कप्तान १९९८- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कप्तान १९९८

अहिले नेपाली क्रिकेटलाई नजिकबाट बुझेको दाबी गर्नेले पनि सोध्न सक्छन्, को हो यो एलबी क्षत्री ?
हिमेश

काठमाडौँ — यति बेला नेपाली क्रिकेट टिम यूएईमा छ, वान डे र ट्वान्टी ट्वान्टी सिरिज खेल्न ।

यसअघि नेपाल यस्तै सिरिज खेल्न नेदरल्यान्ड्स गएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपाललाई वान डे टिमका मान्यता दिएपछि अब यस्ता सिरिज पनि हेर्दा हेर्दै सम्भव भए । अहिले नेपाली क्रिकेटमा जे जति भइरहेको छ, बाहिरबाट लाग्छ, यसभित्र खुबै चमकधमक छ । यी सबै नेपाली क्रिकेटमा एकै दिन तयार भएका त पक्कै होइनन्, त्यो पनि चमत्कारी रूपमा ।


कप्तान पारस खड्का होस् अथवा किशोर उमेरमै विदेशमा खेलेर करोडपति भएका सन्दीप लामिछाने होस्, सबैले पुराना दिनलाई कसरी भुल्न सक्छन् र ? उनीहरूले अहिले जहाँ छन्, जे जस्तो गरिरहेका छन्, त्यसको आधार तयार पार्ने काम पनि भएको थियो, कुनै बेला कसैले । त्यसैमध्ये एकमा पर्छन्, एलबी क्षत्री । मान्छे बैगुनी हुने गर्छन्, अहिले नेपाली क्रिकेटलाई नजिकबाट बुझेको दाबी गर्नेले पनि सोध्न सक्छन्, को हो यो एलबी क्षत्री ?


सबैभन्दा पहिले सन् १९९६ तिर फर्कौं । त्यो वर्ष वीरगन्जमा १२ औं जय ट्रफी भएको थियो । यो किन महत्त्वपूर्ण प्रतियोगिता थियो भने त्यसमै भएको प्रदर्शनको आधारमा पहिलोपल्ट नेपालको राष्ट्रिय टिम छनोट गर्नु थियो । यस प्रतियोगितालाई ऐतिहासिकभन्दा पनि हुन्छ । एसियाली क्रिकेट काउन्सिलले टेस्ट मान्यता नपाएका देशबीच पहिलोपल्ट एसीसी ट्रफी आयोजना गर्न लागेको थियो । त्यसमा बाँकेबाट छानिएकामा एक थिए, एलबी क्षत्री ।


एलबीका दुई सपना थिए, पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने । दोस्रो नेपालकै लागि खेल्ने । मलेसियामा उनले यी दुवै सपनालाई पूरा गरे । उनी त्यस टिमका उपकप्तानसमेत थिए । कप्तानको जिम्मेवारी भने उत्तम कर्माचार्यको काँधमा थियो । पहिलो खेल बंगलादेशविरुद्ध थियो । त्यसपछि के भयो, त्यो त इतिहास नै भयो र अहिले नेपाली क्रिकेट जहाँ छौं, त्यो वर्तमान भयो । त्यति बेला नेपालले पनि क्रिकेट खेल्छ भनेर सुन्दा दंग पर्नेमा थिए, तिनै सुनील गावस्करदेखि श्रीकान्तसम्म ।


यी भारतीयलाई पनि के लाग्दो रहेछ भने नेपाल भनेपछि त्यहाँ हिमाल मात्र छन् । र, त्यसपछि आउँछ, सन् १९९८ । दोस्रो संस्करणको एसीसी ट्रफीको आयोजना अवसर जुटेको थियो, नेपालमा । समय थियो, अक्टोबर ३ देखि १३ । त्यस प्रतियोगितामा खेल्ने टिमका कप्तान अरू कोही होइन, यिनै एलबी थिए । उनकै भाषामा, त्यो क्षणको वर्णन यस्तो छ, ‘कप्तानीको अवसर जो कोहीलाई प्राप्त हुन्न । भन्ने त भन्छन्, भाग्य पनि चाहिन्छ । म भाग्यभन्दा ज्यादा मैदानमाम विश्वास गर्छुं ।’


