यौन कुण्ठाका कुरा

सम्झना वाग्ले भट्टराई

आन्टी, नरिसाउने भए एउटा प्रश्न सोध्छु है ?’ ऊ त्यस्तै १२/१३ वर्षकी थिई  । त्यतिखेर कक्षा ७ मा पढ्थी  । ‘प्रश्न सोध्दा पनि किन रिसाउथेँ त ?’ म मुस्कुराएँ ।

“हजुरहरूले परिवार नियोजनको कुन साधन प्रयोग गर्नुहुन्छ ? मामुसँग सोधेको नचाहिँदो प्रश्न गर्छे भनेर रिसाउनुभयो । तर यो हाम्रो ‘हेल्थबुक’ को प्रश्न हो,” उसले थपी ।


मैले उत्तर दिएँ, केही भूमिका थपथाप गरेर । दुई दिनपछिको उसको प्रश्न झन् जटिल थियो मेरो लागि । ‘सेक्स के त्यस्तो नराम्रो हो र आन्टी ?’


यो सापेक्षतामा हुन्छ । समय, सन्दर्भ र सामाजिक मान्यताअनुसार राम्रो नराम्रो भन्ने गरिन्छ, भन्न चाहेको थिएँ । तर चुपचाप उसको अनुहार हेरिरहेँ ।


‘सेक्स नभएको भए संकल्प पनि त हुन्थेन नि है ?’ उसले मेरो छोरातर्फ देखाई र भनी, “यदि ‘त्यो’ नभएको भए हामी कोही पनि हुन्थेनौँ नि है ?”


हो नि । योभन्दा बढी म बोल्न सकिनँ । पछिल्ला दिनहरूमा उसले साथीहरूका कुरा गरी । उनीहरूबीच हुने छेडखानीका कुरा गरी । साथीहरूसँग भएका केही द्विअर्थी संवादहरू सुनाई । कसरी यौनाङ्गका चित्र बनाएर साथीहरूले किताबका पत्रहरूमा राखिदिन्छन् भन्ने कुरा गरी । अंग्रेजी उपन्यास, कथाहरूमा उल्लेख गरिएका यौनसम्बन्धी कुरा गरी । केही ‘ननभेज’ भनिने जोकहरू सुनाई । त्यसभन्दा अघि बढेर ‘एडल्ट फिल्म’ का पनि कुरा गरी ।


उसका अरू सबै कुराहरू सुनिरहेँ र ‘एडल्ट फिल्म’ हरू अवास्तविक हुन्छन् भनें । जसरी अरू कमर्सियल फिल्महरूमा ‘एक्जाजरेसन’ हुन्छ, जसरी प्रायशः बजारलक्षित फिल्महरू ‘लार्जर देन लाइफ’ बनाइने गरिन्छ, यी पोर्न फिल्महरू पनि त्यस्तै हुन्छन् । सकेसम्म यस्ता फिल्महरू नहेर्नू । यिनले यौन जिज्ञासाको उत्तर दिंदैनन् बरु गलत जानकारी दिन्छन् । यसले यौनबारे भ्रम सिर्जना हुन्छ भनेँ ।


ऊ ‘कन्भिन्स’ भएजस्तै गरी । मैले आफ्नो बालापन र किशोरावस्था सम्झिएँ । यसरी प्रश्न सोध्ने र उत्तर पाउने कुरा त हामी कल्पनासम्म गर्थेनौँ । मैले आमाको पेटबाट कसरी निस्किएँ भनेर सोध्दा गाली खाएको छु । महिनावारी हुँदा ‘रगत’ कहाँबाट आउँछ भनेर सोध्दा, पछि आफैँ थाहा पाउँछेस् भनेको देखि उत्ताउली र उम्रिँदैको तीनपात भन्नेजस्ता गाली खाएको सम्झन्छु । कौतूहलहरू त धेरै हुन्थे तर प्रश्नहरू घाँटीमा नै अड्किन थाले ।


किनकि त्यतिखेरका धेरैजसो मेरा जिज्ञासाका उत्तरहरू गाली मात्र हुन्थे । गालीले जिज्ञासा शान्त हुन्थेन । पेन्टी मात्र लगाएर सार्वजनिक धारामा नुहाइरहेका केटामान्छेको यौनांगको बारेमा चासो हुन्थ्यो । टेलिभिजनमा आउने अन्डरगार्मेन्ट, पर्फ्यम, कन्डमलगायतका विज्ञापन देख्दा कौतूहल बढ्थ्यो । बिस्तारै आफ्ना भनिएका ‘सिनियर’ हरूभन्दा उत्ताउला र छाडा भनिएकाहरूको कुराकानीमा चासो बढ्न थाल्यो । उनीहरूका छाडा कुराहरू रुचिकर लाग्न थाले ।


त्यसो त यौनसँग सम्बन्धित शब्दहरू मान्छेको हकमा वर्जितजस्तै भए पनि पशुपक्षीको हकमा भने यस्ता अभिप्रायका शब्दहरू सहजै उच्चारित हुन्थ्यो । जस्तै ः कुखुरालाई भाले लगाउन लगेको, बाख्राले बोका खोजेको छ, भैँसीलाई राँगो दिन लगेकोजस्ता कुरा जोकोही सहजै भन्थे । तर त्यस्ता ठाउँहरूमा छोरीहरूलाई लगिन्नथ्यो । दाइभाइहरू भने जान्थे । उनीहरूको अधिकार फराकिलो भएको र आफ्नो साँघुरो भएको महसुस हुन्थ्यो ।


विद्यालयमा प्रजनन् प्रणाली भन्ने पाठ शिक्षकहरू पढाउँथेनन् बरु आफैँ पढ भनेर छोडिदिन्थे । परीक्षामा महिला वा पुरुष जननेन्द्रियको चित्र बनाऊ भन्ने प्रश्न भने आउँथ्यो । यस्ता चित्रहरू बनाउन लुकेर अभ्यास गर्दै ती पेजहरू च्यातेर फ्याँक्ने गर्थें । रोमाञ्चक लाग्थ्यो । स्कुलका केही दिदीहरू, साथीहरू पाठ्यक्रमबाहिरका कुनै किताबहरू लुकीलुकी पढ्थे । किताबका नामहरू ‘जवानीको जोस’, ‘यौवनको प्यास’ टाइपका हुन्थे र बाहिरी गातामा झन्डै नांगैझैँ देखिने केटी मान्छेको तस्बिर हुन्थ्यो । मैले पढ्न माग्दा ‘तिमीजस्तो पढन्तेलाई यी किताब काम छैनन्’ भन्दै टार्थे ।


