द्रौपदीको महाभारत !

सरला गौतम

काठमाडौँ — चकमन्न छ सहर  । नेपथ्यमा गुन्जन्छ आवाज ‘महा...भारत’  । नारायणगढ बजारका मानिसहरू ताँती लागेर टेलिभिजन पसलमा उभिन्छन् । खचाखच । कथाको उतारचढाव हेरेर धड्कन्छ मानिसहरूको दिल । दिलको धड्कन र टीभीको आवाजको ककटेल । नशामा लठ्ठ हुन्छ एउटा समय ।

भाग्यमानी कोही भए अगाडि उभिन पायो । नत्र टीभी पसलको थर्ड क्लासमै चित्त बुझायो । कुहिनोले कुहिनो पेल्यो । ठेल्यो र आँखा टीभीमा टाँस्यो । यति धेरै आँखाहरू एकै दृश्यमा टाँसिएको दुर्लभ नजारा । सारा सहर एउटै आँगन बनेको पल । त्यो समय सिनेमा बनेर यतिबेला मेरो मनको स्क्रिनमा चलिरहेछ ।


म सम्झिरहेछु ती साँझहरू पनि, बुबाको लयात्मक आवाजमा महाभारतको श्लोक सुनिरहेको । ‘आज त कोही रुन पाउँदैन, नत्र म पढ्दिनँ,’ भन्दै लगाएको घुर्की । ‘हुन्छ रुन्नौं’ भनेर वरिपरि बसेर सुनेका कथा । सुन्न थालेपछि मनमा छाएको बादल । नथामिएर भिजेका आँखा । बाहुलाले पुछेको आँसु ।


यस्तो बेला बुबाले श्लोकको उल्था गर्नुहुँदैनथ्यो । पिर परेकै बेला पनि झोंक चल्थ्यो । अड्कलेर वाचन हुने कथाको उतारचढावले तलतलको सीमा नाघ्थ्यो । ‘आज यति’ भनेपछि बुबाले एक अक्षर नपढ्ने । मनमा ईख पालेर पूरै महाभारत सरररर आफैं पढेको कल्पना गर्थें । वर्षायामको स्कुल बिदामा होमवर्कलाई साइड लगाएर लुकीलुकी महाभारत पढेर पनि बसें । छड्केमा परेपछि त्यो पनि बन्द भयो ।


‘अभिमन्युको चक्रव्युहको कथा हो आज’ कथाको शीर्षक सुन्नासाथ आफ्नो आँखामा झरी पर्न थाल्थ्यो । डर पनि लाग्ने, सुन्न मन पनि लाग्ने, कुरुक्षेत्रको कथा । टीभीको दृश्यभन्दा बुबाले पढ्दा दिमागमा सल्बलाएको दृश्य अझै प्रगाढ छ । ‘महाभारत’ हेर्न र सुन्न दुवै पाएकोमा सम्झेरै दंग हुन्छु । व्यासले कहेको ‘महाभारत’ सम्झँदै थिएँ । द्रौपदीले बताएको ‘महाभारत’ को सार हातमा पर्‍यो । चित्रा बेनर्जीले लखेको ‘द प्यालेस अफ इलुजन’ भन्ने पुस्तकमा ।


पाञ्चाल राज्यका राजा द्रुपदकी छोरी द्रौपदी । ऐश्वर्य र वीरताका लागि प्रख्यात राजाकी तेजस्वी छोरी । छोरा धृष्टधुम्नलाई आफ्नो समयको महान् योद्धा बनाउन लागिपर्छन् द्रुपद राजा । छोरी पाञ्चालीलाई भने भविष्यको कुनै शक्तिशाली राजाकी कुशल रानी बनाउन पूरै दरबारको माहोल लागिपर्छ ।


कौतूक स्वभावकी द्रौपदी भाइसँग भलाकुसारी गरिरहन्छिन् । उसले सिकेको कुरा थाहा पाउन खोजिरहन्छिन् । महिलाका लागि सिकाइने कुनै पनि विशेष तालिममा उनको रस बस्दैन । भाइले सम्झाउँछन्, ‘तिमी आफ्नो दुनियामा मात्र ध्यान देऊ । बाँकी संसार मेरो जिम्मा हो, तिम्रो रक्षा पनि ।’ आफ्ना लािग छुट्याइएको सानो संसार द्रौपदीलाई चित्त बुझ्दैन । उनको व्यक्तित्वको आभा नै अलग हुन्छ । ‘पुरुषहरू युद्धका लागि किन तयार गरिन्छन् । किन उनीहरू कसैलाई मार्नुमा आफ्नो विजय देख्छन् । यसैको वरिपरि आफ्नो गरिमा र महिमा खोज्छन् । योभन्दा पर संसारमा केही छ । कसैको हानि नगरीकनै पनि मानिस लोकप्रिय र प्रसिद्ध हुन सक्छ ।’


आफ्नो दर्शन पुरुषहरूलाई सिकाउने मन हुन्छ द्रौपदीको । बेलाबेला दरबारमा आइरहने कृष्ण र उनका आफ्नै भाइ पाञ्चालीका आँखिझ्याल हुन् । उनीहरूलाई आफ्ना कुरा भन्छिन् । यी दुईबाट नै बाँकी संसार चियाउन खोज्छिन् । प्रश्न गर्छिन् । तर्क पेस गर्छिन् । जे भन्यो त्यही कुरामा हो भनेर टाउको हल्लाउँदिनन् ।


व्यास ऋषिले कुनै दिन द्रौपदीलाई युगकै एक प्रसिद्ध रानी हुन्छौं भन्छन् । द्रौपदी भन्छिन् ‘पुरुषका लागि साम, दाम, दण्ड, भेदले कमाएको नाम ठूलो होला । हाम्रा लागि सुख ठूलो हो ।’ छोरीमान्छेका लागि तयार गरिने तालिम र भेलामा उनको मन बस्दैन । उनको मौलिक स्वभावकै कारण दरबारका रानीहरूले अर्घेलो व्यवहार गरिदिन्छन् । द्रौपदीको चमकले बाँकी महिलामा आरिसको बादल मडारिन्छ । बिनाकारण उनी एक्लो पारिन्छिन् । एकांकी जीवन चलिरहेकै बेला एक दिन उनकी दिदी शिखण्डी आइपुग्छिन् । सात वर्षमा दरबारबाट निकाला गरिएकी शिखण्डी । शरीर पुरुषको र आत्मा महिलाको हुन्छ उनको । पहिलो जन्ममा भीष्मले गरेको अपमानको बदला लिन उनको यो दोस्रो जन्म हुन्छ ।