त्यसपछि उनले लामो समय क्रिकेट खेलेनन्, विश्रामको बाटो राजे । त्यति बेला उनले जागिरी जीवनलाई बढी महत्त्व दिन चाहे । अहिले यो सबै चर्चा किन भन्दा यिनै एलबीको आत्मकथा निस्केको छ, ‘एलबी क्षत्री कप्तान १९९८’ नाममा । प्रकाशक हो, क्रियटिभ बुक्स । त्यसै पनि नेपाली खेलकुदबारे किताब विरलै लेखिन्छन्, निस्कन्छन् । यस्तोमा उनको यो आँटलाई नै मान्नुपर्छ, सबैभन्दा पहिला । फेरि उनलाई किन पनि धन्यवाद दिनुपर्छ भने उनको यो किताबले नेपाली क्रिकेटको एक कालखण्डको इतिहास पनि तयार भएको छ ।


एलबीसँग जोडिएर आउने अर्को उत्तिकै महत्त्वपूर्ण तथ्बय के पनि हो भने उनलाई नै श्रेय जान्छ, नेपालमा महिला क्रिकेटको सुरुआतका लागि । अर्को संयोग के पनि भन्दा भर्खरै नेपाली महिला क्रिकेट टोली थाइल्यान्डमा भएको प्रतियोगिता खेलेर फर्केको छ । महिला क्रिकेटको जग बजाउने काम एलबीले ०६१ सालतिर गरेका थिए, नेपालगन्जतिर । अहिलेका महिला खेलाडी भनिरहेका छन्, हामीलाई अवसर कम भयो, हामी धेरै बढी गर्न सक्छौं ।


तर, जति बेला एलबीले महिला क्रिकेटको सुरुआत गर्ने सपना बुने, उनलाई भनिएको थियो, ‘केटीले पनि क्रिकेट खेल्ने ?’ त्यो पनि अरू कोही होइन, उनकै पत्नी शान्तिले । यस्तो थियो, त्यति बेलाको स्थिति, अहिले सम्झदा हाँसो हुन सक्छ । निकै मिहिनेत गरेर उनले नेपालगन्जमा महिला क्रिकेट टिम तयार पारे र प्रतियोगिता पनि त्यही साल गरे, फागुनतिर । त्यसैले एलबीलाई नेपाली महिला क्रिकेटका पिता पनि भन्ने गरिन्छ, यस्तो भन्दा जसले जस पाउनुपर्ने हो, त्यो पाएकै ठहरिन्छ ।


आफ्नो पुस्तकमा एलबीले सुरुमै भनेका छन्, क्रिकेट एउटा नशा रहेछ, छाड्नै नसकिने । उनले आफ्नो जीवनको आधाआधी उमेर बल र ब्याटमै बिताए । जीविका धान्न उनको परिवार पर्वतबाट भारतको पश्चिम बंगाल पुगेको थियो । उनले केही वर्ष त्यहीं क्रिकेट पनि खेले । त्यहाँ भनिएको थियो, बहादुरले पनि कहीं क्रिकेट खेल्छन् ? उनले आखिरमा खेलेरै देखाए । त्यसअगाडि उनलाई त्यहाँसम्म पुर्‍याउने काम त उनका बुबाले नै गरेका थिए, त्यो पनि पानी जहाजको चौकीदारी गरेर ।


त्यहींबाट उठेर उनी नेपाली क्रिकेट टिमका कप्तानसम्म भए । यसैको पूरा कथा समेटिएको छ, ‘एलबी क्षत्री कप्तान १९९८’ मा । खेल क्षेत्र अरूभन्दा बेग्लै हुन्छ । यहाँ खेलाडीले अर्कै संसार बिताइरहेको हुन्छ । दुनिया नै अलग । एलबीले त्यही दुनियामा बटुलेको अनुभवलाई किताबको रूप दिएका छन् । खेलमा सामान्य मात्र रुचि छ भनेपछि यो किताब पढ्नैपर्छ । यस्तो गर्नु भनेको अहिले नेपाली क्रिकेट जहाँसम्म पुगेको छ, त्यसमा कुनै न कुनै भूमिका खेल्नेप्रति कृतज्ञ हुनु हो ।


प्रकाशित : माघ १२, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्

'म मेसीको फ्यान'

बार्सिलोनाको फ्यान हुनुको कारण हो— जादूमयी मेसी । जसै मेसीको खेल नजिकबाट उनले नियाले, त्यसपछि मेसीको फ्यान भए । जब मेसीको फ्यान भए नेम्बाङ बार्सिलोनाको फ्यान भए ।
कञ्चन अधिकारी

