समयबोध

उमेरले बुढ्यौली छुनै लागेका दुई पूर्व राजदूतहरू आकस्मिक रूपमा भेटिए— पोखरा नगरीमा । एकअर्कालाई सरप्राइज दिनेगरी भेटिएका उनीहरू अल्लारे वयमा झैं लेकसाइडमा भौंतारिए । छिचरा कुरा गरेर दिल बहलाए । विन्डो सपिङमा निस्किए । पुराना दिन सम्झेरै यी कूटनीतिज्ञले अनेक काम–कुरा गरे ।
हरिकुमार श्रेष्ठ

काठमाडौँ — अवकाशको जिन्दगी बिताउन थालेको पनि तीन वर्ष नाघिसकेछ । समयले हामीलाई पछि छाड्दै आफ्नै गतिमा हिँडिरहेको थियो ।

ZenTravel

Meroghar

समयले हामीलाई भनेर किन कुरोस् ? कुर्ने पालो त कथम्कदाचित् हाम्रै थियो । लिसीपिसी गरेर समय गुजार्दै थियौँ । एक हिसाबले भन्दा ग्राउन्डेडजस्तै थियौँ । कम्मर, जोर्नी र घुँडा दुख्ने व्यथाले हामी बूढाबूढी लगभग एकै समयदेखि आक्रान्त थियौँ । चाहेर पनि कतै जान नसक्ने, मन फुकाएर घुम्न पनि नसक्ने । घरदेखि अस्पतालसम्ममा नै हाम्रो समय गुज्रिरहेको थियो । अवकाशपछिको स्वच्छन्द उडानको जिन्दगानी नियतिले कसैगरी लिसीपिसीमा रूपान्तरण गरेको थियो ।

मलाई लिसीपिसी भन्ने शब्दसँग नै एलर्जी छ । त्यस्तो जिन्दगीको झन् के कुरा ?
आ, कति निच मारेर घरको घरै बस्ने ? हामी धेरै समयपछि काठमाडौंबाहिर घुम्न जान कम्मर कस्यौँ ।

पोखरामा भानिजको बिहे थियो । त्यहाँ जसरी पनि जानैपथ्र्यो । पोखरा मलाई त्यसै पनि मन पर्ने ठाउँ । केही वर्ष बिताएको पनि । पुराना सम्झना फेरि ताजा भइहाले । पार्दीको अफिस, बगरमा गुरुङसेनी दिदीको घरको डेरा, बिन्ध्यवासिनी नजिक थकाल्नी दिदीको होटल, सबै ताजा भइहाले ।

त्यसभन्दा पनि विशेष त नयाँ दुलहादुलहीको रूपमा हामीले त्यहाँ बिताएका क्षणहरू थिए, जुन चलचित्रका दृश्यजस्तै फरर्र आँखाअघि नाच्न थाले । हाम्रो आत्मीय प्रेम प्रस्फुटन भएको ठाउँलाई म सजिलै कसरी भुल्न सक्थेँ र ?

पोखरामा केही दिन बस्दा हामीलाई अर्कै ताजापन महसुस भयो । त्यसमाथि त्यहाँ हाम्रा थुप्रै नातागोता र आफन्तहरू पनि थिए । मेरो मन मिल्ने साली पनि त्यहीँ थिइन् । उनीसँग छिचरा कुरा गरेर दिल बहलायौँ ।

त्यस्तैमा मधुवनजीले (मधुवन पौडेल– कूटनीतिज्ञ, साहित्यकार) आफ्नो फेसबुक स्ट्याटसमा पोखरा घुम्न आएको पोस्ट गरे । उनी सामाजिक सञ्जालमा रम्न धेरै रुचाउँछन् । बेलाबेलामा हामीलाई थाहा नभएको कुरा पनि पोस्ट गरिरहन्छन् । उनी पोखरा घुम्न आएको मैले त्यसैबाट थाहा पाएँ । म पनि त्यहीँ पुगेको छु भन्नेचाहिँ उनलाई थाहा थिएन ।