पहिलो जन्ममा अम्बा नामकी राजकुमारी शिखण्डीको भीष्मकै कारण स्यंवर भंग भएको हुन्छ र आजीवन बिहा हुँदैन । शिखण्डीको जीवनको एक मात्र लक्ष्य भीष्मको वध गर्नु हुन्छ । द्रौपदीसँग शिखण्डी भन्छिन्, ‘एकपछि अर्को मानिसले मलाई अस्वीकार गरेपछि लाग्यो अब म केही रहिनँ । एउटा सिंगो पहाड टुटेजस्तो भयो । तर बिस्तारै म उठें । कसैसँग मैले बिहा गरिनँ । तर जीवन रोकिएन । यसको आनन्द लिन केहीले रोकेन । एउटा महिलाको जीवन महाशक्तिशाली वृक्षको जरालाई माथ गर्ने हुन्छ । जुन पानी र माटोबिना पनि जीवन्त रहन्छ ।’


अन्तस्करणमा भएको आफ्नो शक्तिलाई पूरै उजागर गरेकी शिखण्डीले थप्छिन्, ‘पुरुषको शक्ति भनेको साँढेको उन्मत्त तुजुकजस्तै हो । महिलाको शक्ति भनेको गहिरो र एकनासको धारमा रहने सागर सरी हो । जबसम्म तिमी यसको सम्पूर्ण प्रयोग गर्दैनौ तिमीले चाहेको कुरा पाउन सक्दिनौं ।’ निश्चित ढाँचामा दरबारमा हुर्काइँदै गरेको हुन्छ उनलाई । शिखण्डीको शक्ति र स्वतन्त्रताले द्रौपदीलाई कायल पार्छ ।


पछि पाण्डवसँग बिहा भएपछि पनि भीमकी पहिलो श्रीमती हिडिम्बाको तेजसँग पनि उस्तै लोभिन्छिन् । जंगलमा रहेर आफ्ना भाइभारदारको रेखदेख गरेकी हुन्छिन् हिडिम्बा । साहसी र स्वच्छन्द । भीमको द्रौपदीसँग भएको बिहेले उनलाई असर गर्दैन । न त पाँच पाण्डवको इन्द्रप्रस्थ दरबारको वैभवले । यो अभूतपूर्व आत्मनिर्भरताले द्रोपदीलाई मोहित तुल्याउँछ । उनी महिलाको शक्ति कसैको नियम र वैभवमा कैद हुनुमा देख्दिनन् । नियमलाई चुनौती दिन सक्ने सौर्य ऊर्जा देख्छिन् ।


द्रौपदीको स्वयंवरको चर्चा चलिरहेको बखत गान्धारीको प्रसंग उठ्छ । श्रीमान् धृतराष्ट्र आँखा नदेख्ने भएको कारण गान्धारीले पनि आँखामा पट्टी लगाएको कुरा थाहा पाएर उनी अचम्म मान्छिन् । आफ्नी धाईआमासँग भन्छिन्, ‘गान्धारीको यो निर्णय बुद्धिमता होइन । म भएको भए आफ्नो आँखाले श्रीमान्लाई संसार चिनाउने थिएँ ।’ द्रौपदीको स्यंवरपछि अर्जुनले कुन्तीकहाँ पुर्‍याउँछन् । उनले पाँच भाइले भाग लाउनुपर्ने अडान लिन्छिन् । उनीहरू सबै द्रुपद राजाकहाँ पुग्छन् । सवाल–जवाफ हुन्छ । द्रुपद भन्छन्, ‘मेरी छोरी पाँच जनाको श्रीमती हुन असम्भव छ । यदि पाञ्चाली माइत फर्किन् भने उनले आत्मदाह गर्नुपर्ने हुन्छ । परिवारको मर्यादाका लागि ।’ आफ्नो जीवनभन्दा कुलको मर्यादा ठूलो भएको देख्दा द्रौपदी झसंग हुन्छिन् ।


उनले यसो भन्दा अर्जुन बोल्दैनन् । उनको भाइ धृष्टधुम्नले विरोध गर्छन् । उनको कुराको पनि सुनुवाइ हुँदैन । द्रौपदीको मनले भन्छ, ‘कस्तो अचम्म म बाँच्ने र मर्ने पनि मैले निर्णय गर्न नपाउने । यो जुन आत्मदाहको कुरा छ त्यो मेरो सोचभन्दा निकै पर छ । बेग्लै छन् मेरा सपनाहरू ।’ पछि व्यास ऋषिको सल्लाहमा कुरो टुंगो लाग्छ । तर आफ्नो जीवनको निर्णय अरूले गरेको द्रौपदीलाई चित्त बुझ्दैन । पाँच पाण्डवसँग उनको बिहा कुन्तीको हठ थियो । द्रौपदीको चाहना थिएन । कालान्तरमा उनलाई चिनाउने यही मुख्य चिनारी बन्यो । जुन उनको तेजस्वी व्यक्तित्वको अघि गौण कुरा हो ।


अर्जुनले कुनै बेला द्रुपद राजालाई हराएका हुन्छन् । आफूलाई हराउने अर्को वीर योद्धासँग पुरुषको खास आकर्षण टाँसिन्छ । उनी आफ्नी छोरी पाञ्चाली, अर्जुनलाई दिन चाहन्छन् । तर अर्जुनलाई सीधा स्वयंवरको निम्ता दिन उनको अहंकारले रोक्छ । यही कारण चुनौतीपूर्ण समारोहको आयोजना गर्छन् । पिताको अहंको आलोचना गर्छिन् पाञ्चालीले । अर्जुन उनका पिताका रोजाइ थिए । द्रौपदीका रोजाइ थिए कर्ण । कुलकै लागि उनले मन परेको मानिसको अपमान गर्छिन् । यही कारण कर्ण स्वयंवरमा पछि हट्छन् । आफ्नो प्रेमी आजन्म उनका शत्रु बन्छन् । अन्तिम बेलासम्म पनि गलत निर्णय लिएकोमा द्रौपदीले पछुतो मानिरहन्छिन् । पिता, प्रेमी, श्रीमान्हरू र उनका भाइभारदारहरूको अहंको आगोमा द्रौपदीको जीवनले परीक्षा दिइरहन्छ । पुरुष अहंकार नै युद्धको बीज हो भन्ने कुरामा द्रौपदी सुरुदेखि प्रस्ट छन् ।

