'म मेसीको फ्यान'

बार्सिलोनाको फ्यान हुनुको कारण हो— जादूमयी मेसी । जसै मेसीको खेल नजिकबाट उनले नियाले, त्यसपछि मेसीको फ्यान भए । जब मेसीको फ्यान भए नेम्बाङ बार्सिलोनाको फ्यान भए ।
कञ्चन अधिकारी

काठमाडौँ — कुरा त्यस्तै २०२७/२८ साल तिरको हो । संविधानसभाका पूर्वअध्यक्ष एवं नेकपा एमालेका उपनेता सुवास नेम्बाङ आईएस्सी इलाममा आईएस्सी पढ्दै थिए ।

ZenTravel


उनलाई खेलप्रति निकै मोह थियो । त्यसमा पनि फुटबलप्रति उनको बढी मोह थियो । त्योताका खेलिने खेलका नियमबारे उनी जानकार थिए । त्यसैले उनी आफैंलाई ‘ज्याक अफ अल मास्टर अफ नन’ भन्थे ।

Meroghar


जब उनी आईएस्सी पढ्दा उनको काँधमा क्याम्पसको टोली नेतृत्व गर्दै फुटबल प्रतिस्पर्धा गर्ने जिम्मेवारी त्यतिबेलादेखि फुटबलको मात लाग्यो । भन्छन्, ‘अहिलेको जस्तो गाडी थिएन । ३–४ घण्टा हिँडेर हामी आइतबारे, कन्याम, फिक्कल फुटबल प्रतिस्पर्धा गर्न जान्थेम् । कन्याम अहिलेजस्तो सुन्दर चिया बगान थिएन । नांगो डाँडा थियो । भर्खर चिया बगान रोप्न सुरु गरिएको थियो। अनि हामी त्यहीं फुटबल प्रतिस्पर्धा गथ्र्यौं ।’

उनको विचारमा त्यति बेलादेखि नै समग्र इलाम जिल्लामा फुटबलप्रति बढी मोह र चाख थियो । त्यो बेलामा विभिन्न नाममा सिल्ड, कप प्रतिस्पर्धा भइरहन्थे । त्यसैले उनलाई पनि फुटबलमा मोह जाग्यो । भन्छन्, ‘सायद दार्जि्लिङको नजिक भएर होला, इलाममा फुटबल निकै लोकप्रिय थियो । क्याम्पसमा पढ्न थालेदेखि नै म फुटबलमा झन् झुकाव राख्न थालेँ ।’

उनी ३–४ कक्षा काठमाडौं बसेर पढे । तर, त्यतिबेला फुटबलबारे त्यति रुचि जागिसकेको थिएन । फेरि उनी जब काठमाडौं छोडेर इलाम फर्के त्यसपछि चाहिँ उनी फुटबलको नशामा घोलिन थाले । भन्छन्, ‘कहिलेकाहीँ रबरका बल खेलियो । कहिले भोगटेले काम चलाइयो ।’

इलाम अलि विकसित थियो । दार्जिलिङको छेउ परेर पनि होला उनीहरू छालाकै फुटबल खेल्थे । त्यो छालाको बलभित्र ट्युब हुन्थ्यो । ट्युब निकै अप्ठ्यारो खालको । हावा भर्नै गाह्रो थियो । हावा भरिसकेपछि लेसले बाँध्नुपर्ने । धेरैजसो बेला लेस चुँड्ने पनि । हावाले बलको सन्तुलन बिग्रने । त्यसको टुटी निस्केको भागले जिउमा चोट पनि लाग्ने । उनी सम्झन्छन्, ’त्यो बेला रबरको बल खेल्न निकै गाह्रो थियो । भर्खर बुट निस्कन लागेको थियो बुटमा काँटी नै काँटी हुन्थ्यो । झन् दौडन गाह्रो हुने ।’