म त्यति फेसबुक, ट्विटरमा रमाउने मान्छे पनि होइन । मैले उनलाई मोबाइलबाटै सरप्राइज दिएँ ।सन्जोग पनि कस्तो भने उनी बसेको ठाउँ र म पाहुना लागेको घर एउटै एरियामा रहेछ । हिँडेर पाँच मिनेटमा नै पुगिने । अनि के चाहियो ? फटाफट हिँडेर म उनी बसेको हाउजिङको घरमा पुगिहालेँ । काठमाडौंमा बरु हत्तपत्त त्यस्तो मेलो जुर्दैन । बिदामा पोखरा घुम्न जाँदा हामीलाई गज्जबकै साइत पर्‍यो ।

के मेसो नमिलेर हो— सीता भाउजू साथमा थिइनन्, मधुवनजी मात्रै घुम्न निस्केका रहेछन् । घुम्न पनि के भन्ने एयरपोर्टनजिकै बिरौटामा छोरीको होलिडे होममा आराम गर्दै रहेछन् । अथवा यसो भन्दा पनि हुन्छ— त्यहाँको शान्त परिवेशमा उनी नयाँ कथाका प्लट सिर्जना गरिरहेका थिए । मैलै ढोकाको घण्टी थिचेपछि उनको एकाग्रता भंग भयो । अब के चाहियो ? बेसबल क्याप र जिन्समा नगरबस चढेर हामी लेकसाइडतिर लागिहाल्यौँ । पोखरा बस्दा सप्ताहान्तमा फेवातालमा डुंगा चलाउने मेरो सोख हुन्थ्यो पहिले । मधुमासको बेला हामी नवविवाहिता जोडी बैदामको बीचमा डुंगामा पानीछ्यापाछ्याप गरेर रमाउँथ्यौँ । पुराना दिनका यादले मलाई फेरि नोस्टाल्जिक बनायो ।

वैशाखको महिना, त्यति गर्मी चढिसकेको थिएन । तर, विदेशी पर्यटक भने बिस्तारै पातलिँदै थिए । एक हिसाबले अफ सिजन सुरु हुन लागेको थियो । त्यसको फाइदा हामीले आन्तरिक पर्यटक हुनुको मज्जाबाटलिन पायौँ ।

लेकसाइडको वातावरण शान्त थियो । हूलहाल, कोलाहल थिएन । त्यस्तो शान्त परिवेशमा म र मधुवनजी एउटा क्याफेमा पसेर धेरै बेर बितायौँ । अन्तरंग कुरा गर्दागर्दै समय गएको पनि पत्तो भएन ।

सडकको दायाँबायाँ लस्करै सोभिनेर पसलहरू थिए । सिजनको बेला त्यहाँ विदेशी पर्यटक खचाखच हुँदा हुन्, अहिले भने प्राय: रित्तै थिए । त्यसको पनि हामीले भरपूर फाइदा लियौँ— दिल खोलेर ‘विन्डो सपिङ’ गर्‍र्यौं ।

‘विन्डो सपिङ’ मात्र हैन, ‘रियल सपिङ’ गर्न पनि मधुवनजी सोखिन छन् । त्यस दिनको हाम्रो खास गन्तव्य लेकसाइडको सेकेन्डह्यान्ड बुकसपहरू थिए, जहाँ अंग्रेजीका राम्रा पुस्तकहरू सस्तो मूल्यमा भेटिन सक्थे । लीलाजी (लीलाप्रसाद शर्मा, पूर्वराजदूत) पनि त्यहाँको सेकेन्डह्यान्ड बुकसपका पारखी थिए ।