तार्किक
युधिष्ठिरले जुवामा हारेपछि द्रौपदीलाई दुस्शासनले घिसार्दै सभामा ल्याइपुर्‍याउँछन् । उनले भीष्मको आँखामा हेरेर प्रश्न गर्छिन्, ‘एउटा लोग्नेले श्रीमतीलाई कसरी दाउमा लगाउन पाउँछ ? यदि लोग्नेको सम्पत्ति श्रीमती हो भने पनि हारिसकेको दासले एक स्वतन्त्र मानिसलाई दाउमा लाउन कसरी पाउँछ ?’


युधिष्ठिर जुवा हारेर दास भइसके पनि द्रौपदी त रानी नै थिइन् । भीष्मले शिर निहुराउँछन् । द्रौपदी भन्छिन्— शिर झुकाउनु समाधान होइन । उनी थप भन्छिन्— भीष्म आफैंमा एक प्रश्न हुन्, यिनले मेरो प्रश्नको के उत्तर दिन सक्छन् !


सभामा सन्नाटा छाउँछ । अपमानको आलो घाउ लिएर सभाका अग्रज र विशिष्टको सामुन्ने उनी प्रश्नका पोका फुकाउँछिन् । निहुरिएका शिर मात्र देख्छिन् । निरीह र निर्लज्ज सभासँग उनको मोहभंग हुन्छ । भत्किन्छ भ्रमको एउटा ठूलो पहाड । अब उनी प्रश्न पनि आफैं हुन्, उत्तर पनि । द्रौपदी कसैकी स्वास्नी, कुलकी वधूबाट अब युगको एक शक्तिशाली महिलामा परिणत हुन्छिन् । श्रीमान्हरूलाई दासताबाट मुक्त गर्छिन् । राज्य फिर्ताको अफरलाई सीधा लल्कार्छिन् । लालचरहित प्रज्ञा र तर्कले उनी धपक्कै बल्छिन् । अपमानको आगोमा खारिएर निस्केको नम्बरी सुनजस्तो !


यो घटनाअघि उनी पाँच पतिलाई आफ्नो रक्षक ठान्थिन् । आफ्नो कुलका आदरणीयहरू न्याय र इमानका पहरेदार हुन् भन्ने लाग्थ्यो । पत्नीको इज्जतभन्दा जुवाको नियम ठूलो मान्ने पतिहरू एकै पलमा उनको नजरमा निरीह हुन्छन् । उस्तै हुती हराएका मानिस लाग्छन्, भीष्म, द्रोण र धृतराष्ट्र । उनीभित्र दबेर रहेको शक्ति, बादल चिरेर निक्लेको सूर्यझैं तेजिलो भएर निस्कन्छ । अब उनी आफ्नो रक्षाका लागि कसैसँग हारगुहार गर्ने छैनन् । उनी निर्देशक भइन्, आफ्नै नियमको । कारिन्दा बने उनका पतिहरू । निर्णायक शक्ति भइन् द्रौपदी ।


भीष्मप्रति आफ्ना पतिहरूको अति आसक्तिलाई पनि उनी प्रश्न गर्छिन्, ‘जो मानिसले आफ्नो चाहनालाई दमन गर्ने अप्राकृतिक काम गर्‍यो । जसले मानवीयताभन्दा नियमलाई सधैं माथि राख्यो, उसको कसरी भर पर्ने ? हरदम महानताका लागि मरिहत्ते गर्ने मानिसले अरूको भूलप्रति करुणा देखाउँछ भन्ने के ग्यारेन्टी ? यस्ता मानिसले कुनै पनि बखत आफ्नो साथ छोड्छन् ।’


व्यासले उनलाई कुरुक्षेत्रको लडाइँ प्रत्यक्ष हेर्ने दूरविन दिए । वीरताको परिभाषामा परै राखिएका महिलाको हातमा युद्ध हेर्ने दूरविन किन ? व्यास भन्छन्, ‘तिमी असाधारण मानिस हौ । यो युगको बयान गर्न सक्ने एक साक्षी ।’ अभिमन्युका छोरा परीक्षितको भविष्यको खतराको जानकारी पनि व्यासले द्रौपदीलाई गराउँछन् र भन्छन्, ‘तिमी जति बहादुर तिम्रा श्रीमान्हरू छैनन् । यो कुरा सहन सक्नेछैनन् र गोप्य राख्न पनि सक्दैनन् ।’


युद्धविरोधी द्रौपदी कालान्तरमा युद्धको कारक भनेर चिनिइन्, जुन उनीमाथिको अन्याय हो । युद्धको कारक दुर्योधनको हठ, भीष्म, द्रोणलगायतका मानिसको नियमप्रतिको आसक्ति हो । युधिष्ठिर जो सत्यका प्रतीक भनेर चिनिए, एक स्वतन्त्र मानिसलाई दाउमा राख्नु केको सत्य ? युधिष्ठिरले द्रौपदीलाई वस्तुसरह सम्पत्ति मानी जुवामा लाउनु पाप थियो । दुस्शासनले उनको अपमान गर्दा निर्लज्ज भएर मौनता साधेका सभाका सबै मानिस युद्धका कारक हुन् । जब महिलाको आत्मसम्मान, कुनै मानवीय कानुन र नियमभन्दा तल पारिन्छ तब युद्ध हुन्छ । युद्धको कारण द्रौपदी होइनन्, त्यसको कारक पुरातन सोच र त्यसका पालकहरू हुन् ।


व्यासले दिएको दूरविन लिएर नजिकको पहाडमा उक्लन्छिन् द्रौपदी । कौरब सेना हाँक्दै गडगड रथमा सवार हुन्छन् भीष्म । पाण्डवको सेना लिएर खडा हुन्छन् युधिष्ठिर । भीष्म जसले सदा रक्षामात्र गरे पाण्डवको । उनै छन्, धनु लिएर खडा । दुर्योधनको हठलाई परास्त गर्न नसकेको भीष्मको चट्टानी अडान । श्रीमती दाउमा लाउने युधिष्ठिरको सत्य नीतिको संकीर्णता र न्यायको विशालता नबुझेका मानिसहरू । जुवाको नियमले हराइएका दुई महारथी !