काठमाडौँ — कुरा त्यस्तै २०२७/२८ साल तिरको हो । संविधानसभाका पूर्वअध्यक्ष एवं नेकपा एमालेका उपनेता सुवास नेम्बाङ आईएस्सी इलाममा आईएस्सी पढ्दै थिए ।


उनलाई खेलप्रति निकै मोह थियो । त्यसमा पनि फुटबलप्रति उनको बढी मोह थियो । त्योताका खेलिने खेलका नियमबारे उनी जानकार थिए । त्यसैले उनी आफैंलाई ‘ज्याक अफ अल मास्टर अफ नन’ भन्थे ।

जब उनी आईएस्सी पढ्दा उनको काँधमा क्याम्पसको टोली नेतृत्व गर्दै फुटबल प्रतिस्पर्धा गर्ने जिम्मेवारी त्यतिबेलादेखि फुटबलको मात लाग्यो । भन्छन्, ‘अहिलेको जस्तो गाडी थिएन । ३–४ घण्टा हिँडेर हामी आइतबारे, कन्याम, फिक्कल फुटबल प्रतिस्पर्धा गर्न जान्थेम् । कन्याम अहिलेजस्तो सुन्दर चिया बगान थिएन । नांगो डाँडा थियो । भर्खर चिया बगान रोप्न सुरु गरिएको थियो । अनि हामी त्यहीं फुटबल प्रतिस्पर्धा गथ्र्यौं ।’

उनको विचारमा त्यति बेलादेखि नै समग्र इलाम जिल्लामा फुटबलप्रति बढी मोह र चाख थियो । त्यो बेलामा विभिन्न नाममा सिल्ड, कप प्रतिस्पर्धा भइरहन्थे । त्यसैले उनलाई पनि फुटबलमा मोह जाग्यो । भन्छन्, ‘सायद दार्जि्लिङको नजिक भएर होला, इलाममा फुटबल निकै लोकप्रिय थियो । क्याम्पसमा पढ्न थालेदेखि नै म फुटबलमा झन् झुकाव राख्न थालेँ ।’

उनी ३–४ कक्षा काठमाडौं बसेर पढे । तर, त्यतिबेला फुटबलबारे त्यति रुचि जागिसकेको थिएन । फेरि उनी जब काठमाडौं छोडेर इलाम फर्के त्यसपछि चाहिँ उनी फुटबलको नशामा घोलिन थाले । भन्छन्, ‘कहिलेकाहीँ रबरका बल खेलियो । कहिले भोगटेले काम चलाइयो ।’

इलाम अलि विकसित थियो । दार्जिलिङको छेउ परेर पनि होला उनीहरू छालाकै फुटबल खेल्थे । त्यो छालाको बलभित्र ट्युब हुन्थ्यो । ट्युब निकै अप्ठ्यारो खालको । हावा भर्नै गाह्रो थियो । हावा भरिसकेपछि लेसले बाँध्नुपर्ने । धेरैजसो बेला लेस चुँड्ने पनि । हावाले बलको सन्तुलन बिग्रने । त्यसको टुटी निस्केको भागले जिउमा चोट पनि लाग्ने । उनी सम्झन्छन्, ’त्यो बेला रबरको बल खेल्न निकै गाह्रो थियो । भर्खर बुट निस्कन लागेको थियो बुटमा काँटी नै काँटी हुन्थ्यो । झन् दौडन गाह्रो हुने ।’

उनी त्यतिबेला उनी दुब्ला थिए । सबैले दगुर्न खप्पिस छस् भन्थे । त्यसैले त उनलाई क्याम्पसमा र टोलको क्लब मालापथ युथ क्लबमा कप्तानको जिम्मेवारी दिइएको थियो । उनी फरवार्ड खेल्थे । भन्छन्, ’एकदमै पातलो थिएँ टिम नेतृत्व गर्थें ।

