एउटा आँखो तँ हेरी...

भीम घिमिरे

काठमाडौँ —  यो शीर्षक राष्ट्रकवि माधवप्रसाद घिमिरेको कविता ‘भँगेरा र भँगेरी’ बाट सापटी लिइएको हो  । कविताले भन्थ्यो ‘यौटा आँखो तँ हेरी, अर्को आँखो म हेरी, टाप्प टिप्प कनिका टिपिहालौं नटेरी  ।

भँगेराको सतर्कताको बानी र छरितोपना वर्णन गरिएको त्यो कविता अब पुराना पुस्ताको सम्झनामा छ । मान्छेका घरमै गुँड लगाउने बानी परेका भँगेरा नदेख्ने र नचिन्ने विरलै हुनुपर्छ । त्यसैले भँगेरा चिनाइरहनु नपर्ला ।
प्राथमिक तहका किताबमा घिमिरेको भँगेरामाथिको कविता पढेको सम्झनेहरूको जमात ठूलो छ । सामुदायिक विद्यालयका प्राथमिक तहका नेपाली किताब यतिबेला पल्टाउने हो त्यो कविता अहिलेको पाठ्यक्रममा छैन ।
पाठ्यक्रम विकास केन्द्रको पाठ्यपुस्तक सम्पादन शाखाकी अधिकृत चिनाकुमारी निरौलाका अनुसार १०/१० वर्षमा पाठ्यक्रम फेरिंदा यो कविता नपरेको हो । ‘यो कविताको भित्री कुरा गहिरो हो,’ इटहरीका नेत्र चिकित्सक विजय गौतम भन्छन्, ‘हाम्रा आँखाले देखेका दृश्यका फोटा दिमागमा जति छिटो जति प्रस्ट पुग्ने प्रक्रिया हुन्छ, त्यसमा चरा छिटो छन् ।’ मान्छेका आँखाले एक पटकमा प्रतिमिलिमिटर २ लाख र भँगेराका आँखाले ४ लाख फोटो सिग्नल दिमागमा पठाउने उनले बताए । ‘भिजुवल क्वालिटीका कुरामा भँगेरा हामीभन्दा दोब्बर छिटो हुन्छ,’ त्यसैले कविले भँगेराको आँखाका कुरा गरेका होलान्,’ उनी भन्छन्, ‘प्रकृतिले नै उनीहरूको दृष्टिशक्ति धेरै दिएकाले ज्यान पनि जोगिन सकेको हुनुपर्छ ।’