द्रौपदीले बताएको ‘महाभारत’ मा यस्तै देखिन्छ सत्यको रङ । यो पुरातन दृष्टिकोण चिरेर उभिएको एक शक्तिशाली दृष्टि हो । कुनै राजाको वीरताको बखान गर्दा ऊ कतिवटा श्रीमतीको श्रीमान् भनिंदैन । उसका अन्य गुणहरू मूल बनेर आउँछन् । द्रोपदीको नामसँगै किन आउँदैनन् उनका गुणहरू प्रकाशमा । किन गरिन्छ उनको यौनिकताको चर्चा मात्र ? समयले यसको हिसाब दिनेछ ।


प्रेम र प्रज्ञाको संगम द्रौपदीको मनमा कर्णप्रति तीव्र आकर्षण छ । इन्द्रप्रस्थमा कर्ण आउँदा सबैभन्दा सुन्दर कोठा उनकै लागि राखिदिन्छिन् । उनकै कोठाबाट देखिन्छ सुन्दर नजारा । तर, कर्णले वास्तै गर्दैनन्, सामान्य कोठामा गएर बसिदिन्छन् । बेलाबेला कुहिनो ठोकिने गरी भेट हुँदा पनि औपचारिकता मात्र देखाउँछन् । स्यंवरको दिन कर्णको आँखामा देखिएको चाहनाको त्यो चमक खै कता हरायो । कर्णलाई ‘सुतपुत्र’ भनेर गरेको अपमानको भारी द्रौपदीका लागि महँगो पर्छ । जीवनभर । कर्णको नजर आफूभरि सोहर्न छानेर लगाएको सारी, त्यो रूप, त्यो सौन्दर्यको लालिमा । केहीले नछोएझैं गरी तर्केर हिँड्छन् कर्ण । द्रौपदी उनको नजर चोर्न लागिपरेकै हुन्छिन् । यस्तो एक पटक होइन, अनेक पटक हुन्छ ।


दुर्योधनकी नवविवाहित दुलही पनि कर्णको प्रशंसक हुन्छिन् । कर्णले दुर्योधनको श्रीमतीको तारिफ गर्ने गरेको थाहा पाउँछिन् द्रौपदी । मीठो ईर्ष्या जाग्छ । उनले मनमनै शास्त्रको एउटा वाक्य याद गर्छिन्, ‘परपुरुषसँग महिला मनमनै आकर्षित भइन् भने पनि त्यो सम्बन्धसरह नै पाप मानिन्छ ।’ शास्त्र र मन कसले भनेको सुन्ने ? द्रोपदीले मनमा चलिरहेको आकर्षणको मन्द बतास हेर्छिन् । प्रकृति र नीतिबीच विश्लेषण गर्न उनी लाग्दिनन् । यो पाप पुरुषलाई किन नलाग्ने ? किशोरीमै उनको मनले यो प्रश्न संसारलाई गरिसकेको थियो ।


कर्णलाई मोहित पार्ने मन हुन्छ उनको । दुर्योधनको सभामा उनी सादा साडीमा जान्छिन् । तर अचम्म ! सबै नजर उनैतिर सोहोरिन्छ । उस्तै सादगी सेतो पोसाकमा कर्ण आउँछन् । दिव्यकायाकी रानी द्रौपदी । अद्भुत वीरता र रूपका धनी कर्ण । नजिकै पुग्छन् । झन्डै आमने–सामने । आँखा जुधाजुध हुनै लाग्दा बीचमा आउँछिन कुन्ती । स्वयंवरको दिनमा गरेको अपमानको क्षति न्यूनीकरण गर्ने मुडमा थिइन् द्रौपदी । कर्णको आँखामा माया र चाहनाको त्यो सुनौलो प्रकाश फिर्ता ल्याउने सुरमा थिइन् । अफसोस ! यो मौका पनि चुक्यो । कर्णको आँखामा द्रौपदीले त्यो चमक फेरि कहिल्यै देखिनन् ।


पाँच पति हुँदा पनि उनको मनमा पूर्ण तृप्ति छैन । कर्ण एक जनाको सम्झनाले मात्र कम्पन हुन्छ उनको मन । त्यो परकम्म पाँचमध्ये कसैसँग पनि हुँदैन । उनी पाँचै जनालाई निकै माया गर्छिन् । हर सुख–दुःखमा सँगै छन् । कठोर वनबासमा पनि, इन्द्रप्रस्थको अलौकिक सुखमा पनि । कर्तव्य र माया पूरापूर छ । तर एउटी आइमाईको मनमा आफ्नो प्रेमी सम्झेर आउने तरंग आउँदैन उनीमा ।


कृष्णसँगको माया भने अपरिभाषित छ । कृष्ण द्रौपदीलाई ‘कृष्णा’ भनेर बोलाउँछन् । हरआपतमा उभिने उनको ‘प्लेटोनिक लभर’ हुन् कृष्ण । भौतिक चाहभन्दा निकै परको सुख छ यो प्रेममा । विभक्त होइन सम्पूर्ण । कर्णप्रतिको उनको आकर्षण भने पानीको छाया देखेर पछ्याइरहेको मरुभूमिको यात्रीजस्तो छ । यो अवस्थासँग उनी आाफैं छक्क पर्छिन् । पाँचवटा पति भएकी आइमाईको मनमा कस्तो शून्यता ! बुझिनसक्नु प्रेमको जादुमा उनी रनभुल्ल पर्छिन् । के पाप के धर्म ! मनको धर्म नै प्रेम हो ।
लडाइँका दिनमा व्यासले दिएको दूरविन लिएर पहाडबाट रणभूमि चियाउँदा उनका आँखाले त्यहाँ पनि कर्ण खोजिरहन्छ । कुनै नियम नसुन्ने मनको कानुनसँग उनी हार खान्छिन् । कर्णको प्राण जाँदा झन्डै महाप्रलय हुन्छ । द्रौपदी खिन्न हुन्छिन् । उनको हृदयको प्रेम उनकै पतिबाट मारिन्छन् । द्रौपदीको मनमा भएको अथाह प्रेमको झिल्को देख्नै नपाई ब्रह्मलिन भए कर्ण । अहो जिन्दगी !


