क्रान्तिका 'मुनिम'

प्रजातन्त्रका लागि भएको क्रान्तिका एक सेनानी श्याम तामाङलाई अहिले पनि त्यसबेला मारिएका १६ जनाको उपेक्षा भएको देख्दा चित्त दुख्छ ।
जनक नेपाल

काठमाडौँ —  राणा शासनविरुद्ध कांग्रेसले गरेको २००७ सालको सशस्क्र त्रान्तिका एक योद्धा श्याम तामाङ अहिले ८८ वर्षका भए  । क्रान्तिभर उनी तत्कालीन जनमुक्ति सेनाका कमान्डर पुरन सिंहका प्रमुख स्वकीय सचिवसरह थिए  ।

ZenTravel

बैठकको माइन्युट लेख्ने, भारतीय जेलमा रहेका लडाकुको मुद्दा लड्ने माक्र होइन त्रान्तिकारीलाई घरखर्च र पकेटमनीसमेत उनै तामाङले वितरण गर्थे ।


तामाङ दार्जिलिङको खर्साङ माविमा पढ्दै थिए । कांग्रेस नेताहरू स्कुल–स्कुलमा संगठन खोल्न आउँथे । गोर्खा समुदायलाई उनीहरू राणाको ज्यादती र क्रान्तिको आवश्यकताबारे बताउँथे । शिक्षकहरूले पनि स्कुलमा यस्तै कुरा गर्थे । बारम्बार एउटै कुरा सुनेपछि तामाङको मनमा पनि विद्रोही भावना जागेको थियो । १८/१९ वर्षका तामाङ एक दिन स्कुलमा आएका नेता पुरन सिंहको पछि लागे ।

Meroghar


पुरन सिंह र उनका साथीहरूले कालिङपोङ, खर्साङ र दार्जिलिङका थुप्रै युवाहरूलाई एकजुट बनाएर गोरखपुर लैजादै थिए । गोरखपुर नपुग्दै उनीहरू भारतीय प्रहरीको घेराबन्दीमा परे । सुरक्षा कडा पारिएको थियो । उनीहरूलाई बसेको ठाउँबाट बाहिर निस्कनसमेत दिइएन । त्यसको रहस्य तामाङले पछि मात्र थाहा पाए । खासमा त्यो दिन नेपालका प्रधानमन्त्री मोहनशमशेर नयाँ दिल्ली जाँदै रहेछन् । मोहनशशमेर काठमाडौंबाट घोडामा वीरगन्ज पुगेका थिए । उनलाई लिन रक्सौलसम्मै विशेष रेल आउँथ्यो । रेलमा राणाबाहेक अरू यात्रु हुँदैनथे । त्यो रेल नै बम पड्काएर उडाइदिने योजना चुहिएपछि मुक्ति सेनालाई एक हप्तासम्म बाहिर निस्कनै दिइएको थिएन । मोहनशमशेर दिल्ली पुगेर फर्किएपछि माक्र जनमुत्ति सेनाले हिँडडुल गर्न पाएको तामाङ सम्झिन्छन् ।


‘त्यतिबेला मोहनशमशेरलाई भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले नेपाली कांग्रेसले क्रान्ति सुरु गर्न लागेको जनाउ दिएर भनेका थिए रे— क्रान्ति भयो भने राणा शासन जोगिन्न । कांग्रेससित मिलेरसरकार बनाऊ । पार्टी खोलेर चुनावबाट सरकारमा आऊ, बरु चुनाव जित्ने तरिका हामी सिकाउँला,’ तामाङले भने, ‘मोहनशमशेरले त्यो सल्लाह रुचाएनन् । रैतीसँग मिलेर त कसरी शासन गर्ने ? हाम्रो त बेइज्जत हुन्छ भनेछन् ।’


