तिनले नदी किनार छानें  ।

कृषि युगको सुरुआत हुँदै मानिसहरूमा परिवार, राज्यको संकथन आरोपित भएपछि, जनसंख्याको वृद्धि भएपछि त्यसले नदीका खास किनारहरूबाट फैलँदै पानीढलोलाई आफ्नो ओतको आधारभूमिका रूपमा छान्न थालेको पाइन्छ । पछिबाट पनि मानव सभ्यताका आरम्भिक स्थलहरू पानीको मुहानसँगको सहजतालाई पहिलो आधार बनाउनमै यत्नशील देखिन्छ । भएका पानीका स्रोतहरूलाई उपयोगका खातिर जम्मा गर्नका लागि खाल्डो पारेर कुवा बनाउने, स्रोतसँग सटाएर खोपिएका ढुंगाहरू जोडेर धारा बनाउने हाम्रा पुर्खाहरूको लामो प्रयत्नशील सिकाइकै परिणाम हो, जो आज पनि हाम्रो समाजको अभिन्न हिस्साको रूपमा अस्तित्वमा देखिन्छन् ।


यो आलेख पढिरहने अधिकतर पाठकहरूमा आ–आफ्नै समयका स्मृतिहरू सल्बलाउलान् ढुंगेधारासँग जोडिएका । जस्तो कि घरछेउको, लामा पहाडी यात्रामा प्यास मेटाउन थापिएका, मावलीका एकधारे, दुईधारे, तीनधारे ढुंगेधाराहरू । जाडोमा बाफ फाल्दै बग्ने मनतातो पानी र गर्मीका दिनमा आँत चिस्याउने चिसो पानी दिने ती धाराहरू ।

लिच्छविकाल हुँदै मल्लकालीन समयमा आइपुग्दासम्म विकसित भएको काठमाडौं उपत्यकाका सहरी टोलैपिच्छे थापिएका थिए हितिहरू । एउटा त्व (टोल) को मानिसलाई चाहिने आधारभूत सुविधा त्यहीं उपलब्ध गराइने व्यवस्थाअनुरूप बनेका टोले हितिहरू । प्रताप मल्ल (काठमाडौं) र जितामित्र मल्ल (भक्तपुर) का पालामा राजकुलो निर्माण गरी बढ्दै गएको सहरी घनत्वको तिर्खा मेटाउन आधुनिक शैलीको पानी वितरणको बाटोतिर लम्किएको देखिए पनि मुख्य सहरी क्षेत्रबाहेकका साना बस्ती, भित्री ‘त्व’ हरू परम्परागत हितिकै पानीमा निर्भर रहने गर्थे ।


नारायणहिति, थँहिति, क्वहिति, मरुहिति, वञ्जाहिति, छ्वास पाखाहिति, कय्ताहिति, न्यासिहिति, भन्सारहिति (नक्साल, गैह्रीधारा), भोतःहिति (लिच्छविकालीन), झंगल ठकुहिति (क्रमिलाछ), तापाहिति, आलुक्वहिति, यकुहिति (धोबीधारा), लखुपात (दुगुर्नेपानी), स्वह्राःहति (तीनधारा), पुखुलीद्याम (पाको), कमलपोखरीहरू लिच्छवि तथा मल्लकालका ‘त्व’ हरूमा अवस्थित हिति तथा पोखरीहरू थिए । यस्ता अनेकन हिति तथा पोखरीहरू अब कति पुरिएर गए । कति उखेलिए । जो बचेका छन्, सहरीकरणको मारले जमिनभित्र आकासेपानी नै छिर्न नपाउँदा मूल सुकेर आफैं काकाकुल भै बसेको देखिन्छ ।


नेपाली समाजको धमनी बनेर सेवा दिएका, पानी प्राप्तिको प्रमुख स्रोत काठमाडौं उपत्यकाका हिति (हिटी–ढुंगेधारा) हरू अव दन्त्यकथाजस्तो हुन थालेको बेला तिनै हितिहरूको महत्त्व, अवस्थिति र तिनको समयकथामा यो आलेख केन्द्रित हुनेछ । कतिपय हितिहरू भने समयक्रममा बनाइएका नयाँ संरचनाको जगमुनि पुरिएर गए ।

