संक्रमणकालीन बिहे

सम्झना वाग्ले भट्टराई

भनिन्छ, जीवन आकस्मिकताहरूको संयोग हो । भयो त्यस्तै । झन्डै बाह्र वर्षअघि प्लस टु सकेर स्नातक तहको पढाइ सुरु भएपछि घरमा नाता/इष्टमित्रबीच मेरो बिहेको कुरो चल्न सुरु भयो । यो बिस्तारै फैलँदै अलि टाढाका आफन्त, चिनजान तथा व्यावसायिक लमीहरूसम्म पनि पुग्न थाल्यो ।

त्यसपछि विभिन्न विवाहका उम्मेदवार केटाहरूका नाम सुनिन तथा फोटाहरू आउन थाले । त्यतिखेर ‘फेसबुक’ अहिलेजस्तो झन्डै सर्वव्यापी भइसकेको थिएन । यससँगै केटाकेटी हेर्ने/देखाउने क्रम सुरु भयो । म अनिच्छाले दलिएको मेकअपमा केही अचिनारु पुरुषहरूको अगाडि नचाहेको परीक्षामा उपस्थित हुनेगर्थें, हुनैपर्थ्यो । मानिसहरू आउँथे । चिया वा जुस त्यस्तै केही लिएर म सकेसम्म सजिएको मेकअपमा उनीहरूको अघि उपस्थित हुनुपर्थ्यो । यसरी उनीहरू आउँदा सेलरोटी, अचार तरकारी आदि बन्थे । नढाँटी भन्दा घरमा पाकेका यी कुरासँग मेरो रुचि विछट्ट बढेको थियो । विकल्पहीन विकल्प ठानेर म ‘जसोजसो बाहुनबाजे उसैउसै स्वाहा’ को लयमा चल्ने गर्थें ।


यो त्यसैताकाको कुरा हो । एक साँझ घरमा दुई पुरुष पाहुना आए । एक जना चिनारु नै थिए, गाउँमा चालु रहेको खानेपानी परियोजनाका ‘ओभरसियर’ । अर्का अचिनारु, पिठो दलेजस्तो सेतो अनुहार, दुब्लो शरीर, अस्वाभाविक लाग्ने उचाइ, लामो अस्तव्यस्त कपाल । मैले त्यो साँझ यति नै ठम्याउन सकेँ । त्यो रात उनीहरू घरमा नै बसे । खाना खुवाउने बेलामा मेरो कुनै भूमिका नरहे पनि तरकारी केलाउनेदेखि अचार बनाउनेसम्ममा मैले अतिरिक्त मिहिनेत गरेँ रुचिसाथ । भोलिपल्ट बिहान मलाई विशेष तयारी गराइयो । मेकअप नगर्नु सायद कार्यक्रमकै ‘अनादर’ हुन्थ्यो कि, मैले आमाले भनेअनुसारकै तयारी गरेँ । चिया लिएर जाने अनि छोटो कुराकानी गर्ने भनेर मलाई भनिएको थियो । त्यसैअनुसार चिया लिएर गएँ ।


चिया पुर्‍याउनेबित्तिकै बुबा र ती ओभरसियर आ–आफ्नो चियाको कप लिएर एक छिन बस्दै गर है भन्दै बाहिर निस्किए । अब हामी दुई जना मात्र रह्यौँ कोठामा । अप्ठ्यारो लागेको थियो । सायद मेरो त्यो अप्ठ्यारो बुझेर हो कि, उसले भन्यो, ‘खोइ त तपाईंलाई चिया ?’
‘म कहिल्यै पनि चिया खान्नँ,’ मैले झूट बोलें ।

‘खासमा मलाई पनि चिया मन पर्दैन । तर पाहुना हुन आएको ठाउँमा कसरी नाइँ भन्नु भनेर मात्र हो,’ ऊ ।
कुराकानी टुंगियो । कतिपयले त यस्ता भेटघाटमा नाम, उमेर, पढाइ र रुचिजस्ता कुरा मात्र होइन, कसैसँग प्रेम सम्बन्ध भए नभएको र यौनसम्बन्धबारे पनि सोध्न भ्याउँथे । उसले यी केही पनि सोधेन । मलाई अनौठो लाग्यो । अन्तर्वार्ता शैलीमा प्रश्न–उत्तर प्रक्रियाबाट गुज्रिनु नपर्दा वातावरण हलुंगो लागेको थियो ।
आमाले पन्ध्र मिनेट समय तोकिदिनुभएको थियो । झन्डै दस मिनेट यत्तिकै बित्यो । म हतारिएँ । ‘तपाईंको केही सोध्नु छ भने सोध्नुस् है नत्र म जान्छु,’ मैले नै कुराकानी सुरु गरें ।
उसले चकित भएर हेर्‍यो र भन्यो, ‘ए साँचै म... तपाईंको नाम सोधौं ?’
मैले के बोल्ने थाहा पाइनँ । उसले के सोध्यो ? मैले कताकता अपहेलित महसुस गरें । सिधै भनें, ‘बरु हुन्न भने आजै हुन्न भनेर जानुस्, कुरै खत्तम हुन्छ’ ।
‘के हुन्छ, के हुन्न भन्नुभएको ? मैले कुरो बुझिनँ,’ ऊ ।
‘गाउँठाउँमा केटा हेर्न आएपछि, सबैलाई थाहा भइहाल्छ । त्यसै त छिमेकी कान थाप्दै हिँडेका छन् । जोरीपारी कसको हुँदैन र ? मन परेन भने आजै भन्दिनुस्, भोलिपर्सि भनेर नअल्झाउनुस्,’ मेरो बिन्ती– मेरो आँखामा आँसु टल्पल भइसकेको थियो । हुन पनि पछि निधो दिउँला भनेर गएकाहरूको उत्तर पर्खंदा–पर्खंदा परिवारका सबैलाई सास्ती हुन्थ्यो । त्यसको मानसिक मूल्य मैले बेहिसाब चुकाइसकेकी थिएँ । त्यसैले म स्पष्ट उत्तर चाहन्थें, त्यो पनि तत्कालै ।
आफ्ना दुवै हातले टाउको समाउँदै उसले गम्भीर भएर भन्यो, “मलाई भिनाजुले फँसाए । मेरो साइटतिर घुम्न जाऊँ भने, म आएँ । यो केटी हेर्ने/देखाउने कार्यक्रमबारे मलाई केही थाहा थिएन । खासमा मेरो अहिले बिहे गर्ने कुनै सोच, योजना, केही पनि छैन । मेरो उपस्थितिले तपाईंलाई परेको अप्ठ्यारोप्रति मलाई खेद छ । तर के गर्ने ? म त भिनाजुसँग गाउँतिर घुम्न मात्र आएको । म के गरौं ? मैले भन्न सक्ने भनेको यत्ति हो– ‘आई एम एक्स्ट्रिम्ली सरी’ ।” यसो भन्दै गर्दा उसको अनुहारमा भारी विशाद देखिएको थियो ।
‘ठीकै छ नि, थाहै नभएपछि त के गर्ने ? बरु मैले पो तपाईंको चित्त दुखाएँ,’ मैले फेरि थपें, ‘यो न तपाईंको दोष हो, न मेरो । यो त हाम्रो विवाह परम्पराको खोट हो ।’
उसको अनुहार केही उज्यालियो । सायद केही राहत महसुस गर्‍यो कि । त्यसपछि किनकिन मेरो मन पनि हलुंगो भयो । केही अनौपचारिक कुरा भए । अब भने आमाले छुट्टाइदिनुभएको समय अलि छोटो लाग्यो । उसका लागि लगेको दूध चिया म आफैंले स्वाट्टै पारेर बाहिर निस्किएँ ।
उनीहरू फर्कंदै गर्दा मैले झ्यालबाट सुटुक्क चियाएको थिएँ ।