त्यसैताका एउटा त्यस्तै किताब हात लाग्यो, लुकेर पढेँ । पूराका पूरा यौनका कुरा थिए । त्यतिखेर त खासै बुझिनँ तर रमाइलो भने लागेको थियो । अहिले छ्यास्छ्यास्ती उपलब्ध हुने ‘पोर्न मुभी’ टाइपकै शब्द, वाक्य र भावहरू हुन्थे तिनमा । कक्षामा अलि राम्रो विद्यार्थी भनेर चिनिएकै कारण मैले अरू त्यस्ता किताबहरू पढ्न पाइनँ । पढाइ राम्रै भए पनि उमेरसँगै कौतूहलहरू झन् बढ्दै गए । तर उत्तर पाउने सम्भावित स्रोतहरू साँघुरिँदै गए र जिज्ञासाहरू त्यसै दबिन बाध्य भए ।


घरमा त्यतिखेर श्रीस्वस्थानी कथा, रामायण, महाभारत आदि पढ्ने गरिन्थ्यो । हामीले सती सावित्रीका कथा सुन्यौँ । उनले कसरी आफ्नो पतिव्रता धर्मको शक्तिको आडमा मृत श्रीमान्लाई यमराजबाट फर्काएर पुनर्जीवन दिन सकिन् भन्ने कथा थियो । श्रीस्वस्थानी कथामा वृन्दाको सतीत्वको आडमा उनका पति जालन्धर अजेय भएको र विष्णुले उनको सतीत्व डगाएपछि युद्धमा मारिएको कथा पढ्यौँ । रामायणमा अहिल्याको कथा छ । देवताका राजा इन्द्रले पति गौतमको रूप धारण गरी अहिल्यासँग सम्भोग गरे । गौतम ऋषिले थाहा पाई तिनै पीडित श्रीमतीलाई पत्थर भएर रहने श्राप दिए । पछि अहिल्यालाई भगवान् रामले उद्धार गरे ।


पुरुषले पुरुषका लागि लेखेका यस्ता कथा हाम्रा आदर्श जीवनका आधार बन्थे । आमाहरू पनि यस्ता कथाहरू दोहोर्‍याएर बुझाउनुहुन्थ्यो । यस्तै कथाका आधारमा वैवाहिक जीवन तथा यौन जीवनसम्बन्धी धारणाहरू बन्न थाले । नारीको जीवन बर्बाद पार्नेदेखि उद्धार गर्न सक्नेसम्मका हैसियत पुरुषमा हुने रहेछन् भन्ने छाप मनमा पर्न थाल्यो । यस्ता धेरै कथाहरू छन्, जुन मनमा अझै गढेर बसेका छन् ।


महाभारतको अनुशासन पर्वमा एउटा कथा छ । युधिष्ठिरले भीष्म पितामहसँग सम्भोगका समयमा नारी, पुरुष कसलाई बढी सुख आनन्द हुन्छ भनी सोध्छन् । प्रत्युत्तरमा आजीवन ब्रह्मचर्यमा रहेका भीष्मले आफूले बृहस्पतिबाट सुनेको एक कथा सुनाउँछन् ।


भगास्व नाम गरेका एक राजा थिए । एक दिन सिकार खेल्न जंगलमा जाँदा सैन्यहरूसँग छुटेछन् । राजाले एकान्तमा एउटा तलाउ देखेर त्यहाँ नुहाउँछन् । आश्चर्य हुन्छ, उनको शरीरबाट पुरुष अंगहरू गायब हुन्छन् र नारीको शरीरमा रूपान्तरण हुन्छन् । यसबाट चिन्तित उनी हतारहतार दरबार फर्कन्छन् र जेठा छोरालाई राजकाजको जिम्मा दिएर तपस्या गर्न भनी घोर जंगलमा पुग्छन् । महिलारूपी भगास्वको जंगलमा एक ब्राह्मणसँग भेट हुन्छ र तिनै ब्राह्मणसँगको यौन सम्बन्धबाट उनले सय जना छोराहरू जन्माउँछिन् ।


कथाअनुसार उनले ती सय जना छोराहरूलाई आफ्नो पहिलेको राज्यमा पठाउँछिन् । उनीहरूको भगास्व (पुरुष) राजा हुँदाका छोराहरूसँग लडाइँ हुन्छ र दुवैतर्फका सबै छोराहरू मारिन्छन् । यसबाट व्याकुल उनी खुब विलाप गर्छिन् । पीडाले व्याकुल उनलाई देवताका राजा इन्द्र आएर सम्झाउँछन् र सबै छोराहरू जीवित बनाइदिन्छन् । ती स्त्री भगास्वलाई पनि फेरि पुरुष बन्न चाहेमा बनाइदिने इन्द्रले बताउँछन् । तर उनले महिलाको रूपमा नै रहने इच्छा जाहेर गरेपछि इन्द्रले कारण सोध्छन् । पुरुष र स्त्री दुवै जीवनको अनुभव भएकी उनी भन्छिन्, ‘सम्भोगको समयमा नारीहरूले जुन आनन्द प्राप्त गर्छन्, त्यो पुरुषलाई प्राप्त हुँदैन ।’ त्यसैले राजसुख छोडेर ब्राह्मणपत्नी नै भएर जंगलमा नै बस्न चाहन्छु भन्ने उनको उत्तर हुन्छ ।’


यस कथामा नारीलाई सम्भोगजस्तो आनन्ददायक अरू केही सुख हुँदैन भनिएको छ । यो कथा पढ्दै गर्दा म खुब यौनसम्बन्ध सम्झन्थेँ । कक्षामा केटामा भन्दा केटीहरूमा आठ गुणा बढी यौन चाहना हुन्छ भन्थे केही केटाहरू । हामीले नसुनेझैँ गरे पनि स्पष्ट सुनेका हुन्थ्यौँ । यो कुरा कथासँग मिलेजस्तो लाग्थ्यो । यसले अनौठो भावनाको सञ्चार गर्थ्यो । निरञ्जन निराकारजस्तो यौनसम्बन्धबारे अनौठो चित्र मनमा आउँथ्यो । त्यसै ताकाको कुरा हो, कक्षा ८ मा पढ्दै गरेकी हाम्रै कक्षाकी एक साथीले भागेर बिहे गरी ।


