कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

महिनावारी बन्देजले खोस्दैछ आत्मसम्मान र पोषण 

विद्या राई

काठमाडौँ — देउडा गायक शोभा थापाले ०५६ सालतिर पहिलो पटक महिनावारी हुँदा १२ दिनसम्म छाउगोठ बसिन् । अँध्यारो, चिसो अनि राम्ररी घाम नपर्ने गोठ घरदेखि पर पर्‍थ्यो । राति सुत्दाखेरि डर लाग्ने भएर छिमेकी केटी साथीहरुले कुर्थे ।

महिनावारी बन्देजले खोस्दैछ आत्मसम्मान र पोषण 

महिनावारी भएका बेला परिवारका पुरुष सदस्यहरुलाई हेर्न मिल्दैनथ्यो । पुजापाठ गर्न, मन्दिर जान, दुधदही खान बन्देज थियो । अलग्गै धारा प्रयोग गर्नुपर्‍थ्यो । दोस्रो पटकदेखि हप्ता दिन बार्न लगाइयो । गोठको चिसो भुइँमा सुत्दा उल्टै चिसो लाग्थ्यो ।

सानैदेखि देउडा गाउन सिपालु उनी गायनमा भविष्य खोज्दै जब काठमाडौं छिरिन्, महिनैपिच्छे छाउगोठ बस्नुपर्ने र बार्नुपर्ने झन्झटबाट उम्किइन् । बाजुराको खप्तड छेडेदहकी उनले धादिङस्थित जनजाति परिवारमा विवाह गरेपछि झनै सजिलो भयो । घरमा महिनावारी हुँदा बार्नुपर्ने, खान नहुने, छुन नहुने जस्ता बन्देजहरु छैनन् ।

माइतीतिरको चलन अझै हटिसकेको छैन । शनिवार महिनावारी सम्बन्धि काठमाडौंमा आयोजित एक कार्यक्रममा अनुभव साँट्दै भनिन्, ‘बार्ने कुरा सबै अन्धविश्वास हो भन्ने आफूले जान्दाजान्दै पनि माइती जाँदा समाज र परिवारका लागि बार्नु नै पर्छ ।’ अचेल पहिले जसरी छाउगोठ नै त पुग्नुपर्दैन, घरैको भुइँ तलामा अलग्गै सुत्नुपर्छ । अलग्गै धारा प्रयोग गर्नुपर्छ । दुधदही खान पाइदैन । पुजापाठ, मन्दिर जान पाइदैन ।

पछिल्लो पटक यही महिना उनी छ वर्षपछि माइती पुगेकी थिइन् । उनी महिनावारी हुने समय नजिकिँदै थियो । पहिले कडा प्रतिवाद गर्न सक्दिनथिन्, जसरी भएपनि बार्नैपर्‍थ्यो । तर, अझैपनि जरा गाँडेर बसेको परम्पराले अवाक मात्रै भइनन् । माइती बस्ने समय छोट्याएर काठमाडौं फर्किहालिन् ।

‘पाँच दिन बार्नैपर्ने रछ, छ वर्षपछि माइती पुग्दा पनि अलग्गै बस्नुभन्दा बरु फर्किहाल्छु भनेर आइहालेँ,’ उनले भनिन्, ‘नबारौं भन्दा बुढा बाआमाहरु नमान्ने रहेछन्, बिरामी हुन्छौ भन्छन्, उनीहरुको सोच नै त्यस्तै भयो ।’ उनकी आमा ६० वर्षकी भइन्, थाहै दिएर महिनावारी भएका महिलाले छोइछिटो गरे काप्छिन् भन्ने विश्वास छ । तर काठमाडौं आएका बेला शोभाले सुटुक्कै पकाएर खुवाउँछिन्, काप्छिन् न बिरामी हुन्छिन् ।

शोभाको माइती गाउँमा झैँ सुदूरपश्चिम र कर्णाली क्षेत्रमा महिनावारी हुँदा मुख्य घरभन्दा अलग्गै बस्नुपर्ने लगायतका विभेद र बन्देजहरु छाउपडी प्रथाका रुपमा जीवितै छन् । सुदूरपश्चिम र कर्णालीका घरघरमा व्याप्त छाउप्रथालाई १ भदौ २०७५ देखि लागू गरिएको ‘मुलुकी अपराध संहिता २०७४’ ले आपराधिक कसूर मानेको छ ।