काठमाडौंमा मेरो डेरा र उसको घर नजिकनजिकै । क्याम्पस जाने आउने गर्दा सँगैजसो हुन्थ्यौं । हल्का कालो वर्णको ऊ हँसिलो थियो । हाई, हेल्लो टाइपको कुरा हुन्थ्यो । एक दिन अचानक पानी पर्‍यो, कलेजबाट घर फर्कंदै गर्दा । मसँग छाता थियो । ‘किन रुझ्दै हिँड्ने त ?’ मैले नै प्रस्ताव राखें । ऊ आयो, मैले छाता अलि अग्लो पारें । ऊ झनै अग्लो रहेछ । अब छाता उसको हातमा थियो । म निर्धक्क उसले समातेको मेरो छातामुनि हिँडिरहें । सँगै हिँड्दा शरीरहरू ठोक्किए । खासै नमीठो लागेन । बरु अलि अनौठो ।
भोलिपल्ट क्याम्पस जाँदै गर्दा ऊ हौसियो, ‘आज छाता छैन ?’
‘...तर आज पानी परेन,’ मैले आगोमा थोरै घिउ थपें ।
त्यसपछि भेटघाट र कुराकानी बाक्लियो । कलेज लाइब्रेरीमा बिताउने समय लम्बियो । यताउताका कुराकानीलाई पनि ‘कम्बाइन स्टडी’ को आवरण ओढाइयो । कहिलेकाहीं निद्रामा रोमाञ्चक सपनाहरू देख्थें, साथमा ऊ हुन्थ्यो । कलेजबाहिरको भेटघाटका लागि चःमति, नयाँबजार आसपासका एकान्त बाटाहरू हुन्थे । खुब रमाइलो हुन्थ्यो । साँझ नसकिए पनि हुनेजस्तो लाग्ने । क्याम्पसबाट डेरासम्मको दूरी अझै लम्बिए हुन्थ्योजस्तो लाग्ने ।
एक दिन, चःमतिका साँघुरो बाटोमा हिँड्दै गर्दा उसले एकाएक भन्यो, ‘छ्या कस्तो ठाउँमा ल्याएको ?’
‘किन र ? के भयो ?’ मैले केही बुझिनँ ।
‘कस्तो नराम्रो गन्ध,’ उसले नाक खुम्चाइरह्यो । तर अहं मैले कुनै अप्रिय गन्धको आभास पाइनँ । कस्तो अनौठो ?
‘छ्या हेर त,’ उसले औंल्यायो । नजिकै गाई पालिएको रहेछ । छेउमा गोबरको भकारो । गन्ध त्यसैको रहेछ । हामी फर्कियौं । फर्किंदै गर्दा फेरि पानी पर्‍यो । मैले छाता निकालें, उसले छाता समायो । सँगै हिँड्दै गर्दा उसको पाखुराले छातीतिर छोइँदा कताकता असजिलो लाग्यो । म अलि सचेत भएर हिँडें ।
त्यो रात खासै निद्रा परेन । मैले गाउँ सम्झिएँ, घर सम्झिएँ । घरसँगै जोडिएका गोठहरू । गोठका गोरु, भैंसीहरू । मैले भविष्यको कुनै परिदृश्य परिकल्पना गरें, ‘घरछेउमै भएको भकारोबाट आएको गन्ध सहन नसकी मुख बिगार्दै बसेको ससुराली गएको ज्वाइँ,’ म अँध्यारोमै खिसिक्क हासें ।
भोलिपल्टबाट क्याम्पस जाँदा मैले छाता लैजान छाडें । लाइब्रेरी र ‘कम्बाइन स्टडी’ का अभिनय कक्षाहरू त्यसै तुहिए । उसले मौका मिल्नेबित्तिकै कारणको खोजी गरिरह्यो । म चुपचाप तर्किरहें । र मैले यसरी टुसाउँदै गरेको प्रेमको हत्या गरें ।

उपसंहार एक
झन्डै तीन वर्षअघि प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसअगाडिको पुस्तक पसलमा केही किताबहरू छानिरहेकी थिएँ । पिठो दलेजस्तो सेतो अनुहार, कैयौं दिनदेखि नकाटेको दारी, फुकीढल दुब्लो शरीर, लामो अस्तव्यस्त कपाल र अस्वाभाविक लाग्ने उचाइ भएको मानिस मेरै अगाडिबाट गुज्रँदै थियो । लगभग नौ वर्षअघिको त्यो स्मृति मेरो मनमा बिजुली चम्केझैं आयो । मैले आफूलाई रोक्नै सकिनँ ।
‘मलाई चिन्नुभयो ?’ म उसको बाटो छेकेर उभिएँ ।
‘सरी’ यसो भन्दै गर्दा उसका आँखा भने अनौठोसँग चम्किएका थिए । मैले हातै समाएर उसलाई छेवैको चियापसलमा लगें र दुईवटा ‘हट लेमन हनी’ अर्डर गरिदिएँ, नसोधीकनै । मेरो ‘फेबरेट’ दूध चिया उसैका लागि ‘सेक्रिफाइस’ गरिदिएँ ।
यतिखेर कुराकानीले कुनै औपचारिकताको माग गरेन । मैले छोराको कुरा गरें । छोराको बाबाबारे उसले पनि सोधेन । ‘म पहिलेजस्तै अविवाहित र बेरोजगार,’ उसले आफ्नो स्टाटस अपडेट गर्‍यो । ऊ पहिलेभन्दा दुब्लाएछ । गालाको हड्डी उठेको हो वा गाला अझै भासिएको मैले भेउ पाउन सकिनँ । फोन नम्बर आदानप्रदानसँगै अन्य केही कुरा भए । अन्त्यमा, उसको ओभरसियर भिनाजुसँग उसको पातलिएको बोलचाल र त्यसमा खासै गुनासो नरहेको कुरा सुनायो । मैले उसलाई आफ्नोमा खाना खान निम्ता दिन सकिनँ तर सँगै खाना खानुपर्छ है भन्न भने छुटाइनँ ।
त्यस भेटघाटको झन्डै एक महिनापछि सुरु भएको एक अध्ययनको फिल्ड सर्भेमा म ऊसँगै सिन्धुपाल्चोकका गाउँहरू डुलिरहेकी थिएँ । त्यो समय जीवनकै उल्लासमयमध्येको एक थियो ।

उपसंहार दुई
अफिसको कामको सिलसिलामा त्यो दिन अनायासै सागर (नाम परिवर्तन) सँग भेट भयो । उही हँसिलो सागर जोसँग छाता ओढ्ने/ओढाउने क्रममा टुसाएको प्रेमलाई म आफैंले टुंग्याएकी थिएँ । कुराकानी भयो । ऊ नाम चलेको बैंकमा राम्रै पोस्टमा काम गर्ने रहेछ । उसले गरिरहेको कामसँग खासै सन्तुष्ट नरहेको बतायो । सधै जागिरे भएर के गर्ने ? उसले विकल्प सोचेको बतायो । कतै गाउँतिर गएर व्यावसायिक रूपमा नै गाईपालन गर्ने योजना उसको रहेछ, गोरखातिर गएर सम्भावित ठाउँ पनि हेरिसकेको कुरा सुनायो ।
बाह्र वर्षअघि गाईको गोबरको गन्धसँग तर्सिएको देखेर मेरो गाउँले मन ऊसँग भड्किएको थियो । उही अहिले गाई पाल्ने योजना सुनाउँदै थियो । मैले आफूलाई रोक्नै सकिनँ र कलेजका ती दिनहरूमा किन म ऊसँग टाढिएँ भनेर सबै बताइदिएँ ।
उसले मेरो पाखुरा दह्रोसँग समाएर भन्यो, ‘एक पटक त मसँग भन्नुपर्थ्यो यार । तिमी कस्तो मान्छे ?’
बाह्र वर्षमा खोला पनि फर्कन्छ भन्थे, सायद हो रहेछ कि वा सही समयमा एउटा प्रश्न गर्न नसक्दा म पछुताइरहेको त छैन ? मलाई कलेज लाइफ र झरी परेका ती दिनहरूको चर्को माया लागेर आयो ।