बेलाबेलामा कुरा गरिरहन्थे । तर, अफ सिजन भएकाले होला धेरै ठाउँ चहार्दा पनि हामीले त्यस्तो किताब पसलभेट्टाउन सकेनौँ ।थोरै निराश भएर हामी पुन: नगरबस लिएर सहरतर्फ फक्र्याैं । पोखरामा नगरबसले राम्रै सेवा दिएका रहेछन् । सार्वजनिक यातायातमा यात्रा गर्दा मधुवनजीलाई ज्येष्ठ नागरिक परिचयपत्र देखाउने बानी परिसकेको रहेछ । त्यसो त, बेसबल क्याप र जिन्सको पहिरनमा उनी दस वर्ष कम उमेरका देखिन्थे । ज्येष्ठ नागरिक भन्न मिल्थेन । तैपनि खल्तीबाट परिचयपत्र निकालिहाले । मलाईचाहिँ त्यो परिचयपत्र कहाँ बन्छ भन्ने पनि थाहा थिएन ।

परिचयपत्र हेरेर बसको कन्डक्टर एक छिन अल्मलियो । विद्यार्थी परिचयपत्र भन्ठान्यो सायद ।

‘ज्येष्ठ नागरिक कन्सेसन’, मधुवनजीले सम्झाए । मलाई भने केही अप्ठ्यारो लाग्यो ।

कन्डक्टरले ज्येष्ठ नागरिक कन्सेसन सायद पहिलो पटक सुनेको थियो कि ? ऊ एक छिन छक्क पर्‍यो । केही बेरपछि पोखरेली पारा निकाल्दै भन्यो :

‘पोखरा नगरबसमा ज्येष्ठ–सेष्ठ नागरिक कन्सेसन चल्दैन । पूरा भाडा चाहिन्छ । अन्तको कुरा थाहा छैन ।’

हामी ज्येष्ठ नागरिकबाट एकाएक वयस्क नागरिकको दर्जामा ओर्लियौं । त्यसरी हाम्रो उमेर घटाएर वयस्कको दर्जा दिएकोमा बस कन्डक्टरलाई धन्यवाद दिनैपर्ने भयो ।

समय पनि त्यो बसको कन्डक्टरजस्तै मनकारी भएर आफूअनुकूल उमेर सच्याउन आइदिए कस्तो हुँदो हो ?

तर, हामीलाई भनेर समयले किन कन्सेसन दिँदो हो ? जिन्स र बेसबल क्याप ढल्काउँदैमा किन उमेर घटाउन मान्दो हो ?

निजामती किताबखानाको रेकर्डमा टिपेक्स लगाएर उमेर सच्याउनेहरूसँग समय मुसुमुसु हाँस्दै भन्दो हो :

‘विवरणमा टिपेक्स लगाउनु एउटा कुरा हो, आफ्नो अन्तर्मनमा टिपेक्स दल्नुचाहिँ बिल्कुल अर्कै हो ।’

ऊ फेरि पनि भन्दो हो :

‘समयको आफ्नै गति हुन्छ, आफ्नै लय हुन्छ । त्यसैमा आत्मसात् गर्न सिक, अनि त्यसैमासमाहित होऊ ।’

समयको त्यही भाका टिप्न नसकेर हो कि, हामीले जीवनमा यतिबिघ्न दु:ख झेलेको ?

ज्येष्ठ नागरिक कन्सेसनबाट मैले अलिकति भए पनि समयको दर्शनशास्त्र बुझ्न सकेँ ।

प्रकाशित : माघ १२, २०७५ १०:४१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कप्तान १९९८

अहिले नेपाली क्रिकेटलाई नजिकबाट बुझेको दाबी गर्नेले पनि सोध्न सक्छन्, को हो यो एलबी क्षत्री ?
हिमेश

काठमाडौँ — यति बेला नेपाली क्रिकेट टिम यूएईमा छ, वान डे र ट्वान्टी ट्वान्टी सिरिज खेल्न ।