कीर्ति/प्रणाली/हिति
समाजमा विभिन्न अवसरमा आयोजित ‘धार्मिक’, सांस्कृतिक उत्सवहरूमा गरिने पूजापाठका लागि एकै ठाउँको पानी मात्रै पर्याप्त हुन्थेन । त्यसका लागि गंगाजल, समुद्रजल, दहको जल, आकासेपानी, असिनाको पानी, हिउँको पानी, झरनाको पानी, नदीमा बहेको पानी, जमिनमुनिको पानी आवश्यक पर्थ्यो (वज्राचार्य, चुन्दा–जितामित्र मल्लकालीन धरः पौ, पृ ३८) । यसरी पोखरी र इनार बनाउने काम नियमित जिन्दगीको अभिन्न हिस्सा हुँदाहुँदै त्यसमा सांस्कृतिक, धार्मिक पक्षको प्रमुखता प्रखर थियो । उसै पनि समाज ‘धर्म’ लाई केन्द्रमा राखेर कर्मलाई चलायमान बनाउँथ्यो । धाराको सरसफाइ गर्ने, मर्मत र संरक्षण गर्ने कार्य पनि ‘धर्म’ कै हिस्सा मान्थे मानिसहरू । त्यसैको प्रकटीकरणका रूपमा सिथि नखका बेला ढुंगेधारा सफा गर्ने गरिन्छ (वेकर–रिट्टेर्सपच, ओ.ए. रेइमुन्ड–ढुंगधाराज् इन् दी काठमाडौं भ्याली, प्राचीन नेपाल, सं ११६–११८, पृ २) । सिथि नख नेपाली समाजमा परम्परागत तवरले प्रचलित वातावरण सफाइसँग जोडिएको जनचेतनामूलक उत्सव पनि हो ।

खडेरी पर्दा त्यसको वातावरणीय चक्रको कारण मानिसहरूमा जँचिसकेको थिएन । आगलागी, खडेरी, बाढीपहिरोको कारण मानिसहरूमा अज्ञात थियो । कारक पनि अज्ञात । त्यस्ता दुःखको कारणबाट छुट र क्षमाका लागि थालेका थिए मानिसहरूले, अज्ञात कारकसँग प्रार्थनाको प्रचलन । त्यसैगरी विकसित भएर गएको थियो अज्ञात तत्त्वहरूको पूजा–प्रार्थनाको सिलसिला । देवीदेवताको रीत । आगलागी भयो– अग्नि देवता । खडेरी पर्‍यो या भारी वर्षा भयो– जल देवता । त्यसै क्रममा विकसित भइआयो अनेकन देवीदेवता थाप्ने र तिनको काल्पनिक मूर्ति बनाउने कलाको विकास पनि । तन्त्रमन्त्रको प्रचलन पनि । उपत्यकामा मनाइने गठ्यामुग पर्व पानी र माटो मिलेर बनेको धापमा फस्न गएको विध्वंसकारी घण्टाकर्ण वधको कथ्यसँग जोडिन्छ (बराल, वासु–हिन्दु सामाजिक संगठनको स्वरूप, पृ. ३०१) । मत्स्येन्द्रनाथ रथ यात्रा, लख्वयात जात्राको प्रचलन त्यस्तै खडेरी, अनावृष्टिका घटनाहरूसँगै जोडिन्छ । भ्यागुतको बिहे गराउनेजस्ता ग्रामीण स्तरका अनेकन रीतहरू ग्रामीण अवलाहरूको चेतनाले ‘पानी माग्ने’ संस्कारको रूपमा प्रचलनमै छ ।


सार्वजनिक स्थानमा बनाइने पिउनेपानीको स्रोतरूपी हितिहरूमध्ये कैयन ‘धार्मिक कर्म’ को प्रकट रूप थिए । धारा, कुवा, पाटी, पौवा, सत्तल, चौतारा निर्माण धर्मकर्मकै प्रमुख हिस्सा थियो । धर्मभीरुहरू त्यस्ता कीर्ति राख्ने कर्म गर्नुलाई जिन्दगीको सफलतम अभीष्टको रूपमा लिन्थे । हुनेखानेहरूको सार्वजनिक अभिमान प्रकट गर्ने सकारात्मक सामाजिक कर्म पनि थियो यस्ता परोपकारी वस्तुहरूको निर्माण ।


‘भर् जन्म घाँस तिर मन् दिई धन् कमायो
नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो
मेरा इनार न त सत्तल पाटी क्यै छन्
जे धन र चीजहरू छन् घरभित्र नै छन्’


भानुभक्तको घाँसी समर्पित यो कविता (बाबुराम आचार्य लेख्छन्– उक्त कविता मोतीराम भट्टले लेखेको, पुराना कवि र कविता, पृ १८७) ले मानिसहरूमा सार्वजनिक हितकारी कर्म उन्नाइसौं शताब्दीसम्म पनि नाम राख्ने (कीर्ति राख्ने) लालसाको हिस्सा थियो भन्ने देखाउँछ । कति सर्वजनहितायको प्रेरणाबाट उत्प्रेरितहरू पनि थिए यस्ता कीर्ति निर्माताहरू । मानदेवको केलटोल अभिलेखमा ‘मानदेवले रैतीहरूको सुख होस् भनेर सफा पानी ल्याउन लगाएर कीर्ति थापेको उल्लेख छ (रेग्मी, जगदीशचन्द्र–प्राचीन नेपालको राजनीतिक इतिहास, पृ. १०४) ।