अन्तिम उपसंहार
बिहे गरेको पनि दस वर्ष भयो । छोरा नै झन्डै ९ वर्ष पुग्न लाग्यो । सम्बन्ध लगभग औपचारिक बनेको छ, रुटिनबद्ध । अस्ति मात्र दसवर्षे वैवाहिक जीवनको समीक्षा भनेर केही कुराकानी गर्‍यौं । मेरो लेखाइको खुब प्रशंसा गर्ने र लेखिरहन प्रेरित गरिरहने छोराको बाबाले अचानक भन्यो, ‘तिमीले लेखेर नि के हुँदोरहेछ र ? लेखेर समाज बदलिन्न क्यारे ?’
मैले धेरै सोच्न सकिनँ । संक्रमणकालका बिहे र सम्बन्धका आयु सायद यस्तै हुने रहेछन् कि । मैले आफूलाई रोक्नै सकिनँ र यो आत्मपरक कथा लेखिदिएँ । छापिएको दिन छोराको बाबाको प्रतिक्रिया पर्खिरहेछु ।
wagle.samjhana@gmail.com

प्रकाशित : वैशाख १४, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्

के छ मुकारुङ, सोलुखुम्बुतिर ? 

मोहन कोइरालाको सामिप्यमा
प्रयोगवादी र दुरूह कविको उपमा पाएका मोहन कोइरालालाई दुई दशकको संगतमा श्रवण मुकारुङले भने बेग्लै पाए– मान्छेको मन र व्यथा बुझ्न सक्ने !
श्रवण मुकारुङ

विष्णुविभु घिमिरे ‘गरिमा’ पत्रिकाको सम्पादक हुनुहुन्थ्यो  । हामी केही युवाकवि कवितासहित ललितपुरस्थित पत्रिकाको कार्यालय पुग्यौं  । विभु दाइसित चिया पिउँदै गफिइरहेका बेला एक युवा त्यहाँ आइपुगे । दाइले के गर्दै छौ भाइ ? पढाइ कहाँ पुर्‍यायौ ? भनेर सोध्नुभयो ।

‘मोहन कोइरालामाथि थेसिस लेख्दै छु सर !’ ती युवाले जवाफ दिए । केहीछिन् गम खाएर दाइले सोध्नुभयो, ‘सक्छौ त ?’ मुख अमिलो पार्दै उनले भने, ‘खोइ हेरूँ सर, बूढा असाध्यै चाम्रा रहेछन्, कुरा खोल्दै खोल्दैनन्, हत्तु भइसकें ।’


यति भनेर ती युवा निस्किए । तिनले साझा प्रकाशनको गेट काटेपछि विभु दाइले हामीतिर फर्केर भन्नुभो, ‘मोहन कोइरालामाथि जोकोहीले थेसिस लेख्न सक्छ ? एमए नगरी बिचरा यो निरीह प्राणीको जुनी जाने भो । लमजुङको भाइ हो, बरु माधव घिमिरेको जीवनी लेख्नु, जागिर खानु ।’ दाइका कुरा केही बुझेर, केही नबुझेर हामी वाल्ल पर्‍यौं । मैले यो प्रसङ्ग किन उल्लेख गरें भने सङ्ख्यात्मक एवं गुणात्मक दुवै हिसाबले महाकवि लक्ष्मीप्रसाद देवकोटाकै हाराहारीका प्रतीभा मोहन कोइरालामाथि लेख्नु यसकारण चुनौतीपूर्ण हुन्छ, कि उहाँका रचनाहरूको बहुआयाम वा विस्तारित रूपलाई पर्गेल्न समय लाग्छ । एउटा दृढता चाहिन्छ । नत्र, एक छेउ समायो अर्को छेउ बाँकी रहन्छ ।


बाइबलमा राजा जेम्सको एउटा घतलाग्दो भनाइ छ, ‘जज नट्, द्याट वी बी नट् जज्ड् ।’ अर्थात् ‘अरूलाई परीक्षण गर्न नखोज, ताकि त्यसरी परीक्षण गर्दा तिम्रो आफ्नै परीक्षा होला ।’ त्यसैले म यहाँ मोहन कोइरालाको काव्यकारिताका बारेमा नभई केवल उहाँसित मैले संगत गरेका ती भव्य तर महँगा दिनहरूलाई सम्झिन्छु । सङ्गतबारे नेपाली समाजमा मूलतः दुईवटा लोकोक्ति प्रचलित छन् । ‘सङ्गत गुनाको फल’ र ‘ठूलाको सङ्गत गरे गुहापान, सानाको सङ्गत गरे नाककान ।’ आजको समयमा यी उक्तिहरू राजनीतिक रूपले बेठीक वा असान्दर्भिकजस्तो लागे पनि मोहन दाइसित मैले गर्न पाएको सङ्गतले भने मलाई गुहापान मिल्यो । यद्यपि यो कुरा सङ्गतकर्ताको घ्राणशक्तिमा भर पर्ने होला । नत्र त, नाथुराम गोडसेले महात्मा गान्धीको सङ्गत गरेको थियो । विश्वेश्वरको सङ्गत गर्नेहरू आज यसरी ‘हिन्दु राष्ट्र पाऊँ परमेश्वर !’ भन्दै आलापविलाप गरिहिँड्ने थिएनन् । पुष्पलालका सङ्गत गर्नेहरू आज यसरी जग्गा दलाल हुने थिएनन् ।


अमेरिकन कवि टीएस इलियटभन्दा चालीस वर्षपछि विसं १९८३ मङ्सिर ११ गते ठटुनिटी डिल्लीबजार, काठमाडौंमा माता मित्रप्रियाको कोखबाट जन्मिनुभएका आधुनिक नेपाली कविताका प्रयोगवादी धाराका प्रवर्तक कवि मोहन कोइरालासित लगभग त्यति नै वर्ष कान्छो, अझ सुदूरपूर्वी पहाडको गाउँमा जन्मिएको, उमेर अनुभव र ज्ञानले नाति पुस्ताको म बबुरोको भेट होला, यसरी सङ्गत गर्न पाइएला, कल्पनाभन्दा बाहिरको कुरा थियो, तर सम्भव भयो ।