उनलाई अझै सम्झना छ, त्यतिबेला सिल्ड, कप गरेर ४ वटा ५ प्रतिस्पर्धा हुन्थे । त्यो सम्झँदा अहिले उनी आफैं छक्क पर्छन् । यति धेरै कसरी भयो होला प्रतिस्पर्धा । फेरि गम्छन्– पक्कै फुटबलप्रति धेरैको मोह भएर होला । फुटबल खेल्दा उनीसँगै टिमलाई पैसाको जोहो गर्न गाह्रो हुन्थ्यो । क्याम्पसबाट खेल्दा क्याम्पसले लागेको खर्च बेहोरिदिन्थ्यो । तर, गाउँकै क्लबबाट खेल्दाचाहिँ साह्रोगाह्रो पथ्र्यो । भन्छन्, ‘क्याम्पस हुँदा सजिलो थियो । बुट किन्नका लागि पैसा दिन्थ्यो । क्याम्पसले खेलाडीका लागि डाइट दिने चलन थियो । त्यसबेला जेरी–सेरी, चना, बम्बैसन दिन्थे । हाम्रा लागि यो भयंकर डाइट थियो । त्यो नहुँदा हारिन्छ कि जस्तो लाग्थ्यो ।’

तर, टोलमा चाहिँ अप्ठेरो हुन्थ्यो । मालाथपबाट खेल्न जाँदाचाहिँ पैसा मागमुग गरेर, आफैं म्यानेज गरेर चलाउनुपथ्र्यो । उनी भन्छन्, ‘मागामाग गर्ने सामान्य चलन थियो । प्रतिस्पर्धा हुन्छ भनेपछि टोलका हुनेखाने अनि अलिकति पाकाहरूले मिलेर ड्रेस सिलाइदिन्थे । खाजा आफैं मिलेर चलन थियो । साह्रै थोरै पैसाले काम चलाउँथ्यौं ।’

इलामबाट बीए पास गरेपछि काठमाडौं आए नेम्बाङ । उनी प्रदर्शनीमार्गमा रहेको ल क्याम्पसमा बीएल पढ्न थाले । त्यसपछि उनले फुटबल कम हेर्न थाले । हेर्न मन लागे रंगशाला पुग्थे । बाहिरी दुनियाँको फुटबल हेर्न उनीसँग टीभी थिएन । कुरा ४३–४४ सालतिरको हो त्यतिबेला एन्फा कप हुन्थ्यो । त्यहाँ खेल्न भारत र चीनबाट टोलीहरू आउँथे । नेपालबाट महावीर, पुलिस, आर्मी, ठमेल, एनआरटीलगायतका टोलीले खेल्थे । आफ्ना क्लबले खेलेको हेर्दाहेर्दा उनलाई वाक्क लागिसकेको थियो । तर, जब चीन र भारतबाट आएका खेलाडीले फुटबल खेलेको देखेपछि उनलाई अचम्म लाग्यो । उनी सम्झन्छन्, ‘यस्तो पनि हुँदोरहेछ । उनीहरूको फुटबल हेर्दा पनि होला विदेशी फुटबलप्रति मोह जागेको । चाइनिज खेलाडीको खेलले खुबै प्रभावित पा‍र्‍यो । कस्तो राम्रो फुटबल भन्ने लाग्थ्यो ।’

चाइनिजको नाम अप्ठ्यारो हुने भएकाले नाम याद छैन उनीहरूको । तर, भारतको पश्चिम बंगाल, कालिङपोङ, सिक्किम, दार्जिलिङलगायतबाट आउने खेलाडीहरूको नाम कन्ठै हुन्थ्यो । उनले भने, ‘श्याम थापा, बेनु सुब्बालगायतका खेलाडीहरू अझै सम्झन्छु ।’ यही क्रममा उनलाई विदेशी फुटबलप्रति पनि मोह जाग्यो ।

नेम्बाङलाई विश्वकप फुटबल कहिले हेरे भन्ने यकिन समय याद छैन । तर, उनले सन् १९९० को दशकमा ब्राजिलबाट खेलेका डुंगा, रोमारियो, रोनाल्डो, रोनाल्डिनियो निकै मन पर्ने खेलाडी हुन् । त्यस्तै अर्जेन्टिनाका ओर्टेगा, बार्टिस्टुटा पनि उनको मन पर्ने खेलाडी थिए । भन्छन्, ‘९० को दशकपछि टीभी पनि हेर्न थालेँ । त्यसपछि विश्वकपतिर पनि झन् झुकाव हुन थाल्यो ।’

जब सन् २००६ मा अर्जेन्टिनाबाट मेसीले खेल्न थाले त्यसपछि उनी मेसीको खेलबाट निकै प्रभावित भए । अनि उनको मन विश्वकपबाट स्पेनिस लिग लालिगा, इंग्लिस प्रिमियर लिग, जर्मनीको बुन्डेस्लिगातिर मन जान थाल्यो । त्यसमा पनि नेम्बाङलाई जहाँ मेसी छन्, त्यही क्लबको खेलले मन खायो । उनी भन्छन्, ‘धेरै लिग हेर्न थालेँ । तर पनि मेसीले खेल्ने लालिगा, त्यसमाथि बर्सिलोनाको फ्यान भएँ ।’