उसै पनि कम्तीमा लिच्छविकालमा यस्ता हिति (हिटी) हरू ‘कीर्ति’का नामले चिनिन्थे । काठमाडौं उपत्यकामा पाइएको अभिलेखहरूबाट पहिचान भएको हाँडीगाउँको भारवीले बनाएको विसं ६०७ को धारा पाइएकामध्ये पहिलो ढुंगेधाराको रूपमा प्रकट हुन्छ, जसलाई भारवीले ‘कीर्ति’ लेखाएकी छन् । कीर्तिपछि लिच्छविकालमै धाराले ‘प्रणाली’ को नाम ग्रहण गरेको देखिन्छ ।

‘तामासम्बन्धी कामको बजारक्षेत्र ‘ताम्रकुटशाला’ वरिपरि हाटबजारको व्यवस्था हुने र व्यापारी तथा अरू सर्वसाधारण यात्रुहरूका लागि समेत त्यस समयमा खानेपानीको उचित प्रबन्ध गर्ने अर्थात् सार्वजनिक तवरले पिउनेपानीको प्रबन्ध गर्न ‘प्रणाली गोष्ठी’ को व्यवस्था गरिएको हुन्थ्यो (ढुंगेल, रमेश–प्राचीन अर्थव्यवस्था, पृ. १५०) ।’ उपत्यकामा अनेकन ‘सुवर्णप्रणाली (सुनधारा)’ रहेको धनवज्र बज्राचार्यलिखित लिच्छविकालका अभिलेखका पानाहरू पल्टाउँदा देख्न सकिन्छ ।

तिनै सुवर्णप्रणालीको नामबाट लिच्छविकालीन एउटो टोल नै सुवर्णप्रणाली महानगरको नामले परिचित रहेको पाइन्छ । थने अर्थात् थथुपुई भनिने असनको माछाको मूर्ति रहेको चोकदेखि उत्तरतर्फको सहरी क्षेत्र सुवर्णप्रणाली महानगरका नामले परिचित देखिन्छ । मल्लकालीन समय (खासगरी १२ औं सदीपछि) मा ‘हिति’ भन्न थालेको पाइन्छ । हितिभन्दा पहिले अभिलेखहरूमा ‘यिति’ शब्दको प्रयोग भएको पाइन्छ ।

‘यि’ नेवारी भाषाको येंचु (सफा) सँग सम्वन्ध भएको शब्द हो भन्ने बुझिन्छ । ति/डी ले किराँत/मगर भाषामा नदी/पानी जनाउँछ । यस्ता मुख्य हितिहरूको संख्या काठमाडौंमा १६५, ललितपुर ६१ र भक्तपुरमा १५२ को संख्यामा पाइएको छ (प्रधान, रिद्धि–ढुंगेधारा, प्राचीन नेपाल, सं ११६–११८, पृ. १०) । विसं १९५३ बाट पाइपलाइनमार्फत घरहरूमा पानी वितरण गर्ने क्रम सुरु गर्नुअघिसम्म उपत्यकावासीका लागि समेत पानी आपूर्तिको प्रमुख स्रोत ढुंगेधाराहरू नै थिए ।


कमसेकम छैटौंदेखि उन्नाइसौं शताब्दीसम्मका हितिहरू काठमाडौं उपत्यकामा मौजुद देखिन्छन् । भारवीले नै बनाएको मंगहिति (विसं ६२७/२८) र ललितत्रिपुर सुन्दरीले बनाउन लगाएको काठमाडौं सुनधारा (विसं १८८६ तिर) मौजुद प्रमुख हितिहरूमा पर्छन् । संयोगवश उपत्यकामा प्रमाण प्रदीप्त पहिलो र अन्तिम प्रमुख ढुंगेधाराका निर्माता दुई यशस्वी महिलाहरू देखिन्छन् भारवी र त्रिपुरसुन्दरी । पाटन बहिलीटोलमा रहेको जलद्रोणी (टुटेधारा) मा भिक्षुणीहरूले प्राणीहरूको हित् होस् भनी उक्त धारा बनाइदिएको (दान दिएको) उल्लेख छ (वज्राचार्य, धनबज्र–लिच्छविकालका अभिलेख, पृ. ५९५) । महायान बौद्ध मतअनुसार ढुंगधारालाई ‘वीर्य पारमिता’ को प्रतीक मानिएको छ (तमोट, काशीनाथ–नेपाली जनजीवनमा ढुंगेधारा, मधुपर्क, वर्ष २२, अंक १, पृ. ९) ।

