जोखनाको जन्म

फूलमान वल

काठमाडौँ —  बितेको भदौका केही दिन रंगकर्मी किरण चाम्लिङ राईलगायतको टोली पोखरा नजिकैको पर्यटकीय गाउँ कालाबाङ घरेडीमा थियो  । मण्डला थिएटरले गरेको स्थलगत कार्यशालाका लागि रंगकर्मीहरू नाटकको विषय खोज्दै त्यहाँ पुगेका थिए  ।

नेपाली रंगमञ्चमा मौलिक विषयवस्तु र कथाहरू आउन छाडेको समय उनीहरूले द्वन्द्वोत्तर समाजको पीडा खोतले । बेपत्ता नागरिकको पारिवारिक मनोदशा उधिन्ने क्रममा किरणलाई एक महिलाले रुँदै भनिन्, ‘फर्की आउनुहोला भन्ने आशा त छैन, जे भए पनि खबरचाहिँ प्रस्ट भए हुन्थ्यो ।’
कालाबाङ घरेडीबाट पोखरा झरेपछि किरणलगायतको एक दर्जन रंगकर्मीले सामूहिक निर्देशक र अभिनयमा सानो नाटक तयार पारे, ‘खबर हराएको चिठ्ठी ।’ यतिबेला राजधानीको मण्डला नाटक घरमा मञ्चन भइरहेको नाटक ‘जोखना’ सित ‘खबर हराएको चिठ्ठी’ को सम्बन्ध छ । विषयवस्तुको एकरूपता मात्रै हैन, ‘जोखना’ को रचना गर्भसितै जोडिन्छ ‘खबर हराएको चिठ्ठी’ ।
‘राजधानी फर्केर केही नयाँ नाटक गर्छु भन्ने सोचिरहेको थिएँ,’ हालैको भेटमा रंगकर्मी किरणले भने, ‘साइँलीको सुटिङ भइरहेको बेला दयाहाङ राई दाजुले बीएस राईको ‘हिउँमाझी’ कथासंग्रह पढ्न सुझाउनुभयो ।’ किताब पढ्दै जाँदा ‘जोखना’ शीर्षकको कथामा किरण उद्वेलित बने । द्वन्द्वमा बेपत्ता जसबहादुरलाई पर्खिबसेकी धनसुवाको पीडा र किरणले पोखराको कालाबाङ घरेडीमा भेटेको महिलाको आँसुको रङ एउटै थियो । किरणले ‘खबर हराएको चिठ्ठी’ को अनुभवसमेत जोडेर ‘जोखना’ लाई अझ राम्रो बनाए । नाट्य रूपान्तरणमा सघाए राजन मुकारुङले । मुन्धुम संस्कृति, सभ्यता र मनोविज्ञान जोडेर दयाहाङ राईले पनि गीत लेखिदिए । एक दर्जन कलाकारले जोसिलो साथ मिल्यो । उनकै निर्देशन रहेको ‘जोखना’ यतिबेला चौथो हप्तामा चलिरहेको छ ।


द्वन्द्वको कथा
‘जोखना’ सशस्त्र द्वन्द्वमा बेपत्ता नागरिकको परिवारिक पीडाको विस्तृति हो । यो मुन्धुमी संस्कृतिको रङमा छ । मुलुकले भोगेको दशक लामो द्वन्द्वमा सत्र हजारको ज्यान गयो । हजारौं बेपत्ता छन् । पीडा सबैको उस्तै भए पनि किराँत समुदायको रङ दिइएको यो नाटक आफैंमा नेपाली रंगमञ्चका लागि अर्ग्यानिक प्रस्तुति हो । कथावाचनमा किराँत प्रतीक र विम्बहरू लोभलाग्दोसित प्रयोग गरिएको छ । कथाको बहाव, पात्र मनोविज्ञान र घटनाको उतार–चढावअनुरूपको प्रकाश र ध्वनिको लय उत्तिकै प्रशंसनीय लाग्छ ।
द्वन्द्व अब हाम्रो स्मृतिको छायामा मात्रै धिपधिप छ । नाटकमा पनि द्वन्द्व छायामा मात्रै आउँछ । तर, त्यही छायाजस्तो आफन्तको सम्झना बोकेर बाँचिरहेकाहरूको पीडा भने नाटकमा विशाल छ । किराँत सभ्यता, जीवन र संवेदनासित चुलोको तीन ढुंगा कति नजिकबाट जोडिएको छ भन्ने थाहा हुन्छ नाटक हेरेपछि । ब्लकिङ, प्रकाश परिकल्पनादेखि सेट डिजाइनसम्म तिनै चुलो ढुंगाको अवधारणामा खेलेका छन् किरणले । बिजुवा (सेलेमी) ले जोखना हेर्ने परम्परालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ । जोखना हेर्दा आत्मा आएर मरिसकेको सन्देश दिए पनि काजकिरिया सकेपछि जसबहादुर खुट्टा खोच्याउँदै घर आइपुग्दाको सन्दर्भ आजको समयको विरोधाभास हो । परम्परा, संस्कृतिजन्य कतिपय तत्त्वहरू उल्टो भएको सन्दर्भ मार्फत ‘सबै कुरा अहिले उल्टै भइरहेको छ’ भन्ने बलियो सन्देश दिएको छ नाटकले । द्वन्द्वले पारेको सांस्कृतिक क्षति त छँदै छ । सबैभन्दा मुख्य कुरा त माओवादी द्वन्द्व, बीचको समयदेखि अहिले विप्लव समूहको द्वन्द्वसम्मको तीनवटा समय नाटकमा भेटिन्छ । जसबहादुरले फेरि घर छोड्नुले राजनीतिक अर्थ पनि राख्छ ।