पहिलो भेट
म भोजपुरबाट उच्च शिक्षा हासिल गर्न काठमाडौं आएको पनि आधा दर्जन वर्ष बितिसकेको थियो । यस समयमा मैले कवि हुन केही सानाठूला सभा–समारोहका अग्ला–होचा मञ्चहरूको उपयोग र भलासङ्गतहरू गर्न भ्याइसकेको थिएँ । तर खोइ के कारणले हो, पाठ्य पुस्तकमै पढेका कवि मोहन कोइरालासित भेट्ने अवसर भने जुरेको थिएन । विसं २०४८ सालको कुनै स्वर्णिम दिन मलाई यो अवसर प्राप्त भयो । त्यस दिन वाल्मीकि क्याम्पसका विद्यार्थीहरूले आयोजना गरेको काव्य गोष्ठीमा कविता सुनाउन म पनि त्यहाँ पुगेको थिएँ । संयोगले यही गोष्ठीको प्रमुख अतिथि बनेर मञ्चको अग्रभागमा विराजमान कवि मोहन कोइरालालाई मैले पहिलोपल्ट देख्ने अवसर पाएँ । अहो ! कस्तो शालीन तर विचित्रको व्यक्तित्व ? म आश्चर्यचकित भएँ । मैले यसअघि ‘फर्सीको जरा’ कविता पढेर बनाएको त्यसको जराजस्तै जेलिएको उहाँको विम्ब एकपलमै भत्कियो । मभित्र तुरुन्तै, कुनै दर्शनशास्त्रको पुरानो पुस्तकमा अनाम चित्रकारले कोरेको सुकरातको दुब्लो अनुहारचित्रजस्तो उहाँको नयाँ विम्ब तयार भयो ।
कवितावाचन सुरु भयो । मैले महाभारतका कृष्णलाई महिलामाथि अत्याचार गर्ने आजको व्यभिचारी पुरुष (लोग्ने) को प्रतीक बनाएर लेखेको ‘मेरी आमा’ शीर्षकको कविता सुनाएँ । अरू लगभग तीन दर्जन कविहरूले पनि आ–आफ्ना रचना सुनाए । अन्तमा मोहन दाइले अत्यन्तै संक्षिप्त मन्तव्य राख्दै कविता सुनाउनुभयो । अर्मूतझैं लाग्ने उहाँको उक्त मन्तव्य र कविता मैले आधा मात्र बुझेँ ।

न त मेरो जीवन कसैको घोषणापत्रको फैसला हुन सक्छ
न त मेरो जीवन राजनीतिक मस्यौदाको आधार लिएको बेहोरा हुन सक्छ
समाजवादको अन्तिम निर्णय पनि मलाई छुने अन्तिम सालिक हुन सक्दैन
न त पंँजीवादको कङ्काल नै मेरो अन्तिम संस्कार हुन सक्छ
मेरो जीवन रातो रगतसित मिसिएको चेतनाको गाढा थोप्ला हो
(चिन्तनबाट)

गोष्ठी सकियो । तर त्यहाँ भलाकुसारी गर्ने वातावरण बनेन । युवाकवि र विद्यार्थीहरूका हूलले घेरिनुभएका कविजीलाई हूलकै एक छेउबाट नमस्कार गरिराखेर म हिँडेँ । साँझ कोठा पुगेर एक्लै फेरि उहाँलाई सम्झेँ, अहो ! मेरो मस्तिष्कमा मोहन दाइको फेरि अर्को विम्ब तयार भैसकेछ । चित्रकार पाब्लो पिकासोको वन लाइन स्केचको कुनै महत्त्वाकांक्षी तर विश्वयुद्धले थाकेको प्रौढ युरोपियनजस्तो, जो आफ्नो गहिरो तर दिशाहीन सपनामा रुमलिरहेछ । मानौं, उहाँभित्रको कविलाई आफैंले ल्याएको २०४६ सालको परिवर्तन पनि अपुरो लाग्न थालेको छ । भ्रम सही, माथि उल्लिखित कविताले मलाई पारेको प्रभावको प्रतिक्रिया हुन सक्छ यो तेस्रो विम्ब । कवितामा पुँजीवाद र समाजवादभन्दा अझ परको जीवनजगत्को सङ्केत छ । छटपटी छ । हुङ्कार छ ।

दोस्रो भेट
पहिलो भेटको केही दिनपछि बिहान सधैंझैं क्याम्पस जाँदै थिएँ म । पुतलीसडकपछाडि न्युप्लाजाको उकालो, अहिले सर्वनाम थिएटर भएको ओरालोको खुट्किलो के ओर्लिन खोज्दै थिएँ, कविजी कतै पुगेर त्यही खुट्किलोको पुछार टेक्दै उक्लिरहनुभएको मैले माथिबाटै देखेँ । म रोकिएँ र उहँाँ नजिक आइनपुग्दै ‘नमस्कार हजुर’ भनेँ । मेरो सम्बोधनले कविजी साढे चार सिंढी तलै रोकिएर मलाई पुलुक्क हेर्नुभो । उहाँ अल्मलिनुभएको देखेर मैले फेरि नमस्कार गरेँ । बल्ल दाहिने हातको चोर औँलाले मेरो अनुहार ताक्दै सोध्नुभो, ‘अस्ति... कविता सुनाएको होइन... ?’


अप्ठ्यारो चालमा दुई खुट्किलो ओर्लिंदै मैले ‘हो हजुर’ भनेँ । त्यसपछि दुवै हात कम्मरमा राखेर उहाँले तलैबाट सोध्नुभो, ‘नाम के रे ?’ मैले आफ्नो नाम भनेँ । उहाँले नबुझेर फेरि सोध्नुभो, मैले फेरि दोहोर्‍याएँ । उहाँले ‘घर कहाँ हो ?’ भन्नुभो, मैले ‘भोजपुर’ भनेँ । के गर्छौ भनेर सोध्नुभो, मैले पढ्दै छु भनेँ । त्यसपछि उहाँ केही छिन आफैंभित्र हराएझैं हुनुभो र फेरि सोध्नुभो, ‘कतै जागिरसागिर पनि छ कि ?’ मैले विस्मय भरिएको स्वरमा ‘छैन हजुर !’ भनेँ । उहाँ फेरि अघिझैं कतै हराउनुभो ।


मैले उहाँको डुलिरहेको आँखा, मन र निस्कन खोजिरहेको शब्दलाई कुरिरहेँ । उहाँले मलाई बिस्तारै तलदेखि माथिसम्म हेर्नुभो । सायद मेरो सक्कल र पहिरनमा यो देशको लाखौँ युवाहरूको तीतो यथार्थ बेरोजगारी र सम्भावना छरपस्ट लत्पतिएको देख्नुभो कि ? फ्याट्ट बोल्नुभो, ‘जागिर पाए गर्छौ ?’ मेरो सातो उड्यो । एकाएक मुटुको चाल तीव्र भो । उहाँको मुखारविन्दबाट निस्केको यो वाक्य पहाडको कुनै कन्दरामा ठोकिएर परावर्तन भइरहेको मधुर लोकगीतझैँ मेरा कानमा गुन्जिरह्यो । म हर्ष र आश्चर्यले बोल्नै नसक्ने भएँ ।


उहाँले फेरि सोध्नुभो, ‘हँ ? गर्छौ काम ?’
भित्रभित्रै थर्थरी काँप्दै मैले उत्तर दिएँ, ‘पाए त गर्थेँ नि हजुर !’ त्यसपछि उहाँले आफ्नो दाहिने हातको साँहिली औंलाका धर्काहरू गन्दै भन्नुभो, ‘त्यसोभए भोलि... पर्सि ... निकोर्सि आइतबार दस बजे एकेडेमी आउनू !’ मैले हुन्छ हजुर भन्दै शिर झुकाएँ । कविजी उकालो लाग्नुभो । उहाँ दृृश्यबाट छेलिनुभएपछि मैले आफ्नो बाँसझैँ झुकेको शरीरलाई ठीक अवस्थामा ल्याई क्याम्पसतिर दौडिएँ ।


