कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आँखीझ्यालबाट चियाउँदा

ब्रजेश

काठमाडौँ — 'आँखीझ्याल' मा रमण घिमिरेले तेह्र जना नेपाली साधकहरूको व्यक्तिचित्र उतारेका छन्  । जसलाई आम श्रोता र पाठकले उनीहरूका कृतिका आधारमा मात्र चिन्छन्  ।

आँखीझ्यालबाट चियाउँदा

घिमिरे आफ्नो पेसा, रहर र रुचिका कारण ती साधकहरूसँग उठबस गर्न पाउने थोरै मानिसमध्ये हुन् । घिमिरेले ती साधकहरूसँग समय बिताउन पाए, कुराकानी गर्न पाए । कुराकानीबाट कुराउनीजस्तै स्वादिला परिकारहरू निकाल्न सकिन्छ । अरूले ती कुराउनी आफैं खान्थे, घिमिरेले भने पुस्तकको रूपमा पाठकलाई बाँडेका छन् ।


आँखीझ्यालबाट बाहिर हेर्दा संसारै देखिन्छ तर संसारले आँखीझ्यालभित्रबाट चियाइरहेको मानिसलाई देख्दैन । आम दर्शक श्रोता र पाठक बाहिरका संसार हुने गर्छन् भने साधकहरू आँखीझ्याल पछाडिका आँखा । यस पुस्तक मार्फत लेखकले त्यो भूमिका उल्ट्याइदिएका छन् । पाठकहरूले फराकिलो आँखाले उनीहरूलाई हेर्न पाउने बनाइदिएका छन् । त्यसले गर्दा दर्शक–श्रोता र पाठकहरूले सुनिरहेका गीत पनि अब फेरि सुन्दा अरू आयाम फेला पार्न सक्छन् । पहिले पढेका कुराहरू फरक लाग्न सक्छन् । आममानिसले सर्जकहरूलाई सिर्जनाको चुलीमा पुगेपछि मात्र चिनेका हुन्छन् । तसर्थ उनीहरूका रचना, सङ्गीत र गायनजस्तै सुन्दर र कोमल छवि बनाएका हुन्छन् । तर के रोमान्टिक गीत लेख्ने, सङ्गीत भर्ने वा गाउनेको जीवन पनि त्यति नै रोमान्टिक थियो होला त ? अमर, अजर मानिएका कृतिहरूको रचना कुन अवस्थामा, कस्तो सोचले प्रेरित भएको थियो होला ? त्यस्ता भित्री जानकारीहरू ‘आँखीझ्याल’ ले दिएको छ ।


हामी गहनाको सौन्दर्य, बुट्टा कुँदाइ, कलाकारिता र मिहीन कारीगरी देख्नेहरूले सुन कति आगोमा पोलियो होला, कति घनको चोट खायो होला, कति चेप्टियो होला र कति पटक बाङ्गियो होला भन्ने त साधारणतया कल्पना नै गरेका हुँदैनौं । लेखकले त्यो क्रम देखाइदिएका छन् । त्यति मात्र नभई अप्रत्यक्ष रुपमा उनीहरूको मानसिकता, व्यक्तित्व र लेखाइ वा गायन किन यो रूपमा आयो भन्ने मनोवैज्ञानिक विश्लेषण पनि गरेका छन् । आखिर मानिस आफ्नो अनुभव र भोगाइले नै खारिन्छ । त्यसको एउटा सानो उदाहरण ईश्वर बल्लभको प्रसंगमा पढ्न पाइन्छ । राणाहरूले उनका पितालाई जेलमा जाकिदिएपछि उनकी माताले खाएका हन्डरले बालक ईश्वर बल्लभको मानसिकतामा जुन अप्रत्यक्ष प्रभाव पार्‍यो, त्यसैले उनलाई समवेदनशील र प्रखर कवि बनाएको हुनुपर्छ भन्ने कुरा पाठकले बुझ्न सक्छ । बल्लभकी माताको बारेमा पढिसकेपछि पाठकहरूले उनको कविता ‘मेरी आमाले आत्महत्या गरेको देश’ दोहोर्‍याएर पढ्दा अर्कै अर्थ भेट्छन् । क्षेत्रप्रताप अधिकारीको संघर्षको कथा पढेपछि उनका गीतहरू अर्कै लाग्छन् ।