उनी त्यतिबेला उनी दुब्ला थिए। सबैले दगुर्न खप्पिस छस् भन्थे । त्यसैले त उनलाई क्याम्पसमा र टोलको क्लब मालापथ युथ क्लबमा कप्तानको जिम्मेवारी दिइएको थियो । उनी फरवार्ड खेल्थे । भन्छन्, ’एकदमै पातलो थिएँ टिम नेतृत्व गर्थें।

उनलाई अझै सम्झना छ, त्यतिबेला सिल्ड, कप गरेर ४ वटा ५ प्रतिस्पर्धा हुन्थे । त्यो सम्झँदा अहिले उनी आफैं छक्क पर्छन् । यति धेरै कसरी भयो होला प्रतिस्पर्धा । फेरि गम्छन्– पक्कै फुटबलप्रति धेरैको मोह भएर होला । फुटबल खेल्दा उनीसँगै टिमलाई पैसाको जोहो गर्न गाह्रो हुन्थ्यो । क्याम्पसबाट खेल्दा क्याम्पसले लागेको खर्च बेहोरिदिन्थ्यो । तर, गाउँकै क्लबबाट खेल्दाचाहिँ साह्रोगाह्रो पथ्र्यो । भन्छन्, ‘क्याम्पस हुँदा सजिलो थियो। बुट किन्नका लागि पैसादिन्थ्यो। क्याम्पसले खेलाडीका लागि डाइट दिने चलन थियो । त्यसबेला जेरी–सेरी, चना, बम्बैसन दिन्थे । हाम्रा लागि यो भयंकर डाइट थियो। त्यो नहुँदा हारिन्छ कि जस्तो लाग्थ्यो।’

तर, टोलमा चाहिँ अप्ठेरो हुन्थ्यो । मालाथपबाट खेल्न जाँदाचाहिँ पैसा मागमुग गरेर, आफैं म्यानेज गरेर चलाउनुपथ्र्यो। उनी भन्छन्, ‘मागामाग गर्ने सामान्य चलन थियो। प्रतिस्पर्धा हुन्छ भनेपछि टोलका हुनेखाने अनि अलिकति पाकाहरूले मिलेर ड्रेस सिलाइदिन्थे । खाजा आफैं मिलेर चलन थियो। साह्रै थोरै पैसाले काम चलाउँथ्यौं ।’

इलामबाट बीए पास गरेपछि काठमाडौं आए नेम्बाङ । उनी प्रदर्शनीमार्गमा रहेको ल क्याम्पसमा बीएल पढ्न थाले । त्यसपछि उनले फुटबल कम हेर्न थाले । हेर्न मन लागे रंगशाला पुग्थे । बाहिरी दुनियाँको फुटबल हेर्न उनीसँग टीभी थिएन । कुरा ४३–४४ सालतिरको हो त्यतिबेला एन्फा कप हुन्थ्यो । त्यहाँ खेल्न भारत र चीनबाट टोलीहरू आउँथे । नेपालबाट महावीर, पुलिस, आर्मी, ठमेल, एनआरटीलगायतका टोलीले खेल्थे । आफ्ना क्लबले खेलेको हेर्दाहेर्दा उनलाई वाक्क लागिसकेको थियो । तर, जब चीन र भारतबाट आएका खेलाडीले फुटबल खेलेको देखेपछि उनलाई अचम्म लाग्यो । उनी सम्झन्छन्, ‘यस्तो पनि हुँदोरहेछ । उनीहरूको फुटबल हेर्दा पनि होला विदेशी फुटबलप्रति मोह जागेको । चाइनिज खेलाडीको खेलले खुबै प्रभावित पा‍र्‍यो । कस्तो राम्रो फुटबल भन्ने लाग्थ्यो।’

चाइनिजको नाम अप्ठ्यारो हुने भएकाले नाम याद छैन उनीहरूको । तर, भारतको पश्चिम बंगाल, कालिङपोङ, सिक्किम, दार्जिलिङलगायतबाट आउने खेलाडीहरूको नाम कन्ठै हुन्थ्यो । उनले भने, ‘श्याम थापा, बेनु सुब्बालगायतका खेलाडीहरू अझै सम्झन्छु ।’ यही क्रममा उनलाई विदेशी फुटबलप्रति पनिमोह जाग्यो ।