अहो ! त्यो सुनौलो आइतबार पर्खन मलाई युग बिताउनु बराबर भयो । बल्लतल्ल आइपुग्यो आइतबार । यसअघि कुनै अछूतले मन्दिर हेरेझैँ मैले हेर्ने गरेको एकेडेमीमा म पुगेँ । बिरालोको चालले ढोका खोल्दै म उहाँको कार्यकक्षमा प्रवेश गरँेँ र केही लेखिरहनुभएका उहाँलाई साविककै शैलीमा नमस्कार गरेँ । आधा हेरेर उहाँले मलाई च्युँडोले बस्ने सङ्केत गर्नुभो र पुनः लेख्न थाल्नुभो । म नजिकैको सोफामा टुसुक्क बसेँ । मलाई नहेरी उहाँले फेरि सोध्नुभो, ‘नाम के रे ?’ मेरो मुटु चसक्क चस्कियो, हत्तपत्त आफ्नो नाम भनेँ । तब लेख्न छोडेर मुस्कानसहित मतिर आँखा फार्दै बोल्नुभो, ‘के हो यो मुकारुङ भनेको ? शेर्पा हो ?’ मैले ‘किरात राई हो हजुर !’ भनेँ ।


उहाँले फेरि घर कहाँ हो भनेर सोध्नुभो, मैले फेरि उत्तर दिएँ । उहाँले अचानक ‘अस्ति त सोलुखुम्बु भनेका होइनौ र ?’ भन्नुभो । मैले ‘होइन सर’ भनेँ । यस्तै प्रश्नोत्तरका बीच उहाँले टेबुलको बेल थिच्नुभो र अघि लेख्नुभएको कागज अफिसका कर्मचारीलाई दिनुभो । त्यही दिन मैले उहाँको सहयोगीको रूपमा काम गर्ने अस्थायी नियुक्तिपत्र पाएँ । तब मलाई थाहा भो, उहाँ एकेडेमीको काव्य विभाग प्रमुख हुनुहुँदो रहेछ । मेरो दैनिकी सुरु भो ।

कहतारो लिएर हिंड्यो भने चिन्नेहरूले उसलाई गाइने भन्छन्
सारङ्गी लिएर किन नहिंडोस् तर उसलाई माग्ने भन्छन्
गीतका पत्र कालीमाटीका पत्रजस्तै उसको छातीमा नअटाई डढेको छ
रीतका पत्र उसको हातबाट सारङ्गीजस्तै रेटिएको छ
हाम्रो कानबाट र्‍याकिएको, हाम्रो हातबाट र्‍याँकिएको
रिकार्डको टुक्रो बनेर अहिले उसको ओठ
सडकको अलकत्रामा फट्फटिरहेछ
तातो न चिसोको यो सिरेटोमा
गाइने साइँलालाई त्यसै जाडो–जाडो लागेको छ ।
(सारङ्गीबाट)

२००७ सालको क्रान्तिचेतनाले बीजारोपित लोकतन्त्रका हिमायती कवि मोहन कोइरालासित पुगनपुग तीन वर्ष प्रज्ञा प्रतिष्ठानमा मैले सङ्गत गर्ने अवसर पाएँ । यही समय मैले उहाँका रचनाहरूको गहिरो अध्ययन मात्रै गरिनँ, उहाँको पारिवारिक जीवन, अभाव, दुःख र संघर्षका पाटाहरूसित पनि परिचित भएँ । उहाँले भोग्नुभएको श्रमिकको सामान्य जीवनदेखि झेल्नुभएका राजनीतिक एवं साहित्यिक यात्रा कति चुनौतीपूर्ण र पीडादायी थिए, यही समय मैले थाहा पाएँ । यस्तो थाहा पाएपछि झन् मभित्र उहाँप्रति श्रद्वाको हिँउचुली चुलियो । वास्तवमा, उहाँसितको काव्यिक सङ्गतपछि नै मैले नेपाली गद्य (मुक्त छन्द) का कविताको बृहत्तर आयाम, त्यसको शक्ति वा फैलावटलाई राम्ररी बुझ्ने मौका पाएँ । जसलाई एकथरी परम्परावादी आलोचकहरू पूर्वाग्रहबस् कविताको भाषा बिगारेको, दुरूह र निम्न कोटिको कविता लेख्नेसमेत भन्ने धृष्टता गर्थे । तर उहाँ भने यी सब कुरालाई धाराकुवाको कुरा ठान्दै कवितामा नवीन शैली र सम्भावनाहरूको प्रयोग गरिरहनुहुन्थ्यो ।


वामपन्थी राजनीति र सांस्कृतिक चेतनाको कट्मेरो प्रभाव बोकेर राजधानी छिरेको मेरा लागि गोपालप्रसाद रिमाल र भूपि शेरचन विकल्पहीन कवि थिए । तर एक ऊर्जाशील कविले कसरी, कुन हदसम्म आफ्नो काव्यको भाषालाई चलायमान, विषयको कोलाजमय विविधता र कल्पनाको अकल्पनीय उडान भर्न सक्छ ? सृजनकर्ममा विकल्पहरू यत्रतत्र सर्वत्र हुन्छन् भन्ने तत्त्वज्ञान मैले मोहन कोइरालाबाटै पाएँ । यसरी मेरो लेखनमा पनि उहाँको प्रभाव पर्‍यो । यहीबेला मैले प्रयोगपरक अमूर्त शैलीका, विषय र विम्बहरूको घनत्व भएका केही कविताहरू लेख्ने प्रयास गरेँ । लेखनमा मात्रै होइन, थाहै नपाई उहाँको बोल्ने, हिंड्ने शैलीको समेत ममा प्रभाव पर्‍यो । कतिपय साथीहरूले त मलाई मुखै फोरेर भने, ‘तिमीले बोलेको बुझ्नै छोडियो यार !’ धेरै सोच्ने र लेख्नेहरू थोरै बोल्छन् क्यार, मोहन कोइराला पनि अल्पभाषी हुनुहुन्थ्यो । सायद मलाई उहाँको त्यही गुणको प्रभाव परेको थियो ।


जति बेला उहाँका चर्चित लामा कविताहरू– सूर्यदान, लेक, ऋतु निमन्त्रण र गरलपान, नीलो मह, नदी किनाराका माझी, गंगा प्रवास, एउटा पपलरको पात, सिमसारका राजदूत, त्यस्तै संरचनागत छोटा तर प्रसिद्ध कविताहरू जाँदाजाँदै सम्झेर, देशको परिचय, म सम्झन्छु, कार्टुनको सहर, घाइते युग, आधुनिक नेपालको क्लथ हिस्की, आमालाई बाँच्न दे, म तिम्री छोरीलाई प्रेम गर्छु, चिन्तन, सारङ्गी बोकेको समुद्र, हिमचुली रक्तिम छ, हिमाली चरीको फुल, सारङ्गी, फर्सीको जरा आदिको लती भइसकेको थिएँ । यीमध्ये कति कविताका सुक्तिमय अनुच्छेदहरू म कण्ठस्थ भन्न सक्थेँ ।


आफू बाँचेको युगको विसंगतिपूर्णर् यथार्थलाई नाटकीय शैलीमा लेखिएको ‘घाइते युग’ कविता होस् कि मानवीय अस्तित्वको प्रतीकात्मक ढंगले चित्रण गरिएको कविता (फर्सी . मानिस, जरा . अस्तित्व, फर्सीको जरा . मानवीय अस्तित्व) ‘फर्सीको जरा’ होस् । अथवा आजको पर्यावरणीय चेतनालाई उतिबेलै सम्बोधन गरिएको लामो कविता ‘सिमसारका राजदूत’ होस् कि मान्छे र प्रकृतिविचको अन्तर सम्बन्धलाई एउटा छुट्टै उचाइका साथ व्यक्त गरिएको कविता ‘लेक’ होस् । या, नारी उत्पीडन, प्रवासी नेपाली (डायस्पोरा) हरूका समस्या, आर्य संस्कृति र ईश्वरीय रहस्यमाथि लेखिएको ‘गंगा प्रवास’ कविता होस् कि मान्छेको जीववैज्ञानिक जन्मकथा र वासनापरक आदिमताको अनौठो चित्रण गरिएको ‘म सम्झन्छु’ कविता होस् । वा, ‘सारङ्गी’ र ‘नदी किनाराका माझी’ जस्ता सीमान्तीकृतहरूका आवाजलाई मुखरित गरिएका कविता हुन्, यी र यस्तै सृजनाहरूले नै आधुनिककालका तमाम कविहरूमध्ये मोहन कोइरालाको व्यक्तित्व विशेष भएको हो, जसलाई आजका कविहरूले नजरअन्दाज गर्‍यौँ भने सायद पुग्ने ठाउँ पहिल्याउन गार्‍हो हुनेछ ।


