कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन परेका कविता

विप्लव प्रतीक

वास्तवमा साहित्य, कला र सङ्गीत जीवनसँग अन्तरङ्ग सबन्ध गाँस्न सिकाउने साधन मात्रै होइनन्, यी त जीवनको उत्सव मनाउन सिकाउने माध्यमहरू हुन्  ।

मन परेका कविता

र, त्यसमध्ये कविता भनेको साहित्यको मधु हो, अमृत हो । सयौँ पृष्ठमा फैलिएका उपन्यासहरू केवल छ पङ्क्तिको कवितामा हृदयस्पर्शी तरिकाले भन्न सकिने उदाहरणहरू छन् ।


कविताले उपेक्षा गर्न सिकाउँदैन, यसको संसर्गमा बस्नेहरू घृणा, इर्ष्या र अहङ्कारको बस्तीबाट टाढा हुन्छन् । धर्म, जात, लिङ्ग र वर्णको विभेद कविताको संसारमा कतै भेटिन्न । अन्यायलाई लखेट्न सिकाउँछ कविताले । जीवनको उत्सव सामूहिक रूपमा मनाउन सिकाउँछ कविताले । उदासीको गीत गाइन्छ कवितामा, तर उदासीको दहमा डुबाउन होइन, दहबाट उत्रिएर संसारलाई नै प्रेम गर्न । सब अस्थायी छ यस ब्रह्माण्डमा भनेर जीवनसँग खिन्न बनाइदिने नक्सा कोर्दैन कविताले । कुनै प्रतिष्ठा र इनामको आसमा अल्मलिन सिकाउँदैन कविताले । शीतको थोपोमै सागर देख्न सकिने दृष्टि दिन्छ कविताले ।


माथिका तीनवटा कविताहरू दुर्गालाल श्रेष्ठको ‘अन्तर्भाव’ काव्य सङ्ग्रहमा छन् । यी कविताहरू जबजब पढ्छु मन कहाँकहाँ उडेजस्तो लाग्छ । त्यस सङ्ग्रहमा भएका कविताहरू मैले विरहमा छँदा पढेको छु, दङ्गदास पर्दा पढेको छु । विरहमा पढ्दा जीवनको वर्षात्मा इन्द्रेणी झुल्किन्छ, खुसीमा
पढ्दा मोहत्यागको ज्ञान उघ्रिन्छ । कविताले चिन्ता जगाउँदैन, चिन्तन गर्न सिकाउँछ– मलाई यसो लाग्नुको कारण यस्तै अनेकौँ कविताहरू पढेर हुनुपर्छ । संसारभरिका कविताहरूको जय होस् ।

१.
तारमा अड्किएको चङ्गाझैँ
बेरिइरहनेछ मेरो आवाज
यस वायुमण्डलमा,
भोलि यो बाटो आउनेहरुलाई
सुनाइरहनेछ यसले मेरो कथा ।

२.
कत्ति छैन चालचुल
न चलेकै छ पातपतिङ्गर,
मौन– सबका सब मौन !
हैन, यो निदाएको हैन,
बरू हो– पर्खिंदापर्खिंदै
पर्खाइको पराकाष्ठामा पुगेको ।
३.
घाम डुब्नै आँट्यो
मेरो जाने बेला भयो,
सम्झना !
हिँड, सँगै जाऊँ
फेरि यता
आइरहन नपरोस् मलाई ।

प्रकाशित : जेष्ठ ११, २०७६ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?