क्रान्तिलाई दाजुभाइको एक–एक करोड
भारतको पटना बसेर क्रान्तिको तयारी गरिरहेका बीपी कोइराला विराटनगर जुटमिलको हडतालपछि भएको धरपकड र गिफ्तारीपछि सशस्क्र त्रान्तिका लागि तयार भएको तामाङको भनाइ छ । पटना बैंकरोडको गान्धी मैदान छेउमा बीपीको निवासको हलमा कांग्रेसको बैठक बस्थ्यो । हलमा कुर्सी थिएन, दरी बिच्छाइएको हुन्थ्यो । त्यसैमा सेतो तन्ना ओछ्याएर नेताहरू बस्थे । ‘अरू त सजिलै बस्थे, सुवर्णशमशेर भने दरीमा बस्न निकै अप्ठ्यारो मान्थे । राणा न परे, पलेटी मार्नै सक्दैनथे । बैठकमा दुई घण्टा काट्नै मुस्किल पर्‍थ्यो,’ तामाङ भन्छन् । सशस्क्र त्रान्तिको योजना कलकत्ताको फोटी चौरङ्गीमा रहेको सुवर्णशमशेरको १० तले घरमा बनेको तामाङ स्मरण गर्छन् । बैठकमा क्रान्तिको खर्च कसरी जुटाउने, हतियार कसरी जुटाउने, फ्रन्ट लाइनमा को लड्ने भन्नेबारे छलफल चल्यो । सुवर्णशमशेरले सोधे, ‘क्रान्तिमा कति खर्च लाग्ला ?’
बीपीले ‘२५/३० लाख लाग्न सक्ने’ बताए । ‘त्यतिले कहाँ पुग्छ’ सुवर्णले भनेछन्, ‘एक–डेढ करोड त पक्कै लाग्ला ।’ त्यसपछि सुवर्णले पार्टीका नेताहरूलाई आश्वस्त पार्दै भनेछन्, ‘चिन्ता गर्नुपर्दैन हामी दाजुभाइले एक/एक करोड बेहोर्ने सल्लाह भएको छ ।’
भारतीय र ब्रिटिस आर्मीका रिटायर्ड गोर्खा सैनिकलाई भर्ती गर्ने निर्णय गरियो । छुट्टीमा आएका गोर्खा पनि सामेल भएका थिए । जनमुक्ति सेनाको नामाकरण ज्ञानबहादुर (जीबी) याक्थुम्बाले गरे । ‘ब्ल्याक मार्केट’ बाट बाह्रबोर, स्टेनगनजस्ता थुप्रै हतियार किनियो । केही हतियार भारतीय राजनीतिक दलहरूले उपलब्ध गराए । अंग्रेज हिँडेपछि हैदराबादका निजामले आफ्नो राज्य भारतमा मिसाउन अस्वीकार गरेका थिए । भारतीय सेनाले निजाममाथि आक्रमण गरेका बेला जनतालाई पनि हतियार बाँडेको थियो । लडाइँ सकिएपपछि कतिले ती हतियार जमिनमा गाडेर राखेका थिए । तिनै हतियार किनेर मर्मत गरेर मुक्ति सेनालाई दिइयो । देहरादुनको ब्यारेकका अफिसरबाट हतियार किनिएको तामाङ सम्झन्छन् ।


तामाङ भर्खरका युवा थिए । बीपी, मातृका, सुवर्णशमशेर, महेन्द्रविक्रम शाह, पुरन सिंह, जीबी याक्थुम्वा, थिरबम मल्ल, सूर्यप्रसाद उपाध्यायको बैठकमा उनी भारतीय जेलमा रहेका जनमुक्ति सेनाका मुद्दाबारे ब्रिफिङ गर्न जान्थे । लडाकुलाई मासिक एक सय, पकेटमनी ३ रुपैयाँ हतियारसहित हिँडेका थुप्रै लडाकु बारम्बार पक्राउ पर्थे । लखनउ जेलमा मात्र दर्जनौ थुनिएका थिए । तामाङको अंग्रेजी राम्रो थियो । त्यसैले अदालतमा मुद्दा हेर्न र भारतीय पार्टीहरूसँग सम्बन्ध विस्तार गर्न उनैलाई खटाइयो । ‘मुद्दा लडेर जेलमा रहेका साथीहरू छुटाउने जिम्मा मेरो थियो । भारतीय समाजवादी र कांग्रेस पार्टीबाट राम्रो सहयोग पाइन्थ्यो,’ उनी भन्छन् । कतिसम्म भने लडाकुलाई दिनभर बिरामी छ, अस्पताल लैजानुपर्छ भनेर बाहिरै राख्ने व्यवस्था मिलाएका थिए । रातमा भने जेलमै बास बस्नुपर्थ्यो । उनले त्यो बेला सिलगुडी, दरभंगा, लखनउमा दर्जनौं मुद्दाहरू हेरे । वकिल राख्ने र बन्दोबस्त मिलाउने काम गरे ।