उत्ताउली, बिग्रिएकी भनेर धेरैले कुरा काटे । केही साथीहरूले उसको यौनजीवनको बनावटी कथा भन्दै रमाउँथे । नढाँटी भन्दा उसको यौनजीवनको कल्पना गरेर म पनि रोमाञ्चित बनेकी थिएँ त्यतिखेर । पछि दस कक्षामा पढ्दा हाम्रै कक्षाका ट्युसन पढ्न गएका एक केटा र केटीको यौनसम्बन्ध भयो रे भन्ने हल्ला भुसको आगोजस्तै फैलियो । हल्ला फैलिएसँगै केटी पढाइ छोडेर मामाघर गई । उतैबाट उसको बिहे भयो । यस घटनाले केटालाई भने कुनै असर पारेको देखिएन, सुनिएन । बरु केटी हाम्रै कक्षाकी भएकीले हामीले पनि धेरै लाञ्छना सहनुपर्‍यो । यौनप्रतिको चासो बढ्दै गए पनि यसको सामाजिक मूल्यले हाम्रा लागि यौन थप त्रासको विषय बन्न थाल्यो ।


यौनसम्बन्धको बारे कुरा भए पनि विवाहपूर्वको यौनसम्बन्धबारे कसैले उच्चारण गर्दैनथे । यौनसम्बन्ध र विवाहलाई पर्यायवाचीको रूपमा बुझ्थ्यौँ । सिकाइ त्यही थियो, बुझाइ त्यही थियो । त्यतिखेर आफ्नो विवाहको कुनै गुञ्जायस थिएन । दिदीहरूको विवाह पनि बाह्र कक्षा पास भएपछि मात्र भएकाले म कहिले बाह्र पास हुन्छुजस्तो लाग्थ्यो ।


एसएलसीपछि क्याम्पस पढ्न काठमाडौँ आइयो । कक्षाकै कतिपय सहपाठीसँग आकर्षण हुन्थ्यो । आकर्षण प्रेममा बदलिन्छ कि जस्तो पनि लाग्थ्यो । तर त्यो आकर्षण प्रेम हुँदै बिहेमा पुग्न सक्ने सम्भावना त्यतिखेर शून्यजस्तै लाग्थ्यो मेरो हकमा । यसका पछाडि मेरा आफ्नै तर्क थिए, बुझाइ थिए । मेरा दिदीहरूको उहाँहरूभन्दा झन्डै आठ/दस वर्ष उमेर बढी भएको जागिरेसँग बिहे भएको थियो । भाउजूहरू पनि दाइहरूभन्दा आठ/दस वर्ष नै कम उमेरका थिए । त्यतिखेर मैले त्योभन्दा फरक सोच्नै सकिनँ । सायद त्यही देखेँ, त्यही बुझेँ । यही बुझाइले आफ्नै कक्षाको समवयी केटाको प्रेम प्रस्ताव स्विकार्ने मानसिकतामा म थिइनँ । सुन्दा अनौठो लागे पनि मेरो हकमा त्यही भएको थियो । आजभोलि कलेजका ती प्रेम प्रस्ताव राख्ने सहपाठी बेलामौकामा भेट हुन्छन् । अहिले त्यतिखेरको आफ्नो मानसिकता सम्झेर आफैँलाई अनौठो लाग्छ ।


स्नातक तहको पढाइ सुरु भएपछिका प्रेमसम्बन्धका कुराहरू पहिले नै लेखिसकेकी छु । उमेरमा परिपक्वतासँगै यौनसम्बन्धी कुराहरू प्राकृतिक लाग्न थाले । उखरमाउलो कौतूहल बाँकी रहेन । बिस्तारै पुस्तकहरू पढ्ने बानी लाग्यो । आख्यानमा पारिजात, बीपी, गोठाले, संग्रौला, आहुति, नयनराज पाण्डे, नारायण वाग्ले, बुद्धिसागर, नगरकोटी, उमा सुवेदी, अर्चना थापा र पाएसम्म अरू पनि पढेँ । कोनन डोयल, अगाथा कृष्टि, सिड्नी सेल्डनदेखि सीता पाण्डे पनि पढ्न छुटाइनँ । यी पुस्तकहरूले यौनलगायतका अन्य धेरै विषयबारे बुझ्न सहज बनाए । समाजशास्त्रमा उच्चशिक्षाको अध्ययनसँगै गैरआख्यानतर्फ पनि रुचि बढ्यो ।


सिमोन द वाउवा, मिसेल फुको, चैतन्य मिश्र, शारदा शर्मा, हरिबहादुर थापा, सुलामिथ फायरस्टोनलगायतका उपलब्ध भएसम्मका अरू पुस्तकहरू पढियो । त्योभन्दा बढी समाजशास्त्रका प्राध्यापकहरूले पुस्तकसँगै समाज कसरी पढ्ने र बुझ्ने भन्ने सिकाउनुभयो । पितृसत्ताले बनाएका सामाजिक संरचनाहरू, सामाजिक मनोविज्ञानहरू, नेपाली समाजमा विद्यमान यौनप्रतिको बुझाइ आदि बुझ्न सहज भयो । पुरुष लेखकले गोमा ब्राह्मणी, सती सावित्री आदिको कथा किन रचे ? द्रौपदी कसरी महाभारतको कथाकी केन्द्रीय पात्र बनिन् ? वधूशिक्षा किन लेखियो ? जस्ता कुरामा तर्क गर्न सक्ने भएकी छु । पुरुष मनोविज्ञानले लेखिएका यस्ता कथाले महिला मनोविज्ञान निर्माणमा कसरी भूमिका खेले केही बुझेको जस्तो लाग्न थालेको छ । म आफूमा रहेको यौनलगायत अन्य कुण्ठा पनि तिनै कथाहरूका उत्पादन त हुन् ।


अहिले लाग्छ सायद अन्य जनावरहरूको जस्तै मान्छेको हकमा पनि यौन प्राकृतिक विषय मात्र भएको भए यौनका सन्दर्भमा यति धेरै कुण्ठा हुने थिएन कि । मानिस विवेकशील प्राणी भन्ने नाममा, सभ्यता, अनुशासन आदिका नाममा हामी जीवनमा धेरै नाटक गर्न अभिशप्त रह्यौँ, छौँ । हाम्रा कतिपय परम्पराहरू, यौनव्यवहार र बुझाइ पनि लैंगिक आधारमा विभेदकारी थिए, छन् । संस्कार र मान्यताका नाममा समाजले अभ्यास गर्दै आएका कुरा महिला, पुरुष दुवैमा समान रूपले लागू नभएकाले नै हामी कुण्ठाग्रस्त कृत्रिम जीवन बाँच्न अभिशप्त छौँ । यदि मानव सभ्यतको क्रममा अभ्यास गरिएका विषयहरू र बुझाइहरू लैंगिक विभेदकारी नभएको भए समाज र सभ्यता अझै उन्नत हुन्थ्यो होला ।