जीवनको अन्तिम घडीमा पनि को घुम्छ उनको मनमा हेर्न थाल्छिन् । उही कर्ण । स्वर्गतिरको महायाक्राको त्रममा द्रौपदी थाक्छिन् । अघि हिँडेका भीम पछि फर्कन खोज्छन् । युधिष्ठिरले रोक्छन् । ‘महाप्रस्थानको समयमा पछि फर्कनु हुँदैन,’ भन्छन् । द्रौपदीको मनमा संवाद चल्छ, ‘कर्ण भएको भए स्वर्ग जाने यो नियम भंग गर्थे होला । त्यागेर स्वर्ग पनि मेरो हात समाउन आइपुग्थे होला ।’


हृदयमा लुकेको प्रेम अन्तिम घडीमा पनि जागेर उठ्छ । हामीले आफ्नो मनलाई कसैसँग प्रेम गर्न अह्राउन सक्दैनौं । यो भागेर सुटुक्क जहाँ गयो गयो । बस उसको पछि लाग्नुबाहेक अर्को उपाय छैन । बाँकी नीति नियम त केवल भन्ने कुरा न हुन् । नियमहरूकी नियम द्रौपदी, प्रेमरूपी सत्यको यही उज्यालोमा प्रदीप्त हुन्छिन् । अन्तिम घडीमा ।


प्रेमीको सवालमा मात्र होइन अन्य सम्बन्धमा द्रौपदीको हृदय खुला र उदार छ । अर्जुनको दोस्रो बिहे कृष्णकी बहिनी शुभद्रासँग हुन्छ । सुरुमा द्रौपदीमा ईर्ष्याको भावना हुन्छ नै । बिस्तारै शुभद्राको चुम्बकीय व्यक्तित्वले उनलाई तान्दै लान्छ । उनको मोहनी हाँसोमा द्रौपदीले कृष्णको झलक भेट्छिन् । मानिसले बाँध्न खोजेको साँघुरो परिधि नाघेर आफ्नै आकारमा फैलिन्छ मानिसको हृदयको प्रेम । द्रौपदीका फैलिएको मायाले यही भनेझैं लाग्छ । शुभद्राका छोरा अभिमन्युप्रति उनको प्रेम आफ्ना सन्तानभन्दा बढी हुन्छ । चक्रव्युहमा परेर अभिमन्युको मृत्यु हुँदा द्रौपदीको विह्वलता हृदय हल्लाउनेछ । अभिमन्युको छोरा परीक्षितप्रतिको माया झन् गाढा छ ।


विराट राज्यमा गुप्तबासको समयमा किचकले उनलाई गिद्धेनजर लगाउँछ । रानीको भाइले शक्तिको तुजुक देखाउँछ । ठानेको हुन्छ, यो आइमाईको रक्षा गर्ने कोही छैन । दासीको भेषमा ती द्रौपदी भएको उसलाई थाहा थिएन । विराट राजासँग सीधा आँखा जुधाएर कुरा गर्छिन्, महिलाको इज्जतको अर्थ सोध्छिन् । शक्तिशाली मानिसले आम महिलालाई गर्ने व्यवहार पत्तो पाएर उनको मन द्रवित हुन्छ ।

महाप्रस्थान
जीवनको अन्तिम घडीमा उनी आफ्ना श्रीमान्हरूसँगै महायात्रामा निस्कन्छिन् । त्यत्रो युद्ध गरेर जितेको राज्य र दरबारको वैभव एक निमेषमा छोड्छिन् । सबैभन्दा प्यारा उनका नाति परीक्षितको मायाले रोक्दैन । जीवनमा आफू कसैका लागि पनि महत्त्वपूर्ण छैन भन्ने थाहा हुनु एक दिव्यबोध हो । एउटा अपूर्व स्वतन्त्रता महसुस गर्छिन् ।


महाप्रस्थानका अन्तिम घडीहरूमा उनको मनमा तर्कना चल्छन् । के उनले चाहे जसरी बाँचिन् त ? सारा वैभव, सौन्दर्य र पाँच पतिको प्रेममा के उनी तृप्त थिइन् त ? शुभद्रालाई देखाउन पुगेको थिएन उनको हृदयको प्रेम । अभिमन्युलाई सिकाउन पुगेको थिएन भवितब्यमा पर्न सक्ने खतराको संकेत । थिए कतिकति गर्न बाँकी कुरा । युग हाँक्ने एउटा नारीको वशमा पनि थिएन यो क्षणभंगुर चोला । बाँच्न नपुग्दै सकिन्छ जिन्दगी । जीवन एक अतृप्त चाहनाहरूकै संगम हो ।


जीवनका तृप्त र सुखी क्षण द्रौपदी सोची हेर्छिन् । हिमालयमा पाइला चाल्दै गरेको बखत । कृष्णले उनलाई दिएको नबिर्सने केही पलहरू । जहाँ उनलाई माग्न मन लागेको थिएन जीवनबाट केही पनि । पाएको भए एक पल बिताउन हृदयको कर्णसँग, कस्तो थपिन्थ्यो होला उनको जीवनमा रङ ! अहो भएन पूरा त्यो चाहना पनि । परिबन्दको जालले राजा भनेन । भनेन रंक केही ।


वनबासको क्रमका यक्षप्रश्नको सामना गरेका हुन्छन् युधिष्ठिरले । यक्षले प्रश्न गर्छन्, ‘कोहो धर्तीमा सबैभन्दा धनी ?’
युधिष्ठिर भन्छन्, ‘त्यही मानिस हो, जसका लागि प्रेम र घृणा, धन र गरिबी, विगत र भविष्यले केही असर गर्दैन ।’
यक्ष फेरि सोध्छन्, ‘के होला संसारको सबैभन्दा आश्चर्यको कुरो ?’


