कठघरामा कला

हालै उपन्यास र फिल्मबारे अदालतमा चलेको मुद्दाले नयाँ बहस सृजना गरेको छ– कला–साहित्यलाई तौलिने कसरी ?
गुरुङ सुशान्त

काठमाडौँ — हाम्रो लेखकीय, प्रकाशकीय वा वैयक्तिक स्वतन्त्रताको उपभोग गर्दा अरूको वैयक्तिक प्रतिष्ठामा आँच आउने वा आघात पर्ने अवस्था देखिनु शोभनीय हुँदैन  । ‘विद्वान्लाई इसारा नै काफी हुन्छ’ भन्ने कहावत पनि छ  ।

त्यसैले ‘ऐलानी’ तथा ‘नथिया’ को अर्को संस्करण प्रकाशन गर्दा तथा अन्य कुनै साहित्य सिर्जना गर्दा सम्बन्धित व्यक्ति, वर्ग वा समुदायको भावनामा आघात नपुग्नेतर्फ विपक्षीहरू लेखक/लेखिका तथा प्रकाशकहरूको समुचित ध्यानाकर्षण हुने कुरामा यो इजलास विश्वास व्यक्त गर्दछ ।’


साहित्यको झल्को दिने माथिको अनुच्छेद सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासद्वारा जारी आदेश पूर्ण पाठको बुँदा– ३५ मा उल्लिखित छ । १५ फागुन, २०७५ मा भएको निर्देशनात्मक आदेश जारी गर्ने निर्णयपछि वादी अगुवाहरूले आफ्नो जित ठानेका थिए भने लिखित रूप बाहिरिएपछि सम्बन्धित स्रष्टाले आफ्नो घुमाउरो जित मानेका छन् ।


सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’, विवेक ओझाको ‘ऐलानी’ र दीपक वलीको चलचित्र ‘पण्डित बाजेको लौरी’ ले आफ्नो समुदायको प्रतिष्ठामाथि आँच पुर्‍याएको भन्दै वादी अगुवाहरू मीना नेपाली, केशव वादी, निर्मल वादी, गोपाल वादी, रञ्जिता नेपालीले अदालतमा ३० भदौ, २०७५ मा मुद्दा दायर गरेपछि साहित्यिक वृत्त तरंगित भयो । अदालत जानुअघि वादी अगुवाले मानवअधिकार आयोगमा समेत हारगुहार गरेका थिए । यसलाई कतिपयले सीमान्तकृत समुदायको आत्मसम्मानसँग जोडेर हेरे भने कतिपयले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयासका रूपमा अर्थ्याए । यो विषयले औपचारिक बहसमा भने धेरै स्थान पाएन । बौद्धिक जमात मानसिक चेपुवामा परे सायद ! स्रष्टाको पक्षमा बोलूँ– सीमान्तकृत समुदायले दुखेको अनुभूति गरेका छन्, वादी अगुवाको पक्षमा बोलूँ— आख्यानजस्तो कल्पनाको प्रचुरता हुने विधा कठघरामा उभिने डर ।


यी रचनाले आफ्नो समुदायको अस्तित्वै नष्ट गरेको दाबीसहित वादी अगुवाले भने, ‘व्यक्तिसँग कुनै पनि विरोध होइन, व्यक्तिले उठान गरेका केही शब्द, मनसाय र मान्यतासँगचाहिँ विरोध हो । पुस्तक जलाउनुभन्दा कानुनी बाटो रोज्यौँ ।’ रचनामा प्रयुक्त केही शब्दमा आपत्ति जनाएका अगुवाहरूले भने— ६ प्रतिशतले गरेको यौन व्यापारलाई लिएर सिंगो समुदायलाई बदनाम गरियो, विवाहित वादी महिला पनि यौन व्यवसाय गर्थे भनेर भ्रष्टीकरण गरियो र वादी महिलाको शरीरलाई जसले पनि उपभोग गर्न सक्ने ऐलानी जग्गाजस्तो चित्रित गरियो । र, भनियो— चलचित्रमा देखाएजस्तो वादी प्रथा नभएर यौन शोषण हो । स्कुल–कलेजमा समेत यी रचनाको नाम लिएर वादी युवतीलाई हेप्न थालेपछि भनियो, ‘सीमित जानकारीलाई फैलाएर आत्मसम्मानमा ठेस पुर्‍याइयो ।’ वादी समुदायको संघर्षका कथा छाडेर कुनै कालखण्डको बाध्यात्मक व्यवसायलाई अतिरञ्जित गरिएको वादी अगुवाको तर्कमा बल हुँदाहुँदै प्रश्न उठ्छ— आख्यान सर्जकलाई अदालतमा उभ्याउनु युक्तिसंगत छ ?