यस्ता कुरा अझै धेरैलाई बेकारको गन्थन लाग्ने गर्छ । तर यो लेख लेख्दै गर्दा साथीले एउटा तीतो अनुभव सुनाई । एक वर्षभन्दा कम उमेरको बच्चा घरमा नै छोडर अफिस आउने ऊ ‘टुटल सर्भिस’ को प्रयोगकर्ता हो । यसैलाई विवादको विषय बनाउँदै उसको लोग्ने भन्ने गर्छ रे, ‘टुटल, पठाओ आदिले त तिमीहरूलाई पो मोज छ, दिनदिनै फेरी फेरी... ।’
कि कुण्ठा पुरुषमा नै बढी छ ?


waglesamjhana@gmail.com

प्रकाशित : जेष्ठ ४, २०७६ १०:५३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बुद्धको विश्व यात्रा

गौतम बुद्ध आफ्नो जीवन कालमा कहाँकहाँ पुगे ? बौद्ध धर्म कसरी विश्वभर फैलियो ? र, बुद्ध जन्मिएको र ज्ञान प्राप्त गरेको भूमिमै किन उनका अनुयायीहरू निकै न्यून छन् ?
नेत्र आचार्य

 बुद्ध पूर्णिमा मनाउन फ्रान्सबाट नेपाल आएकी क्यारोलिन केही दिनअघि भक्तपुरका विहारहरूको कलाकृति नियाल्दै मुग्ध भइरहेकी थिइन्  । उनलाई झनै मोहित तुल्यायो नजिकै घरको झ्यालमा देखिएको नाति–बाजेको दृश्यले  ।

क्यारोलिन उक्त बालक मुस्काएको क्षण क्यामरामा खिच्न चाहन्थिन्, लामै प्रतीक्षापछि क्षणभरका लागि बालक मुस्कुरायो । क्यारोलिन फिदा भइन् र उक्त बालकको नाम सोधिन् । बाजेले भने– यो अर्हन् हो । अर्हन् भनेको बुद्धको नाम भन्ने थाहा पाएपछि त उनको खुसीको सीमा रहेन । उनी तत्क्षण आफ्नो समूहका साथीहरूको हूलमा मिसिइन् र हौसिंदै सबैलाई भनिन्, ‘मैले बुद्ध भेटें ! मसँग बुद्ध मुस्काएको तस्बिर पनि छ !’


बुद्ध महापरिनिर्वाण भएको पच्चीस सय वर्षपछि समेत बुद्धत्वको सुगन्ध विश्वका कुनाकुनासम्म पुग्नु र त्यसले मानिसहरूलाई मन्त्रमुग्ध बनाइरहनु आश्चर्यको विषय बिल्कुलै होइन । हरेक वर्ष लुम्बिनीमा लाखौं मानिस आइरहनु पनि आश्चर्यको विषय होइन । किनभने बुद्धत्व अपूर्व घटना हो र यसको स्वभाव नै सबैलाई मनैदेखि आकर्षित गर्नु हो । बुद्धत्व के हो भन्ने बुझेर पनि यसप्रति फिदा नभई रहन असम्भवजस्तै हुन्छ । जीवनभर भौंतारिंदै खोजिरहेको कुरा आफ्नै मनभित्र छ भन्ने थाहा पाउनु सहज बुद्धि भएका हरेक मानिसका लागि जीवन रूपान्तरणकारी क्षण भइदिन्छ । बुद्ध, बुद्धत्व र यसको विश्वव्यापी विस्तारलाई विभिन्न चरणमा बुझ्न सकिन्छ र हरेक बुझाइको आफ्नै अर्थवत्ता हुन्छ ।


गौतम बुद्धलाई बुद्धत्व प्राप्ति पूर्णिमाको रातमा भएको थियो, यसको प्रतीकात्मक अर्थ छ । पूर्णिमा प्रकाशको पूर्णत्वको अवस्था हो, पूर्णता कल्याणको मार्ग हो । बुद्धले देशना गरेको ‘धर्म’ आदि, मध्य र अन्त्यमा कल्याणकारी मानिन्छ । यो कल्याणकारी धर्मलाई विश्वभर विस्तार गर्न बुद्धले जीवनपर्यन्त प्रयत्न गर्नुभयो । पानी पर्ने तीन महिना कुनै विहारमा ‘वर्षावास’ गर्नेबाहेक सबै ऋतुमा बुद्ध अनवरत यात्रा गरिरहनुभयो । सबैको हित एवं कल्याण गर्ने उद्देश्य बुद्धका हरेक यात्राको अन्तर्य हुन्थ्यो । बुद्धत्व एक अद्भुत घटना थियो र यसको सुगन्ध सबैतिर पुर्‍याउन एक्लो प्रयत्नले सम्भव छैन भन्ने बुद्धलाई थाहा थियो । यसका निम्ति बुद्धले भिक्षुहरूको संघ निर्माण गर्नुभयो । संघमा प्रशिक्षित अर्हत् अवस्था प्राप्त भिक्षुहरूलाई धर्मदूतको रूपमा तयार गर्नुभयो । ती धर्मदूतले थप धर्मदूत तयार गरे र यसप्रकार सिलसिला चलिरह्यो, बुद्धत्व विश्वभर विस्तार भइरह्यो । बुद्ध भन्नु नै बुद्धत्व हो, बुद्धत्व नै वास्तवमा बुद्ध हो । बुद्धले भन्नुभएको छ, ‘धर्मतो बुद्धा द्रष्टव्या धर्मकायो हि नायका’ अर्थात् धर्मलाई देख्नेले बुद्धलाई देख्छ, बुद्धको वास्तविक काय या रूप धर्म हो । बुद्धका उपदेशलाई एउटै शब्द धर्म भनिन्छ । यस अर्थमा जहाँ धर्म पुग्यो त्यहाँ बुद्ध पुग्नुभएको हो । बुद्धत्वको अर्थ, स्वतःस्फूर्त विस्तार हुँदै जाने यसको विशेषता, विभिन्न भूमिमा पुग्दा फेरिएका बुद्धका रूपहरू र वर्तमान समयमा बुद्ध भूमिमै बुद्धलाई पछ्याउनेहरू पातलिंदै जानुका कारण खोतल्नु यो लेखको आशय हो ।