भन्छन् युधिष्ठिर, ‘हरदिन असंख्य मानिसहरू मृत्युको मन्दिरमा पस्छन् । देखेर त्यो सबै पनि बाँच्नेहरू यो जीवन अनन्त ठानी बाँच्छन् ।’ अनन्त ठानेको जीवनको अन्तमा पुग्छिन् द्रौपदी । यतिबेला उनलाई लाग्छ जीवनका सबै अनुभव सम्पत्ति हुन् । उनीमाथि भएको अपमान र अत्याचार पनि । जुन भयानक लागेको थियो । फर्केर हेर्दा त्यो पनि अनुभूति हो । आगोझैं पोलिएको क्षण, चन्द्रमाको शीतलतामा नुहाएको क्षण सबै–सबै सम्पत्ति हुन् । आफ्ना जीवनका सबै क्षण उनलाई मोतीसरि अमूल्य लाग्छन् । ठीक यही बेला उनको अतृप्तताले एउटा उत्तर भेट्छ । पाँचवटा पतिले घेरिएकी महारानी हिमालयको महायात्राको अन्तिम घडीमा एक्लै हुन्छिन् । के रैछ त आखिर जीवन ? को हुनु रैछ, को नहुनु रैछ ? यही महासत्यको बोध गर्दै उनी विलय हुन्छिन् ।


यो गर्छु, त्यो गर्छु भन्दाभन्दै सकिन्छ एउटा यात्रा । फेरि पाए यो जिन्दगी कसरी बाँच्दिहुन् उनी ? जे–जे बाँचिन्, जसरी बाँचिन, निर्भय बाँचिन् । नियमका बन्दी निरीह पात्रहरूको सामुन्ने न्यायको कवच ओढेर बाँचिन् । एउटा शक्तिशाली रोमाञ्चक भूकम्प हुन् द्रौपदी । एक–से–एक नायकहरूलाई हाँकेर बाँचिन् । सौन्दर्य, प्रज्ञा र तर्कको अपूर्व संगम, अनन्त युगकी हे महानायिका ! समयले तिम्रो परिभाषा उल्टाउनैपर्छ । प्रकाशित : वैशाख ७, २०७६ ०९:२०

प्रतिक्रिया
पठाउनुहोस्

नपारी स्वाङ बाँचिदेऊ आफ्नै लयमा

सरला गौतम

काठमाडौँ — झिपझिप, झिपझिप रंगीन बत्तीहरू  । स्टेजमा इन्द्रेणी हाजिर थियो  ।

बतासमा बत्तिएका धानका बालाजस्तै गरी तन्नेरी दर्शकदीर्घामा झुम्दै थिए । ‘वान्स मोर वान्स मोर’ आकाशलाई थर्काएर हुटिङ गरिरहेका । ड्रमसेट र गिटारलगायतका बाजा मिसिएर गुन्जेको थियो अर्केस्ट्रा । त्यो समयका हिट गायक सञ्जीव प्रधान गाउँदै थिए, ‘मंसिरमा जाडो छ वैशाखमा लैजाउँला ।’


नाँच्नलाई योभन्दा अरू के चाहिन्छ ? अहँ, म नाचिनँ । सारा परिवार र समाजको शालीनता आफ्नै काँधमा छजस्तो लागेको थियो होला मलाई । पैताला चाल्नासाथै संसार भुइँमा खसेर जमिनमा भासिन्छ किजस्तो तटस्थ थिएँ । आजभन्दा सोह्र वर्षअगाडि लक्का जवानीको बेला । एउटा ग्लामरस कार्यक्रम स्टेजमा प्रस्तुत गर्दै थिएँ म । झुमिरहेका आफैंजस्ता तन्नेरी अडियन्सलाई भन्दै थिएँ हुँला ‘हेर, बाई डिफल्ट मजस्तो भलाद्मी मान्छे पपगीतको कार्यक्रम चलाउन आइपुगें । तर म तिमीहरूजस्तो उत्ताउलिएर हल्लिन्नँ । यो संसारमा कति परिवर्तन गर्नु छ । पप गीतमा नाचेर बस्छु म ।’ मिल्ने भए दुई–चार भेट्रान लेखकका महान् उक्तिहरू पनि स्टेजबाट दिन्थें हुँला कि ! तर मेसो मिलेन । आफैं रिक्त भएर संसारलाई ठूलै कुरा दिउँला भनी हिँडेको मानिसमध्येकै थिएँ । कुन बेला झोंक चल्यो, सारा स्वाङ नारायणी नदीमा मिल्काइदिएँ ।


गत साता छोक्न्यी रिन्पोचेको ‘चित्त खुलोस् हृदयसँगै’ पुस्तकको पाण्डुलिपि डा. सरोज धितालबाट हात पर्‍यो । यही पुस्तक चहार्न थाल्दा त्यो दिनको पप सो सम्झें । बाह्र वर्षको बालक गुम्बामा पुर्‍याइन्छन् । उनलाई छोक्न्यी रिन्पोचेको तेस्रो अवतार मानिएको छ । उफ्रेर हिँड्ने बेलाको बालक पलेटी कसेर गुरुवचन सुन्न थाल्छ । मन्त्र श्लोक र नियमहरू कण्ठ पार्न थाल्छ । ‘संसारको दुःख हटाउने कारण बन’ भनी गुरुले उनलाई सिकाउन थाल्छन् । पुस्तकमा उनले लेखेका छन्, ‘बाह्र वर्षको बालकको काँधमा यो कत्रो जिम्मेवारी !’ गुम्बाको अनेक नियम र कानुनले थिच्न थाल्छ । उनको बालक मनले चकचक गर्न खोज्छ । नजिकैको गाउँ डुल्न मन पराउँछ । अझै किशोर भएपछि केटीहरूसँग कुरा गर्न मन पराउँछ । वर्जित गरिएका सप्पैसप्पै कुरा गर्न मन लाग्छ ।