कुरुम्बाको ठिटो
दशकअघि पाँचथर कुरुम्बाबाट झापा झरेपछि नै किरणको कला यात्रा सुरु भएको थियो । झापाबाट काठमाडौं आइपुग्दासम्म उनी दृश्य सम्पादक, संगीत विद्यार्थी र रंगकर्मी भइसकेका थिए । झापाको हिमशिखर टेलिभिजनदेखि काठमाडौंको न्युज २४ सम्मको जागिरे पनि नबनेका होइनन् । तर, परिस्थितिले जताजता हुत्यायो, उनी त्यही बने । शिल्पी थिएटर आइपुगेपछि एकाध वर्ष स्थिर बने । केही नाटक गरे । यसअघि उपेन्द्र सुब्बाको दुइटा कथा जोडेर उनले निर्देशन गरेको ‘लाटो पहाड’ ले पनि निकै चर्चा पायो । अनुप बरालको ‘थाङ्ला’ मा उनले गरेको देवरको चरित्र पनि सम्झनायोग्य थियो ।
‘तैपनि म निर्देशन नै गर्न चाहन्थें,’ २९ वर्षे किरणले भने, ‘लामो समय नाटक खोजी हिँडे । बीचमा द्वन्द्वकै कथामा स्क्रिप्ट पनि तयार पारेका थियौं हामी केही साथीभाइ मिलेर । तर, त्यो त्यत्तिकै बस्यो ।’ किरण नेपाली समाजमा थुप्रै कथाहरू थाँती रहेको र तिनलाई भन्ने प्रयासहरू पर्याप्त नभएको स्विकार्छन् । ‘हाम्रो रंगमञ्चको मौलिक अनुहार अझै प्रस्टसित देखिन सकेको छैन’, उनले भने, ‘जोखना एउटा प्रयास मात्रै हो ।’