लञ्जग्वल (जैसीदेवल) छेउ बस्नेलाई पानीको सुविधा होस् भनी भोजमतीले जलद्रोणी बनाइदिएकी थिइन् । धारा सञ्चालनका लागि उनले दुई मुरी कूत आउने खेतसमेत गुठी राखिदिएकी थिइन् (वज्राचार्य, उही, पृ. ५४७) । त्यसबखत सर्वसाधारणले पनि कीर्ति राख्न हिति बनाउन यत्न गर्ने गरेको पाइन्छ । भक्तपुर नाला लगनटोलको शिवदेवको पालाको ढुंगेधारा ध्रुवशील र उनका भाइले बनाएको अभिलेखमा उल्लेख भएको पाइन्छ ।


सूचना र विभेदको केन्द्र
यस्ता सार्वजनिक धाराहरू सामाजिक संस्कारको प्रतिविम्ब पनि थिए । तमाम मेलमिलाप र विभेदहरू यहीं छरपस्ट हुन्थे । घरघरको कलहदेखि टोलभित्रका प्रेमसम्बन्धसमेत यिनै धाराहरूमा पोखिन्थे । समाजमा भैपरि आएको नयाँ घटनाहरू वितरण हुने सूचना आदान–प्रदानको अघोषित अखडा पनि सार्वजनिक धारा नै थियो । नजाने, अझैं कति ग्रामीण भेगमा यिनै धारा, कुवाले सार्वजनिक सूचना प्रवाह केन्द्रको भूमिका आज पनि निर्वाह गरिबसेका छन् ।


छुवाछूत, उचनीचको विभेद सार्वजनिक तवरले सबैभन्दा प्रस्टसँग प्रकट हुने र मानिसहरूको हुर्मत काढिने प्रखर थलो पनि थिए सार्वजनिक धाराहरू । महिनावारी भएकी महिलादेखि वर्णव्यवस्थाले तल्लो जातमा राखेका कथित ‘अछूत’ समेतलाई धारामा निर्बाध प्रवेश निषेध थियो । जुत्ता, चप्पल फुकालेर मात्रै जानुपर्ने कतिपय हिटीहरूमा नियमै थियो । पाटनको ‘एल्को हिति’ मा जानुअघि अनिवार्य रूपमा जुत्ता, चप्पल फुकाउनुपर्ने, साबुन प्रयोग गर्न नपाइने र महिनावारी भएकी महिलालाई प्रवेश निषेधको नियम थियो । कथित ‘तल्लो जात’ लाई उक्त धारामा प्रवेश निषेध नै थियो (प्रधान, उही, पृ ११) ।


उपत्यकामा सभ्यता विकासको क्रममै लायकु (दरबार) वरिपरिका पहिलो घेरामा दलितहरूको बसोबास अकल्पनीय थियो । सहरको सबैभन्दा बाहिरी घेरामा थियो ‘अछूत’ हरूको बस्ती । तिनका लागि त्यही घेरामा थियो प्राचीन हिटी पनि । रामघाटनेरको ढुङ्गेधारा, त्यसको प्रतिविम्बको रूपमा अझैं बगिरहेछ । अन्यन्त्रका हिन्दु समाजमा जस्तै उपत्यकाका रैथाने बासिन्दा नेवारहरूमा स्थिति मल्लकालदेखि जारी जात विभाजनको गहिरो नीलडाम अंकित भई बसेको पाइन्छ ।


‘नेवार यस भूभागको एक जाति–विभक्त उन्नत र एउटा जटिल रचनाले युक्त समाज हो । यो भारतीय मूलका दुई ठूला धर्मअन्तर्गतका हिन्दु र बौद्ध परम्पराका अनुयायी समाज हो र उच्च–निम्नको मेरुदण्डीय सैद्धान्तिक वर्गीकरणलाई आफ्नो जातीय पद्धतिभित्र पूर्णरूपेण आत्मसात् गरेको समाज हो (शर्मा, प्रयागराज–कुल, भूमि र राज्य ः नेपाल उपत्यकाको पूर्व–मध्यकालिक सामाजिक अध्ययन, पृ. ४१) ।’