त्यति मात्र नभई ‘आँखीझ्याल’ पढिसकेपछि पाठकले अरू थुप्रै कविता गीत र सङ्गीतका बहुआयामहरू भेट्छन् । माथि उल्लिखितबाहेक पुस्तकमा उनले अम्बर गुरुङ, कमलमणि दीक्षित, जगदीश घिमिरे, डायमनशमशेर, पेमला गुरुवाचार्य, फत्तेमान, भीम विराग, भीमबहादुर थापा, माणिकरत्न, रामशरण दर्नाल र डा. राममान तृषितजस्ता मूर्धन्य साधकहरूका शब्दचित्र कोरेका छन् । ती सबैका केही यस्तै रोचक, अनौठा र गम्भीर पाटाहरू खोतलिएका छन् । हरेक साधकहरूबारे लेख्दा भूमिका बाँधेर पाठकहरूलाई अलिअलि ‘क्लु’ दिँदै अलि पछि गएर मात्र त्यो साधकको नाम लेख्ने लेखकको एउटा टड्कारो शैली देखिन्छ । सुरुमा यो खेल रमाइलो लागे पनि हरेकजसोमा त्यही दोहारिँदा अलिकति खल्लो लाग्न सक्छ । एकदुई ठाउँमा आलेखको बुनोट अलि अलमलिएको जस्तो लाग्छ । कतैकतै पढिसकेका पानाहरू फेरि पल्टाउनुपर्ने हुँदा प्रसंगहरूले अघिपछि हुने क्रममा अलि फड्को मारेका हुन् कि भन्ने लाग्छ । हुन त पाठकलाई बाँधेर राख्ने उनको यो नियोजित ‘चाल’ पनि हुन सक्छ । ‘आँखीझ्याल’ नेपाली साहित्य सङ्गीतका केही प्रतिनिधिमूलक व्यक्तित्वका बारेमा सोधखोज गर्नेहरूका लागि सन्दर्भ ग्रन्थको रूपमा रहनेछ भन्न सकिन्छ ।


‘आँखीझ्याल’ को मुख्य विशेषता लेखकीय इमानदारी हो । आफैं गीतकार र लेखकका रूपमा स्थापित रमण घिमिरे अरू गीतकार र उनीहरूका गीतको बारे कुरा लेख्दा पटक्कै पनि विचलित भएका छैनन् । मानवीय स्वभावलाई उनले कसरी जितेका हुन् त्यो त उनै जानून् तर उनले कसैको कतै पनि नकारात्मक पाटो केलाएका छैनन्, कसैको खोइरो खनेका छैनन् । ती साधकहरूसँग नजिकबाट संगत गर्दा, निरन्तर भेटघाटमा रहँदा उनले धेरै कुराहरू पनि अवलोकन गरेका होलान् । कुनै पनि मानिस गुणै–गुणको पोको हुँदैन । रमण घिमिरेले त्यस्ता कुरा कोट्याउने काम गरेका छैनन् । केहीअघि भएको ‘आँखीझm्याल’ को अन्तरक्रियामा वत्ताहरूमध्ये एकले टिप्पणीका क्रममा त्यही विषयमा कुरा उठाएकी थिइन् । उत्तरमा घिमिरेले भनेका थिए, ‘यो पुस्तक मैले सम्मान गर्ने व्यक्तिहरूका बारेमा लेखेको हुँ । मैले उहाँहरूको बेइज्जत गर्न लेखेको होइन । नराम्रा कुराहरू कसको जीवनमा हुँदैन र ?’
हुन पनि हो । समुद्रको गहिराइमा गोता लगाउँदा मोती पनि भेटिन्छ, झ्याउ पनि । के टिपेर ल्याउने भन्ने कुरा त गोताखोरको आफ्नो चरित्र, उद्देश्य र रुचिमा भर पर्छ । रमण घिमिरेले भने मोती टिपेर पाठकहरूका लागि पस्किदिएका छन् ।
twitter: @ brazeshk


आँखीझ्याल
लेखक : रमण घिमिरे
प्रकाशक: मञ्जरी पब्लिकेसन
मूल्य: रू. २३५/–

प्रकाशित : चैत्र २३, २०७५ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?