लेखक आहुति भन्छन्, ‘आख्यान र कलात्मक सिर्जना अदालती प्रक्रियाको विषय बन्नु हुँदैन । किनभने लेखक/सर्जकले कलात्मक ढंगले आफ्नो समझदारी व्यक्त गरेको हो । कसैले महाभारतमा एक महिलाका पाँच लोग्ने किन बनाएको ? यो अत्याचार हो भनी अहिले मुद्दा हालिदियो भने के गर्ने ?’ विचार निर्माण र समाज रूपान्तरणमा कला सधैँ सशक्त माध्यम भए पनि आफैंले भौतिक रूपमा प्रहार गर्दैन । राष्ट्र नै विखण्डन हुने वा एउटा समुदायमाथि अर्को समुदायले भौतिक क्षति पुर्‍याउँदा त्यस्तो विषय प्रशासनिक बन्न सक्छ । यसको अर्थ— मानसिक चोटलाई सामान्य भनिएको होइन । वैचारिक क्रियाकलापलाई अदालती प्रक्रिया या सेन्सरको जिम्मा लगाउने कुरा सजिलो हुँदैन । सेन्सर पास भएका सामग्री न्यायको अन्तिम रूप भन्ने ठोस आधार/प्रमाण पनि हुँदैन ।


लेखक तथा पहिचान आन्दोलनका अभियन्ता राजन मुकारुङ भन्छन्, ‘यसरी मुद्दा हाल्दै जाने र कठघरामा उभ्याउँदै जाने हो भने नेपाली साहित्यका थुप्रै पुस्तक र लेखकसूची छन् हामीसँग, जसले कुनै–कुनै रूपमा अर्को जातिलाई अपमान गरेका छन् । बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटादेखि भानुभक्त आचार्यसम्मलाई मुद्दा हाल्न सकिन्छ । सुम्निमा उपन्यास जलाइएको घटना उत्ति पुरानो होइन ।’ आख्यान–सिर्जनालाई यसरी अदालतमा तानिरहेमा राज्य अर्को झन्झटमा फस्ने विचार राख्छन् मुकारुङ ।


अहिले पूर्ण पाठमा परमादेश जारी गर्नु नपर्ने उल्लेख छ । तर, यही प्रक्रियाबाट परमादेश जारी भएर शब्दमा सेन्सर हुन थालेमा के होला ? आहुति प्रश्न गर्छन्, ‘मानौँ– गरुड पुराणविरुद्ध कसैले अदालतमा मुद्दा दायर गर्‍यो र संयोगले न्यायाधीश पनि गरुड पुराणविरोधी परेमा के संशोधन गर्ने ? तातो तेल खन्याउनेको सट्टा चिसो पानीले नुहाइन्छ लेख्न निर्देश गर्ने ? महाभारत र स्वस्थानी व्रतकथालाई कसरी हेर्ने ? एकथरीले यी रचनालाई घातक मान्छन्, अर्काथरीले हाईहाई गर्छन् । घातक मान्नेले मुद्दा हालिदिए के गर्ने ?’ यस्तो विषय सर्जकहरूबीच चल्ने सिर्जनात्मक बहसको विषय हुनुपर्ने लेखकहरु ठान्छन् ।


सर्जक–सरोकारको विषय जुन बाटोबाट भए पनि अदालतको दायरामा पुग्नु घुमाउरो भाषामा स्रष्टालाई तर्साउनु हो भन्ने आहुति ठान्छन् । उनी भन्छन्, ‘सामन्तवादी व्यवस्थामा राज्यले अभिव्यक्तिमा अंकुश लगाउँथ्यो तर आज पुँजीवादीले समेत अख्तियार गरेको देखियो । सबै पुँजीवादी राज्यमा चाहिँ यस्ता परिघटना देखा पर्दैनन् । सामन्तवादी धङधङी नउत्रिएको र लोकतन्त्रका नाममा निरंकुशता ल्याउन खोज्ने समाजमा चाहिँ यस्तो प्रकारको चरित्र देखा पर्छ ।’ नेपालमै लेखे—बोलेको आधारमा व्यक्तिलाई बेपत्ता पारिएको इतिहास छ । अन्तर्राष्ट्रिय घटना हेर्दा– सलमान रुस्दी र तसलिमा नसरिनहरूलाई फतवा जारी गरेको दृष्टान्त छ, जो देशको कानुनबमोजिम गरिएको मानिन्छ ।


पछिल्लो समय सीमान्तकृतको कथा–व्यथा र उत्पीडनलाई साहित्य र सिनेमाको विषय बनाउने लहर छाएको छ । आन्दोलन, क्रान्ति र राजनीतिक परिवर्तनले उठाएका बहसले यस्तो लहर ल्याउनु स्वाभाविक हो । विषय छनोट मात्र साहित्यको केन्द्रीय चासो हुनु हुँदैन । लेखकीय विचारधारा र प्रस्तुतिले चित्रित समुदायलाई न्याय हुने–नहुने निर्धारण हुन्छ । उसो त बुझाइको भिन्नताले समेत अर्थमा तलवितल पर्छ । विमोचन कार्यक्रममा नेतृ उमा वादीले ‘नथिया’ उपन्यासलाई वादी समुदायले वेद–गीताको रूपमा ग्रहण गर्ने बताएकी थिइन् । तर, वादी इतिहासको भ्रष्टीकरणसहित आत्मसम्मानमाथि प्रहार गरेको ‘बात’ लाग्यो रचनालाई ।