उनको घरमा उनी मात्रै होइन, उनका छोरा पनि फुटबलका क्रेजी हुन् । छोरा इंग्लिस प्रिमियर लिगको लिभरपुलका फ्यान हुन् । उनीहरू दुवै जना एक अर्कालाई साथ दिन्छन् । हाँस्दै भन्छन्, ‘खेलको समय जुधेको बेला हामी एकअर्कालाई बुझ्छौं । बार्सिलोनाको खेल नहुँदा म लिभरपुललाई साथ दिन्छु । छोराले लिभरपुल छाडेर बाहिर जाँदा बार्सिलोनालाई साथ दिन्छ ।’

हुन त अन्तर्राष्ट्रिय तहको फुटबलको कुरा गर्ने हो भने उनी ब्राजिलका खाँटी समर्थक हुन् । तर, अहिले उनले कित्ता परिवर्तन गरेका छन् । पछिल्लो समय उनले अर्जेन्टिनालाई छानेका छन् । भन्छन्, ‘किनकि अर्जेन्टिनाबाट मेसी खेल्छन् । मेसीको कारणले बार्साको समर्थक पनि भएँ । ’

बार्सिलोनाको फ्यान हुनुको कारण हो— जादूमयी मेसी । जब मेसीको खेल नजिकबाट उनले नियाले त्यसपछि मेसीको फ्यान भए । जब मेसीको फ्यान भए नेम्बाङ बार्सिलोनाको फ्यान भए । उनी भन्छन्, ‘मेसीको खेल नजिकबाट हेर्न थालेँ । मन पर्न थाल्यो । खेलाडीले असर पारेको छ मलाई ।’

उनलाई बार्साको पनि खेल निकै मन पर्छ । खेल निकै कलात्मक छ जस्तो लाग्छ उनलाई । त्यतिको कलात्मक अरूले खेल्दैनन् । भरसक आफ्नो कन्ट्रोलमा बल राखेर अरूले खेल्दैनन् । त्यसैले बर्साको खेल्ने शैली ‘टिकीटाका’ भनेर पनि टिप्पणी गर्छन् । बर्साले त्यही ढंगले कलात्मक खेल खेल्छ । त्यसमा मेसी राम्रा खेल्छन्,’ उनी थप्छन् ।

नेम्बाङलाई मेसी वास्तवमा एउटा पूर्ण खेलाडी हुन् भन्ने लाग्छ । भन्छन्, ‘कमेन्टेटरले पनि उनलाई कल्प्लिट खेलाडी हुन् भनेर भन्छन्,’ उनले क्रिस्टियानो रोनाल्डोसँग तुलना गरेर मेसीलाई हेर्ने गरेका छन् । रोनाल्डो पनि राम्रो खेल्छन् । उनी राम्रो स्ट्राइकर हुन् । तर, मेसी राम्रो ड्रिब्लिङ गर्छन्, राम्रो एसिस्ट गर्छन् । उनले भने, ‘मेसी यति सजिलो र न्याचुरल ढंगले खेल खेल्छन् कि टिप्पणीकारहरू के भन्छन् भने उसले खेलेर गोल हान्दा ए यति सजिलैसँग खेल्न सक्दोरहेछ भन्छन् ।’

उही कलात्मक ढंग र स्वाभाविक ढंगको खेलले नेम्बाङ डाइहार्ट फ्यान भएका छन् मेसीको । उनी भन्छन्, ‘मेसीको जुनसकै खेल हेरिरहूँजस्तो लाग्छ । उनी एउटा पूर्ण खेलाडी हुन् । साथसाथै एउटा खेलाडी घमण्डी हुन्छ भन्छन् । तर, उनको व्यवहार हेर्दा रिसाएर अरूमाथि आक्रमण गरेको देखिँदैन । त्यसैले मलाई तानेको हो ।’

तर कहिलेकाहीँ मेसीको टिमले हार्दा उनलाई खिन्न बनाउँछ । बार्सिलोनाले हारेको दिन घरमा सबैले जिस्काउँछन् नेम्बाङलाई । उनी घरको कुरा समझन्छन्, ‘घरमा सबैले बार्सा र मेसी भनेपछि पापा हुरुक्कै हुनुहुन्छ भन्ने था’छ । कुनै दिन बार्साले हारेको जिस्क्याउँछन् । मन खिन्न हुन्छ यसमा विवाद नै छैन ।’