बिजुवाको नाति
‘जोखना’ मा बिर्सिन नसक्ने एक पात्र छन् सेलेमी । यो भूमिका गरेका छन् अनिल सुब्बाले । उनले गरेको भूमिका नाटक सकेपछि पनि याद आइरहन्छ । इलाम चुलाचुलीका यिनले यसअघि ‘जिउँदो आकाश’ मा गरेको एकल अभिनय पनि उम्दा थियो । यही नाटकबाट धेरै मान्छे यिनका फ्यान बने । त्योभन्दा अगाडि यिनी शिल्पी थिएटरमै थिए । ‘लाटो पहाड’, ‘हेड्डा ग्याब्लर’ लगायतमा अभिनय गरे शिल्पी छँदा । त्यसपछि सुनील पोखरेलको नजिक पुगे ।
‘शिल्पी अघिको मेरो कथा रोचक नै छ,’ २४ वर्षे ठिटोले चिया सुरुप्प पारे, ‘गोजीमा पाँच हजार सापटी बोकेर काठमान्डू छिरेको थिएँ ।’ खासमा शिल्पीले पुर्वकै चेतना समूहबाट एक जनालाई काठमाडौंमा कार्यशालाका लागि बोलाएको थियो । चेतनाबाट आउनुपर्नेले पारिवारिक कारणले भ्याएनन्, मौका मिल्यो चुलाचुली नाट्य समूहका अनिललाई । काठमाडौं जानुपर्ने भयो, पैसा थिएन । ‘चेतना समूहकै दाइबाट सापटी लिएर आएँ,’ उनले सुनाए, ‘शिल्पीको दोस्रो ब्याचमा सामेल भएँ ।’
त्यसअघि ‘जोखना’ का यी बिजुवा (धामी) ले थुप्रै सडक नाटक गरिसकेका थिए । गाउँमा दाइहरू पर्दा टाँगेर नाटक गर्थे । नाच निकाल्थे । देउसी खेल्थे । द्वन्द्वकै कारण दाइ अक्कल सुब्बा बिदेसिनुपरेपछि अनिलले त्यो ठाउँ लिए । चण्डीपूर्णिमाको बेला पाँच/सात सय मान्छेको भीडमा ‘परिवर्तन’ नामक नाटक गर्दाका क्षण उनी अहिले पनि सम्झिन्छन् । ‘नाटक खेलेर बाहिर निस्किँदै गर्दा निकै ठूलो हिरो भएको अनुभूति गरेको थिएँ । सबैले मलाई नै हेरिरहेको जस्तो लागेको थियो’, उनले सम्झे, ‘अहिले सम्झिँदा रोल त केही नै रहेनछ मेरो ।’
चुलाचुली थिएटरकै प्रस्तुति ‘देवाङ्सी राजा’ केही वर्षअघि दोलखाको नाट्य महोत्सवमा छानिएको थियो । यसमा पनि अनिल बिजुवाकै भूमिकामा थिए । ‘आफैं पनि पुस्तैनी बिजुवा हुँ, हाम्रो सबै पुस्ता बिजुवा,’ उनले भने, ‘त्यही भएर यो भूमिका गर्दा मेरो जिउ आफैं कामेर आउँछ । रगत उम्लेर आउँछ । नाच्ने ताल र मन्त्रको लय पनि कण्ठै छ । नाटक सकेपछि पनि जिउ कामिरहेकै हुन्छ, कहिलेकाहीं त डर लागेर आउँछ ।’
‘देवाङ्सी राजा’ को बेला त चरित्रमा जानुअघि उनलाई भेट्न आमा आउँथिन् । आमाले हेरीकन अक्षेता फुकेर जिऊ र कपडामा छर्केपछि उनी चरित्रमा पस्थे । ‘यो एउटा मुन्धुमी विश्वास हो,’ उनको तर्क छ, ‘यसप्रति मेरो पनि पूर्ण विश्वास छ ।’ यही विश्वास पद्धति, त्यसको उल्टो यात्रा र आयातित ज्ञानले घर गरेको अहिलेको समयको मनोविज्ञान पनि हो नाटक ‘जोखना’ ।

जापान छोडेर रंगमञ्च
केही महिनाअघिको एक दिन यिनै अनिलको फोन आयो, संगीता थापालाई । मकवानपुर भीमफेदीकी यी २८ वर्षीया जापान जाने तयारीमा थिइन् । गुरुकुल हुँदाताका नर्वेली रंगकर्मी मोर्टन क्रोगको ‘ताराबाजी लै लै’, सुनील पोखरेलको ‘पुतलीको घर’, मीन भाम–सुनील पोखरेलको ‘कर्णाली दख्खिन बग्दो छ’ जस्ता नाटक हेरेको प्रभावकै कारण केहीअघि यिनले कुञ्ज थिएटरमा मञ्चित ‘लिलामे माइलो’ मा सानो भूमिका गरेकी थिइन् ।
‘जोखनाका लागि त मलाई ठूलै प्रस्ताव आयो,’ कुराकानीको क्रममा संगीताले सुनाइन्, ‘त्यही पनि म जसको फ्यान थिएँ, उसैबाट ।’ खासमा किरणलाई ‘जोखना’ को धनसुवा चरित्रका लागि कलाकार चाहिरहेको थियो । गीति परम्पराको सघनता रहेको किराँत समुदायको यो चरित्रले नाटकमा पनि धेरैजसो गीतबाटै अभिव्यक्ति दिनुपर्थ्यो । गीत गाउँदै अभिनय गर्नुपर्ने भएकाले केही कलाकारले यो भूमिका छोडिसकेका थिए । पद्मकन्या क्याम्पसको संगीत स्नातक संगीता भने भोजनगृहमा साँझ–साँझ गाउने गर्थिन् । ‘त्यही भएर मेरो खोजी भएको रहेछ,’ संगीताले सुनाइन्, ‘सट्टा कलाकारको रूपमा ।’
सट्टा कलाकारको रूपमा ‘जोखना’ छिरेकी यिनी अहिले प्रशंसित छिन् अभिनयका लागि । बेपत्ता लोग्ने पर्खिबसेकी धनसुवाको चरित्रमा उनी अब्बल छिन् । सकारात्मक प्रतिक्रियाहरूका कारण अब संगीताको संगत बदलिएको छ । जापानको भाषा कक्षा र भिसा प्रक्रिया पनि रोकिसकेकी छन् उनले । बरु थिएटर भिलेजको ६ महिने कोर्समा भर्ना भएकी छन् । ‘अब यहीँ केही गर्छु,’ उनले भनिन्, ‘गाउँछु, नाटक गर्छु । सिक्न आएकी थिएँ, सिक्दै छु, अझै धेरै सिक्छु ।’