सगोल बस्ती भएका ग्रामीण भेगमा या त विष्ट, बराजुले पानी भरिसकेपछि मात्रै आउँथ्यो दलितहरूको पानी थाप्ने पालो कि तिनले कृपा गरेर भरिदिनुपर्ने अवस्था थियो भाँडा । त्यसमा गहिरो धार्मिक कथनहरूको प्रभावले डामिदिएको थियो सामाजिक चेतनालाई । धारामा देवीदेवताको मूर्ति रखिएको हुन्थ्यो भने कतिपय धाराहरू त नियमित प्रख्यात मन्दिरहरूको पूजाका लागि पानी लगिने स्रोत थिए । पाटनको मंगहिटी, भक्तपुर लायकुको सुवर्णहिटी, काठमाडौं लायकुको सुनधारा त्यसका प्रतिविम्ब थिए । मंगलबजारको मंगहिटीको बायाँतिरको धाराको पानी कार्तिक नाचमा नरसिंहलाई चढाउने र हिरण्यकष्यपुलाई ‘पुनर्जीवित’ गराउने प्रयोजनका लागि प्रयोग गरिन्छ भने दायाँतिरको एउटा धाराको पानी कृष्ण मन्दिरमा नियमित चढाउन प्रयोग गरिन्छ (तमोट, उही, पृ. ९) ।

भक्तपुरको तलेजु भवानीको पूजाका लागि पानी दरबारकै सुनधाराबाट ल्याउनुपर्ने रीत छ । कथम्, सुनधारा सुक्न गएमा सुनधारामा पानी ल्याइएको राजकुलोमै पुगेर ल्याउनुपर्छ । अन्यन्त्रको पानी तलेजुलाई चल्दैन भन्ने संस्कार चलेको देखिन्छ (पौडेल, भोलानाथ–भक्तपुरको राजकुलो, पूर्णिमा, अंक ४, पृ. ४५) । जात्राका बखत घुमाउँदै लगिने देवीदेवताको खट सिञ्चन गर्न पनि तिनै धाराको पानी प्रयोग गरिन्थ्यो । पत्थरको ‘देवता’ पुज्ने नाममा आफैंजस्तो मानिसमाथिको विभेद आज पनि सामाजिक स्वत्वभित्र गढेर बसेको छ ।


कतिपय हिटीहरू चाडपर्व, जात्रा, उत्सवहरूमा भेला हुने तीर्थयात्रीहरूका लागि पनि बनाइएका हुन्थे । भक्तपुरको भीमद्ययो हिटी शिवरात्रिमा मेला भने आउने शिवमार्गीहरू र जनै पूर्णिमाका भक्तजनहरूलाई पानीको सुविधा दिने प्रमुख कामका लागि बनाइएका थिए । त्यस्ता हितिहरूमा कपडा धुने र फोहोर बनाउने काम नहोस् भनेर हितिको टाउकोमा नाग/सर्पको चित्र कुँद्ने काम हुन्थ्यो र हिति ‘देवता’ को रूपमा भगीरथको मूर्ति राख्ने गरिन्थ्यो ।


निलिशाला (नक्साल) भगवतीबहालमा नरेन्द्रदेवले धारा बनाइराखेको अभिलेखमा–दुनियाँहरूको त्रिकाल स्नान र विधिपूर्वक नुवाइधुवाइको काम चलोस् भन्नका लागि पानी झिक्ने अरघट्ट र इनारसमेत राम्रोसँग बनाई ढुङ्गेधारा थापी त्यस पुण्यको बीउबाट फेरि धर्मकीर्तिको आशा राखेको उल्लेख छ (लिच्छविकालका अभिलेख, पृ. ४८०) । निलिशाला भन्सारहितिको अंशुबर्माको अभिलेखमा धारा बनाउने स्थानीयको कामबाट खुसी भएको र उक्त धारा रहेको स्थानमा साँढे, बग्गी, गोरु गाडाको आवातजावत रोकिदिएको उल्लेख छ । यसबाट राज्यले स्थानीयहरूलाई यस्ता कीर्ति कार्यका लागि प्रोत्साहित गर्ने गरेको बुझ्न सकिन्छ ।


पुरिएका ढुंगेधाराहरू
चर्को सहरीकरण, उपत्यकाको प्रमुख स्थलमा रहेको जमिन हडप्ने र नयाँ संरचना बनाउने क्रममा काठमाडौंको सर्वप्राचीन सांस्कृतिक धरोहरका रूपमा रहेका ढुङ्गेधाराहरूको अतिक्रमण बढी देखिन्छ । लिच्छविकाल र मल्लकालका हिटी र जलद्रेणीहरूको सूची तयार गरेर त्यसको अवस्था खोज्ने हो भने सार्वजनिक सम्पत्ति दोहन गरेर निजी बनाउने लालसाको भयावह तस्बिर अघि आउँछ । मन्दिर र दरबारलाई सांस्कृतिक सम्पदा भनेर फुलिबस्ने हामीलाई तीभन्दा पुराना र जीवनको सबैभन्दा महत्त्वपूर्ण हिस्सा ढुङ्गेधारा मासेर सखाप पार्नुमा भने गर्वानुभूति भएजस्तो देखिन्छ, त्यसउपरको हाम्रो मौनता या हेलचक्र्याइँले ।