राष्ट्रिय वादी परिषद्का महासचिव सुकलाल नेपाली भन्छन्, ‘इतिहास हेर्ने हो भने नाचगान, कला र सीपको धनी समुदाय हो । नाचको हामी जननी हो, वादी । आज पो रेखा थापा, राजेश हमालहरू फिल्म खेल्छन् । त्यतिबेला राजाहरूको उत्सव, विवाह, व्रतबन्धमा साइतमा अघि लाग्ने समुदाय हो वादी । यस्तो कलाको इतिहास चटक्कै छाडियो ।’ वादी अगुवाहरूको दाबी छ— यी रचनाले वादी समुदायको मूल पेसा नै यौनधन्दा हो भन्ने स्थापित गर्न खोजेको छ ।


आहुतिका अनुसार यौन पेसा वादीहरूको परम्परागत पेसा हो भनेर बुझ्नु नै गलत हो । १५/१६औँ शताब्दीमा उनीहरूलाई नृत्य र संगीतका निम्ति त्यहाँका राजारजौटाद्वारा सम्मानपूर्वक अनुरोध गरेर ल्याइएको हो । विशेष नर्तकी वादीलाई पातर भनेर सम्मान दिइन्थ्यो । पहिलेको ‘पातर’ अपभ्रंस भएर ‘पात्र’ भयो । पछि गोरखा राज्यको विस्तारसँगै भुरे टाकुरे राज्यका राजाहरूको अस्तित्व ध्वस्त भयो । पातरहरूको मुख्य जीविका नाचगानको मुख्य दर्शक या आयस्रोतको रूपमा रहेको त्यहाँको राजतन्त्र ढलेपछि वादी समुदायलाई आर्थिक समस्या पर्‍यो । नृत्य र संगीत खरिद बिक्री नभएर सामान्य विषय बन्न पुग्यो । आम जनतासँग नाचगान किन्न हैसियत थिएन ।

नृत्यमा पारंगतहरूको हाउभाउ या अभिनयले शासक पुरुषलाई आकर्षित गर्नु स्वाभाविक थियो । उनीहरू खेतीपातीमा निर्भर थिएनन् । आहुति थप्छन्, ‘केही उपाय नभएपछि करिब सय डेढ सय वर्षअघि बाध्यात्मक रूपमा यौन पेसा पनि गर्नुपरेको देखिन्छ । तर, उनीहरूको परम्परागत पेसा यो थिएन, जसरी माझीको परम्परागत पेसा माछा मार्नु होइन । धेरैलाई लाग्छ— माझीको पेसा माछा मार्नु थियो । नदी किनारमा बसोबास गर्ने हुनाले माझीहरू माछा मार्न र सेवन गर्न पारंगत–अम्मली थिए, जसरी पहाडका केही जातिहरू गाँजाका अम्मली थिए । तर, उनीहरूको मुख्य पेसा त्यो थियो भन्न मिल्छ ? त्यस्तै वादी जातिको परम्परागत पेसा यौन थियो भन्न मिल्दैन ।’ यसरी हेर्दा, यौन ‘पेसा’ दुर्घटनामय समयमा वादी समुदायमाथि भएको बाध्यात्मक अत्याचार थियो भन्न सकिन्छ । यस्ता विषयमा लेख्दा गहिरो अनुसन्धान नहुँदा सम्बन्धित समुदायलाई चोट महसुस हुन्छ ।


आफूमाथि अन्याय भएको महसुस हुँदा जोकोही अदालत जान सक्छन् । अदालत जानु नागरिकको अधिकार नै हो । यस्तो बेला राज्यको अभिभावकीय भूमिका हुनुपर्छ । राज्यको दायित्व हो— जनसमुदायका विविध अन्तर्विरोधलाई विभिन्न शास्त्रका विज्ञानद्वारा समस्या हल गर्नु । छलफलको विषय बनाएर सम्झाउनु–बुझाउनुपर्छ । सम्बन्धित समुदाय र लेखकमा रहेको भ्रम या दाबी छ भने छलफलबाट हल गर्न सकिन्छ ।


