कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पत्रकारको उपन्यास

काठमाडौँ — पत्रकार तथा मानव अधिकारकर्मीको पहिचान बनाएका पुरुषोत्तम दाहाल उपन्यास ‘शान्ता’ लिएर पाठकसामु आएका छन् ।

पत्रकारको उपन्यास

दाहाल पत्नी शान्ताको सत्यकथालाई आख्यान रूप दिएर यो उपन्यास लेखिएको छ । अधिकांश पात्र नेपाली समाजभित्र यत्रतत्र पाइने खालका छन्, पाठकलाई यो कृति पढिरहँदा उपन्यासभन्दा पनि जीवनी र आत्मजीवनीझैं लाग्न सक्छ ।


समीक्षक कुमारप्रसाद कोइरालाका अनुसार, तृतिय पुरुष दृष्टिविन्दुबाट लेखिएको ‘शान्ता’ विषयवस्तु र कथानकअनुसार उपन्यासभन्दा पनि ‘अर्ध–उपन्यास’ जस्तो छ । लेखकको अनुभव, स्वभाव, संघर्ष र वरपरको सामाजिक परिवेशलाई औपन्यासिक रूप दिइएको छ ।


‘कसैलाई नांगेझार पार्न, कसैको मनमा निरर्थक आहत पुर्‍याउन नभएर एक साहसिक महिलाको विवेक, शौर्य र मानवतापूर्ण कार्यलाई अभिलेखबद्ध गर्दै जीवन्त तुल्याउन’ आफूले शान्ता लेखेको उपन्यासकारले उल्लेख गरेका छन् । आफन्तलाई बचाउने रहरमा प्रतिबद्ध यौटी नारीको सचेतना, भावना र संकल्प ‘शान्ता’ मा देखिएको छ । वास्तविकतासँग जुध्दै गरेको एउटा पात्रको अन्तर्मनको पीडा पनि ‘शान्ता’ मा उत्रिएको छ । व्यक्ति र व्यक्तिका सम्बन्धहरू, समाज र समाजका आचरणहरू, स्वार्थ, संकल्प र उद्वेगको समवेत स्वर उपन्यासमा आएको छ । उपन्यास सगरमाथा वाङ्मय प्रतिष्ठानले निकालेको हो ।


अनुषा (शान्ताकी छोरी) ले डाक्टर प्रसादलाई नयाँ जीवन प्राप्तिको वार्षिकी उपलक्ष्यमा दिएको बधाईबाट सुरु भएको ‘शान्ता’ १७ अध्यायमा लेखिएको छ । उपन्यासमा मूलत: वर्णनात्मक शैलीको प्रयोग भएको छ । साठीको उत्तराद्र्धतिर लागेका कलेजोबाट पीडित मामा डाक्टर प्रसादलाई कलेजो दान गर्ने शान्ताको घोषणा र यसले उत्तमदा (शान्ताका पति) तथा अन्य स्वजनमा ल्याएको तरंगबाट सुरु भएको उपन्यासमा चरित्रका विभिन्न पक्ष प्रकट भएका छन् । आफैं विभिन्न स्वास्थ्य समस्याले ग्रस्त शान्ताको कलेजो दानबारेको घोषणा कति व्यावहारिक, कति प्रशंसनीय छ भन्ने द्विविधाको चिरफार यहाँ छ ।


डाक्टरप्रसाद एक सरल र कर्तव्यनिष्ठ डाक्टर भए पनि उनको हुर्काइमा परेको वर्गमोह र आडम्बरले शान्ता/उत्तमदाजस्ता कर्मशील पात्रहरू उनको प्राथमिकतामा पर्दैनन् । डाक्टर नजिकका नातेदारको वैभवशाली जीवन र त्यो जीवनशैलीभित्रको कृत्रिम हार्दिकतालाई उदांग पार्दै शान्ताको करुणा, मानवता र दृढतालाई स्पष्ट पार्दै कथा अगाडि बढेको छ । उपन्यासले मेदान्त अस्पतालमा भएको उपचार प्रक्रिया, त्यसमा निहित प्रक्रियागत जटिलता, नेपाली दूतावासको निरीह अवस्था, सरकारी कर्मचारीको सेवाग्राहीप्रतिको उपेक्षाभाव, विदेशमा रहेका नेपाली मित्रजनले गरेको आत्मीय सहयोग आदि चित्रण भएको छ । ‘छन् गेडी सबै मेरी’ उखानलाई चरितार्थ पार्ने चरित्रका प्रतिनिधि रूपमा उत्तमदाका भाइ र डाक्टर प्रसादका नजिकका नातेदार पर्छन् ।


मूलकथा सत्यतामा आधारित भएकाले होला, शान्तामा औपन्यासिक घटना र आकस्मिक मोड तथा नाटकीयताले प्राथमिकता पाएको छैन । विषयमा एकोहोरो वर्णन मात्रै छैन, अत्यन्त सरल र बोधगम्य भाषामा बुझाउने काम गरिएको छ ।


हालै ‘शान्ता’ अंग्रेजी संस्करणमा पनि आएको छ, नारायणप्रसाद घिमिरेको अनुवादमा । ‘शान्ता’ बिक्रीबाट जम्मा भएको रकम क्यान्सरपीडितको सहयोगका लागि ‘शान्ता फाउन्डेसन’ मा जम्मा गरिने प्रतिबद्धता लेखकको छ ।

—राघव पौडेल

प्रकाशित : माघ १२, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?