नेम्बाङलाई विश्वकप फुटबल कहिले हेरे भन्ने यकिन समय याद छैन । तर, उनले सन् १९९० को दशकमा ब्राजिलबाट खेलेका डुंगा, रोमारियो, रोनाल्डो, रोनाल्डिनियो निकै मन पर्ने खेलाडी हुन् । त्यस्तै अर्जेन्टिनाका ओर्टेगा, बार्टिस्टुटा पनि उनको मन पर्ने खेलाडी थिए । भन्छन्, ‘९० को दशकपछि टीभी पनि हेर्न थालेँ । त्यसपछि विश्वकपतिर पनि झन् झुकाव हुन थाल्यो ।’

जब सन् २००६ मा अर्जेन्टिनाबाट मेसीले खेल्न थाले त्यसपछि उनी मेसीको खेलबाट निकै प्रभावित भए । अनि उनको मन विश्वकपबाट स्पेनिस लिग लालिगा, इंग्लिस प्रिमियर लिग, जर्मनीको बुन्डेस्लिगातिर मन जान थाल्यो । त्यसमा पनि नेम्बाङलाई जहाँ मेसी छन्, त्यही क्लबको खेलले मन खायो । उनी भन्छन्, ‘धेरै लिग हेर्न थालेँ । तर पनि मेसीले खेल्ने लालिगा, त्यसमाथि बर्सिलोनाको फ्यान भएँ ।’

उनको घरमा उनी मात्रै होइन, उनका छोरा पनि फुटबलका क्रेजी हुन् । छोरा इंग्लिस प्रिमियर लिगको लिभरपुलका फ्यान हुन् । उनीहरू दुवै जना एक अर्कालाई साथ दिन्छन् । हाँस्दै भन्छन्, ‘खेलको समय जुधेको बेला हामी एकअर्कालाई बुझ्छौं । बार्सिलोनाको खेल नहुँदा म लिभरपुललाई साथ दिन्छु । छोराले लिभरपुल छाडेर बाहिर जाँदा बार्सिलोनालाईसाथ दिन्छ ।’

हुन त अन्तर्राष्ट्रिय तहको फुटबलको कुरा गर्ने हो भने उनी ब्राजिलका खाँटी समर्थक हुन् । तर, अहिले उनले कित्ता परिवर्तन गरेका छन् । पछिल्लो समय उनले अर्जेन्टिनालाई छानेका छन् । भन्छन्, ‘किनकि अर्जेन्टिनाबाट मेसी खेल्छन् । मेसीको कारणले बार्साको समर्थक पनि भएँ । ’

बार्सिलोनाको फ्यान हुनुको कारण हो— जादूमयी मेसी । जब मेसीको खेल नजिकबाट उनले नियाले त्यसपछि मेसीको फ्यान भए । जब मेसीको फ्यान भए नेम्बाङ बार्सिलोनाको फ्यान भए । उनी भन्छन्, ‘मेसीको खेल नजिकबाट हेर्न थालेँ । मन पर्न थाल्यो। खेलाडीले असर पारेको छ मलाई।’

उनलाई बार्साको पनि खेल निकै मन पर्छ । खेल निकै कलात्मक छ जस्तो लाग्छ उनलाई । त्यतिको कलात्मक अरूले खेल्दैनन् । भरसक आफ्नो कन्ट्रोलमा बल राखेर अरूले खेल्दैनन् । त्यसैले बर्साको खेल्ने शैली ‘टिकीटाका’ भनेर पनि टिप्पणी गर्छन् । बर्साले त्यही ढंगले कलात्मक खेल खेल्छ । त्यसमा मेसी राम्रा खेल्छन्,’ उनी थप्छन् ।