तर, प्रकाशनपछि समुदायलाई लेखकले नै सम्झाउँदै–बुझाउँदै हिँड्नु पनि व्यावहारिक हुँदैन, जोखिमयुक्त हुन सक्छ । समाजलाई नबुझ्दा या विश्वदृष्टिमा समस्या हुँदा लेखनमा अनेक समस्या आउँछन् । तर, समाजको वर्गीय समस्यासँग लेखेको कुरा मिलेन भन्दैमा मुद्दा हाल्नु शोभनीय नहुने लेखकहरू मान्छन् । एउटै विषयमा दुई सर्जकले लेख्दा फरक हुन्छन् । सर्जकको सीमालाई अपराध मान्न नहुने तर्क छ ।


वाक्य वा विम्ब प्रयोग गलत भएमा त्यो रचना नै कमजोर हुन्छ, अदालतमा लगेर सच्याउन खोज्नु हल गर्नै नसकिने दलदल हो । मुद्दा हाल्दै जाँदा सिर्जनाको ‘पोयटिक लाइसेन्स’ खारेज हुन जान्छ । संस्कृति मन्त्रालय, सांस्कृतिक संस्थान, प्रज्ञा प्रतिष्ठानजस्ता राज्यका अंगले यस्ता विषयमा छलफल चलाउन सक्छ । अदालतको ढोकासम्म पुगेकालाई न्यायकर्मीले भन्न सक्छ, यो सांस्कृतिक बहसको विषय बनाइयोस् । साहित्यका विषय र विम्बमा अदालतले हस्तक्षेप गरेर पार लाग्दैन । भौतिक क्रियाकलापमा सेन्सरसिप होला । अभिव्यक्तिमाथिको सेन्सरसिप मान्न सकिने विषय होइन । लामो समयदेखि चलचित्रविज्ञहरू सेन्सरसिपको विपक्षमा रहेकै छन् । तर, पूर्ण पाठमा ‘नियमनकारी भूमिका निर्वाह गर्नू’ भनी चलचित्र जाँच समितिका नाउँमा निर्देशनात्मक आदेश जारी गरिएको छ ।


सेन्सरसिपसँग अनेक प्रश्न जोडिएर आउँछन्— सच्याइएको शब्द ठीक भन्ने कसले ? लेखकलाई संशोधन गर्न मन लागे आफ्नो स्वतन्त्रताको कुरा हो । पहिलो संस्करण पढिसकेको पाठकले स्रष्टाको विरोध गर्‍यो भने के गर्ने ? लेखकलाई आफ्नो आख्यान भन्ने परेर पो यस्तो स्थिति देखा पर्‍यो । लेख्दा मात्रै लेखकको हो, प्रकाशन र पठनपछि त्यो रचना पाठकको पनि हो । त्यसपछि सार्वजनिक सम्पत्ति हुन्छ । त्यो सच्याउन मिल्ने विषय हो कि होइन ? दशकौँ अघिका रचना आजसम्म पनि सच्याउँदै गएर सम्भव होला ? प्रकाशित : वैशाख ७, २०७६ ०९:२०

प्रतिक्रिया
पठाउनुहोस्

नहारेको मान्छे

गुरुङ सुशान्त

काठमाडौँ — ‘युद्ध जित्नकै लागियदि हतियार उठाएको भए तिमीलेजाऊ एकपल्टयोद्धाहरूको चिहानमार सुन रातको सुनसानमात्यहाँ गुन्जिएको मौनता  । ’

यी हरफका कवि विप्लव प्रतीकको यात्रा कुन दर्शनले हाँकेको होला ? कविता जन्मिनुका पृष्ठकथा के होलान् ? सामान्यतः हामी यस्ता प्रश्नबारे कमै सोच्छौं ।
पहिरन र रूपरंग देखेर धेरैले विप्लव प्रतीकलाई साधु–सन्त भन्छन् । लामो सफेद कपालकै कारण कतिपयले उनलाई जोगी देख्छन् । तर, उनको कायिक मात्रै होइन, काव्यिक हुलियासमेत छुट्टो छ ।


९० को दशकमा प्रहरीले कपाल पाल्ने युवाहरूलाई समातेर फोकटमै टाउकामाथि कैंची चलाउँथ्यो । अपमानपूर्ण यस्तै हर्कतसँग झोँक चलेर विप्लव पनि लामो जुल्फी हल्लाउँदै पुलिसको नजिक–नजिक जान्थे । प्रहरीसँग झगडै गर्न कपाल पालेका थिएनन् तर अनुभव बटुल्नु थियो उनलाई । अपमानबोधपछिको प्रतिक्रिया/कवित्वको स्वरूप जाँच्न र आक्रोशलाई कवितामा ढाल्ने सीप अभ्यास गर्न यसो गर्थे । कपाल पाल्ने आफ्नो आदतलाई महिलाप्रतिको सम्मानका रूपमा ग्रहण गर्दै गए उनले । केशविन्यास र भान्छाको हिज्जेमा आफूलाई अभ्यस्त राख्दा आफूमा संवेदनशीलताको लय थपिएको महसुस गर्छन् उनी ।