प्रकाशित : चैत्र ३०, २०७५ १२:००
प्रतिक्रिया
पठाउनुहोस्

रंगमञ्चमा पूर्वी हावा

'जोखाना’ पूर्वी नेपालबाट चलेको किराती सभ्यताको लयदार हावा हो । द्वन्द्वकालको परिवेश बोकेको हुनाले यो हावाको लय कहिले प्रेमिल बन्छ, कहिले पीडादायी त कहिले हुन्डरीजस्तै । 
फूलमान वल

काठमाडौँ — विश्व रंगमञ्च दिवसको साँझ । बुधबार अनामनगरस्थित मण्डला थिएटरमा नाटक ‘जोखाना’ हेर्न पुगेका थिए, रंगकर्मीहरू मदनदास श्रेष्ठ, पुष्कर गुरुङ, अनुप बराल, दिया मास्के लगायत । पूर्वी नेपालको समाज, संस्कृति, पात्र र कथाव्यथा समेटिएको ‘जोखाना’ हेरिसकेपछि मदनदासले भने, ‘किरात समुदायमै पुगेको भान भयो ।’

अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक 'जोखाना’ मा अभिनय गर्दै कलाकार । तस्बिर : बिजु महर्जन/कान्तिपुर

डेढ घण्टाको नाटक सकेर बाहिर निस्किँदै गर्दा अनुप बरालले हत्तपत्त निर्देशक किरण चाम्लिङलाई अंगालोमा बेरे । धाप मारे । यसअघि उपेन्द्र सुब्बाको कथाकृति ‘लाटो पहाड’का केही सिर्जनामाथि पुर्वी नेपालकै रंग दिएर मंचन गरिसकेका किरण प्रफुल्लित बने । मुस्कुराए ।

उनको मुस्कानमा मौलिकता थियो, जसरी नाटकभित्र कलाकारहरूले आफ्नोपनलाई अब्बल रूपमा पस्केका थिए । त्यहाँ साकेला सिली थियो, च्याब्रुङको ताल थियो, प्रकृति झल्किने स्याउलाका कलिला मुना, केराका पात, निंगालो घारी अनि धागो कातेजस्तै सम्बन्धहरू जोडिने र चुँडिने आदिवासी विम्ब र प्रतीकहरू थिए ।

नेपाली रंगमञ्चमा मौलिकताको बहस चलिरहेको बेला मण्डला थिएटरमा मञ्चन भइरहेको ‘जोखाना’ पुर्वी नेपालबाट चलेको किराती सभ्यताको लयदार हावा हो । द्वन्द्वकालको परिवेश बोकेको हुनाले यो हावाको लय कहिले प्रेमिल बन्छ, कहिले पीडादायी त कहिले हुन्डरीजस्तै ।

कहिले साकेलाले प्रेमको भाका हाल्छ, कहिले पीडा बोल्छ । बिजुवा (सेलेमी) हातमा खुकुरी र स्याउलाको मुठा बोकेर बौलाएर उफ्रिएको जस्तै लाग्छ । किनभने पुराना ज्ञान, विश्वास र सभ्यता कुल्चिएका छन् । लत्याइएका छन् । बिजुवा किरात सभ्यताको एक प्रतीक हुन् ।