एकेडेमीमा मेरो खासै कामचाहिँ थिएन । मोहन दाइका सानातिना चिठीपत्रहरू ड्राफ गरिदिनु, ‘कविता’ भन्ने पत्रिकाका लागि नयाँ पुराना कविहरूसित रचना माग्नु र दाइलाई दिनमा एकपल्ट नमस्कार गर्नु, लगभग यति थियो मेरो काम । अहिले सम्झिन्छु उहाँले मलाई जागिर होइन, स्नेह दिनुभएको रहेछ । अभिभावकत्व ग्रहण गर्नुभएको रहेछ । एक जिम्मेवार पिताले पुत्रप्रति निर्वाह गर्नुपर्ने कर्तव्यजस्तो कर्तव्य निर्वाह गर्नुभएको रहेछ । म उहाँको आवश्यकताले जागिरे भएको होइनरहेछु । मेरो आवश्यकतालाई पो उहाँको कवि हृदयले बुझेको रहेछ । मेरो जीवनमा यो मीठो घटना त उहाँको महानताले पो भएको रहेछ । जेहोस् झन्डै तीन वर्षको त्यो एकेडेमी बसाइले मेरालागि भातपानी मात्रै जुटाएन, साहित्यिक
सङ्गत र साधनाको आयामलाई पनि फराकिलो पारिदियो ।

‘जब म तिम्री छोरीलाई प्रेम गर्छु
पसिनाको दाग र मुस्कानलाई प्रेम गर्छु
मिहिनेतले रङ्गिएको गालालाई प्रेम गर्छु
म त्यो केटीलाई प्रेम गर्छु–
जो भर्खर डल्याँठाले थाकेकी छ
चपरीले थाकेकी छ
बकाइनोको छायाँमा भर्खर अड्न लागेकी
बैंसको छायामा भर्खर पुग्न लागेकी
म तिम्रो कोपिलालाई प्रेम गर्छु
म त्यो केटीलाई प्रेम गर्छु ।’
(म तिम्री छोरीलाई प्रेम गर्छुबाट)


रहँदैबस्दै जाँदा केही समयको अन्तरालमै हामी हाकिम र कर्मचारी, बाजे पुस्ता र नाति पुस्ता वा अग्रज र अनुजबाट एकाएक साथीजस्ता भयौँ । यस्तो परिस्थितिको निर्माण मैले चाहेर हुने कुरै थिएन । यो सबै उहाँले नै सम्भव तुल्याउनुभएको थियो । यस्तो कसरी भयो त ? वास्तवमा मोहन कोइराला साँच्चिकै महान् कवि हुनुहुन्थ्यो । कविको महानताको प्रकटीकरणका रूपमा पनि म यस घटनालाई लिन्छु । त्यसैले कवि हुनु भनेको बुद्धत्व प्राप्त गर्ने प्रक्रियाभन्दा पनि महान प्रक्रिया ठान्छु म । मोहन दाइ त्यही प्रक्रियाबाट गज्रेपछि पुगिने अनन्त फैलिएको फाँट हुनुहुन्थ्यो, जहाँ मैले गुँडबाट भर्खर निस्केको बचेराझैँ स्वतन्त्रतापूर्वक पखेटा फट्फटाउने अवसर पाएँ ।


यसरी उहाँको मनपेट पाएपछि एक दिन मैले उहाँलाई यस्तो अस्वाभाविक प्रश्न गरेँ, ‘सर ! हजुरको कविता लेखनमा त टीएस इलियटको प्रभाव परेको छ भन्छन् नि ?’ मेरो यस्तो अप्रत्याशित प्रश्नमा पनि उहाँले कुनै प्रतिरोध नगरी फिस्स हाँस्दै जवाफ दिनुभो, ‘हुन सक्छ, होला ।’
म अवाक भएँ । केही छिनको मौनतापछि चियाको सुरुप लिँदै उहाँले सोध्नुभो, ‘मुकारुङ ! अरु के–के भन्छन् त मलाई ?’
मैले अप्ठ्यारो मान्दै फेरि भनें, ‘सरको कविता दुरूह भो रे, बुझिँदैन रे । जे पायो त्यही लेख्छ भन्छन् ।’
फेरि मुसुक्क मुस्कुराउँदै उहाँले भन्नुभो, ‘होला, हुन सक्छ । मलाई पनि कहिलेकाहीँ त्यस्तै लाग्छ ।’


म झन् अप्ठ्यारोमा परेँ । आफ्नै प्रश्नले अचानक बन्द कोठामा थुनिएको बिरालोभन्दा त्रसित मैले बाहिर निस्कन चोरबाटो खोजेँ, ‘तर सर ! वामपन्थी, प्रगतिशील भन्नेहरूले हजुरलाई यसो भन्छन् ।’ कविजी मलाई हेर्दै फेरि मुस्कुराउनुभो र उठ्दै उहाँले भन्नुभो, ‘भन्नेहरू के–के भन्छन् भन्छन्, लेखिरह्यौ भने तिमीलाई पनि पछि यसै भन्लान् । भन्नेहरूको पछि नलाग्नू ! लेख्न नछोड्नू, लेखिरहनू ! है ?’
त्यसपछि मोहन दाइ कतै कार्यक्रममा जान अफिसबाट बाहिर निस्किनुभो । बल्ल म पनि आफैंले सृजना गरेको भयबाट निस्किएँ । उहाँजस्तो कविलाई यतिसम्म सोध्ने मेरो हैसियत त थिएन तर सोधेँ । कहिलेकाहीँ आफ्ना कुरूप र मूर्खतापूर्ण प्रश्नहरूको पनि सुन्दर र सारपूर्ण उत्तरहरू प्राप्त हुन्छन् । जसले जीवनलाई गतिशील बनाउन मद्दत गर्छ । त्यसैले विद्वान्हरूले प्रश्न गर्न नछोड्नू भनेका होलान् । बुद्धलाई पनि तिनका शिष्यहरूले सोधेका सबै प्रश्नहरू कहाँ प्रश्न थिए होलान् र ?