विवाहलाई एउटा संस्था मान्ने हो भने त्यसको सदस्यता खारेज भएको निकै वर्ष भइसक्यो । साँच्चै भन्ने हो भने एकल गृहस्थीमा यत्ति धुनमग्न भए, वर्ष–संवत्को हेक्कासमेत छैन विप्लवलाई । सायद क्यालेन्डरका पुराना पाना पल्टाउन चाहँदैनन् । उनलाई लाग्छ, विगतका कतिपय भावनात्मक उडानमा परिपक्वता थिएन । सम्बन्धलाई मजबुत बनाउन नसक्नुमा आफ्नै दोष बढी देख्छन् । आफूले टेकेका ठाउँमा असफलता मात्रै हात लाग्दाका ती निराशापूर्ण र अप्ठ्यारा समयमा उनले नजिकको मान्छेसामु आँसु लुकाए । ‘बहादुर’ हुने सांस्कृतिक भ्रमको सिकार भए । आर्थिक अभाव र असमझदारीको चेपुवामा दुई प्राणी लामो समय सँगै रहिरहन मुस्किल नै थियो । वैयक्तिक अहम्को टसलसँगै आफ्नो भयंकर रिसाहा भूतपूर्व स्वभाव पनि जिम्मेवार देख्छन् उनी । कहिलेकाहीँ उनी सोच्छन्, ‘प्रकृतिले नै मानव जातिलार्ई अलगअलग जन्माएको छ तर हामीले विवाहको नाउँमा सम्झौता या शोषण गरिरहेका छौँ ।’ कवि कल्पना नै सही, यो संरचना एक दिन भत्किन्छ । तर, नभत्किउन्जेल वैवाहिक सुख लिने सूत्र पनि कविसँग छ— परिपक्वतासहित परस्पर आदर, विश्वास र उन्नतिका लागि भरपूर साथ–सहयोग ।

कसैलाई पाउनु र लिनु मात्रै प्रेम होइन, बरु दिनुचाहिँ प्रेम हो कि ! विप्लव ‘सोलमेट’ को परिकल्पनाचाहिँ गर्छन्, जसमा त्याग, करुणा, स्वतन्त्रताजस्ता सकारात्मक भाव मात्र आऊन्् । जसलाई केही दिँदा पनि दिइरहेको अनुभूति नहोओस् । प्रेमका मिथकहरूमा उति चासो र विश्वास नराख्ने विप्लवका लागि आफ्नै भोगाइ उत्तम पाठशाला हो । उनको खोज सिमोन द वउवा र अमृता प्रीतमजस्ता बौद्धिक नारी हुन् । के विप्लवले त्यस्ता प्रेमिका भेटेनन् ? या सार्त्र र इमरोज हुने आँट गरेनन् ? कवि हृदय कहिलेकाहीँ भ्रममा परिहाल्छ, ‘सायद भेटियो, सायद भेटिएन ।’ मीठो भ्रमहरूको समुच्चयले जीवनलाई आसलाग्दो बनाउँछ ।
मलाई डर छ
कतै कसैले मलाई प्रेम त गर्दै छैन ?
मलाई डर छ
कतै कसैले मलाई
पात–पात जोडेर
हाँगा–हाँगा खापेर
रूख त बनाउँदै छैन ?
खासमा आफूमाथि शासन गर्ने नारी चाहन्थे विप्लव । शासनलाई यहाँ प्रचलित अर्थमा लिइयो भने एक कविमाथि अन्याय हुन जान्छ । यस्तो प्रेमिका होओस्, जसले हैकम जमाउनेभन्दा अज्ञानतालाई भत्काउँदै ज्ञानको गुँडतिर लैजाओस् ।
बजारमा प्रतीक ‘बदनाम’ पनि छन्— युवती र रक्सीका मामिलामा । तर, हल्लाको बोट चढेर ट्याग भिराउनेहरूसँग पुर्पक्ष गर्ने जाँगर छैन उनीसँग । संकटका घडीमा आत्महत्या गरूँजस्तो आवेग पनि नआएको होइन उनमा । तर, त्यस्तो आवेग प्रतीक पन्छाइहाल्थे । सोच्थे— स्वेच्छाले म जन्मेको होइन भने बलजफ्ती किन मर्ने ? कसैको प्रेममा व्यथित हुने संघारबाट उनी बाहिरिसकेका छन् । भलै त्यो कष्टसाध्य चरण थियो ।


कविकै दाबीलाई पत्याउने हो भने उनी अहिलेसम्म अँध्यारामा छन्— संसारका सबै धर्मग्रन्थ जलाएर विवेकको मार्गमा डोर्‍याउने मान्छेको खाँचो छ उनलाई । त्यस्तो मान्छे, जसले प्रकाशतिर लैजाओस् । त्यस्तो प्रेमको प्रभुत्व–पट्टा गलामा लगाएर हिँडिरहन मञ्जुर छन् प्रतीक । उनका स्वीकारोक्तिबाट अनुमान गर्न कठिन छैन— विप्लव निरन्तर प्रेममा छन् । लड्नु र उठ्नुको अगणित सफर हेर्दा भनिदिन सकिन्छ— विप्लव प्रतीक अर्थात् नहारेको मान्छे ।