पोखराको फिर्केमा एउटा घरमा मैले तीन वर्षयता देखिरहेको छु— मनुवाका चार परिवार र भँगेराका करिब छ/सात परिवारको आश्रय छ । मेरो बासको सामुन्ने बाटोपारिको घर । मान्छेहरू भुइँतलादेखि माथिल्ला कोठा–चोटासम्ममा बस्छन् । भँगेराहरू भुइँतलाको सटरको खापामा । तीनवटा सटरमध्ये दुईवटा सधैं बिहान उघ्रिन्छ र साँझ बन्द हुन्छ । कारण, त्यसमा पसल छ । एउटाचाहिँ वर्षमा एकाध पटक पनि मुस्किलले उघारिन्छ या भनौं सकभर उघ्रँदैन । अरूमा बसेका भन्दा त्यो सटरमा आश्रय लिएका भँगेरा परिवार सुरक्षित छन् ।
अरू जसरी त्यो बन्द सटर आश्रितका फुल र चल्ला हम्मेसी झरेका भेटिँदैनन् । मान्छेका दैनिकी बुझेका भँगेराहरूलाई सटरको आश्रयमा अभ्यस्त देख्दा अनौठो पनि लाग्दैन । बेलाबेला पोथीका लागि भालेहरू निकै झगडा गरिरहेका देखिन्छन् । जसले हार्छ, ऊ यहाँको बस्तीबाट बाहिर कतै आश्रय लिन जान्छ । ‘मैले घर बनाएको १४–१५ वर्ष भयो होला,’ घरधनी पशुपति सुवेदी भन्छन्, ‘अहिले त सहरीकरण यस्तरी बढ्यो कि अब त यहाँ दिउँसै चितुवाको डर हुन्थ्यो भन्दा पनि मान्छेले नपत्याउने भइसक्यो । जता हेर्‍यो त्यतै घर छन्, अबको २० वर्षपछि झन् कस्तो भएर जालाजस्तो लाग्छ ।’
फिर्केमा सर्नुअघि मेरो बसाइँ जालपा रोडमा सूर्य बरालको घरमा थियो । हरेक बिहान सरिता भाउजूले पूजा गरेपछि कोठाबाहिर भँगेराका लागि एक मुठ्ठी चामल राखिदिएको देख्थेँ । तँछाडमछाड गर्दै भँगेराका हूल चामल टिप्थे । मंगलबार मैले फोन गरेर भँगेराको प्रसंगमा कुरा गर्दा भाउजूको भनाइ थियो, ‘हिजोआज भँगेरा आउँदैनन्, परेवा र काग आउँछन् ।’ हिजोआज भँगेरा नआउँदा नरमाइलो लाग्ने गरेको उनले बताइन् । बितेको तीन वर्षमा बराल दाइले नयाँ घर बनाइसके । आफ्नो घरपछाडिको बारी पार्टी प्यालेसलाई भाडामा दिएका छन् ।
पहिले यो बारीमा सिजनअनुसारका बालीनाली हुन्थे । भैंसी थियो, गोठबाट बाहिर गोबर थुपारिन्थ्यो । गोबर र बालीनालीका कीरा चराका लागि सजिलो आहारा थिए । यसो हेर्दा अब चराहरूका लागि उनको घरमा आउने बाटो बन्द भएको छ । पोखराको मुख्य बजार क्षेत्रभित्र बराल परिवारजस्ता पोखरेली सहरीकरणमा अभ्यस्त भइरहेका छन् ।
‘मान्छेका घरको फेरिएको संरचनासँगै भँगेराले पनि बाँच्न सिकेका छन्,’ पन्छी संरक्षण संघको गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्ण भुसाल भन्छन्, ‘संख्यात्मक रूपमा बर्सेनि भँगेरा घटेका छन् । तर, धेरै ठाउँमा हामीले त्यसको बासस्थान परम्परादेखि देखेका भन्दा फरक पनि भएको भेटेका छौं ।’ सडकका पोलमा हुने फोनका ‘डिस्ट्रिब्युसन प्वाइन्ट बक्स’, बिजुलीका मिटर बक्स र घर तथा भवनका भेन्टिलेसनमा बस्न थालेको पाइएको उनले बताए ।
विश्वमा हालसम्म ४३ प्रजातिका भँगेरा पाइएको रेकर्ड छ । नेपालमा पाँच प्रजाति छन् । घर भँगेरा, रूख भँगेरा, कैलो, पीतकण्ठे र स्पेनिसलगायत नेपालमा पाइने प्रजाति हुन् । घर र रूख भँगेरा बस्ती, घर र करेसाबारी वरपर मानिसहरूसँगै बस्न रुचाउँछन् । पोखिएका र छरिएका अन्न, अन्नबालीहरूमा लाग्ने कीराफट्यांग्र्रा र लार्भा भँगेराका आहारा हुन् । संरक्षणकर्मीहरूका अनुसार यो चरा देखिनु पर्यावरणीय स्वस्थता र सन्तुलनको सूचक हो । ‘काठमाडौं उपत्यकाका लागि काग र मलेवापछि धेरै पाइने रैथाने चरा घर भँगेरा हो, रूख भँगेरा छैटौं नम्बरमा पर्छ,’ उनले भने, ‘चार वर्षदेखि हामी सहरी क्षेत्रमा पाइने चरा गणना गरिरहेका छौं । भँगेराकै लागि अहिले बासस्थान दुर्लभ हुँदै गएको अवस्था हो ।’

भँगेरा समुद्र सतहदेखि चार हजार मिटरसम्मका भूभागमा पाइन्छ । मान्छेले रहरले पाल्ने सुगा र मैनाजस्ता चरामा यो पर्दैन । मान्छेका वरपर बस्छ । उसको दैनिकीमा भने मान्छेको नियन्त्रण रुचाउँदैन । बर्सेनि पोथीले ३ देखि ५ वटा फुल पार्छे । एक जोडीले सरदर एक जोडी नै चल्ला हुर्काउँछन् । अण्डाबाट १२ देखि १५ दिनमा चल्ला निस्कन्छन् । आहारा नियमित पुग्ने हो भने तीन सातामै चल्लाहरू गुँड छाडेर उड्ने हुन्छन् ।
वैज्ञानिक शोधका जर्नलमा उल्लेख भएअनुसार भँगेराका निकै कम अण्डामा भाले–पोथी दुवैको डीएनए पाइएका छन् । अधिकांशमा पोथीको मात्रै डीएनए पाइन्छन् । ३८ किमि प्रतिघण्टाको गतिमा उड्न सक्ने भए पनि भँगेरा आफू जन्मेको क्षेत्रभन्दा २ किमि टाढा जाँदैनन् । जोडी–जोडी बस्ने उनीहरू मान्छेको समाज जसरी मिलेर बस्छन् । आपसमा मिलेर आहारा खोज्छन् । भालेले गुँड बनाउँछन्, पोथीलाई फकाउँछन् । चल्ला मिलेर जोगाउँछन् । रूख र घर भँगेराहरूसँगसँगै बसेका भेटिन्छन् । पोथी फकाउने बेलाबाहेक भँगेराका भालेहरू आपसमा झगडा गर्दैनन् । आफूले मन पराएको पोथीसँग जोडी बनाउनेलाई झगडा गरेर धपाएको पनि देख्न सकिन्छ ।