बुद्ध यात्राको आरम्भ
पालि ग्रन्थ निदानकथाअनुसार सिद्धार्थ गौतमले पूर्वजन्ममा दीपंकर नामका बुद्धलाई भेटेको प्रसंग आउँछ । सुमेध तापस दीपंकर बुद्धका गुणहरू देखेर कतिसम्म प्रभावित भएका थिए भने बुद्धका पाउमा माटो नलागोस् भन्ने ध्येयले हिलो बाटोमा सुतेर बसिरहे । सुमेधलाई थाहा थियो, उनी हृदयदेखि नै यसो गर्दै छन् । हिलोमा सुतिरहँदा उनको मनमा अरू सुन्दर भाव पैदा भए । मेरो मन यति शुद्ध र गुणग्राही छ भने मैले मनको अन्तरकुन्तरमा रहेका सबै मानवीय वासनाहरू निर्मूल गर्नुपर्छ । मैले ज्ञान प्राप्त गर्नेछु र दुःखबाट सदाका लागि मुक्त हुनेछ । तर, म एक्लै मुक्त भएर के अर्थ, मैले त समस्त मानिस र देवताहरूलाई दुःखमुक्त गर्नेछु । ‘अहमपि लोके बुद्धो भविष्यामि’ अर्थात् म पनि दीपंकरजस्तै बुद्ध बनेर लोकहितमा समर्पित हुनेछु । महावस्तु नामको ग्रन्थमा यो प्रसंगमा पाठान्तर पाइन्छ तर बुद्ध बन्ने ध्येय एउटै छ ।

‘बुद्धो भवेयं जगतो हिताय’
जगत्को हितका लागि बुद्ध होऊँ भन्ने संकल्प पैदा हुनु बुद्धत्वको यात्रामा पहिलो कदम हो । बुद्धत्वको यात्रा आरम्भ भएसँगै बुद्धको विश्व यात्रा तय हुन्छ । किनभने बुद्धत्व विस्तार भइरहने गुणले युक्त हुन्छ । त्यो गुण हो महाकरुणा । संसारमा दुःखी प्राणीहरूको कमी छैन र बुद्धको अहैतुकी करुणा समस्त प्राणीलाई दुःखमुक्त बनाउने ध्येयले ओतप्रोत हुन्छ । आफ्ना दुःख अन्त्य भएपछि दुःखीहरूप्रति मनमा स्वतःस्फूर्त करुण पैदा हुनु अहैतुकी करुणा हो, महाकरुणा हो ।

बुद्धले आफ्ना भिक्षुहरूलाई दीक्षित गर्दा बारम्बार सुझाउने मुख्य कुरा लोक अर्थात् मानव जातिप्रति मनमा अपार करुणा विकसित गर्नु भन्ने हुन्थ्यो । बुद्ध भन्नुहुन्थ्यो, ‘चरथ भिक्खवे चारिकं बहुजन हिताय बहुजन सुखाय लोकानुकम्पाय अत्थाय हिताय सुखाय देव मनुस्सानं । देसेथ भिक्खवे धम्मं आदिकल्याणं मंझे कल्याणं परियोसान कल्याणं सात्थं सव्यंजनं केवल परिपुन्नं ब्रह्मचरियं पकासेथ ।’ अर्थात्, भिक्षुहरू हो, बहुजन हित, बहुजन सुख र समाजको कल्याणका लागि, देवता र मानिसको हित र सुखका लागि सबैतिर विचरण गर, विहार गर । सबै धर्मदूतलाई बुद्धको यस्तै निर्देशन हुन्थ्यो । बुद्धको निर्देशन हुन्थ्यो, भिक्षु हो सबै ठाउँमा पुग र धर्मदेशना गर, धर्मको अर्थ सम्झाऊ, मानिसहरूलाई झवचक्रm अर्थात् दुःखको चत्रबाट मुक्त गर, सबैतिर धर्मचत्र चलाऊ ।

गौतम बुद्ध कहाँकहाँ पुग्नुभयो ?
कामसुखमा रमाउने या कठोर तपस्या गर्दै शरीर सुकाउने दुवै तरिका ठीक होइनन् भन्ने जानेर बुद्धले मध्यम मार्ग अपनाउनुभयो, तदनन्तर उहाँलाई विपश्यना ध्यानमा सफलता मिल्यो । बुद्धले चार आर्य सत्य देख्नुभयो, आर्य अष्टांगिक मार्ग पहिल्याउनुभयो र प्रतीत्यसमुत्पाद अर्थात् जीवन र जगत् कुन नियमले चलिरहेको छ भन्ने बोध गर्नुभयो । यसप्रकार ज्ञानोदय भइसकेपछि बुद्ध दुःखमुक्त हुनुभयो, संसारको जन्ममृत्युको चक्रबाट सदाका लागि माथि उठ्नुभयो । बुद्धत्व प्राप्तिपछि सबभन्दा पहिला तपस्या गर्दाका साथीहरूलाई आफूले पाएको ज्ञान सुनाउने इच्छा उहाँलाई भयो । ती पञ्चभद्रवर्गीय भिक्षुहरूलाई प्रथम उपदेश सुनाउन बुद्ध वाराणसीको सारनाथ पुग्नुभयो । बुद्धको पहिलो उपदेशलाई धर्मचक्रप्रवर्तन सूत्र भनिन्छ । झवचक्र अर्थात् दुःखको माखेसाङ्लोबाट मुत्त हुन धर्मचक्र चलाउन आवश्यक हुन्छ । धर्मलाई देख्ने हो भने र तदनुरूप अभ्यास गर्ने हो भने हरेक व्यक्तिले आफ्नो कल्याण स्वयंले गर्न सक्छ, कुनै पनि वाद, पन्थ, सम्प्रदाय र संगठित धर्मको पिछलग्गु हुन पर्दैन, आफ्नै प्रयत्नले बुद्ध बन्ने क्षमता हरेक मानिसमा पहिल्यैदेखि निहित छ, अतः आफ्नो कल्याण आफैं गर भन्ने बुद्धको पहिलो देशनाको आशय थियो ।


बुद्धका प्रथम पाँच शिष्यहरू छिट्टै अर्हत् भए र उनीहरूले अन्य दर्जनौं भिक्षुहरूलाई धर्मको उपदेश गरे । यही क्रमले साठी जना अर्हत् भिक्षुहरू पुगेपछि बुद्धले सबैलाई एक ठाउँमा भेला गरी भन्नुभयो— भिक्षुहरू हो, हरेक भिक्षु आफ्ना मानसिक बन्धनबाट मुक्त हुनुपर्छ तर भिक्षुमा मानिसहरूप्रति करुणा जाग्नुपर्छ, समाजप्रति कर्तव्यबोध पनि हुनुपर्छ । अतः अर्हत् अवस्था प्राप्त गरिसकेका भिक्षुहरू विभिन्न स्थानमा विचरण गर र बुद्धत्वको उपदेश सुनाएर मानिसहरूलाई धर्मको बाटो सुझाऊ, सबैको कल्याण गर ।