जिज्ञासा जाग्छ, भित्रको खालीपनले विप्लव प्रतीकलाई कता धकेल्दै छ ? स्वतन्त्रता या संकुचनतिर ? आफूले बुझेको सत्यको झिल्कोभन्दा पर अनेक सत्यको सम्मेलन देख्छन् उनी । कविको खालीपन निराशाको होइन, उज्यालोका स्रोतलाई आफूमा समाहित गर्ने भोक हो । त्यसैले हरदम प्रयत्नरत छन्, अरूको स्वतन्त्रतालाई खलबल नपार्न । सम्बन्धमा उत्तारचढाव प्राकृतिक मानिएला । तर, अविश्वासले भरिएको समाजमा समेत उनीसँग यस्ता असंख्य साथी छन्, जसले गल्तीहरू सच्याउन मद्दत गर्छन् र दुःखमा भरोसा दिन्छन् ।


प्रतीकका लागि अति जीवन्त सहर हो– काठमाडौँ । यही दयालु सहरमै नाभि गाडिएको छ उनको । यहीँ जन्मे–हुर्के–बढेकाले उनका लागि यो सहर चानचुने हुनै सक्दैन । उनीसँग घर हुनु र नहुनुको दुवै अनुभूति छन्— कहिले घर, कहिले डेरा । उनले उन्मुक्त हाँसोको फोहरा छुटाएका छन् यहीँ । रुने एकान्त खोज्दै हिँड्दा बाटोमै अविरल आँसु बगेको द्रवित डोब पनि यहीँका सडक–गल्लीमा छाडेका छन् । शिरीष फुल्ने याममा बैजनी गलैँचा ओच्छ्याएर निदाउने सुन्दर समयको नोल्टाल्जिया सकुशलै छ । अहिले त ‘वन–वे’ मा दुवैतर्फ चनाखा नजर लगाउँदै हिँड्नुपर्ने सहर भइसक्यो काठमाडौँ । पैदलयात्रुमैत्री सडक छैनन् यहाँ । सडकपेटीमा हर्न बजाउँदै कुद्छन् मोटरसाइकल । धेरैले सत्तोसराप गरे पनि उनका लागि यो सहरको हंस हराइसकेको छैन । भानुभक्तले ‘अलकापुरी कान्तिपुरी नगरी’ लेख्नुपरेको यो सहर कला–सौन्दर्य र संस्कृतिको जीवन्त संग्रहालयजस्तो लाग्छ उनलाई । राज्यसिर्जित अव्यवस्था र विभेदप्रतिको आक्रोश उदार सहरमाथि पोख्नुचाहिँ शोभनीय लाग्दैन ।


समयले यात्रामा पखेटा जोडिदिएपछि उनले रुसी, पाकिस्तानी र अमेरिकी सहरका अनेक रंग–सोच–संस्कृतिका मानिसहरू भेटे । नेपालमै सिनेकर्मी भए, पत्रकार बने उनी । त्यसबाहेकका खुद्रा काम पनि गरे । अहिले लेखनबाहेक अरू उद्यममा छैनन् उनी । आज उनको सोच यत्ति छ, ‘अब कुनै योजनामा नचलूँ ।’ संरसंगतको फैलावटले उनको स्वभावमा कोमलता, हार्दिकता र उदारताको मात्रा बढाएको हुनुपर्छ ।

रफ्तारमा कुदे पनि कहीँ नपुग्नुको अनुभव प्रशस्तै छन् प्रतीकसँग । लाग्छ—अहिले पनि रफ्तारैमै छन् । तर, गन्तव्यलाई वास्ता गर्न छाडिसके । उनको बुझाइ छ— ‘कोही पनि कहीँ पुग्दैन । गन्तव्य र प्राप्ति पनि भ्रम मात्र हुन् ।’ विप्लवको जरा वामपन्थी वैचारिकीमा गाडिएको थियो । नाममै ‘सर्वहारा’ झुन्ड्याउने उनका बा किताब छाप्न घर बन्धकी राख्नसमेत पछि पर्थेनन् ।