यसअघि नेपाल यस्तै सिरिज खेल्न नेदरल्यान्ड्स गएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपाललाई वान डे टिमका मान्यता दिएपछि अब यस्ता सिरिज पनि हेर्दा हेर्दै सम्भव भए । अहिले नेपाली क्रिकेटमा जे जति भइरहेको छ, बाहिरबाट लाग्छ, यसभित्र खुबै चमकधमक छ । यी सबै नेपाली क्रिकेटमा एकै दिनतयार भएका त पक्कै होइनन्, त्यो पनि चमत्कारी रूपमा ।

कप्तान पारस खड्का होस् अथवा किशोर उमेरमै विदेशमा खेलेर करोडपति भएका सन्दीप लामिछाने होस्, सबैले पुराना दिनलाई कसरी भुल्न सक्छन् र ? उनीहरूले अहिले जहाँ छन्, जे जस्तो गरिरहेका छन्, त्यसको आधार तयार पार्ने काम पनि भएको थियो, कुनै बेला कसैले । त्यसैमध्ये एकमा पर्छन्, एलबी क्षत्री । मान्छे बैगुनी हुने गर्छन्, अहिले नेपाली क्रिकेटलाई नजिकबाट बुझेको दाबी गर्नेले पनि सोध्न सक्छन्, को हो यो एलबी क्षत्री ?

सबैभन्दा पहिले सन् १९९६ तिर फर्कौं । त्यो वर्ष वीरगन्जमा १२ औं जय ट्रफी भएको थियो । यो किन महत्त्वपूर्ण प्रतियोगिता थियो भने त्यसमै भएको प्रदर्शनको आधारमा पहिलोपल्ट नेपालको राष्ट्रिय टिम छनोट गर्नु थियो । यस प्रतियोगितालाई ऐतिहासिकभन्दा पनि हुन्छ । एसियाली क्रिकेट काउन्सिलले टेस्ट मान्यता नपाएका देशबीच पहिलोपल्ट एसीसी ट्रफी आयोजना गर्न लागेको थियो । त्यसमा बाँकेबाट छानिएकामा एक थिए, एलबी क्षत्री ।

एलबीका दुई सपना थिए, पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने । दोस्रो नेपालकै लागि खेल्ने । मलेसियामा उनले यी दुवै सपनालाई पूरा गरे । उनी त्यस टिमका उपकप्तानसमेत थिए । कप्तानको जिम्मेवारी भने उत्तम कर्माचार्यको काँधमा थियो । पहिलो खेल बंगलादेशविरुद्ध थियो । त्यसपछि के भयो, त्यो त इतिहास नै भयो र अहिले नेपाली क्रिकेट जहाँ छौं, त्यो वर्तमान भयो । त्यति बेला नेपालले पनि क्रिकेट खेल्छ भनेर सुन्दा दंग पर्नेमा थिए, तिनै सुनील गावस्करदेखि श्रीकान्तसम्म ।

यी भारतीयलाई पनि के लाग्दो रहेछ भने नेपाल भनेपछि त्यहाँ हिमाल मात्र छन् । र, त्यसपछि आउँछ, सन् १९९८ । दोस्रो संस्करणको एसीसी ट्रफीको आयोजना अवसर जुटेको थियो, नेपालमा । समय थियो, अक्टोबर ३ देखि १३ । त्यस प्रतियोगितामा खेल्ने टिमका कप्तान अरू कोही होइन, यिनै एलबी थिए । उनकै भाषामा, त्यो क्षणको वर्णन यस्तो छ, ‘कप्तानीको अवसर जो कोहीलाई प्राप्त हुन्न । भन्ने त भन्छन्, भाग्य पनि चाहिन्छ । म भाग्यभन्दा ज्यादा मैदानमाम विश्वास गर्छुं ।’