तर, गुरुहरूको प्रशंसाको उस्तै लोभ लाग्छ । जतिजति नियम पालना गर्‍यो उति प्रशंसा । आफ्नो मनले चाहेको होइन । अरूले आफूबाट के चाहन्छन्, त्यही बाँचिदिन्छन् । त्यसैगरी बाँचिदिन्छन् । उनीभित्रको म आतिन्छ । छट्पटीको हदै नाघ्छ । अनि उनले नियमका पर्खाल नाघिदिन्छन् । बोल्न हुन्न भनेका केटीसँग बोलिदिन्छन् । वर्जित गरेकै कारण उनीहरू झन् राम्रो लाग्छ । सिनेमा हेर्छन् । कम्फुवाला सिनेमाको फ्यान हुन्छन् । र, बदनाम पनि हुन्छन् । ‘नाम बदनाम, आरोह, अवरोह, घृणा प्रेम, आलोचना र प्रशंसा सबै–सबैको आगोमा पोलिएर जे व्यक्तित्व निस्कन्छ त्यही नै साँचो व्यक्तित्व हो । बीपीको यो भनाइलाई साँचो साबित गरिदिन्छन् । मानिस भएर जन्मेपछि गुज्रने सबैखाले सोचाइ र चाहका पत्रपत्र आफैं केलाउन थालेपछि सत्यको नजिक पुग्छन् । सुनेका, सुनाइएका नियम र अनुभूतिबाट होइन, स्व–अनुभूतिको आधारमा आर्जेको प्रज्ञा संसारभरि बाँड्न थाल्छन् ।


गुम्बामा रिन्पोचेको अवस्था र समाजमा हामी आममानिसको अवस्था उस्तैउस्तै लाग्यो मलाई । मनमा चल्छ एउटा बतास, बाहिर सुसेल्छौं हामी अर्कै कुरा । आफूभित्रको ‘म’ लाई हुन्छ एकथोक, देखाउनुपर्ने ‘सामाजिक म’ छ अर्कै । ‘म’ र सामाजिक ‘म’ को अन्तर्द्वन्द्वको बारेमा रिन्पोचेले निकै सरल ढंगले बुझाएका छन् । छोरी मान्छेको सवालमा यो झनै घनीभूत छ । मनको कुरा व्यक्त गर्ने बेला, केटा हुँ की केटी, कुन जात, कस्तो आर्थिक अवस्था भएको परिवार सबै सम्झन पर्‍यो । अझै विदेशमा बस्ने कि नेपालमा ? विवाहित कि अविवाहित यी सबै बोक्राले बेरेर मनको भाव निकाल्दा कस्तो निस्केला ! सत्य कति पत्रमा छोपिएर निस्केला ! सोच्दै भयावह छ । यो किन ? अरूले के भन्ला भन्ने भय हृदयमा यति गढेको छ कि यो झन्डै प्राकृतिक लाग्छ हामीलाई । त्यही कारण होला म त्यो दिन स्टेजमा नहल्ली बसेको ।


पुस्तकमा एक घाइते प्रेमीको प्रसंग पनि छ । एकपछि अर्को प्रेम असफल भएपछि ऊ संसारको हित गर्छु भनी कसिन्छ । यही कुरा रिन्पोचेलाई सुनाउँछ । भिक्षु न हुन् मनको दशा बुझिहाले । आफैंसँग विरक्त भएर हिँडेको मानिसले के गर्ला अरूको हित । घायल मानिसलाई आफैंसँग प्रेम गर भनेर पठाइदिन्छन् । यता सामाजिक सञ्जालतिर बेलाबेला पढ्न पाइन्छ, ‘हामी त संसार बदल्न र यसको हितमा लागि पर्न हिँडेका हौं । आफ्नो नामसाम केहीको परवाह छैन हामीलाई ।’ सुन्दा त कस्तो गजब सुनिन्छ । एकै छिन ती मानिसहरूको अनुहारको रेसारेसामा दौडिएको असन्तुष्टि र छटपटी हेरिरहने हो भने कहाली लाग्छ । घाइते भएको आफ्नो आकांक्षाकै वरिपरि घुमेर संसारलाई प्रभाव दिन लागिपरेकाहरूको माया लागेर आउँछ । आफैंप्रति दया जागेर आउँछ । उही घाइते प्रेमीको जस्तै !


गुम्बामा हुँदा आफ्नो मनमा गुज्रेको मनोदशाले भिक्षुलाई ग्लानि हुन्छ । उनलाई घरीघरी आफू कमसल भिक्षु भएको पिरलोले सताउँछ । भिक्षु भएर पनि मेरो मनमा यस्तो कुरा किन खेल्यो ? यही प्रश्नले बारम्बार पोल्छ । भिक्षुको मनमा त कसरी संसारको हित गर्ने भन्ने मात्र कुरा खेल्नुपर्ने । किन केटी र सिनेमासमेत घुम्छन् ? अल्मलिन्छ भिक्षुको भेषमा लुकेको मानिस । घर आएको बेला आफ्ना पितासँग मनको सबै दशा भन्छन् । उनका भिक्षु बाबुले उनको सबै कुरा सुन्छन् । झ्यालबाहिरको आकाशमा बादल आउने जाने भइरहन्छ । बाबु छोराको आँखा त्यही बादलमा पर्छ । बाबुले छोरालाई सम्झाउँछन्, ‘आकाश तिमी हौं, बादल तिम्रो मनमा आउने जाने विचारहरू । बादलहरूबाट आकाशको रङ परिभाषित नगर । तिम्रा अनुभूतिहरूले तिमी आफूलाई परिभाषित नगर । यस्तै भावहरू हेर्दैहेर्दै नै उज्यालोमा पुग्ने हो । मनमा आएका अनेक भावहरूसँग आत्तिनै पर्दैन ।’


फ्रान्स जाँदा एउटा विज्ञापनको मोहमा फँस्छन् उनी । हावामा कपाल उडेकी केटी, सिक्स प्याकवाला केटो, बीचमा ल्यापटप । जहाँ जाऊँ त्यही विज्ञापन । आफ्नो रूप नियाल्छन्, पेटीबाट झुन्डेको भुँडी । न साइडमा सुन्दरी । तर, ल्यापटप किनिछाड्छन् । भिक्षु भएर यस्तो भौतिक चाह ! अनि उनको मनले भन्छ, ‘तँ पनि त मान्छे होस् !’ सारा आवरण फुकलेर मान्छे बनी मन हेर्दा हृदयमा सानो दीप झिलिक्क बल्छ । प्रज्ञाको यो दीपले भिक्षु उज्यालो हुन्छन् ।अरूको नजरमा अब्बल रहन हामीले आफैंलाई पनि अनगिन्ती पटक दोषी मानेका हुन्छौं । मान्छे आत्मरतिमा रमाउने घमण्डी मात्र हुँदैन । अनेकौं पुरातन सोचबाट आफैंलाई नियालिरहन्छ । आफैंलाई होचो र कमसल ठानी पनि रहन्छ । मानिस भएपछि स्वाभाविक रूपमा आउने विचारप्रति निष्ठुर रहन्छ । यही प्रसंगले आफ्नै माया लाग्ने बनाइदिन्छन् भिक्षुले । मन नपरेको कुनै एक घटना वा विचारबाट हीन महसुस किन गर्ने ?

