कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चेर्दुङको चियो

फोटो

जति उकालो बाटो आउँछ उति नै रमाइलो । चराचुरुङ्गीहरूको धुन । चौरीको बथान । सेल रोटीझैं फन्को मारेको हिमशृङ्खला । रंगीबिरङ्गी गुराँस फूलले वनै ढाकेको । दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ४ झ्याँकुबाट छहारे गुफा र चेर्दुङडाँडामा पुग्न एक दिन पूरै खर्चिनुपर्छ ।

चेर्दुङको चियो

बिहान ६ बजे झिसमिसमै बाटो तताएपछि दिउसो ३–४ बजे मात्र छहारे गुफा पुगिन्छ । झ्याँकु ४ मा अवस्थित छहारे गुफा अहिलेसम्म धेरै मानिस नपुगेको ठाउँ हो । जंगलमाझ रहेको यस गुफाको आफ्नै इतिहास, कहानी छ । सयौ वर्षअघि लामाहरू गाउँमा अशान्ति, झैझगडा, आपतविपत आउँदा यस गुफामा ध्यान गर्न बस्ने गरेको मानिन्छ । असिना पानी रोक्न, रोगव्याधि हटाउन र शान्तिको सन्देश प्रवाह गर्न महिनौंसम्म लामाहरूले यहाँ ध्यान गर्ने गरेको स्थानीय लामा रिन्जिपासाङ शेर्पा बताउँछन् ।


छहारे गुफामा पुग्न फेदीमा खाना खाएपछि २ घण्टाजत्तिको यात्रा गर्नुपर्छ । जंगलैजंगलको यात्रा रमणीय प्राकृतिक सुन्दरताले पानीप्यास, थकाइ, भोक सबै मेटाइदिन्छ । अझ आधा दर्जन जत्ति यस भेगमा मात्र पाइने गुराँस फुलेको देख्दा मनै भुलिन्छ । डाँफे, मुनाल र मृगको दृश्यले यतै बसौ बसौ लाग्छ ।

३२ सय मिटर उचाइमा अवस्थित छहारे गुफाबाट चेर्दुङ पुग्न २ घण्टा अझ समय लाग्छ । उकालै उकालो लागेपछि ३७ सय मिटरको उचाइमा अवस्थित चेर्दुङको सुन्दरताले आँखा चिम्लिनै गाह्रो हुन्छ । दोलखाको अधिकांश भूभाग यसै चेर्दुङबाट नियाल्न सकिन्छ । गौरीशंकर हिमाल हातैले छुन भ्याइन्छ कि जस्तो लाग्छ । दोलखाका प्रशिद्ध स्थलहरू कालिञ्चोक, हनुमन्तेडाँडा, चरिकोट बजार, विगु गुम्बा यहाँबाट सहजै नियाल्न सकिन्छ । गौरीशंकर गाउँपालिका वडा नम्बर ४ मा रहेको यस चेर्दुङमा महादेवको दर्शन गर्न वर्षको भदौ महिनामा ठूलो मेला लाग्छ ।


महादेवको दर्शन गर्दा गाईबस्तुमा कुनै रोग नलाग्ने र बस्तुभाउ गोठभरि हुने जनविश्वास छ । यसैले गोठालेहरू भैंसी, गाई, चौरी, भेडाको आवाजमा गाईबस्तु माग्दै यहाँ पुग्ने गर्छन् । चेर्दुङको डाँडामा मात्र रूख उम्रेको छैन । २ सय मिटर वरिपरि घना जंगले ढाकेको छ । यहाँ प्राय सधैंभरि हिउँ पर्ने गर्छ । यहाँ हिउँ परेको चरिकोट सदरमुकामबाट सहजै देख्न सकिन्छ । मोटरबाटो यहाँसम्म नपुगेकै कारण पर्यटकको संख्यामा कमी आएको छ । यहाँ प्राय वनभोज खान र हिउँ खेल्न युवाहरू पुग्ने गर्छन् ।




प्रकाशित : जेष्ठ २५, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?