नेम्बाङलाई मेसी वास्तवमा एउटा पूर्ण खेलाडी हुन् भन्ने लाग्छ । भन्छन्, ‘कमेन्टेटरले पनि उनलाई कल्प्लिट खेलाडी हुन् भनेर भन्छन्,’ उनले क्रिस्टियानो रोनाल्डोसँग तुलना गरेर मेसीलाई हेर्ने गरेका छन् । रोनाल्डो पनि राम्रो खेल्छन् । उनी राम्रो स्ट्राइकर हुन् । तर, मेसी राम्रो ड्रिब्लिङ गर्छन्, राम्रो एसिस्ट गर्छन् । उनले भने, ‘मेसी यति सजिलो र न्याचुरल ढंगले खेल खेल्छन् कि टिप्पणीकारहरू के भन्छन् भने उसलेखेलेर गोल हान्दा ए यति सजिलैसँग खेल्नसक्दोरहेछ भन्छन् ।’

उही कलात्मक ढंग र स्वाभाविक ढंगको खेलले नेम्बाङ डाइहार्ट फ्यान भएका छन् मेसीको । उनी भन्छन्, ‘मेसीको जुनसकै खेल हेरिरहूँजस्तो लाग्छ । उनी एउटा पूर्ण खेलाडी हुन् । साथसाथै एउटा खेलाडी घमण्डी हुन्छ भन्छन् । तर, उनको व्यवहार हेर्दा रिसाएर अरूमाथि आक्रमण गरेको देखिँदैन । त्यसैले मलाई तानेको हो ।’

तर कहिलेकाहीँ मेसीको टिमले हार्दा उनलाई खिन्न बनाउँछ । बार्सिलोनाले हारेको दिन घरमा सबैले जिस्काउँछन् नेम्बाङलाई । उनी घरको कुरा समझन्छन्, ‘घरमा सबैले बार्सा र मेसी भनेपछि पापा हुरुक्कै हुनुहुन्छ भन्ने था’छ । कुनै दिन बार्साले हारेको जिस्क्याउँछन् । मन खिन्न हुन्छ यसमा विवाद नै छैन ।’

उनी सके र भ्याएसम्म अर्जेन्टिना र बार्सिलोनाको खेल हेर्न छुटाउँदैनन् । संविधानसभाको त्यो संविधान बनाउने त्यो उत्कर्षमा पनि आफूले बार्सिलोनाको खेल हेरेको सम्झन्छन् । उनले भने, ‘संविधान बनाउनका लागि संविधानसभा भवनमा राति २ बजेसम्म बसेर घर आएपछि पनि फुटबल हेर्न छोडिनँ ।’ उनी काठमाडौंमा रहँदा मात्रै होइन जिल्लामा जाँदा होस् या विदेशमा जाँदा नै किन नहोस् फुटबल हेरेकै हुन्छन् ।

उनले एउटा प्रसंग सम्झिए । केही समयअघि अमेरिका जाँदा बार्सिलोनाको फुटबल थियो । अमेरिकामा फुटबल त्यति धेरै हेरिन्न । उनी न्युयोर्कमा कहाँ फुटबल हेर्न पाइन्छ भनेर सोध्दै हिँडका छन् । उनले भने, ‘धेरै समय फुटबल हेर्न पाइने ठाउँ खोज्दै जाँदा एउटा बारमा पुग्यो । त्यहाँ धेरै टीभीहरू थिए । कसैले के हेरेको । कोहीले के । तर, फुटबल हेर्ने कोही देखिएनन् । तर, हामीलाई बारमा बार्सिलोनाको फुटबल लगाइदिएर त्यहाँको मान्छे हाँस्दै गए ।’ उनका अनुसार जिल्ला जाँदा पनि उनी आफू बस्ने होटलमा टीभी छ कि छैन । फुटबल आउने स्पोर्टस् च्यानल आउँछ कि आउँदैन पहिल्यै सोध्छन् ।’