राजा भाष्कर मल्लकी पत्नीले सती जान चितामा जल्नुअघि गरेको अनुरोधमा झङ्गल ठकुरीले भाष्कर मल्लको स्मृतिमा असन ढोकाबाहिर सत्तल सहित स्थापना गरेको ढुङ्गेधारा पुरेर आरसिटी क्लबको भवन बनाइएको छ । क्रमिलाछ (कमलाछि–कर्मीहरूको चोक) नेरको उक्त धारामा १९९० सालको भुइँचालोपछि पानी आउन बन्द भएकाले कलधाराको पाइप ओछ्याएर पानी आउने गराए पनि निकै पछिबाट कलधराबाट पनि पानी आउन बन्द भएपछि २०३७ सालमा उक्त धारा पुरेर क्लबको भवन बनाइयो (प्रधान, भुवनलाल–नेपालको इतिहास र संस्कृतिका केही पक्ष, पृ. १३८–१४०) ।


गुणकामदेवको पालामा बनेको थँहिति सुनधारा छोपेर सूर्य मल्ल (१५७७–१५८६) ले चैत्य बनाएका थिए (रेग्मी, जगदीशचन्द्र–काठमाडौं सहर सांस्कृतिक अध्ययन, पृ. ११०) । उक्त हिति तत्कालीन समयको सबैभन्दा माथिल्लो भागमा रहेको र सबैभन्दा ठूलो हुनाले थँहिति भन्ने गरिएको र टोलको नाम पनि थँहिति रहन गएको थियो (शाक्य, हेमराज–श्री भाष्करकीर्ति महाविहार येटखावाहाः छगु अध्ययन, पृ. ७) ।


रानीपोखरी नजिकै सातधारा रहेको अभिलेखहरू पढ्दा थाहा पाइन्छ । ललितकला क्याम्पसको अगाडिपट्टि खन्दा उक्त सातधारा भेट्टाइएको थियो । उक्त धाराको अस्तित्व लोप भएपछि हाल साझा भण्डार रहेको ठाउँमा पुरिएको धारालाई भोटाहिटी भन्ने गरिएको हुनुपर्छ (राजवंशी, शंकरमान–लिच्छविकालीन भोटाहिटीको अभिलेख, प्राचीन नेपाल, अंक ८२, पृ. १–४) । २००७ सालयता उपत्यकामा ४० पोखरी, ५२ ढुङ्गेधारा मासिएका छन् (माली, प्रशान्त–ढुङ्गेधारा, पोखरी मासिँदै, कान्तिपुर दैनिक, २५ जेठ, २०७६) ।


कलाकृति
मूर्तिकलाको काम गर्नेहरूको कलाकारिता विशेषगरी मन्दिर र सार्वजनिक धाराहरूमा प्रकट गर्न मेहनत गर्थे । मंगहिति पाटन र भीमद्योहिति भक्तपुरको हिति कलालाई बेजोड नमुनाको रूपमा लिन सकिन्छ । मङ्गहितिमा माछा, गोही, गरुडले एकअर्कालाई निलेको र गरुडमाथि नागको चित्र कोरिएको बेजोड आकृति छ । पाटन सुन्दरीचोक तुसाहिति र हनुमानढोका मोहनचोकको सुन्धारामा जलजन्तु र स्थलचरहरू तँछाडमछाड गर्दै बाहिर निस्कन खोजेको मूर्ति छ । ढुङ्गेधारामा प्राय जलजन्तु मकर (गोही) को चित्र कोरिने हुनाले नेवारहरू यसलाई ‘हिति मंग’ भन्ने गर्दछन् (तमोट, उही, पृ. ६, ८) । धाराहरूमा मकरको आकार कुँदिएको हुन्छ, जसलाई गंगाको वाहनको रूपमा लिइन्छ । गंगा पानीकी ‘देवी’ की रूपमा पुजिइन्छन् । प्रायः सबैजसो धारामुनि भगीरथको मूर्ति राखिएको हुन्छ ।


रामायणअनुसार भगीरथले तपस्या गरी ‘स्वर्ग’ बाट गङ्गा पृथ्वीमा ल्याएका थिए । भगीरथलाई शंख बजाइरहेको वा ठूलो पेट भएको, घुँडाको बलले गाह्रोसँग टाउकाले धारा उचालिरहेको चित्रण गरिएको हुन्छ (तमोट, उही, पृ. ९) । कतिपय धारामा भने गाई, हात्ती, बाघ, कुखुराको चित्र कुँदिएको पनि पाइन्छ । प्रायः ढुङ्गेधाराहरू वर्गकार या आयाताकारका पाइएका छन् ।