लडाकुको घरखर्च र पकेटमनीसमेत सुवर्णशमशेर बेहोर्थे । मनीअर्डरबाट पैसा उठाउने काम तामाङले गर्थे । पुरन सिंहको घर भारत हिमाञ्चलको भागसुमा थियो । जीबी याक्थुम्बाको परिवार दार्जिलिङको खर्साङमा बस्थ्यो । लडाकुलाई आर्थिक स्थिति हेरेर मासिक एक सयदेखि २ सय ५० रुपैयाँसम्म पठाउने गरेको उनी बताउँछन् । पकेटमनी भने सबैले तीन रुपैयाँ पाउँथे । ‘सुवर्णले पुरन सिंहलाई दिन्थे । उनले घरघर पठाउन र लडाकुलाई बाँड्न मलाई दिन्थे,’ तामाङ भन्छन्, ‘झन्डै एक बर्षसम्म हरेक महिना दसौं हजार पैसा पठाएँ ।’
जनमुक्ति सेनाको अस्थायी क्याम्पमा गएर रासनपानीको पैसा पनि उनी बुझाउँथे । भर्खर विश्वयुद्ध सकिएकाले झट्ट चामल पाइँदैनथ्यो । दरभंगामा अंग्रेजले छाडेको ब्यारेक खाली थियो । तामाङसहित झन्डै १ सय ५० लडाकु त्यहाँ बस्थे । लखनउको महानगरमा सय जति थिए । चिडियाखाना छेउ कश्मीरी ब्राह्मणको घर थियो । त्यहाँ ६० जना जति बस्थे । ती सबै अस्थायी क्याम्पको व्यवस्था सुवर्णले नै गरेका थिए ।
विराटनगरमा हुँदा तामाङले एकपटक गिरिजाप्रसाद कोइरालाका लागि कपडा किनिदिनुपर्ने स्थिति आयो । ‘कोइराला सेतो पइजामा र कुर्ता लगाउँथे । त्यही पाइजामा पनि घुँडाबाट फाटेछ । एक दिन जीबी याक्थुम्बाकहाँ आएर भने— जीबीजी मेरो त कपडा फाट्यो । किन्दिनुपर्‍यो । याक्थुम्बाले मतिर हेरेर ‘ल गिरिजाबाबुलाई कपडा किनिदिनुहोला’ भन्नुभयो । उनले के कस्तो कपडा किन्ने भनेर गिरिजाप्रसादलाई सोधेनन् । ‘सिधै बजार गएर उलन मिसिएको एउटा कट्राइज पाइन्ट किनेर ल्याए र गिरिजाबाबुलाई दिएँ,’ तामाङ सम्झिन्छन् ।