आफ्ना रचनामा मार्क्सवादको प्रभाव कहीँ न कहीँ रहेको स्विकारे पनि ‘नाराबाजी’ को सोझो बाटो आफ्नो नभएको ठम्याइ छ उनको । तर, विनोदविक्रम केसी, स्वप्निल स्मृतिहरूले लेखिरहेका मुखर कवितालाई प्रेम र सम्मान गर्छन् । भनिन्छ, ‘झुट कविले सधैँ अरूको नाममा आफ्नो कुरा थोपर्छ, सच्चा कविले आफैँसँग कुरा गर्दासमेत दोस्रो व्यक्तिसँग संवाद गर्छ ।’ प्रतीकलाई पनि आत्मरतिमा रमाउने काव्यमा रस लाग्दैन । उनलाई वैयक्तिक भावमा पनि आफ्नो देशको संवेदना मिसियोस् लाग्छ । कवि हरेक विभेद, अन्याय र निर्दयी क्रियाकलापको विपक्षमा हुनुपर्छ भन्नेमा धेरैको सहमति छ । तर, चोट र ज्वरोमा भने कविता रच्न रुचिकर लाग्दैन प्रतीकलार्ईर् । तापमा रन्किने अध्याय सकेपछि आक्रोश र आक्षेपलाई पन्छाएर उनी विम्ब र रूपक बुन्न थाल्छन् । अमेरिका बसाइमा एक मित्रबाट उनले अपमान सहे कुनै बेला । त्यो चोट भुलाउन उनले दुई तीन महिनाको लामो यात्रा गरे । फर्किएर अन्तै कतै बसे । यो लम्बेतान प्रक्रियापछि बल्ल उनले शब्द फेला पारे–
‘मलाई मन छ
म भएको कसैलाई थाहै नहोस्
मलाई मन छ
म गएको पनि कसैलाई थाहै नहोस्...।’

प्रतीकका अभिव्यक्ति न पूर्ण भौतिक लाग्छ, न त पूर्ण आध्यात्मिक । अज्ञेयको ‘हरेक क्रान्तिकारी पछि नियतिमा विश्वास गर्छन्’ भन्ने कथनमा ल्याप्चे लाउँछन् उनी । साथीभाइले चढेका गाडीमै उनले सन्तोष मानेका छन् किनकि आवश्यक पर्दा ती साधन हाजिर भएकै छन् । ब्रान्डेड ह्विस्की मात्रै पिउने संकल्प हरेक नयाँ वर्षमा गर्छन् नै । धरतीमा आइसकेपछि एकबारको जुनीमा कन्जुसी नगर्ने, महँगा चीज उपभोग गर्ने र स्वस्थ खाना खाने तर यसका लागि कोही कसैको चित्त दुखाउने । उनका तर्क र तरिकामा शास्त्रार्थ गर्नुपर्ने कुनै तुक छैन । आहारविहारको अनुशासनका कारण नै प्रतीकको स्वास्थ्य र चमक ठीकठाक देखिन्छ । उनलाई लाग्छ— मानसिक र शारीरिक तन्दरुस्तीको साइनो सिर्जनासँग हुन्छ । व्यायाम, सकभर अर्ग्यानिक खाना र आयुर्वेदिक चिकित्सा उनका स्वास्थ्य सूत्र हुन् ।


यात्रालाई उनको स्वभाव माने हुन्छ । कोही कसैको पुस्तक या जीवनीबाट प्रभावित भएर यो स्वभाव विकसित भएको होइन । हालसालै अन्तर्राष्ट्रिय थिएटर महोत्सवपछि आराम गरिहेका प्रतीकलाई मण्डला थिएटरबाट राजन खतिवडाले फोनमा भनेछन्, ‘दाइ, जनकपुर जाऔँ ।’ साढे दुई बजे फोन उठाएका प्रतीक आधा घण्टापछि नै गाडी चढ्न टुप्लुक्क पुगेछन् बिनातयारी ।
संसारकै उत्तम संगीतको व्यसन छ प्रतीकमा । राम्रा गीतकार सूचीमा उनको गाढा नाम छँदै छ । उनलाई लाग्छ, ‘पाब्लो नेरुदा, माया एन्जेलो या वाल्ट हविट्म्यानले जस्तो कविता लेख्न पाउन पर्थ्यो । तर, हामी बाँचेको समाज प्रदूषित छ ।’
प्रश्नवाचक चिह्न त तेर्सिन्छ नै– के नेरुदाहरूका समाज स्वच्छ, सफा र हराभरा मात्रै थिए ? उनको दाबी छ, ‘मेरो कविताले सबभन्दा पहिले कविता हुनै संघर्ष गर्नुपर्छ । दोस्रो, प्रगतिशील भनिने मानिसहरूको सामन्ती चरित्रले मलाई भित्रभिक्रै खोत्रो बनाउँछ ।’ बाले उनलाई समाजमा रहेको विभेद चिन्ने दृष्टि दिए । आँखा चिम्लँदा समेत उत्पीडन र हिंसा देखिन्छन् यहाँ । त्यसले प्रतीकको एकान्तवास खोसिदिन्छ । कविता जोगाउनै मुस्किल हुनु सुखद होइन ।