बुद्धले भिक्षु संघलाई एक आदर्श समाजका रुपमा विकसित गर्नुभएको थियो । समाजमा भिक्षु संघप्रति उस्तै आदरभाव थियो । कुनै रंगभेद, जातिभेद, वर्गभेद नगरी सबैलाई समान रूपले कदर गर्ने र धर्मानुश्रवणमा सहभागी गराउने हुँदा मानिसहरू बुद्धको विशाल हृदय र व्यवहारबाट प्रभावित थिए । जनभाषामा धर्म प्रचार गर्दा अधिकतम मानिसले ज्ञानका कुरा बुझ्छन् भनेर बुद्धले तत्कालीन समयमा प्रचलित जनभाषामा शिक्षा दिने प्रचलन बसाउनुभयो । यसले गर्दा पनि बुद्धको शिक्षा समाजको तल्लो तहसम्म पुग्यो । बुद्धले भिक्षुहरूलाई सम्प्रदायबाट मुक्त भएर आफ्नो र अरूको कल्याणको खातिर धर्मको शिक्षा विस्तार गर्न निर्देशन दिनुभयो । यसरी मानिसहरूलाई दुःखमुक्ति र बुद्धत्वको बाटो देखाउनका लागि चारिका अर्थात् देशाटन गर्ने भिक्षुहरूलाई बुद्धले दुई जना छन् भने दुवैलाई फरक बाटोबाट अगाडि बढ्न सुझाउनुभयो । यसो गर्दा धेरैभन्दा धेरै मानिसले धर्मको देशना सुन्ने अवसर प्राप्त गरून् भन्ने बुद्धको आशय थियो । सबै दिशातिर धर्मदूत पठाइसकेपछि बुद्ध स्वयं पनि धर्म विस्तारको लागि उरुवेलतिर प्रस्थान गनुभयो । बुद्धको व्यक्तित्व, संघको उदात्त सोच र आदि, मध्य एवं अन्त्यसम्म कल्याणकारी धर्मको उपदेश सुनेर दिनानुदिन सयौं हजारौं मानिस प्रभावित भए, दीक्षित भए र दुःखमुक्त भए । उनीहरूले अन्य मानिसहरूलाई दीक्षित गरे । यो क्रम बढ्दै गएर बुद्धले धर्मको देशना दिन खटाउनुभएको छ महिनाभित्र बुद्ध कपिलवस्तु जानुहुँदा भिक्षु संघमा बीस हजार भिक्षु आबद्ध भइसकेका थिए ।


आफ्नो जीवनकालमा बुद्ध भारतका विभिन्न सहरहरू र नेपालको कपिलवस्तुमा बारम्बार भ्रमण गनुभयो । बुद्धले केही विशेष स्थानहरूलाई धर्म विस्तारको केन्द्र नै बनाउनुभएको थियो । यस्तै केन्द्र थिए श्रावस्ती र राजगृह । बाबा भीमराव अम्बेडकरले पालि ग्रन्थहरूमा खोजबिन गर्दा बुद्ध श्रावस्तीमा करिब ७५ पटक र राजगृहमा २४ पटक भ्रमण गर्नुभएको तथ्य पत्ता लगाएका थिए । कपिलवस्तु र वैशालीमा बुद्ध छ पटक भ्रमण गर्नुभएको र कम्मासधम्ममा चार पटक पुग्नुभएको स्रोत फेला पर्छ । बुद्ध सशरीर पुग्नुभएका अन्य स्थानहरू अस्सपुर, नालन्दा, घोषिताराम, कुसीनारा, देवदह, पावा, मगधको राजधानी पाटलीपुत्र, दर्जनौं शाक्य जनपद र कुरु जनपदहरू हुन् । यी सबै स्थानमा बुद्ध पैदलै हिँडेर पुग्नुभयो । बयलगाडी उपयोग गर्न सक्नुहुन्थ्यो तर बुद्धले हिँडेरै चारिका गर्न मन पराउनुभयो । बाटोमा भेटिने सबैलाई धर्मको देशना सुनाउने उहाँको ध्येय हुन्थ्यो ।


बुद्धको महापरिनिर्वाणपछि धर्मलाई विश्वव्यापी बनाउने कार्य निर्बाध जारी रह्यो । सबै व्यवस्था बुद्धले बसालिदिनुभएको थियो, हरेक युगमा नयाँ भिक्षुहरू संघमा प्रवेश गरे र स्थापित नियमअनुसार धर्म प्रचारलाई अगाडि बढाए । यस क्रममा धर्मलाई विश्वभर विस्तार गर्न सम्राट् अशोक जत्तिकै प्रभावी अरू फेला पार्न मुस्किल हुन्छ । सम्राट् अशोक निग्रोध नामक व्यक्तिको प्रभावले बुद्ध धर्मप्रति आकर्षित भएका थिए । पछि उपगुप्त भिक्षुबाट उनी बुद्ध धर्ममा दीक्षित भए । उनी लुम्बिनीलगायत दर्जनौं बुद्धक्षेत्रहरूमा धर्म प्रचार गर्न र धर्मको इतिहास जोगाइराख्नका लागि स्वयं पुगे । अशोक स्तम्भहरूकै कारण आज बुद्धको जन्मभूमि नेपाल हो भन्ने अकाट्य रूपले सावित भएको छ । अशोक स्वयं सम्राट् भएको हुँदा उनमा अधिकार, क्षमता र कौशल थियो, स्वयं बुद्ध धर्मानुलम्बी भएको हुँदा धर्मप्रति श्रद्धा पनि थियो । उनले मज्झन्तिकलाई कश्मीर तथा गान्धारमा, महारक्षितलाई यवन देशमा, मज्झिमलाई हिमालय देशमा, धर्मरक्षितलाई अपरांतक देशमा, महाधर्मरक्षितलाई महाराष्ट्रमा, महादेवलाई मैसुरमा, रक्षितलाई कन्नडमा, सोन र उत्तरलाई सुवर्णभूमिमा धर्मप्रचारका लागि पठाए । उनले श्रीलंकामा आफ्ना छोराछोरी महिन्दा र संघमित्रालाई धर्म प्रचारका लागि पठाएका थिए । सम्राट् अशोकले बर्मामा धर्म प्रचारका लागि विशेष टोली पठाएका थिए । बुद्धप्रेमी अशोकका केही वचनहरू आज पनि कालजयी छन्—बाँच र बाँच्न देऊ, सर्वहितभन्दा ठूलो कार्य अरु केही छैन, राजनीतिक लाभका लागि हिंसा गर्नु सबैभन्दा निन्दनीय हो ।