एक दशक चलेको सशस्त्र द्वन्द्वको हुन्डरीले १७ हजार जनाको ज्यान उडायो । हजारौंको परिवारमा द्वन्द्वको त्यो हुन्डरी पस्यो । थुप्रै बेपत्ता भए । ‘जोखाना’ त्यही समयको एउटा बेपत्ता परिवारको कथा हो । अहिले पनि बेपत्ता परिवारको आवाज उठ्छ बेला बखत ।

द्वन्द्वकालमा भएको भौतिक र जनसांख्यिक क्षतिको लेखाजोखा सुनिन्छ गोष्ठी र सेमिनारहरूमा । तर, त्यो समय भएको सांस्कृतिक क्षतिको कतै बहस भएको सुनिँदैन । नाटक ‘जोखाना’ ले नसुनिएको यही सांस्कृतिक क्षतिको कुरा गर्छ । हाम्रो परम्परा, जीवनशैली र समाजबाट लोप भएका गीत, नृत्य, आदिवासी अभ्यास र ज्ञानको कुरा गर्छ । माटो, संस्कृति र लाहुरे संस्कारबीचको अन्तरद्वन्द्वको पनिसवाल उठाउँछ ।

नाटकको मूल कथ्यमा छन् जसबहादुर राई र धनसुवा । गाउँका सबैजना मिलेर साकेला नाच्दै गर्दा एक दिन जसबहादुरले बाटो बिराए । बाटो बिराउनु एउटा विम्ब हो । बाटो बिराएर अर्कै बाटो हिँडेपछि मान्छे पनि अर्कै बन्छ । जसबहादुर अर्कै बने या बनेनन्, नाटकले खुलाउँदैन ।

तर, उनले बाटो बिराएर लामो समय गाउँ नफर्केपछि परिवार र गाउँलेहरूले भोग्नुपरेको समस्याले नाटकलाई गति दिन्छ । यही बेला भाउजूलाई देवरले मन पराएर साथ दिन खोज्छन्, जुन किरात सभ्यताको अर्को सुन्दर अवेशष हो । यद्यपि पूर्वेली ठाडो किरात लवजका कारण दर्शकले देवरप्रति भिन्न दृष्टिकोण बनाउन सक्छन् ।

हराएको मान्छे लामो समय नफर्केपछि किरात प्रचलनअनुसार गरिने मृत्यु संस्कार परम्परा निकै लोभलाग्दो लाग्छ नाटकमा । यस्तो बेला आत्म बोलाउने र त्यसलाई बाटो देखाउने बिजुवा (सेलेमी) को भूमिकामा अनिल सुब्बाले गरेको अभिनयले दर्शकलाई पनि भिन्न ऊर्जा दिन्छ । काजकिरिया सकियो । द्वन्द्वको घाउ बिर्सिन थाले मानिसले ।

गाउँमा ट्याक्टर चल्ने बाटो पुग्न थाल्यो । तर, अपांग बनेका जसबहादुर राई अचानक फर्किआए । धनसुवा त बूढो फर्केपछि खुसी हुने नै भइन् । तर, बिजुवाले बोलाएको आत्म के थियो ? कसको थियो ? के हजारौं वर्ष पुरानो मुन्धुम आधारित आत्म बोलाउने परम्परा झूट हो ? दर्शकको मनमा प्रश्न पस्छ ।

यहीँनेर चलाखीपूर्ण ढंगले आफ्नो दृष्टिकोण घुसाएका छन् नाट्य रूपान्तरण गरेका राजन मुकारुङले । कुनै बेला ‘सिर्जनशील अराजकता’ बोकेर हिँडेका यिनले किरात सभ्यतामा महत्त्वपूर्ण मानिने चुलोको तीनवटा ढुंगामार्फत भनेका छन्– ‘अहिले सारा संसार जल्यो, गल्यो । मान्छेहरूको विश्वास टुट्यो । तीन चुला पनि पुज्न छाडे ।

जोखाना त हंसहरूले भन्ने हुन्, पितृहरूले भन्ने हुन् । आत्महरूले भन्ने हुन् । अहिले आत्माहरू भडकिएका छन् । पितृहरू नै भडकिएका छन् । कुनै पनि कुरा ठीक ठाउँमा छैन भने जोखाना कसरी मिल्छ ?’ पितृहरू भडकिएको यो सन्दर्भ नाटकको निकै शक्तिशाली विम्ब हो । पितृ अर्थात् सभ्यता ।