मेसीलाई भेट्नी मौका पाए के गर्नुहुन्छ ? प्रश्न गरियो । उनी मन्द मुस्कानको हाँसोका साथ भने, ‘मलाई साह्रै खुसी लाग्छ । तिमीप्रतिको मेरो यो भावना हो भन्छु । तिम्रो निरन्तर प्रगतिको कामना गर्छु है भनेर हात मिलाउँछु ।’

मेसीकै फ्यान भएका कारण सन् २०१८ को विश्वकपमा उनलाई उराठ बनायो । उनले समर्थन गरेका हरेक टिमले हार्दै गएपछि उनको यो विश्वकप उराठ बनेको थियो। भन्छन्, ‘मेसी र अर्जेन्टिना भनेर मैदानमा उत्रेको सुरुमै अर्जेन्टिना र मेसी बाहिर भए । त्यतिबेलै मलाई रुस जान मन लागेको थियो । मेसीको खेला सामुन्नेमा हेरुम् भन्ने लागेको थियो ।’

अर्जेन्टिना बाहिरिएसँगै उनले समर्थन ब्राजिल, स्पेन पनि बाहिरिए । अन्तिममा उनले क्रोएसियाको समर्थन गरे । क्रोएसियाको किन समर्थन गरेभने त्यहाँ बार्सिलोनाबाट खेल्ने र्‍याकिटिक थिए । तर, क्रोएसिया पनि सेमिफाइनलबाटै बाहिरियो। उनले भने, ‘मेरा लागि यो विश्वकप दु:खद भयो । मैले फाइनल नै हेरिनँ ।’

उनी पत्रिकामा मेसी वा बार्सिलोनाबारे समाचार आएन भने पत्रिकाका प्रधानसम्पादक वा समाचार संयोजकलाई फोन पनि गर्छन् । उनले समाचार सन्तुलित भएन कि भनेर खबरदारी गर्छन् । अर्को रमाइलो कुरा कुनै पत्रिकाले मेसीको र बार्सिलोनाको समाचार ठूलो बनाएर छाप्दा उनी पुलकित हुन्छन् । भन्छन्, ‘कहिलेकाहीँ फुटबल समाचार हेर्दा बाइपास गरेर लेखिएको जस्तो लाग्छ । कहिले एउटैको मात्रै आएको देख्छु । त्यस्तोबेला सबैको समाचार आएन कि भनेर फोन गर्छु ।’

प्रकाशित : माघ १२, २०७५ १०:३६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पत्रकारको उपन्यास

कान्तिपुर संवाददाता

काठमाडौँ — पत्रकार तथा मानव अधिकारकर्मीको पहिचान बनाएका पुरुषोत्तम दाहाल उपन्यास ‘शान्ता’ लिएर पाठकसामु आएका छन् ।

दाहाल पत्नी शान्ताको सत्यकथालाई आख्यान रूप दिएर यो उपन्यास लेखिएको छ । अधिकांश पात्र नेपाली समाजभित्र यत्रतत्र पाइने खालका छन्, पाठकलाई यो कृति पढिरहँदा उपन्यासभन्दा पनि जीवनी र आत्मजीवनीझैं लाग्न सक्छ ।

समीक्षक कुमारप्रसाद कोइरालाका अनुसार, तृतिय पुरुष दृष्टिविन्दुबाट लेखिएको ‘शान्ता’ विषयवस्तु र कथानकअनुसार उपन्यासभन्दा पनि ‘अर्ध–उपन्यास’ जस्तो छ । लेखकको अनुभव, स्वभाव, संघर्ष र वरपरको सामाजिक परिवेशलाई औपन्यासिक रूप दिइएको छ ।