थरीथरीका बुद्ध, थरीथरीका अभ्यास
बुद्ध धर्म चीन, तिब्बत, जापान, कोरिया, भियतनाम, बर्मा, थाइल्यान्ड, श्रीलंका, भुटानलगायत मुलुकमा पुग्दा बुद्धको प्रतिमा उस्तै रहेन । तत्तत् मुलुकका शिष्यहरूले तिनको कल्पनाअनुसार अनुकूल प्रतिमा बनाए । तिब्बतमा त बहु बुद्ध प्रणाली विकसित भयो— अमिताभ बुद्ध, महामञ्जुश्री बुद्ध, अवलोकितेश्वर आदि । हजार हात भएका अवलोकितेश्वरको समेत परिकल्पना गरियो । मानिसहरूको हित र कल्याणका लागि स्वयंको निर्वाणसमेत बोधिसत्त्वहरू त असंख्य कल्पना गरिए ।


बुद्धका पछिका शिष्यहरूमध्ये बोधिधर्मले चीनमा पुगेर चान बुद्ध दर्शन विस्तार गरे । उनले चीनका मानिसहरूलाई ध्यान सिकाए । चिनियाँ भाषीहरूले ध्यानलाई चान भन्न थाले । यही चान जापान पुग्दा झेन बन्यो । जापानमा झेन सम्प्रदाय प्रभावी छ । डिटी सुजुकीले झेनलाई पश्चिमा देशहरूमा विस्तार गरे ।


वज्रयान सम्प्रदायका आचार्य पद्मसम्भव भारतबाट तिब्बत पुगे र त्यहाँका मानिसहरूलाई वज्रयानमा दीक्षित गरे । उनको प्रभाव व्यापक भयो, उनी अन्ततः गुरु रिन्पोछे भनेर चिनिन थाले । तिब्बती भेकमा विकसित भएको वज्रयानलाई दलाई लामा र अरू रिन्पोछेहरूले वर्तमान समयमा विश्वभर विस्तार गरिरहेका छन् ।


तन्त्रयानका रूपमा विकसित भएको वज्रयानले बुद्धका मूल शिक्षालाई कतै छोडेको छैन, बरु युगानुकूल विकास र परिष्कार गर्दै लगेको पाइन्छ । कोरियामा सद्धर्मपुण्डरिकसूत्रलाई मुख्य ग्रन्थ मानेर लाखौं मानिस बुद्धका शिक्षा सुन्छन् र ध्यानको अभ्यास पनि गर्छन् । जापानमा निचिरेनलगायतका बौद्ध सम्प्रदायमा पनि यही ग्रन्थ आधारभूत हो । बुद्धको मुख्य शिक्षा पनि ध्यान नै हो ।


बुद्ध दर्शन गतिशील प्रकृतिको छ । खासगरी वज्रयानमा बुद्ध दर्शनको ‘डाइनामिक’ स्वभाव प्रस्ट देख्न पाइन्छ । जस्तो चीनमा विकसित भएको चिया संस्कृतिमा बुद्ध दर्शनको गहिरो प्रभाव देखिन्छ । चिया पिउनु ध्यानको अभ्यास गर्नु जत्तिकै स्मृति र सम्प्रजन्ययुक्त हुन्छ । चीनमा प्रचलित कुङ फु, जापानमा विकसित हाइकु कविता र कोरियामा विकसित कलिग्राफीको अन्तर्यमा बुद्ध दर्शनको प्रभाव स्पष्ट देख्न पाइन्छ । यी संस्कृतिले हरेक क्रियाकलाप हरेक क्षणमा कसरी माइन्डफुल अर्थात् होसपूर्ण भएर सम्पन्न गर्ने भन्ने सुझाउँछन् । बुद्धले सिकाएको ध्यानको मूल आशय पनि यही हो । वर्तमान समयमा होसपूर्ण भएर र पक्षविपक्षमा नढल्की तटस्थ भएर कार्य गर्नु बुद्धत्वतर्फको यात्रा नै हो । होसपूर्ण हुने अझ्यास सघन हुँदै जाँदा मानिस मन र समयको अदृश्य बन्धनबाट मुक्त हुन सक्छ । मुत्तिको सुख सबै सुखभन्दा अप्रतीम हुन्छ । यो यस्तो सुख हो जुन जहिल्यै विस्तार हुँदै जान्छ, कहिल्यै ह्रास भएर जाँदैन ।
उता पश्चिमा जगत्मा जोन कबात जिनले बुद्धले सिकाएको ध्यान पद्धतिको सिको गर्दै माइन्डफुलनेसमा आधारित तनाव न्यूनीकरण थेरापी विकसित गरे । वर्तमान समयमा भिक्षु मेथ्यु रिकार्डले करुणा फाउन्डेसन मार्फत् बुद्धका शिक्षालाई विश्वभर विस्तार गरिरहेका छन् । टिच न्यात हन्हले भियतनामबाट इन्गेज्ड बुद्धिजमलाई विश्वभर फैलाइरहेका छन् जुन अचेल प्राज्ञिक अध्ययनको एक मुख्य विधा बनेको छ ।


बुद्धको जीवनी, ज्ञान प्राप्ति र धर्म देशना वर्णन गर्दै एडविन आर्नोल्डले लेखेको ‘लाइट अफ एसिया’ ले संसारभरी बुद्ध धर्म र दर्शनप्रति मनिसहरूमा जागरण ल्याइदियो । आर्नोल्डले उक्त कृति ललितविस्तरसूत्र नामको ग्रन्थको आधारमा तयार गरेका थिए । पश्चिमा जगत्मा पहिलो पटक बुद्ध दर्शनको परिचय दिन पुस्तकका रूपमा यो कृति विख्यात छ । श्रीलंका पुगेका भिक्षु बुद्धघोषले विशुद्धिमग्ग र विमुक्तिमग्ग नामका दुई बेजोड कृति लेखे । यी कृतिका बारेमा भन्ने गरिन्छ, बुद्धका सबै शिक्षा लोप भए र यी दुई ग्रन्थ बाँकी रहे भने पनि बुद्ध धर्मलाई केही घाटा हुने छैन ।