त्यसपछि उनले लामो समय क्रिकेट खेलेनन्, विश्रामको बाटो राजे । त्यति बेला उनले जागिरी जीवनलाई बढी महत्त्व दिन चाहे । अहिले यो सबै चर्चा किन भन्दा यिनै एलबीको आत्मकथा निस्केको छ, ‘एलबी क्षत्री कप्तान १९९८’ नाममा । प्रकाशक हो, क्रियटिभ बुक्स । त्यसै पनि नेपाली खेलकुदबारे किताब विरलै लेखिन्छन्, निस्कन्छन् । यस्तोमा उनको यो आँटलाई नै मान्नुपर्छ, सबैभन्दा पहिला । फेरि उनलाई किन पनि धन्यवाद दिनुपर्छ भने उनको यो किताबले नेपाली क्रिकेटको एक कालखण्डको इतिहास पनि तयार भएको छ ।

एलबीसँग जोडिएर आउने अर्को उत्तिकै महत्त्वपूर्ण तथ्बय के पनि हो भने उनलाई नै श्रेय जान्छ, नेपालमा महिला क्रिकेटको सुरुआतका लागि । अर्को संयोग के पनि भन्दा भर्खरै नेपाली महिला क्रिकेट टोली थाइल्यान्डमा भएको प्रतियोगिता खेलेर फर्केको छ । महिला क्रिकेटको जग बजाउने काम एलबीले ०६१ सालतिर गरेका थिए, नेपालगन्जतिर । अहिलेका महिला खेलाडी भनिरहेका छन्, हामीलाई अवसर कम भयो, हामी धेरै बढी गर्न सक्छौं ।

तर, जति बेला एलबीले महिला क्रिकेटको सुरुआत गर्ने सपना बुने, उनलाई भनिएको थियो, ‘केटीले पनि क्रिकेट खेल्ने ?’ त्यो पनि अरू कोही होइन, उनकै पत्नी शान्तिले । यस्तो थियो, त्यति बेलाको स्थिति, अहिले सम्झदा हाँसो हुन सक्छ । निकै मिहिनेत गरेर उनले नेपालगन्जमा महिला क्रिकेट टिम तयार पारे र प्रतियोगिता पनि त्यही साल गरे, फागुनतिर । त्यसैले एलबीलाई नेपाली महिला क्रिकेटका पिता पनि भन्ने गरिन्छ, यस्तो भन्दा जसले जस पाउनुपर्ने हो, त्यो पाएकै ठहरिन्छ ।

आफ्नो पुस्तकमा एलबीले सुरुमै भनेका छन्, क्रिकेट एउटा नशा रहेछ, छाड्नै नसकिने । उनले आफ्नो जीवनको आधाआधी उमेर बल र ब्याटमै बिताए । जीविका धान्न उनको परिवार पर्वतबाट भारतको पश्चिम बंगाल पुगेको थियो । उनले केही वर्ष त्यहीं क्रिकेट पनि खेले । त्यहाँ भनिएको थियो, बहादुरले पनि कहीं क्रिकेट खेल्छन् ? उनले आखिरमा खेलेरै देखाए । त्यसअगाडि उनलाई त्यहाँसम्म पुर्‍याउने काम त उनका बुबाले नै गरेका थिए, त्यो पनि पानी जहाजको चौकीदारी गरेर ।

त्यहींबाट उठेर उनी नेपाली क्रिकेट टिमका कप्तानसम्म भए । यसैको पूरा कथा समेटिएको छ, ‘एलबी क्षत्री कप्तान १९९८’ मा । खेल क्षेत्र अरूभन्दा बेग्लै हुन्छ । यहाँ खेलाडीले अर्कै संसार बिताइरहेको हुन्छ । दुनिया नै अलग । एलबीले त्यही दुनियामा बटुलेको अनुभवलाई किताबको रूप दिएका छन् । खेलमा सामान्य मात्र रुचि छ भनेपछि यो किताब पढ्नैपर्छ । यस्तो गर्नु भनेको अहिले नेपाली क्रिकेट जहाँसम्म पुगेको छ, त्यसमा कुनै न कुनै भूमिका खेल्नेप्रति कृतज्ञ हुनु हो ।

प्रकाशित : माघ १२, २०७५ १०:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×