भन्नेहरूले त रिमाललाई वाल्ट हिटम्यान, देवकोटालाई वर्डस्वर्थ, शेली, किट्स समलाई शेक्सपियर बीपीलाई चेखव, टोल्स्टोय, फ्राइड, मोपासाँका रचनाहरूको सक्कलबमोजिम नक्कल गर्ने पनि भन्छन् । के गर्नु भन्नेहरूको मुख थुन्न सकिन्न । तर साहित्यको सृजना त प्रभावबाटै प्रारम्भ हुने र आफ्नोपनको निर्माणपछि पूर्ण हुने विषय हो । यद्यपि मोहन कोइराला र टीएस इलियटमा भने केही समानताहरू थिएछन् । जस्तो कि यी दुवै लोकतन्त्र र मानवताका पक्षमा उभिँदै विश्व र समाजका विसंगतिहरूको घनीभूत चित्रण गर्ने विश्वसनीय आधुनिक प्रयोगवादी कविहरू थिए । त्यस्तै टीएस इलियटलाई अमेरिकी युरोपियन समाज र विश्वयुद्धको कुरूपताहरूले काव्यको भाषा दिएको थियो भने मोहन कोइरालालाई लोकतन्त्रको भोक, सामन्ती राजतन्त्र, निरंकुश राणाशासन र तिनका अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडनहरूले । संयोग नै मान्नुपर्छ अरू अनेकौं गहन कविताहरू हुदाँहुँदै पनि टीएस इलियटलाई चिनाउने कविता ‘वेस्ट ल्यान्ड’ बन्यो भने मोहन कोइरालालाई चिनाउने कविता ‘फर्सीको जरा’ भयो । यी दुवै कविताले मानिसका निराशा, कुण्ठा र विरोधाभासहरूबीच मानवीय अस्तित्वको वकालत गर्छन् ।


‘लाटीले घुमाएको जाँतोमा पालो छोडेर वर्तमान दौडेको छ
कानो गोरुको हरियो चौरमा निम्त्याएर वर्तमान फर्केको छ
चट्टानले मिचेको अँगेनोमा रोटी पोलेर वर्तमान लम्केको छ
छकिनबाट घटाउ गर अनन्त घट्टको तावा मात्र हो
काट, भोज गर बितेको भुङ्ग्रे रोटी मसाने टेबिलमा
किनकि अनन्तले हामीलाई छली चीलझैं झम्टा मार्छ ।’
(फर्सीको जराबाट)


तात्क्षणिक अनुभूति र अवचेतन मनका भावहरूलाई चेतन प्रवाह (अन्कन्सियस्नेस्) शैलीमा प्रतीकात्मक ढंगले व्यक्त गर्ने विसंगतिवोध र अस्तित्ववादी चिन्तन धाराका कवि मोहन कोइराला कतिपय सन्दर्भमा उहाँका आफ्ना कविताहरूजस्तै जटिल र दुरूह लाग्थे । कहिलेकाहीँ त म उहाँको कुरै बुझ्दिनथेँ । नबुझेको त्यो कुरा बुझ्न फेरि सोध्दा उहाँ अर्कै कुरामा प्रवेश गरिसक्नुभएको हुन्थ्यो । उहाँको यस्तो स्वभाव यौटा इमानदार सहयोगीका लागि निकै अप्ठ्यारो विषय हो । त्यसैले काम गर्दा कतिपय सन्दर्भमा त म उहाँसित कायलै हुन्थेँ ।


उहाँसित अर्को यस्तो अनुभव पनि मेरो छ— एकेडेमीभित्र बाहिर पुगनपुग दुई दशक सङ्गत गरेँ हुँला । तर प्रत्येक भेटमा उहाँले मलाई सोध्ने एउटै प्रश्न हुन्थ्यो, ‘के छ मुकारुङ सोलुखुम्बुतिर ? ठीक छ ?’ यो प्रश्नको उही उत्तर दिँदा–दिँदा सधैँ हैरान हुन्थेँ म । सायद उहाँले मलाई मेरो उत्तरभन्दा गहिरो गरी सोलुको शेर्पा सम्झिनुहुन्थ्यो । तर फेरि यस्तै भ्रमबीच मप्रति उहाँको माया र स्नेह भने कस्तो... ? त्यो त अवर्णनीय नै थियो । एकपल्ट उहाँकै काव्य विभागअन्तर्गत एकेडेमी र एक साहित्यिक संस्थाको सहकार्यमा कार्यक्रम गर्न हामी चितवन गर्‍यौं । गैंडाकोटमा भव्य कार्यक्रम भयो । साँझ त्यहाँका तत्कालीन सांसद सूर्यभक्त अधिकारीले कवि, लेखकहरूलाई क्याम्फायरसहितको पार्टी दिने भए । तर ऊक्त कार्यत्रम सुरु हुनुअघि नै मित्र, कवि खुमनारायण पौडेलले हामी केही साथीहरूलाई चितवनको तास खुवाउन बजार लगे । फर्किदा कार्यक्रम निकै अघि बढिसकेको रहेछ । तर मोहन दाइ भने त्यतिबेलासम्म पनि हातमा पोलेको खसीको मासुको एउटा ठूलै टुक्रा बोकेर मलाई धुइँधुइँती खोजिरहनुभएको रहेछ । उहाँको पछि लागेर अरू केही कविहरू पनि हामीलाई खोजिरहेका रहेछन् । अहिलेजस्तो त्यतिबेला मोबाइल थिएन । यदि मोबाइल भएको भए पक्कै फोन गर्नुहुन्थ्यो होला ।


हामी पुग्नासाथ रिसाएर, कहाँ बेपत्ता भएको भन्दै मोहन दाइले उक्त पोलेको मासु मेरो हातमा थमाइदिनुभयो । कुनै आमाले आफ्नो अबोध बच्चालाई वा कुनै केटाकेटीले आफ्नी आमालाई गर्नेजस्तो स्नेह मोहन दाइले मलाई गर्नुभएको देखेर खुमनारायणजी र अरू साथीहरू हेरेका हेरै भए । सायद कवि हृदयको स्नेहको अभिव्यक्तिको शैली नै यस्तो हुनेहोला । मासु त सेलाएर चिसो भैसकेको थियो, तर उहाँको स्नेहको यो प्रतीकात्मक अभिव्यक्तिले भने म निथ्रुक्क भिजेँ । दाइले सोलुको शेर्पा भोजपुरको राई जे सम्झे पनि आखिर मलाई खोज्नुभो, एउटा मानिसलाई खोज्नुभो । मानिसलाई अनन्तसम्म खोजिरहने प्रक्रिया नै कविता हो । सायद ममाथि यसरी स्नेह खन्याएर दाइले फेरि एउटा नयाँ कविता खोज्नुभएको थियो ।


यही समय मोहन दाइले सम्माल्नुभएको काब्य विभागबाट ‘आजका नेपाली कविता’ नामक गन्थ्र प्रकाशित भयो । ग्रन्थमा क–कसका कविता परे, क–कसका परेनन् तर उक्त ग्रन्थको वामपन्थी खेमाका कविहरूबाट चर्को विरोध भयो । यतिसम्म कि विरोध गर्नेहरूले मोहन दाइलाई कालो मोसो दल्ने र एकेडेमीकै परिसरमा कृति जलाउनेसम्मको धम्की दिइएको हल्ला साहित्यिक बजारमा फैलियो । भोलिपल्ट दिउँसो एकेडेमीको परिसरमा एक हूल कवि, लेखकहरू जम्मा भएको मैले देखेँ । सायद उहाँहरू मोहन कोइराला कार्यकक्षबाट बाहिर निस्केलान् र मोसो दलौंला भन्ने योजनामा हुनुहुँदो हो वा साङ्केतिक विरोध मात्रै त्यो थियो तर त्यस दिन सुइँको पाएरै हो कि मोहन दाइ भने अघि नै घर गइसक्नुभएको थियो । ढोकामा अचानक मलाई देखेर हूलबाट कसैले भन्यो, ‘खोदा पहाड निकला चुहा !’ हूलले एक फेर ठूलो हाँसो हाँस्यो । परैबाट हेरेको हुनाले मैले कसैलाई पनि प्रस्ट चिनिनँ । आदरणीय कविहरू विमल निभा, श्यामल, पुरुषोत्तम सुवेदी, नारायण ढकाल, गोविन्द गिरि ‘प्रेरणा’ हरू हुन् कि जस्तो धमिलो विम्ब मात्रै सम्झना हुन्छ । त्यसपछि मोहन दाइको व्यंग्यमिश्रित भनाइ आयो, ‘एकेडेमीमा काम गरे विवादमा परिन्छ, त्यसैले केही नगरी बस्नु राम्रो ।’ तर दाइले आफ्नो काम गर्न भने कहिल्यै छोड्नुभएन ।