‘१० वर्ष भयो सहरीकरण बढेको,’ पोखरा महानगरपालिकाको सहरी विकास तथा पूर्वाधार शाखा प्रमुख इन्जिनियर शारदामोहन काफ्ले भन्छन्, ‘उपमहानगरपालिका हुँदा पोखरामा वर्षको करिब ५ हजार पक्की घर थपिन्थे । अहिले वर्षको सरदर १५/१६ हजार थपिँदै छ ।’ काठ र खरका पुराना ढाँचाका घर निकै कम हुँदै गएको उनले बताए । ‘महानगरपालिका भएपछि पोखराभित्र जंगलका एरिया पनि थुप्रै छन्, चराले गुँड लगाउने ठाउँ पर्याप्त नै छन् जस्तो लाग्छ,’ उनले भने, ‘तर, मान्छेका घरमा गुँड लगाउनेहरू त विस्थापित भएकै अवस्था आयो भन्न सकिन्छ ।’
२०७३ फागुन २७ मा महानगरपालिका घोषणा भएपछि पोखराको क्षेत्रफल ४६४.२४ वर्गकिमि भएको छ । क्षेत्रफलको हिसाबले यो मुलुकका अरू महानगरभन्दा ठूलो पर्यटकीय नगरीमा साना–ठूला होटल मात्रै ६ सयवटाको हाराहारी छन् भने पक्की घरको संख्या १ लाख नाघेको छ । घरको तथ्यांक महानगरले अद्यावधिक गरिरहेको छ तर सहरभित्र चरा कति घटे भन्ने हेक्का कसैले राख्दैन ।
पुरानो पोखराको तस्बिर संग्रह गर्दै आएका सुनील उलकको गणेश टोलमा हिजोआज संग्रहालय छ । त्यहाँ पुग्दा ८० वर्षयताको पोखराको क्रमिक परिवर्तनलाई तस्बिरमा देख्न सकिन्छ । ‘बूढापाकालाई एक्लाएक्लै भन्दा समूहमा राखेर सोध्नुपर्ने रहेछ । उनीहरूबाट मैले घरमा बस्ने चराका कुरा पनि सुन्न पाएको छु,’ उनले भने । छानोबाट खर र ढुंगो फालेपछि भित्रिएको विकासले चराचुरुंगी पस्नै नमिल्ने घर बनेको कुरा बूढापाकाले पनि बताउने उनले सुनाए ।