त्यो २००७ साल
१९५० नोभेम्बर ११ (भाइटीका) को राति ११ बजेर ११ मिनेटमा एकैसाथ वीरगन्ज, विराटनगर र झैरहवामा आक्रमण गर्ने मुत्ति सेनाको योजना थियो । वीरगन्जमा पुरन सिंह, जीबी याक्थुम्बा, थिरबम मल्लसहित श्याम तामाङ पनि खटिएका थिए । विराटनगरमा गिरिजाप्रसाद कोइराला र विश्वबन्धु थापा थिए । भैरहवाको नेतृत्व डा. केआई सिंहले गरेका थिए । वीरगन्ज हमला सफल भयो । राणाका १ सय ५० सिपाही बन्धक बनाइए । सबै हतियार कब्जा भए । टिनको बाकसमा रहेको ३५ लाख पनि हात पारे । भैहरवा र विराटनगर कब्जा गरेर मुक्ति सेना काठमाडौंतिर अघि बढ्यो । एकातिरबाट बनेपा धुलिखेल र अर्कोतिरबाट धादिङसम्म सेना आइपुगेपछि राणा आत्तिए ।
भारतीय डीएम र प्रहरी प्रमुखले प्रधानमन्त्रीको सचिवालयको खबर भन्दै ११ जनवरीमा मातृकाप्रसाद कोइराला, बीपी, सूर्यप्रसाद र सुर्वणलाई एक्सप्रेस मेलगाडी चढाएर दिल्ली पठाइदिए । १३ जनवरीमा हैदरावाद हाउसमा नेहरूले दुई दिनभित्र राणा र कांग्रेसका सात–सात जना मन्त्रीसहितको सरकार गठन गर्न सल्लाह दिए ।


‘बीपी आनाकानी गर्दै थिए,’ नेहरूले चेतावनीको शैलीमा भनेछन्, ‘राजा र मोहनशमशेर मानिसके । अब कांग्रेसले चाहेर माक्र त्रान्ति हुँदैन ।’ राजा, राणा र भारत एकातिर भएपछि कांग्रेस एक्लिएर सम्झौता गर्न बाध्य भएको तामाङको बुझाइ छ ।
२००७ फागुन ४ गते काठमाडौं गौचरनमा राजपरिवारको बाहेक दुइटा जहाज उत्रिए । दिल्लीबाट आएका यी जहाजमध्ये एउटामा कांग्रेसका नेता र सात जना मन्त्री थिए । अर्कोमा जीबी याकथुम्बा, पुरन सिंहसहित तामाङसमेत जनमुक्ति सेनाको टोली थियो । ‘एकातिर छातीभरि तक्मा लगाएका, बुट टल्काएका सेना थिए । अर्कोतर्फ हामी कपाल बढेर जिंग्रिङ्ङ भएको, जुत्ता–चप्पल लगाएका थियौं,’ तामाङले भने, ‘जनमुक्ति सेनाको त युनिफर्म पनि थिएन, आफूखुसी कपडा लगाएका थियौं । राजालाई के भन्नुपर्छ भन्ने पनि थाहा थिएन । ‘जय नेपाल’ भनिदियौ । जानेको त्यही थियो ।’


दरबारबाट निस्केपछि कमलपोखरीमा रहेको थिरबम मल्लको दुईतले घरमा एउटा निर्णायक छलफल भयो । त्यही छलफलमा बीपीले जनमुक्ति सेनालाई खारेज गर्ने प्रस्ताव गरेको तामाङ बताउँछन् । ‘बीपीले भारतमा सुवासचन्द्र बोसको आजाद हिन्द फौजलाई राष्ट्रिय सेनामा नलिएको उदाहरण पेस गर्दै जनमुक्ति सेनालाई पनि खारेज गर्नुपर्ने बताएका थिए,’ तामाङ स्मृतिमा फर्किन्छन्, ‘लडाकु कमान्डरले भने चीन वा रसियाको रेड आर्मीजस्तै राखौं भन्ने अडान लिए ।’ राष्ट्रिय सेनाकै नाम जनमुक्ति सेना नाम राख्नुपर्ने तर्क पनि थियो । ‘हामीसँग हरेक मोर्चामा हारेको सेनालाई हामीले नेतृत्व गर्नुपर्छ भन्ने माग थियो,’ तामाङ भन्छन्, ‘नयाँ सरकारका गृहमन्त्री बीपीले मानेनन् ।’ प्यारामिलिटरी ‘रक्षा दल’ बनाउने प्रस्ताव आयो । २००७ साल फागुन २८ गतेको मन्त्रिपरिषद्ले रक्षा दल गठनको निर्णय गर्‍यो ।

