२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

तिक्खर स्वादका कथा

कान्तिपुर संवाददाता

काठमाडौँ — अस्ट्रेलियालाई कर्मभूमि बनाएर लामो समयदेखि निरन्तर तर चुपचाप नेपाली साहित्याकाशमा उदाइरहेका सानु शर्मा आख्यानमा चिनिएको नाम हो  । बिशेषत डिजिटल वा छापा माध्यमबाट पाठक हृदयमा गहन सर्जकको स्थान बनाइसकेकी शर्माको यसअघि प्रकाशित उपन्यास ‘अर्धविराम’ पनि अझै चर्चामा छ  ।

उनका ‘जितको परिभाषा’, ‘अर्थ’, ‘विप्लवी’ उपन्यास पनि प्रकाशित भैसकेका छन् । शर्माको पहिलो कथासंग्रह ‘एकादेशमा’ यतिखेर बजारमा छ ।


यो सँगालोमा २१ कथा सिर्जना छन् । यसमा मूलतः सामाजिक परिवेश र नारी मनोविज्ञानको धरातलमा उभिएर लेखिएका कथा छन् । शर्माको लेखन विषय समाज, देश, युवा र तिनका भोगाइ नै हुन् । शर्माको कथा लेखन नारीकेन्द्रित छ । नारी मनोविज्ञान, भोगाइका सूक्ष्म अनुभूति, सामाजिक–पारिवारिक अवस्था, विवशता, लाचारी र मौनतादेखि सहनशीलताको पराकाष्ठासम्म कथामा उत्रिएका छन् । यो संग्रहका सबैजसो कथाले कुनै न कुनै कोणबाट नारी मुद्दाको उठान गरेका छन् । विषयको चुरो लगभग एकैजसो भएपनि प्रत्येक कथाले भिन्न स्वाद दिन सक्नु यो संग्रहको सबैभन्दा बलियो पक्ष हो । शर्माको लेखनशैलीको उत्कृष्ट पक्ष पनि यही हो । आफ्नो कर्मथलो अस्ट्रेलिया भएको र त्यहाँको वस्तुस्थितिबारे राम्रो जानकार भएकाले पनि होला, शर्माका अधिकांश कथाले सपनाको मोती टिप्न नेपालदेखि अस्ट्रेलिया पुगेका युवाको भोगाइ, मनस्थिति, प्रेम, विछोड र संघर्षको नालीबेली केलाएका छन् ।


नारी उत्पीडनका कुरा भन्नेबित्तिकै रुवाइधुवाइ, घोचपेच, पुरुषलाई गाली, परजीवीपन र पलायन नै हो भन्ने सामान्य बुझाइबाट माथि उठेर सोच्न यो संग्रहका ‘म’, ‘इनाम’, ‘गुनासो’ जस्ता कथा पढ्नु जरुरी छ । सबै पुरुष पत्थर हुन्नन् र मान्छेलाई परिबन्दले जेलेर आँसुको घुट्को पिउन कसरी बाध्य बनाउँछ भन्ने कटु सत्य जान्न ‘भाउजू’ कथाले धेरै सजिलो गरिदिन्छ । समाजमा नारी उत्पीडनको प्रसंग उठ्नेबित्तिकै पुरुषलाई सीधै प्रतिद्वन्द्वी कित्तामा उभ्याइहाल्ने कर्कश मान्यतालाई चिर्न ‘बाको चश्मा’ कथा पढ्नुपर्छ । प्रताडित र दमित महिलाको यथार्थलाई हतियार बनाएर कहिलेकाहीँ महिलाहरू नै कसरी खलपात्र बनेर निस्किन्छन भन्ने वास्तविकतालाई ‘बाको चश्मा’ले उजागर गरेको छ ।

पुस्तक: एकादेशमा
लेखक: सानु शर्मा
विधा: कथासंग्रह
पृष्ठ: २९३
मूल्य: रु. ३७५/–
प्रकाशक: सांग्रिला बुक्स


नयाँ पुस्तालाई समयले धेरै अगाडि पुग्ने सहुलियत दिएको छ । त्यो सुविधाले मान्छेलाई कुन हदसम्म असहिष्णु बनाएको छ भन्ने सत्यको उद्घाटन ‘सन्तान’ कथाले गरिदिएको छ । सन्तानका लागि एउटी आमाले दुःखको कत्रो सागर पार गर्छिन् । त्यसका बाबजुद आफ्नै रगतमासुको डल्लो कुन हदसम्म कृतघ्न हुन सक्छ, यो कथा पढ्दा मुटु हल्लिन्छ ।‘म’ यो संग्रहकै राम्रामध्ये राम्रो कथा हो । नारी सबलीकरणका हिसाबले सफलतम र सशक्त प्रस्तुति हो यो । नारी लहरा होइन, जो कुनै आडअडेसोबिना उभिनै नसकोस् । नारी आफैँमा सब थोक हो, सम्पूर्ण हो भन्ने अति सार्थक सन्देश दिएको छ यो कथाले ।


संग्रहका सबै कथा खोटरहित भने छैनन् । ‘अक्षरको अवसान’ त्यस्तै एउटा सिर्जना हो । दमन र अत्याचारले मुख बन्द भएकी पात्र कलममार्फत बोल्न थाल्छे । त्यस्तै भुक्तभोगीका लागि प्रेरक बन्ने बाटामा हिँडिरहेकी उसलाई कथाकारले अन्त्यमा पलायनवादी देखाइदिएकी छन् ।
संग्रहको सुखद पक्ष के छ भने, कथाकार शर्माले कहीँकतै सस्तो भावुकताको बैसाखी टेकेर पाठकको हृदयलाई ब्ल्याकमेल गर्ने दुष्प्रयास गरेकी छैनन् । सामाजिक परिवर्तनका लागि शिक्षाको अपरिहार्यता, नयाँ पुस्ताको उच्च महत्त्वाकांक्षा र त्यसले निम्त्याएको उतारचढाव, आधुनिक जीवनमा प्रविधिको प्रभाव र असर, वैदेशिक रोजगारी र त्यसका परिणामका अनेक सन्दर्भले यो संग्रहलाई गह्रौँ बनाएका छन् ।
—दीप्श शाह

प्रकाशित : फाल्गुन १८, २०७५ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?