सिद्धिनरसिंहको पालामा बनेको पाटन तुषाहितिमा ७२ वटा विभिन्न ढुङ्गेमूर्तिहरू कुँदिएका छन् भने प्रताप मल्लकालीन हनुमानढोकाको मोहनकाली ढुङ्गेधारामा ४० भिन्न ‘देवी देवता’ को आकृति कुँदिएका छन् । चिनियाँ यात्रीले कैलाशकुट भवनको वर्णन गर्दा त्यसमा लागेका नल, मकर, मकरको मुखबाट फोहराजस्तो गरि निस्कने पानीको पनि चर्चा गरेका छन् (वज्राचार्य, उही, पृ. ३०९) । नारायणहितिमा गाईको मुखबाट पानी बगिरहेको मूर्ति राखिएको छ ।


धाराहरूमा शिवलिङ्ग, मञ्जुश्री, मैत्रेय, पद्यपाणि, बज्रपाणि हिन्दु, बौद्ध देवताहरू द्यैनिक जर्लापणका लागि स्थापना गरिएको पाइन्छ । ढुङ्गेधाराहरू प्रायः बाटोसँगै सटेको तर गहिरो भागमा हुन्छन् र धेरैजसेको नाम गाःहिति (गैह्रीधारा) राखेको पाइन्छ । केही धारा काठबाट पनि बनेको हुन्थे । नेपाली ग्रामीण भेगमा यस्ता काठेधाराहरूको प्रचलन प्रशस्त पाइन्छ ।


प्रायः ढुङ्गाबाट बनाइने भएकाले ढुङ्गेधारा भनिए पनि उपत्यकामै पनि मध्यकालीन समयका सुनबाट बनेका सुनधारा रहेको देखिन्छ । उपत्यकाका तीनै सहरका लायकुहरूमा सुनधारा रहनुको अलवा काठमाडौंमा थप कम्तीमा तीनवटा सुनधारा रहेको देखिन्छ । आजकल पहिचानमा रहेको धरहरानेरको सुनधारा भने विसं १८८६ मा मात्रै निर्माण भएको हो । उक्त धारामा सुनको जलप लगाइएको छ । गुणकामदेवले कान्तिपुर सहर बसाएपछि उक्त सुनधारा पनि बनाएको उल्लेख भएको पाइन्छ । गुणकामदेवले उक्त सुवर्णप्रणाली हाल थँहिति ठूलो चैत्य रहेको स्थानमा निर्माण गरेका थिए ।


देउपाटनमा पनि एउटा सुनधारा रहेको पाइन्छ भने काठमाडौं लायकुमा पनि सुनधारा रहेको पाइन्छ । आनन्ददेव (विसं १२०३–१२२३) को पालामा भक्तपुरको त्रिपुरसहित राजकुल (राजदरबार) बनाएर त्यस दरबार नजिकै सुवर्णप्रणाली बनाएका थिए । धेरै ठाउँमा एकदेखि तीनधारे धाराहरू राखिएको पाइन्छ । कहीँ चार, पाँचधारे पनि देखिन्छ । गोदावरी, मातातीर्थ, मच्छेनारायणमा नौ धारा, बालाजुमा बाइस धारा र मुक्तिनाथमा एक सय आठ धारा थापिएको छ । केही धाराको पानी चिकित्सकीय उपचारमा समेत उपयोगी हुने ठानिन्छ । देशका विभिन्न स्थानमा रहेका तातोपानीका धारा र कुण्डहरूमा अहिले पनि लाग्ने भीड त्यसैको निरन्तरता हो ।


व्यवस्थापन
यसरी सार्वजनिक हितिहरू निर्माण गर्ने मात्रै होइन, तिनको व्यवस्थापनका लागि ‘गुठी’ समेत राखिन्थे । तिनै गुठीले धाराको पानी प्रयोग, सरसफाइ, मर्मतका लागि नियमन र निर्देशिका तयार गर्थे । हिति या सिंचाइका लागि पानी ल्याउने राजकुलोहरूको संरक्षण, रेखदेख, व्यवस्थापनका लागि ‘ढलपा’ हरूको व्यवस्था गरिएको हुन्थ्यो । ढलपाहरूले कुलोको पानी प्रयोगकर्ताहरूलाई पालो लगाउँथे । श्रमदान नगर्नेलाई ३ दाम जरिवाना हुन्थ्यो । ढलपाहरूले पक्षपात गरेमा ६ रुपैयाँ दण्ड गरिन्थ्यो (प्रधानाङ्ग र ढुङ्गेल–काठमाडौं उपत्यकाको मध्यकालिक आर्थिक इतिहास, पृ. ४१) । त्यसरी नहर कुलोबाट ल्याइएको पानीले चलाइन्थ्यो घट्ट पनि । उपत्यकामा अनेकन ठाउँमा थिए त्यस्ता पानीघट्टहरू (ह्यामिल्टन, फ्रान्सिस, बुचनान–एन एकाउन्ट अफ द किङ्गडम अफ नेपाल, पृ. १८) । घट्टेकुलो अझैं त्यसको सम्झना दिलाउन नाम मात्रै भए पनि बोकेर अस्तित्वमै छ ।