२००७ सालको क्रान्ति ६८ वर्षमा पुगेको छ भने तामाङ ८८ वर्षमा । रक्षा दल गठन भएपछि कमान्डरहरू पुरन सिंह, जीबी याक्थुम्बा, बद्रीविक्रमलगायत अञ्चलाधीश भए । रक्षा दललाई नेपाल प्रहरीमा रूपान्तरण गरिएपछि तामाङ पनि प्रहरी बन्न पुगे । २०१७ मा राजा महेन्द्रको ‘कू’ पछि राजनीति फेरियो । प्रजातन्क्रका लागि त्रान्तिको नेतृत्व गर्ने बीपी कोइराला, गणेशमानलगायतका नेताहरूलाई जेल हालियो भने पञ्चहरूले सत्तामा राइँदाइँ गरे ।


महेन्द्रको ‘कू’ विरुद्ध बीपी र सुवर्णशमशेरले पुनः सशस्क्र त्रान्तिको प्रयास गरे । ‘जितिसकेको क्रान्ति छाडेर कांग्रेस सत्तामा पुगेको थियो । त्यसैले उसले चहादैमा अर्को क्रान्ति हुने स्थिति थिएन । हामीले सजिलै निस्तेज पार्‍यौं,’ नेपाल प्रहरीको डीएसपीका रूपमा २०२४ सालमा सेवानिवृत्त भएका तामाङले भने । राजनीतिबाट टाढा पुगेका तामाङ अहिले नेपालगन्जमा बस्दै आएका छन् । उनको ‘जनमुक्ति
सेना ः एउटा नलेखिएको इतिहास’ पुस्तकसमेत प्रकाशित छ ।


झmन्डै ३ महिनामा टुंगिएको २००७ सालको क्रान्तिमा जनमुत्ति सेनाका १६ जना मारिए । त्यसपछि कांग्रेसका धेरैवटा सरकार बने । तर, प्रजातन्क्रका लागि त्रान्तिमा ज्यान गुमाएका लडाकुलाई नसम्झिएकोमा तामाङको ठूलो चित्तदुखाइ छ । भन्छन्, ‘देशमा हजारौं सहिदको सूची छ । ती १६ भाइको नाम कतै छैन,’ उनी दुखेसो गर्छन्, ‘बीपी र गिरिजाबाबुले त जनमुक्ति सेनालाई सम्मान दिएनन्, अब झन् कसले देला ?’
twitter @NepalJanak

प्रकाशित : चैत्र ९, २०७५ १२:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

डबलीमा दुर्गालाल

'फूलको आँखामा...' लेख्ने कवि दुर्गालाल श्रेष्ठ नेपाल भाषा र डबली नाटकका पनि स्थापित लेखक हुन् ।
कान्तिपुर संवाददाता

काठमाडौँ — पचास वर्षअघिको काठमाडौं  । अहिलेका जस्ता मनोरञ्जनका साधन थिएनन्  ।

प्रमुख मनोरञ्जन थियो, दबूप्याखँ अर्थात् टोलटोलमा डबलीमा खेलाइने नाटक । नाटक देखाउन ठाउँठाउँमा स्थायी रूपमा डबली हुन्थे । साउनको आधाआधीदेखि भदौ–असोजसम्म दबूप्याखँ देखाइन्थ्यो, रोपाइँ सकिएर दसैं नआउन्जेल । टोलका केटाहरू मिलेर नाटकमण्डली गठन गर्थे र नाटक बनाउँथे । टोलटोल, गाउँगाउँको अनुरोधमा नाटकमण्डलीहरू बोलाएका ठाउँसम्म आफ्ना नाटक देखाउन जान्थे । दर्शकले रुचाएका नाटक महिनौं चल्थे ।२००४ सालतिरको कुरो हो । दुर्गालाल भरखर ११–१२ वर्षका थिए । उनको घर असननजिकै न्हाय्कंटोलको छिमेकी टोल थाय्मदुका केटाहरू न्हूबहालमा ‘सत्तलसिंह महाराज’ नामको डबली–नाटकको तयारी गर्दै थिए । गीत, संगीत, संवाद, अभिनयको पूर्वाभ्यास भइरहेको थियो । दुर्गालाल र उनका टोलका केटाहरूलाई यसले तान्यो । उनीहरू दैनिक पूर्वाभ्यास हेर्न जान्थे । केही दिन उनीहरूले भित्रै बसेर पूर्वाभ्यास पाए ।