निकै तामझामसहित उनको पहिलो उपन्यास ‘अविजित’ विमोचन भयो । तर गाडी चढ्ने लालसाले ‘उपन्यासगिरी’ लहसिएका होइनन् उनी । तीन–चार दशकअघि उनको डायरी हरायो, जसमा जतनले लेखिएका कथाहरू थिए । त्यसपछि भुलेर पनि गद्यलेखनमा चासो दिएका थिएनन् । अमेरिकामै उनले एउटा किताब पढे, जसमा दिवंगत पात्रहरूको मानमर्दन गरिएको थियो । सोचे, चरित्रहत्या गर्ने दस्तावेज भयो त्यो किताब । उनलाई उपन्यासबाट आफ्नो समयको कथा भन्नु थियो तर भ्रष्टीकरण नगरीकन । तर ‘अविजित’ पूर्ण इतिहास होइन, त्यहाँ भरपूर कवित्व पोखिएको छ ।


सिनेमा, संगीत, थिएटर, पेन्टिङ र प्रकृति उनका लागि शरणथलो हो । खलिल जिब्रान, हर्मन हेस्से, निकोलाई आस्त्रोवस्की, चेखब, बीपी कोइरालाहरूप्रति अगाध प्रेम छ उनको । नेपाली साहित्य पनि उस्तै आस्थाले पढ्छन् । तर, हाम्रो साहित्य डबलीमा विमर्शभन्दा धेरै ईर्ष्यावमन हुन्छ । प्रतीक भने कसैको डाहा गर्दैनन् । कसैलार्ई प्रतिद्वन्द्वी मानेर उछिन्ने लिगलिगे दौडमा विश्वास छैन उनलाई । बुझेका छन्– एउटा सिंगो समयको कथा भन्न हजारौँ लेखक–कलाकारको जरुरत पर्छ । एउटा व्यक्तिले सबै इतिहास रच्न र लेख्न सम्भव छैन । राजनीतिलाई थुकेर कुनै लेखक स्वच्छ हुन सक्दैन भन्ने हेक्का छ प्रतीकलाई ।
लेखकैपिच्छेका स्वभाव र शैली फरक हुन्छन् । तर उनी श्रद्धापूर्वक सम्झिरहन्छन्– हास्यचेतले परिपूर्ण अनि चिरिच्याट्ट भूपि र अराजक भएर मदिरा पिउने हरिभक्त कटुवाल । थुप्रै कविका काव्य र जीवनशैलीले साधनामा लाग्न प्रेरित गर्छन् । श्रम र पसिना चिनेको कविले अरूलाई सम्मान गर्न पनि जान्दछ भन्ने उदाहरण स्वयं प्रतीक हुन् ।


१६ वर्षको उमेरमा जब उनको परिवारमा विखण्डन आयो, तब विप्लवसँग काव्य फेरि ठोक्किन आइपुग्यो हठातै । सात/आठ वर्ष छँदै बाको करकापमा शब्दसंयोजन गर्न जानिसकेका थिए । उनका बाका साथी थिए— हरिभक्त कटुवाल, भूपि शेरचन, भवानी भिक्षु, भवानी घिमिरे आदि । आमा एकातिर र बा अर्कातिर भएपछि हुर्कंदो विप्लवको हृदय द्रवीभूत भयो । तर कविता लेख्न थालेपछि आफूलाई महान्कवि देख्न थाले । हितैषी शिशिर सुब्बाले उनलाई मेन्टिरिङ गरे । विप्लवका कतिपय कवितालाई गीतमा ढाल्न उनै सुब्बाले सुझाए । जीवन आचार्यले मलिलो हौसला दिए । बा कृष्णप्रसाद ‘सर्वहारा’ त उनका कविताको पहिलो पाठक र मार्गदर्शक भइगए, भलै छोराका भावुक कविताले ‘सर्वहारा’ लाई कहिल्यै छोएनन् । काव्य लेखनमा बिसौनी पनि आयो तर कविता अम्मल भइसकेकाले धेरै वर्ष सुस्ताउनै सकेनन् उनी ।


झन्डै ६ दशक जाडो–गर्मी झेलिसकेका यी मधुर कविलाई उमेर र जात सोध्नु अपमान गर्नु हो । उनीसँग ओठैमा उत्तर छ– ‘यो पृथ्वीजत्तिकै युवा छु र ब्रह्माण्डजत्ति नै बूढो ।’ नागरिकतामै विप्लव प्रतीक लेखाएका छन् । नामले पाएका ठक्करहरू उनको निबन्ध ‘ह्वाट इज इन अ नेम !’ मा प्रस्ट राखेका छन् । तर निबन्धको अन्तिम शब्द पढिसक्दासमेत उनको पुर्ख्यौली थर पत्तो लाग्दैन । यो लेखन–शिल्प मात्रै होइन, जातिवादी सोचप्रतिको भद्र विद्रोह पनि हो विप्लवको ।

प्रकाशित : चैत्र १६, २०७५ ११:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×