आमा, हजुरआमाहरू खाना पस्कनुअघि आगोलाई धन्यवाद दिँदै सबै परिकार एक/एक चिम्टी सानो दुनोमा राख्नुहुन्छ । चुल्होलाई चढाइएको खानेकुरा रहेको दुना घर बाहिर राखिन्छ । त्यो खाना अग्निदेवको नाममा भए पनि संस्कृतिले चराचुरुंगीलाई आहारा दिनुपर्छ भन्ने मान्यताबाट प्रेरित रहेको मान्छन् पोखराको पृथ्वीनारायण क्याम्पसका प्राणीशास्त्रका प्राध्यापक रामजी गौतम । ‘सहरीकरणको तीव्रताले मान्छेको बसोबासको शैली मात्रै होइन, नजानिँदो पाराले परम्परा फेरिएका छन्,’ उनी भन्छन्, ‘अहिलेका पुस्ताले हेर्दा–सुन्दा अनौठो मान्लान्, चुल्होलाई चढाएर खानेकुरा किन नास पार्नु पनि भन्लान् । तर, त्यति सानो कुराले चराचुरुंगीका लागि ठूलो भरको काम गरेको हुन्छ ।’ सहरीकरणले परम्परागत बाली लगाउने चलन र जैविक विषादि उपयोगको विधिलाई बिगार्दाको असर भँगेराजस्ता मान्छेका नजिक बस्न रुचाउने पन्छीहरूमा परेको उनले बताए ।
‘घर त हामीले आफूबाहेक अरूलाई बास नदिने पाराको बनाएका छौं,’ उनले भने, ‘आनीबानी पनि आफूबाहेक अरूले जेसुकै गरून् भन्ने स्वार्थी पाराको भइसकेको छ ।’ पोखरा बर्ड सोसाइटीका सचिवसमेत रहेका अर्का प्राध्यापक हेमन्त ढकाल जमिनले सोस्ने पानीको क्षेत्र र मान्छेले उपयोग गरिरहेको भूमिगत पानीको उपयोगको तरिका नमिल्नुको असर थुप्रै थोकमा परेको छ । ‘हाम्रो कृषि प्रणालीमा आइरहेको परिवर्तनले चराका लागि आहारा असम्भव हुँदै आएको छ,’ उनले भने, ‘माटोले पानी सोस्न पाए मात्रै त्यसमा कीरा–फट्यांग्रा हुन्छन् । सडक, नाला, घरैघर सबै पक्की हुन थाल्यो, खेती लगाउन घट्यो । यसको असर त परिजान्छ नि ।’ अन्नबाली, पशुगोठ, पराल र नियमित खेतीपातीको चलनले पर्यावरण सन्तुलित राख्न भूमिका खेलिरहने उनले बताए । ‘अब हामी घर फलाउँछौं, अन्न किन्छौं,’ उनले भने, ‘यतिसम्म कि गमलामा एउटा फूलको बिरुवा रोपियो भने पनि कीटनाशक हालेकै अवस्था देखिन्छ ।’
काँक्रो, लौका र फर्सीजस्ता लहरामा फल्ने तरकारी हामीले सग्ला मन पराउनुको असर चरामा परेको तर्क पोखरा बर्ड सोसाइटीका अध्यक्ष मनशान्त घिमिरेको छ । ‘कीरा लागेका फलफूल प्राकृतिक हुन्, जुन सग्ला छन् तिनमा विषादी परेकै हुन्छ,’ उनले भने, ‘खोट लागेको देखिएका फलफूलका कीरा–फट्यांग्रा चराका आहारा हुन् । कीटनाशक चलाएपछि बाली राम्रा त हुन्छन् तर त्यसको असर हाम्रो स्वास्थ्यमा परेको छ, प्रकृतिमा पनि परेको छ ।’
दक्षिण एसियाली मुलुकमा चरा चिन्न, शोध गर्न र संरक्षणका काममा लामो समयदेखि काम गरिरहेकी बेलायतकी ७१ वर्षीया क्यारोल इन्स्किप नेपाल बराबर आइरहन्छिन् । नेपाल, भारत, भुटान र श्रीलंकाका चराहरू बारेका पुस्तक लेखनमा उनको अगुवाइ छ । ‘१९७७ देखियता लामो–छोटो अवधिका मैले २२ पटक नेपाल भ्रमण गरिसकेँ,’ उनले इमेल कुराकानीमा भनिन्, ‘घर भँगेरा नेपाल मात्रै होइन बेलायतका पनि विभिन्न ठाउँमा चिन्तालाग्दो गरी घटेका छन् ।’ सहरीकरणले पारेको यो असर हेर्दा संरक्षणकर्मी र शोधार्थीका लागि चिन्ताको विषय रहेको उनले बताइन । ‘बेलायतमा अब आधुनिक घरहरूमा पनि चरालाई आश्रय दिनुपर्छ भन्ने अभ्यास सुरु भएको छ,’ उनी भन्छिन्, ‘बेलायतामा यतिबेला विषादीको प्रयोग घटायौं भने मात्रै पनि उनीहरूको आयु र संख्या बढ्छ भन्नेमा संरक्षणकर्मीको जोड छ, नेपालको अवस्था पनि योभन्दा फरक होइन ।’ सहरीकरण, खेती प्रणालीमा आएको परिवर्तनले बास र आहाराको संकटको असर भँगेरालाई परेको हो । यसका लागि सम्बद्ध सबैले चिन्ता लिनैपर्ने उनले बताइन् ।