खडेरी, अल्पवृष्टि आदि समस्याले मानिसहरूलाई ठूला–ठूला बाँध बाँधेर पानी डोर्‍याउने क्षमतामा पुर्‍याइसकेको थियो । ठूला नदीका धार रोकेर खोला फर्काउने दख्खल हासिल गरिसकेका थिए । कश्मीरीहरूको आक्रमण रोक्न नेपाल (तत्कालीन काठमाडौं राज्य) का सिपाहीहरूले गण्डकी नदीमै बाँध बाँधेर थुनेका थिए । नवौं शताब्दीमा कश्मीरी राजा जयापिडको फौजले नेपाली राजा अरिमुडको फौजसँग लडाइँ गरेको र नेपाली फौजले काली गण्डकी नै थुनेर जयापिडको फौजलाई बाँध खोली बगाइदिएको (नेपाल, ज्ञानमणि–नेपाल निरुक्त, पृ. ५) प्रकरणले विशाल नदीको प्रवाह रोक्न बाँध बाँध्ने क्षमता नेपाली फौजमा विकास भैसकेको देखिन्छ । भक्तपुर दरबारबाट दुई कोस पूर्व महादेव पोखरीमा बाँध बाँधेर राजकुलो बनाएर भक्तपुर दरबारको धारामा पानी ल्याइएको छ (मुनकर्मी, लीलाभक्त–नेपाली संस्कृति, वर्ष ६, अंक २, पृ. ३५) ।


शिवदेवले धारा, कुवा, पोखरीहरूको निर्माण गराएर जनतामा सुख, सुविधा पुर्‍याए भने नदीमा बाँध हालेर खेतीका लागि सिंचाइको व्यवस्था गरे । कीर्तिपुर नजिक बल्खु खोलामा बाँध बाँधेका थिए (वज्रचार्य, धनवज्र–गोपालराजवंशवलीको ऐतिहासिक विवेचना, पृ. ३९) । प्रताप मल्लले शिवपुरीबाट कुलो बनाई पानी ल्याउन खोज्दा रानीवनको सीमामा आइपुग्दासम्म कुलोमा पानी बग्न नसकेपछि इन्द्रजात्राको नाच नै आफैं बसेको ठाउँमा नचाउन लगाएको र वर्षाभरसमेत कुलो खनाएर पानी लगेको विवरण (भाषावंशावली, भाग २,, पृ. ८७) ले जटिलतासँग जुध्दै पानीसम्म पहुँचको त्यस समयको प्रयास प्रकाशमा आउँछ ।



त्यसरी पानी प्राप्त गर्न पुर्खाहरूले प्रयोग गरेको ढुङ्गेधारा भने आज न मृत्यु न जीवनको बीचमा अलपत्रिएको छ । रुद्रमति (धोबीखोला), विष्णुमति, बद्रीमति, मनुमति (मनोहरा), वाग्मति, सुवनुमति, हनुमानमति (हनुमन्ते), इच्छुमति (तुकुचा) जस्ता अनेकन मति (नदी, खोला) हरू काठमाडौंवासीको जीवनको अभिन्न हिस्सा थियो । पानीको मुख्य स्रोत पनि यिनै थिए, कुनै समय । आठ, नौ दशक उमेर निचोरिएका रैथानेहरू जीवितै भेटिए उनीहरूसँग उपत्यकाका यी तमाम खुसी/मतिहरूमा नुहाएको, पौडी खेलेको, लुगा धोएको, पानी पिएको अनुभव भेटिन्छ । तर अब न त मानिसहरूमा विकासको मति चढेर यी पानी बग्ने मतिहरू ढलमतिमा बदलिएका छन् भने परम्परागत सांस्कृतिक सम्पदाका रूपमा रहेका हिटीहरू अति लोपोन्मुख सम्पदामा बदलिएका छन् ।


Twitter-@gaunkomanchhey

प्रकाशित : असार १४, २०७६ १०:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्