आयतीत ज्ञान, बजार र बाहिरिया विश्वासले घर गर्दै गरेको तेस्रो विश्वको सीमान्तकृत समाजमा आफ्नै सभ्यताप्रति अविश्वासको प्रश्न उठ्नु स्वाभाविक छ । ठूला ज्ञान परम्परा र सभ्यताले साना ज्ञान परम्परा र सभ्यतालाई गलत सावित गर्दै गइरहेको समयमा किरात बिजुवाले गरेको जोखाना कसरी मिल्छ ?

नाटक हेरेपछि दशक लामो सशस्त्र द्वन्द्व कसका लागि थियो ? अर्को गम्भीर प्रश्न उठ्छ । जसबहादुर राई अपांग बनेर घर फर्के । पिँढीमा बसेर लामो श्वास ताने । के उनी बन्दकी राखेको जग्गा फिर्ता गराउन युद्ध लडेका थिए ? या, कसैको राजनीतिक प्रयोगको सिकार बने ? सबै प्रश्नको उत्तर एउटै सिर्जनामा आउनुपर्छ भन्ने छैन ।

तर, नाटकको अन्त्यतिर ‘समय आएपछि समुद्रमा पुगेको माछा पनि उभौली लाग्छ’ भन्दै जसबहादुरले घर छाडेको दृश्य भने निकै अर्थपूर्ण लाग्छ । त्यो समय कसरी आउला ? शीतलता छरेर आउला या हुन्डरी बनेर ? जवाफ नेपाली राजनीतिको भावी दिशाले बताउला । नाटकले भने धेरै परसम्म सोच्ने सुविधा दिन्छ दर्शकलाई ।

बीएस राईको कथाकृति ‘हिउँमाझी’ को कथा ‘जोखाना’ आधारित हो नाटक । नाट्य रूपान्तरण क्रममा संवादलाई लयात्मक र काव्यिक बनाउन निकै मिहिनेत गरेका छन् राजन मुकारुङले । पूर्वेली नेपाली समाजको सांस्कृतिक चिनारी मुन्धुमी गीतको प्रयोगले नाटक अब्बल बनेको छ ।

पात्रको मनोदशा बलियोसित दर्शकसँग सञ्चार गराउन गीतले सघाउँछ । कथाको बहाब बाटो खन्ने दृश्यमा पुग्दा मूलकथाबाट चिप्लिएर हल्का बहकिएको भान हुन्छ । यद्यपि किरात शैलीको हसिमजाक, ठाडो संवाद र शारीरिक हर्कतले दर्शकलाई मनोरञ्जन दिन्छ । गीत लेखनमा राजनलाई अभिनेता दयाहाङ राईले पनि सघाएका छन् ।

पात्रहरूको मनोवैज्ञानिक उतारचढावलाई बल पुग्ने गरी प्रकाश गन्धर्व, दिवान रसाइली र आशिष शाहीले प्रत्यक्ष संगीत दिएका छन् । धनसुवा बनेकी संगीता थापाको धीमा शरीर भाषा र अभिनयले किरातीपन दिन्छ । पुष्प लामा, निशा पाख्रिन, सञ्जीव राई, मनहाङ लावती, पार्वती राई, कवि राई, सुदर्शन क्षेत्री, दिवान रसाइली, मनिकुमार राईले पनि राम्रो अभिनय गरेका छन् । यी कलाकारलाई यथार्थपरक अभिनयसँगै केही मौलिक शरीर भाषा दिएर निर्देशक चाम्लिङले काम देखाएका छन् ।

सेट डिजाइन सामान्य भए पनि किरात सभ्यता र प्रकृतिसँगको त्यसको सामीप्यता झल्किन्छ । युद्धका बेला प्रयोग गरिएको छायादृश्यपनि रोचक लाग्छ । पात्रको मुड र कथाको परिस्थिति अनुसारको प्रकाश परि–कल्पना पनि प्रशंसा–योग्य छ । वैशाखपहिलो सातासम्म नियमित मञ्चन हुने नाटक ‘जोखाना’ नेपाली रंग–मञ्चको मौलिक रंग–मञ्चीयप्रस्तुति हो ।

प्रकाशित : चैत्र १४, २०७५ ०८:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्