एक दिन भने उनीहरूले जति ढक्ढक्याउँदा पनि ढोका खुलेन । भित्रबाट गाएको बजाएको आवाज आइरहेको थियो । उत्सुक दुर्गालालले ढोकाको प्वालबाट भित्र चियाए । उनका आँखाले भित्रको दृश्य ठम्याउनमात्र के खोज्दै थिए, एउटा सुइरोजस्तो आएर उनको आँखामा छिर्‍यो । ‘ऐया’ उनी आँखा छोप्दै रुँन थाले । भित्रबाट कसैले औंलाले उनको आँखामा घोचिदिएको थियो । औंलाले घोचेको आँखामा थियो तर चोट भने मनमा पर्‍यो । त्यही चोटमा दुर्गालालले घोषणा गरे– हामी आफैं नाटक बनाएर देखाउने । साथीहरू पनि जोशिए– ‘ल, बनाउने, बनाउने ।’ नाटक बनाउन त बनाउने तर लेख्ने कसले ? कुनै नाम चलेको लेखकले ती केटाहरूलाई पत्याउने संभावना थिएन । दुर्गालाल नै अघि सरे, ‘म लेख्छु ।’


नाटक कसरी लेख्ने भन्ने त परै जाओस्, त्यसबेला दुर्गालालले सबै संयुक्ताक्षर पनि लेख्न सिकेका थिएनन् । नेपाल भाषामा त झन् थुप्रै संयुक्ताक्षर हुने गर्छन् । तर पनि नाटक लेख्दै गए । ‘प्रेम जीवन अन्धकार’ नाटक लेखन पनि पूरा भयो । त्यसपछि पूर्वाभ्यास सुरु भयो । नाटक प्रदर्शन पनि भयो । नाटक लोकप्रिय भयो । साउन सकियो तर पनि नाटक देखाउनका लागि अनुरोध गर्नेहरू सकिएनन् । त्यसरी महिना दिनभन्दा बढी नै त्यो नाटक चल्यो ।


त्यो नाटकमा अभिनय गरेका कलाकार भृगुराम श्रेष्ठको सम्झनाअनुसार त्यो बालनाटक थियो । दन्त्यकथाजस्तो देखिने । त्यसमा राजा नै तीनटा थिए । दुर्गालाललाई आँखामा घोच्ने जुन नाट्यसमूह थियो, त्यसको नाटकमा दुईवटा राजा भएकाले त्यसलाई जित्नुपर्छ भनेर दुर्गालालले आफ्नो नाटकमा तीन–तीनवटा राजा राखेका थिए ।

नास्तिकमाथि देउता
काठमाडौंमा जन्मेका भए पनि दुर्गालाल गरिबीमा हुर्किए । युवाकालमा प्रवेश गर्दा नगर्दै दुर्गालाललाई आफ्नो गरिबी र त्यसका कारण भोग्नु परेको अवहेलनाको बोध हुन थालेको थियो । प्रतिभासम्पन्न कविका रूपमा स्थापित हुँदै गइरहेकालाई कम्युनिस्ट नेताहरूले प्रभावित तुल्याउन खोजिरहेका थिए । त्यसमा एक शम्भुराम श्रेष्ठ पनि थिए । किसान नेता सानुलाल महर्जन पनि दुर्गालालका साथी थिए । त्यसबेला पुष्पलाल श्रेष्ठ सानुलालको घरमा भूमिगत जीवन बिताइरहेका थिए । त्यसैले उनको पुष्पलालसित पनि भेटघाट हुन थालेको थियो । तिनकै प्रभावले उनी बिस्तारै प्रगतिशील साहित्य लेखनमा ढल्किँदै गए ।