बत्तीमुनि अँध्यारो
बुद्धका शिष्यहरूले विश्वभर बुद्धत्वको सुगन्ध फैलाए र यो क्रम अझै जारी छ । तर बुद्ध स्वयंले देशना दिनुभएको नेपाल र उत्तर भारतमा बुद्धका अनुयायीहरू कमी हुँदै जानु भने आश्चर्यजनक छ । बत्तीमुनि अँध्यारो भन्ने आहान यहीं चरितार्थ भइरहेको छ । यसो हुनुको पछि धेरै कारण हुन सक्छन् । जस्तो, बुद्धले पूजाआजा र तीर्थव्रतलाई श्रद्धा जगाउने कार्यका लागि मात्र उपयोग गर्न सुझाउनुभएको थियो तर बुद्धका मूर्ति पूजा गर्नु नै धर्मको मुख्य अभ्यास हुन थाल्नु, भिक्षुहरू धर्म उपार्जनमा भन्दा अर्थोपार्जनमा केन्द्रित हुनु र ध्यानको अभ्यास नगरी गुरु बन्ने होडबाजी चल्नु केही कारण हुन् ।


अर्को कारण हिन्दु धर्मसँग सम्बन्धित छ । नेपाल र भारतमा हिन्दु धर्म सधैं बलियो रह्यो, हिन्दुहरूले बौद्ध धर्म र दर्शनलाई फस्टाउने मौका दिएनन् । उनीहरूले बुद्धलाई विष्णुका एक अवतार हुन्समेत भने । जुन कुरा शास्त्रीय दृष्टिले कतैबाट तर्कसंगत देखिंदैन । हिन्दु ईश्वरवादी धर्म हो, तर बुद्धले कुनै पनि सृष्टिकर्ता वा सर्वेसर्वा ईश्वर स्वीकार गर्नुभएन । बुद्धले जातिभेद अन्त्य गरेको, बलिप्रथा रोकेको र उदार विश्व दृष्टिकोण अपनाएकाले हिन्दुवादी ब्राह्मणहरूको स्वार्थमा बाधा पुर्‍याउने देखियो । अतः समाजमा शक्तिशाली रहेका
ब्राह्मणहरूले राज्यस्तरबाटै बुद्धको धर्म र दर्शनलाई खेद्ने काम गरे । राणा शासनकालमा नेपालमा बुद्ध मूर्ति बनाएको आरोपमा भिक्षु अमृतानन्दलाई आठ वर्ष जेलमा थुनियो । विसं २००० मा भिक्षु अमृतानन्दलगायत आठ जना भिक्षुहरूलाई देश निकाला गरियो । बौद्ध दर्शनका पुस्तक खोजीखोजी जफत गरियो, हिन्दुहरू धर्म परिवर्तन गरी बौद्ध बन्न नपाइने, बौद्ध विहार बनाउन नपाइने नियम नै बनाइयो । यसरी राज्यले नै खेदेपछि बुद्धको धर्म बुद्ध भूमिमै मेटिंदै गयो ।


उत्तर भारत हिन्दु धर्मको उद्गमस्थल हो, भारतीय हिन्दुहरूले बुद्ध दर्शन व्यवस्थित, उदार र प्रभावी देखेपछि आफ्नो अस्तित्वमा खतरा ठाने । उनीहरूले अनेक शास्त्र र काव्य लेखेर बुद्ध धर्मलाई माथि उठ्न दिएनन् । ‘हस्तिना ताड्यमानेऽपि न गच्छेत् जैन मन्दिरम्’ अर्थात् प्राण घाँटीबाट जानै लागे पनि, हात्तीले कुल्चेर मार्नै लागे पनि जैन धर्म या बुद्ध धर्मको शरणमा नजानू भन्नेजस्ता दुष्प्रचार गरे । यस्तै बेला धर्मान्ध र मूर्ख मुसलमान शासक बख्तियार खिलजीलगायतले भारतमा आक्रमण गरे र खासगरी बौद्ध साहित्यको केन्द्रका रूपमा विकसित ओदान्तपुरी विश्वविद्यालय र नालन्दा विश्वविद्यालयमा आगो लगाइदिए । भनिन्छ, नालन्दाको पुस्तकालयमा लागेको आगो छ महिनासम्म निभेको थिएन ।


मुसलमान अतिवादीहरूले बौद्धहरूलाई निर्मूल पार्न हरेक विहार, चैत्य, स्तूपा भत्काइदिए, लाखौं लाख पुस्तकहरू खोजीखोजी जलाइदिए र हजारौं भिक्षु एवं बौद्ध आचार्यहरूलाई मारे । त्यसबेला बौद्धहरू लुक्दै, भाग्दै नेपाल र तिब्बतमा शरण लिन आएका थिए । यसप्रकार अतिचार हुँदासमेत बुद्ध धर्म र दर्शन जीवित रहन सक्नु उल्लेख्य छ । जे–जति बौद्ध दर्शन, साहित्य र परम्परा जीवित छ त्यसलाई यथोचित संरक्षण र विस्तार गर्न सक्यौं भने पनि शान्त, सुखी र समतापूर्ण हुन सकिन्छ । भौतिक समृद्धि देखिसकेका देशहरूले आन्तरिक समृद्धिका लागि बुद्धको धर्मलाई चाखपूर्वक पछ्याउँदै गरेको देखियो । अन्ततः मानिसलाई चाहिने आन्तरिक सुख–शान्ति नै रहेछ, हामीले बेलैमा बुद्धलाई चिन्न सके जाती हुन्थ्यो । बत्तीमुनि अँध्यारो हुनुमा केही दृश्यमान र केही अदृश्य कारण समेत होलान् । बुद्धको ज्ञानको आलोक कति गरिमापूर्ण छ भन्ने हामीलाई बोध भइसकेको हो भने त्यो आलोकलाई पुनः जगाउने सम्भावना छन् । हामी सबै मिलेर सम्भावनाहरू खोजी गर्न सकिन्छ । सुरुआत गर्नलाई राज्याधिकारीहरू नै सचेत हुनुपर्छ । कम्तीमा बुद्ध जयन्तीका दिनमा मञ्चमा उभिएर राजनीतिक भाषण दिनुको साटो कुनै वरिष्ठ बौद्ध भिक्षुलाई बुद्धको शिक्षाका बारेमा बोल्न समय दिने र प्रधानमन्त्री, राष्ट्रपतिलगायत उच्चपदस्थ अधिकारीहरू दर्शकदीर्घामा बसेर धर्म श्रवण गर्न सके जनजनमा बुद्धत्वको गरिमा स्वतः स्थापित हुनेथियो । सम्मानित भिक्षुसँगै एकाध घण्टा सबै ध्यानमा बस्ने हो भने त त्यसले मनमा जगाएको आलोकले बत्तीमुनिको अँध्यारो स्वतः विलीन हुने थियो । मंगल होस् ।
netra.acharya@gmail.com

प्रकाशित : जेष्ठ ४, २०७६ ११:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×