िसानासाना कुरा भन्न ठूलो तागत चाहिन्छ । ठूला कुरा त गुगलमा खोजे पनि पाइन्छ ! साधारण मानिससँग उसकै मनको बात सुनिरहेजस्तो लाग्ने पुस्तकले मलाई भर्खरै हेरेको सिनेमा ‘बुलबुल’ की रणकलालाई धेरै सम्झायो । रणकलाले के के बेहोर्दिनँ ? गरिबी, अत्यधिक श्रम, पतिसँगको लामो दूरी । मनमा कल्पिएको प्रेम, जागेको यौन चाहना र त्यसलाई पानीले भिजाएर शान्त पारेका अतृप्त क्षणहरू । अशक्त ससुरा र बालक छोरीको जिम्मेवारी । रणकलाको जीवनमा आउने जाने घटनालाई निर्देशकले पर कतै कुनामा बसेर हेरिरहेजस्तो । भिक्षुको बाबुले आकाशबाट बादल देखाएर भिक्षुको मनोभावमाथि तटस्थ हुन दिए । उसैगरी रणकलाको जीवनमा आाउने जाने घटनालाई निर्देशकले रणकला नै भएर हेर्न दिए । थोपरेनन्् कुनै पुरातन विचार । अनि ऊ एक–एक दृश्यमा अभिव्यक्त हुँदै जान्छे । स्वाभाविक रूपमा प्रकट हुँदै जान्छे ।


परदेसिएको लोग्ने नआएको छ वर्ष भइसक्छ । सानो उमेरमा बिहा गरेकी रणकलामा यौन र प्रेमको चाहना हुर्कंदै जान्छ । एक दिन सडकमा मजदुरको संघर्ष चलिरहेको हुन्छ । रणकला आफ्नी सखीसँग आफैंले हाँक्ने टेम्पोमा बसेकी हुन्छे । दुवै जना ब्लुफिल्म हेर्छन् । बाहिर चलिरहेको भाषणसँग पूरै बेखबर रहेर । झ्यालमा टुप्लुक्क आइपुग्छ रणकलाको आसिक । झ्याप्प फोन अफ गर्छन् । आसिक गएपछि आँखा जुधाएर मस्त हाँस्छन् । एउटी यौवनामा हुने चाहनाको स्वाभाविक अभिव्यक्ति हुन दिएका छन् निर्देशकले । बिस्तारै सोही आसिकसँग उसको प्रेम झांगिन्छ । उसको ससुराले चाल पाएर छोरालाई कुरा लाइदिन्छु भन्छन् । रणकला निर्धक्क भन्छे, ‘भन्दे भन्दिनू । भन्नलाई तपाईंको छोरो आउन पनि त पर्‍यो ।’ उसलाई थाहा छ यो परिस्थितिसम्म कसरी आइपुगी । किन मौलायो उसको हृदयमा दोस्रो प्रेम । जीवनमा आइपरेका घटना नियाल्दै झेल्दै अघि बढेकी रणकलालाई अरूले थोपर्ने नियम र जजमेन्टसँग परवाह गर्ने समय पनि छैन । उसको जीवनको पेसागत परिवेश र व्यक्तिगत सन्दर्भले जे जे परिघटना खोज्छन्, ऊ त्यही गर्दै जान्छे । निर्धक्क । कसैलाई प्रभावित गर्नु छैन रणकलालाई । जीवनमा हरदिन जे परि आउँछ, त्यसकै लयमा बगिहिँड्नु छ ।


भिक्षु र रणकला अलग पात्र हुन् । एक काल्पनिक अर्को वास्तविक । दुवैले जीवनलाई निश्चित घटनाहरू परिभाषित गर्दैनन् । न त अरूलाई गर्न दिन्छन् । व्याख्या गर्नुमा भन्दा बाँच्नैमा रमाएमा मानिसहरू । गुम्बाको उकुसमुकुसबाट निस्केर भिक्षु कम्फु फिल्म हेर्थ । जीवनको उकुसमुकुसबाट फुत्त भागेर रणकला डेटिङ जान्छे । दुवै जीवन बाँच्छन्, नियम होइन । अथाह दुःखको समुद्रबाट रणकला सुखका मोतीहरू टिप्छे । मनपरेको मान्छेलाई कुरुमकुरुम गर्ने पुरी पकाएर ख्वाउँछे । उसले खाएको हेरिरहन्छे । ढुक्कै भन्छे, ‘त्यस्तो जाबो लोग्ने र छोरी त मै पाल्दिन्छु, माया भए पुग्छ ।’ तिमी पालिन जन्मेकी हौ भन्नेहरूलाई नभनीकनै सबैथोक भन्दिन्छे ।


बदलिइरहेको आर्थिक संरचनाको एक ‘पावरफुल’ कारिन्दा हो, रणकला । आर्थिक संरचनासँगै फेरिने परिवार र समाजको ढाँचा चलाउन पुरानै फर्मुला काफी छैन । यसैले उसको जीवनमा उसकै नियम चल्छ । रणकला सिंगो एजेन्सी हो । ऊ ‘इनलाइटन’ पात्र हो । यसैले पनि पुस्तकका पाना पानामा मलाई उसको याद आइरह्यो । सिनेमाको एक सन्त पात्र ! अर्कैका लागि बाँचिदिँदा स्टेजमा नाँच्न सकेकी थिइनँ, म पनि । छोक्न्यी रिन्पोचे र रणकलाले अझै बलियो गरी भनेझै लाग्यो— यो तिम्रो आफ्नै जिन्दगी हो । नपारेर स्वाङ बाँचिदेऊ आफ्नै लयमा । अभिव्यक्त गर आफूलाई बाँच्दाबाँच्दै जागेको सत्यको प्रकाशमा !

प्रकाशित : चैत्र १६, २०७५ ११:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×