मोहन कोइराला लोकतान्त्रिक मूल्य मान्यतामा अडिग रहने कवि भए पनि इतर विचार वा आस्था राख्ने स्रष्टाहरूप्रति कहिल्यै पूर्वाग्रह राख्नुहुन्नथ्यो । बरु उल्टै उच्च सम्मान, अगाध स्नेह गर्नुहुन्थ्यो । तर उहाँलाई कांग्रेसी कवि, गुटगत हिंड्ने कवि भनेर पनि आक्षेप लगाइन्थ्यो । पाँच वर्षको उहाँको कार्यकाल सकिएपछि मोहन दाइसितै मैले पनि एकेडेमी छोड्नुपर्‍यो । केही समयपछि फेरि बैरागी काइँलाले बोलाउनुभो, केही समय काँल्दाइको विभागमा अल्झिएँ, अडिन सकिनँ बाहिरिएँ । मोहन कोइराला कवि भएकै कारणले तीन पटक प्रज्ञा प्रतिष्ठानमा पुग्नुभयो । विसं २०३५ र २०४६ मा परिषद् सदस्य र २०५६ मा उपकुलपति हुनुभयो । एउटा कविका लागि यो भव्य शासकीय यात्रा हो । त्यस्तै, विश्वविद्यालयहरूमा उहाँका कविताहरू विशेष रूपले पढाइए, अहिले पनि पढाइन्छन् । तर साहित्यका आम पाठकबीच वा नेपाली समाजको चेतनाको कुन तहसम्म उहाँका रचनाहरू सम्प्रेषित भए ? कि बौद्धिक समुदायको एउटा सीमाभित्र मात्रै यो रह्यो ? मलाई लाग्छ— उहाँको काब्यको ध्वनि र शिल्पकारितालाई बुझ्न सायद हाम्रो समाज अझै तयार भइसकेको छैन । तर कवि रिमालले भनेझैँ त्यो दिन अवश्य आउने छ । र, हाम्रा नेताहरूले सस्तो उखानटुक्का होइन, मोहन कोइरालाको काब्यमा व्यञ्जित सुक्तिमय पदहरू सुनाउँदै हामीसित भोट माग्नेछन् ।


अन्तिम भेट
विसं २०६२ साउन ८ गते बानेश्वरस्थित आरोहण गुरुकुल थियटरमा मेरो एकल कविता वाचन कार्यक्रम आयोजना हुने भयो । निम्ता भन्न म उहाँको मैतिदेवीस्थित निवासमा पुगेँ । केही थाकेजस्तो आफ्नो अनुहारमा मुस्कानले चमक थप्दै मोहन दाइले भन्नुभो, ‘कविता त खतरा लेख्यो नि मुकारुङले, होइन ?’


यो मेरो कविता ‘बिसे नगर्चीको बयान’ माथिको उहाँको फ्रतिक्रिया थियो । यही कविताको कारण नै मेरो एकल कवितावाचन कार्यत्रम हुँदै थियो । ‘नदी किनाराका माझी’ जस्तो शक्तिशाली कविता लेखेर उत्पीडित, सीमान्तीकृत (सबाल्टर्न) हरूको आवाजलाई उहिल्यै उचालेका कविले फेरि मलाई स्नेह व्यक्त गर्नुभएको म बुझ्ने भइसकेको थिएँ । त्यसैले केही जवाफ नदिई उहाँलाई कार्यक्रममा आइदिन निम्ता गरेँ । भोलिपल्ट कार्यक्रममा आधुनिक नेपाली कविताका दुई महान् प्रतिभा मोहन कोइराला र बैरागी काइँलाले सँगै दीप प्रज्वलन गरिदिनुभो । त्यही दीपको उज्यालोमा मैले आफ्नो कविता सुनाएँ ।
‘कति हिडेँ हुँला
म यो जीवनमा
कति हिँडेँ हुँला
......
मैले छोडेर आएकाहरूलाई भन्नुथियो–
मलाई लिएर आउनू !
मलाई छोडेर जानेहरूलाई भन्नुथियो–
पुगेर मलाई भेट्नू !
......
कति हिडें हुँला
म यो जीवनमा
कति हिँडें हुँला
भारी बोकेर कविताको ।”
(कविता ः मोहन कोइराला, बिसे नगर्चीको बयानबाट)


कार्यक्रम सकेर बाहिर निस्कँदा मोहन दाइलाई देखिनँ । यताउता खोजिहेरेँ । उहाँ त अघि नै घर गइसक्नुभएछ । मलाई थाहा थियो, बिरामी हुनुहुन्थ्यो उहाँ । मेरो अनुरोध टार्न नसकेर मात्रै आउनुभएको थियो । वास्तवमा म त्यस दिन उहाँको प्रतिक्रिया चाहन्थेँ, ढाडस चाहन्थेँ । किनभने त्यो मेरो जीवनकै अर्को महत्त्वपूर्ण घटना थियो । यसरी उहाँलाई नदेख्दा मलाई खै के नपुगेजस्तो भइरह्यो । त्यसपछि त म देशभित्र देशबाहिरका विभिन्न गोष्ठी र कार्यक्रमहरूमा व्यस्त हुन थालेँ । भेट्ने मन हुँदाहुँदै पनि भेट्ने साइत जुरेको थिएन । कि, भेट्नु नै यति थियो कि ?


अचानक विसं २०६३ फागुन १० गतेको दिन मैले उहाँको चोला उठेको अप्रिय खबर सुन्नुपर्‍यो । हाम्रो अन्तिम भेटको निसानी त्यही कार्यक्रममा बलेको दीपछेउ चम्किरहेको उहाँको स्निग्ध अनुहार भयो । म भावविह्वल भएँ । मेरो आँसु रोकिएन । मुत्यु स्वाभाविक प्रक्रिया हो भन्ने जान्दाजान्दै पनि म किन यति धेरै स्तब्ध भएँ ? किनभने जीवनको त्यस्तो मोडमा मैले उहाँको साथ पाएको थिएँ, जुन मोडमा उभिएर हेर्दा अघिल्तिर हिँड्नलाई सयौं बाटोहरू स्वागतमा हुन्छन् । तर कुन बाटो हिंड्दा जीवनले आफैँलाई धन्यवाद दिन्छ ? खुट्याउन सकिन्न । यहीबेला मलाई यो बाटो देखाउनुभयो, जुन बाटोले आज मलाई यतिसम्म ल्याइपुर्‍याएको छ । मोहन दाइ ! अहिले फेरि म, हाम्रो हरभेटमा दोहोरिने तपार्इंको त्यो प्रश्न– ‘के छ मुकारुङ सोलुखुम्बुतिर ? ठीक छ ?’ सुन्न चाहन्थेँ र सधैंझैँ त्यसरी नै म उही उत्तर दिन चाहन्थेँ । तर मलाई थाहा छ, मेरो उत्तर पनि तपाईंको त्यो प्रश्नसँगै यो ब्रह्माण्डमा गुन्जिरहने तर सजिलै सुन्न नसकिने आवाज भइसकेको छ । जसरी हरकोहीलाई तपार्इंका कविताहरूको आवाज सजिलै सुन्न कठिन छ।

प्रकाशित : वैशाख १४, २०७६ ०९:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्