उनी सके र भ्याएसम्म अर्जेन्टिना र बार्सिलोनाको खेल हेर्न छुटाउँदैनन् । संविधानसभाको त्यो संविधान बनाउने त्यो उत्कर्षमा पनि आफूले बार्सिलोनाको खेल हेरेको सम्झन्छन् । उनले भने, ‘संविधान बनाउनका लागि संविधानसभा भवनमा राति २ बजेसम्म बसेर घर आएपछि पनि फुटबल हेर्न छोडिनँ ।’ उनी काठमाडौंमा रहँदा मात्रै होइन जिल्लामा जाँदा होस् या विदेशमा जाँदा नै किन नहोस् फुटबल हेरेकै हुन्छन् ।

उनले एउटा प्रसंग सम्झिए । केही समयअघि अमेरिका जाँदा बार्सिलोनाको फुटबल थियो । अमेरिकामा फुटबल त्यति धेरै हेरिन्न । उनी न्युयोर्कमा कहाँ फुटबल हेर्न पाइन्छ भनेर सोध्दै हिँडका छन् । उनले भने, ‘धेरै समय फुटबल हेर्न पाइने ठाउँ खोज्दै जाँदा एउटा बारमा पुग्यो । त्यहाँ धेरै टीभीहरू थिए । कसैले के हेरेको । कोहीले के । तर, फुटबल हेर्ने कोही देखिएनन् । तर, हामीलाई बारमा बार्सिलोनाको फुटबल लगाइदिएर त्यहाँको मान्छे हाँस्दै गए ।’ उनका अनुसार जिल्ला जाँदा पनि उनी आफू बस्ने होटलमा टीभी छ कि छैन । फुटबल आउने स्पोर्टस् च्यानल आउँछ कि आउँदैन पहिल्यै सोध्छन् ।’

मेसीलाई भेट्नी मौका पाए के गर्नुहुन्छ ? प्रश्न गरियो । उनी मन्द मुस्कानको हाँसोका साथ भने, ‘मलाई साह्रै खुसी लाग्छ । तिमीप्रतिको मेरो यो भावना हो भन्छु । तिम्रो निरन्तर प्रगतिको कामना गर्छु है भनेर हात मिलाउँछु ।’

मेसीकै फ्यान भएका कारण सन् २०१८ को विश्वकपमा उनलाई उराठ बनायो । उनले समर्थन गरेका हरेक टिमले हार्दै गएपछि उनको यो विश्वकप उराठ बनेको थियो । भन्छन्, ‘मेसी र अर्जेन्टिना भनेर मैदानमा उत्रेको सुरुमै अर्जेन्टिना र मेसी बाहिर भए । त्यतिबेलै मलाई रुस जान मन लागेको थियो । मेसीको खेला सामुन्नेमा हेरुम् भन्ने लागेको थियो ।’

अर्जेन्टिना बाहिरिएसँगै उनले समर्थन ब्राजिल, स्पेन पनि बाहिरिए । अन्तिममा उनले क्रोएसियाको समर्थन गरे । क्रोएसियाको किन समर्थन गरे भने त्यहाँ बार्सिलोनाबाट खेल्ने र्‍याकिटिक थिए । तर, क्रोएसिया पनि सेमिफाइनलबाटै बाहिरियो । उनले भने, ‘मेरा लागि यो विश्वकप दु:खद भयो । मैले फाइनल नै हेरिनँ ।’

उनी पत्रिकामा मेसी वा बार्सिलोनाबारे समाचार आएन भने पत्रिकाका प्रधानसम्पादक वा समाचार संयोजकलाई फोन पनि गर्छन् । उनले समाचार सन्तुलित भएन कि भनेर खबरदारी गर्छन् । अर्को रमाइलो कुरा कुनै पत्रिकाले मेसीको र बार्सिलोनाको समाचार ठूलो बनाएर छाप्दा उनी पुलकित हुन्छन् । भन्छन्, ‘कहिलेकाहीँ फुटबल समाचार हेर्दा बाइपास गरेर लेखिएको जस्तो लाग्छ । कहिले एउटैको मात्रै आएको देख्छु । त्यस्तोबेला सबैको समाचार आएन कि भनेर फोन गर्छु ।’

प्रकाशित : माघ १२, २०७५ १०:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×