‘कसैलाई नांगेझार पार्न, कसैको मनमा निरर्थक आहत पुर्‍याउन नभएर एक साहसिक महिलाको विवेक, शौर्य र मानवतापूर्ण कार्यलाई अभिलेखबद्ध गर्दै जीवन्त तुल्याउन’ आफूले शान्ता लेखेको उपन्यासकारले उल्लेख गरेका छन् । आफन्तलाई बचाउने रहरमा प्रतिबद्ध यौटी नारीको सचेतना, भावना र संकल्प ‘शान्ता’ मा देखिएको छ । वास्तविकतासँग जुध्दै गरेको एउटा पात्रको अन्तर्मनको पीडा पनि ‘शान्ता’ मा उत्रिएको छ । व्यक्ति र व्यक्तिका सम्बन्धहरू, समाज र समाजका आचरणहरू, स्वार्थ, संकल्प र उद्वेगको समवेत स्वर उपन्यासमा आएको छ । उपन्यास सगरमाथा वाङ्मय प्रतिष्ठानले निकालेको हो ।

अनुषा (शान्ताकी छोरी) ले डाक्टर प्रसादलाई नयाँ जीवन प्राप्तिको वार्षिकी उपलक्ष्यमा दिएको बधाईबाट सुरु भएको ‘शान्ता’ १७ अध्यायमा लेखिएको छ । उपन्यासमा मूलत: वर्णनात्मक शैलीको प्रयोग भएको छ । साठीको उत्तराद्र्धतिर लागेका कलेजोबाट पीडित मामा डाक्टर प्रसादलाई कलेजो दान गर्ने शान्ताको घोषणा र यसले उत्तमदा (शान्ताका पति) तथा अन्य स्वजनमा ल्याएको तरंगबाट सुरु भएको उपन्यासमा चरित्रका विभिन्न पक्ष प्रकट भएका छन् । आफैं विभिन्न स्वास्थ्य समस्याले ग्रस्त शान्ताको कलेजो दानबारेको घोषणा कति व्यावहारिक, कति प्रशंसनीय छ भन्ने द्विविधाको चिरफार यहाँ छ ।

डाक्टरप्रसाद एक सरल र कर्तव्यनिष्ठ डाक्टर भए पनि उनको हुर्काइमा परेको वर्गमोह र आडम्बरले शान्ता/उत्तमदाजस्ता कर्मशील पात्रहरू उनको प्राथमिकतामा पर्दैनन् । डाक्टर नजिकका नातेदारको वैभवशाली जीवन र त्यो जीवनशैलीभित्रको कृत्रिम हार्दिकतालाई उदांग पार्दै शान्ताको करुणा, मानवता र दृढतालाई स्पष्ट पार्दै कथा अगाडि बढेको छ । उपन्यासले मेदान्त अस्पतालमा भएको उपचार प्रक्रिया, त्यसमा निहित प्रक्रियागत जटिलता, नेपाली दूतावासको निरीह अवस्था, सरकारी कर्मचारीको सेवाग्राहीप्रतिको उपेक्षाभाव, विदेशमा रहेका नेपाली मित्रजनले गरेको आत्मीय सहयोग आदि चित्रण भएको छ । ‘छन् गेडी सबै मेरी’ उखानलाई चरितार्थ पार्ने चरित्रका प्रतिनिधि रूपमा उत्तमदाका भाइ र डाक्टर प्रसादका नजिकका नातेदार पर्छन् ।

मूलकथा सत्यतामा आधारित भएकाले होला, शान्तामा औपन्यासिक घटना र आकस्मिक मोड तथा नाटकीयताले प्राथमिकता पाएको छैन । विषयमा एकोहोरो वर्णन मात्रै छैन, अत्यन्त सरल र बोधगम्य भाषामा बुझाउने काम गरिएको छ ।

हालै ‘शान्ता’ अंग्रेजी संस्करणमा पनि आएको छ, नारायणप्रसाद घिमिरेको अनुवादमा । ‘शान्ता’ बिक्रीबाट जम्मा भएको रकम क्यान्सरपीडितको सहयोगका लागि ‘शान्ता फाउन्डेसन’ मा जम्मा गरिने प्रतिबद्धता लेखकको छ ।
—राघव पौडेल

प्रकाशित : माघ १२, २०७५ १०:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×