दुर्गालालले १७ वर्षको उमेरमा २००९ मा ‘ग्राम्य जीवन’ नाटक लेखे । यसलाई उनको पहिलो प्रगतिशील नाटक मानिन्छ । त्यसबेला उनको जोश कस्तो थियो भने, नाटक सुरु गर्नुअगाडि गाउने मंगलाचरण गाउने चलनलाई उनले तोड्न खोजे । मंगलाचरणमा कुनै देउताको आराधना गरिएको हुन्थ्यो, जुन देउता नमान्ने प्रगतिशील मान्यतासँग मेल खाँदैन । त्यस नाटकमा संगीत दिने गणेशप्रसाद श्रेष्ठ थिए । किसानको भूमिकामा अभिनय कलाकार प्रगतीशील थिए । जमिनदारको रुपमा देखिएका दुर्गालाल र विद्यार्थी रत्नकमल वैद्य (पछि राजपरिषद् सदस्य) थिए ।
बेलुका नाटकको पहिलो प्रदर्शन । बिहान अन्तिम पूर्वाभ्यास थियो । ‘डबलीको पूर्वतिरको घरमा रिहर्सल भइरहेको थियो, रत्नकमल त ‘मलाई अन्याय गर्‍यो’ भन्दै चिच्याउँदै उफ्रिन थाले । जोडले उफ्रिदै भित्तै भत्काउला झैं गर्न थाले । उनको मुख बांगिँदै झन्डै कानसम्म पुग्न लागेको थियो । अनुहार हेर्दै डरलाग्दो,’ दुर्गालाल सम्झिन्छन्, ‘टोलका मान्छेले मलाई खुब देउता छैन भन्थिस् नि अब देखिस् भन्दै भन्दै आँखा तर्न थाले ।’


अर्का कलाकार गोविन्द ‘चिकंमू’ले धूपबत्ती बाल्दै थिए रत्नकमलले बलेका धूपबत्ती नै चपाउँदै निल्न थाले । त्यो देखेर गणेशप्रसाद रुन थाले । ‘मंगलाचरण राख्ने भए म यो नाटकमा बसें, नत्र म यहींबाट हिँडें’ भन्न थाले । सबै दुर्गालालको विरोधमा उत्रे । उनलाई के गर्नु के नगर्नु भयो । उनले पनि ‘ल राख्ने भए राख्ने’ भने, अनि मंगलाचरणका लागि गणेशप्रसादले संगीत निकाल्न लागे । उनले गीत भर्न लागे । उनले मंगलाचरण त लेखे, तर कुनै देउताको आराधनामा होइन । बरु आफ्नै विश्वासको गीत लेखे । त्यो मंगलाचरण पछिसम्म पनि लोकप्रिय प्रगतिशील गीतको रूपमा रह्यो । त्यसको बोल (स्थायी) यस प्रकार छ :
झी ज्यामि ज्यापु सारा
शोषित व सर्वहारा
सो देश झीगु ख्युंगु
या लालस्वर्ग प्यारा
(अर्थात्, हामी किसान मजदुर सारा,
शोषित र सर्वहारा ।
यो देशको अँध्यारो
वा लालस्वर्ग प्यारा ।)

यो मंगलाचरणले उनीहरूमा परम्परा तोडेको भान पनि परेन र देउतालाई अपहेलना गरेको पनि भएन । तर गीत भने प्रगतिशील नै थियो । ‘अचम्म लाग्ने अर्को कुरा के छ भने यो गीत ठ्याक्कै छन्दमा थियो तर मैले त्यसबेलासम्म छन्द सिकेकै थिइनँ,’ दुर्गालालले भने ।