इन्टरनेटको सर्च इन्जिनमा भँगेराबारे खोज्दै गए चीनमा माओत्सेतुङले चलाएको ‘फोर पेस्ट क्याम्पियन’ वा ‘ग्रेट स्पारो क्याम्पियन’ बारेको जानकारी भेटिन्छ । चीनले अमेरिका र युरोपेली मुलुकहरूसँग प्रतिस्पर्धा गरेर देखाउन कुषि उत्पादन सुधारका अभियान चलाएको थियो । माओत्सेतुङले खाद्यान्न उत्पादन दोब्बर बनाउने योजना ल्याएका थिए । मौसमले साथ दिएन । बाली नसप्रेको दोष भँगेरा, झिंगा, लामखुट्टे र मुसालाई लगाइयो । सुरु भयो यी सबैलाई मार्ने अभियान ।
यो सन् १९५८ को घटना थियो । कृषि उत्पादन बढ्न नदिने राष्ट्रिय शत्रु घोषित भँगेरा मार्न जुनसुकै तरिका अपनाइए । त्यसबेला कति भँगेरा मारिए भन्ने रेकर्ड छैन । भँगेरा मारेर खाद्यान्न उत्पादनमा सुधार आउनुको साटो भोकमरी आयो । लाखौं प्रभावित भए । दुई वर्षपछि माओले भँगेरा निर्मूल पार्ने अभियान रोक्न आदेश गरे । भँगेराका कारण बाली उत्पादन घट्दैन, बढ्छ भन्ने पत्ता लागेको थियो । धेरै भँगेरा मारिएपछि आदेशकर्ता र समर्थकले भँगेराले बालीका कीरा खाइदिएर उत्पादन बढ्न सघाउँछ भन्ने बुझेका थिए ।
नेपालमा राष्ट्रिय अभियानका रूपमा कुनै पनि पशुपन्छी मार्ने अभियान चलेको छैन । तर, अभियान नचल्दैमा उनीहरू सुरक्षित नै छन् भन्ने अवस्था फनि छैन ।
bhim@kmg.com.np प्रकाशित : चैत्र ३०, २०७५ १२:०१

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

संगीतकर्मी थुलुङको निधन

भीम घिमिरे

पोखरा — पोखरेली संगीतकर्मी श्रीमान थुलुङको दुर्घटनामा निधन भएको छ । बुधवार बेलुकी करिब साढे ९ बजे पोखरा-१२ शितलादेवीमा भएको स्कुटर दुर्घटनामा उनको ज्यान गएको हो ।

उनले चलाएको ग१२प ६७९ नम्बरको स्कुटर पर्खालको रेलिङमा ठोक्किएर उनी नहरमा खसेका थिए। पानीको भेलले बगाएको एक घण्टापछि उनलाई कुँडहरको दुई कुलाको मुहानमा फेला पारेको थियो। लगत्तै उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिए पनि त्यहाँ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। बिहीबार दिउँसो शवको पोस्टमार्टमपछि उनको अन्तिम संस्कार गरिने भएको छ।

संगीत संयोजन, प्रशिक्षण र सांगीतिक कार्याक्रम आयोजनामा सक्रिय ५० वर्षीय थुलुङको निधनले पोखरेली संगीतकर्मी स्तब्ध र शोकमा छन्। सोलुखुम्बुको सल्यान नेचा-३ बाट पोखरा आएका उनले सुरुमा संगीत प्रशिक्षण लिएका थिए।

त्यसयता उनी प्रशिक्षण केन्द्र सञ्चालन, सांगीतिक कार्यक्रम आयोजना र नयाँ प्रतिभाको खोजी गर्ने काममा सक्रिय थिए। उनले सञ्चालन गरेको तराना म्युजिक सेन्टरले वर्षेनी नयाँ प्रतिभाका लागि सांगीतिक कार्यक्रमको आयोजना गर्दै आएको छ। उनले दर्जनौ गीतमा संगीत दिएका छन्।

थुलुङ मिलनसार र आफ्नो क्षेत्रमा क्रियाशील व्यक्तित्व भएको संस्कृतिकर्मी तीर्थ श्रेष्ठले बताए। 'पोखरामा रहेर उनको सक्रियता आफ्नै प्रकारको थियो,' उनले भने, 'थुलुङको निधनले पोखराको सांगीतिक क्षेत्रमा अपुरणीय क्षति भएको छ।'

संगीतकर्मी रामभक्त जोजिजुले गाउने, गीतलाई धुनबद्ध गर्ने र नयाँ प्रतिभाको खोजी गरेर मञ्च दिने काम गर्दै आएका थुलुङको असामयिक निधनले पोखरेली सांगीतिक फाँटको बलियो स्तम्भ ढलेको बताए। सँगै एल्बम गरेका अनुराग अधिकारीले थुलुङको क्रियाशीलता सबैका लागि प्रेरक रहेको बताए।

थुलुङका पाँच छोरीहरू छन्। कान्छी छोरी स्मृति राइ युवा पुस्तामाझ उदीयमान गयिकाका रूपमा छिन्।

प्रकाशित : चैत्र २८, २०७५ ०८:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×