घुँगुरा बाँधेर नाच्ने देवी
नाटकको चलिरहेका बेला झन् अनौठो घटना भयो ।
‘एक दिन खाना खाइसकेर म र कलाकार साथी भृगुराम श्रेष्ठ आराम गरिरहेका थियौं । हाम्रै मण्डलीका प्रद्युम्नपतिराज पूजाकोठामा बसेर तबला बजाउँदै थिए । तबलाको ताल अलि नौलो थियो । सँगै तबलाकै तालमा घुँगुरा बजेको आवाज पनि सुनियो । ओहो हातमा घुँगुरा बाँधेर पनि तबला बजाउन हुने रहेछ भनेर हामी कुरा गर्दै थियौं । त्यसपछि त घुँगुरा र तबला दुवैको जोडका तोड प्रतिस्पर्धा हुने गरी थरीथरीको तालमा आवाज आयो,’ दुर्गालाल भन्छन्, ‘अचानक ‘मां ! मां !!’ भनी चिच्याएको आवाज आयो । हामी जाँदा त प्रद्युम्न भर्‍याङको बीचमा बेहोस थिए ।’
हामी सबै आत्तियौं । कसैले पङ्खा हम्काए, कसैले देउताको पूजा गरे । पछि होशमा आएपछि प्रद्युम्नले के भयो थियो भन्ने सुनाए, ‘म सधैंझैं तबला बजाउँदै थिएँ । कोही अगाडि आयो । उसको अनुहार देखिँदैनथ्यो । मात्रै खुट्टा देखिन्थ्यो । छमछम गर्दै आयो । उसले तबलासँग प्रतिस्पर्धा गर्दै घुँगुरा बजाउँदै नाच्न थाल्यो । मैले पनि प्रतिस्पर्धामा नै तबला बजाउन थालें । केही बेरको प्रतिस्पर्धापछि मैले उससँग नसक्नेजस्तो लाग्यो । उसले मलाई गिज्याउँदै हाँसेको भान भयो । त्यसपछि मलाई डर लाग्यो । अनि बेहोस भएँ ।’
त्यो घुँगुराको आवाज दुर्गालालले पनि सुनेका थिए, भृगुरामले पनि सुनेका थिए । त्यो घटना सम्झँदा दुर्गालालको कानमा अझै पनि त्यो घुँगुराको आवाज गुन्जिन्छ । त्यसपछि यो प्रगतिशील मण्डलीलाई ‘खुब देउता छैन भन्थ्यौ हैन ? कस्तो लाग्यो त ?’ भनी गिज्याउने बाटो नै खुल्यो ।


उनमा साहित्यिक सचेतता आएपछि भने एकाङ्की र गीतिनाटक लेख्न थाले । उनले १८ एकाङ्की लेखे छन् । जसमध्ये १४ वटा एकाङ्की सङ्ग्रह ‘प्याखंपिचा’ मा संकलित छन् । चारवटा एकांकी ‘उद्घाटन’ ‘कचिमचाया बाखं’ ‘मातंक्वथा’ र ‘भावना’ हाल कतै उपलब्ध देखिंदैनन् । ‘कचिमचाया बाखं’ नेपाल भाषाको लोकगाथामा आधारित हो । रणबहादुर शाहले बिफर आएका बच्चाहरूलाई उपत्यका काट्न लगाएको र त्यसबाट उपत्यकावासीले पाएको दुःखको कथा यसमा छ । उनले लेखेको ‘भावना’ नाटक अहिले कतै उपलब्ध छैन ।
डबली नाटकको निरन्तरतामा दुर्गालालका ‘पश्चात्ताप’ २०११ सालमा र ‘त्याग’ २०१४ मा प्रदर्शित भए । उनको अर्को अनुपलब्ध नाटक हो– ‘स्वय्नगु’ । यो अपेरा किसिमको नाटक हो । ‘स्वय्नगु’ नेपालभाषाकै पुरानो गीतमा आधारित नाटक हो ।


कवि भएकै कारणले होला दुर्गालालको नाटककार व्यक्तित्व गीतिनाटकमा सबभन्दा निखारिएको छ । ‘बिहांचुली’, ‘श्रीमती’ र ‘निमन्त्रणा’ उनका उपलब्ध गीतिनाटकहरू हुन् । ‘श्रीमती’ र ‘निमन्त्रणा’ गीतिनाटकका त क्यासेट पनि थुप्रै बिक्री भएका थिए । २०२५ सालमा राष्ट्रिय नाचघरमा ‘निमन्त्रणा’ गीतिनाटक प्रदर्शन हुँदा अन्त्यन्तै लोकप्रिय भएको थियो र २५ भन्दा धेरै दिनसम्म निरन्तर चलेको थियो ।

आर. मानन्धर

प्रकाशित : चैत्र ९, २०७५ १२:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×