छाउप्रथाका कारण किशोरी र महिलाहरुले अकालमा ज्यान गुमाउनु परिरहेको भन्दै सरकारले पहिलो पटक ०६४ सालमा ‘छाउपडी प्रथा उन्मुलन निर्देशिका’ समेत लागु गरेको थियो । ०६४ सालयता सुदूरपश्चिम र कर्णाली क्षेत्रका तत्कालीन जिल्ला विकास समिति, गाविस, हालका पालिका, गैरसरकारी तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था, दातृ निकायहरुले छाउपडी उन्मुलनका नाममा १ अर्ब रुपैयाभन्दा बढी खर्च गरिसकेका यसअघि कान्तिपुर संवाददाताहरुको खोजले औल्याएको छ । तर, अझैपनि कर्णाली प्रदेशमा २६ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा २० प्रतिशतले छाउप्रथा मान्ने गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ मा उल्लेख छ ।

महिनावारीका नाममा ४० खालका बन्देज

किडार्क नेपालले तयार पारेको महिनावारीबारे सामाग्री अनुसार महिनावारीलाई ठाउँ बिशेष रजस्वला भएको, छाउ, छुई, नछुने हुनु, बाहिर हुनु भन्ने गरिन्छ । महिनावारी सामान्यता १० देखि १५ वर्षभित्रमा सुरु भएर ४५ देखि ५० वर्षसम्म चल्छ । महिनावारी बन्द हुनुलाई रजोनिवृत्ति भनिन्छ । विश्व स्वाथ्य संगठनका अनुसार रजोनिवृत्तिपछि सामान्यतया महिलाहरू गर्भवती हुन सक्दैनन् ।

पश्चिम नेपालमा जसरी गोठैमा बस्नु नपरेपनि देशैभरका महिलाले महिनावारी भएका बेला पुजा गर्न नमिल्ने, मन्दिर जान नमिल्ने, घाम हेर्न नमिल्ने, पुरुष व्यक्तिहरुलाई हेर्न नमिल्ने जस्ता ४० प्रकारका धार्मिक, सास्कृतिक, सामाजिक निषेध र प्रतिबन्धहरु भोग्नुपरिरहेको राष्ट्रिय महिनावारी सञ्जालको अध्ययनले देखाएको छ ।

सञ्जालमा संयुक्त राष्ट्र संघीय तथा सरकारी निकाय, गैरसकारी तथा अन्तरराष्ट्रिय गैरसरकारी संघसंस्था, नागरिक समाज, विश्व विद्यालय, नीजि क्षेत्र, कलाकार लगायत ७५ भन्दा बढिको आबद्धता छ । यसले मर्यादित महिनावारी, महिनावारी स्वास्थ्य जनचेतनामुलक कार्य तथा नीतिगत पैरवी गर्दै आएको छ ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार महिनावारीका बेला ६५ प्रतिशत महिलाहरु मन्दिर जाने तथा धार्मिक गतिविधिमा संलग्न हुनबाट बञ्चित हुन्छन् । एक तिहाइ महिला अर्थात सयमा ३४ जना महिनालाई छुन वा खाना पकाउनबाट बञ्चित गरिन्छ ।

विज्ञहरुका अनुसार यस्ता गलत परम्पराहरु जीवितै रहँदा महिलाले महिनावारीको बेलामा अमानवीय व्यवहार खेप्नुपरिरहेको हुन्छ । महिलाको महिनावारी स्वास्थ्य तथा पोषणमा चुनौती थपिरहेको हुन्छ । ‘नियमित महिनावारी हुनु भनेको महिलाको पाठेघर, यौन अंग पुर्ण रुपमा स्वस्थ छ भन्ने जनाउ हो, प्रजनन क्षमता (सन्तानोत्पादन) विकास भयो भन्ने हो,’ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदी भन्छन्, ‘महिनावारी हुदा योनी हुँदै रगत निस्कने भएकाले स्वास्थ्य, पोषण र स्याहारसंग जोडिएर आउँछ, त्यतिखेर राम्ररी सफाइ गरिएन भने पाठेघरको मुखको रोग वा यौनागंमा अरु संक्रामक रोग, चिलाउने एलर्जी हुने हुन्छ ।’

परिवार र समाजमा महिनावारीबारे खुलेर कुरा नगर्दा, विभेदपुर्ण व्यवहार गर्दा महिलामा एकपछि अर्को शारिरीक र मानसिक स्वास्थ्य समस्या देखिने उनले बताए । ‘एक पटक महिनावारी हुदा महिलाको शरीरबाट सरदर १०० एमएल रगत बगिरहेको हुन्छ, यो पुर्ति गर्ने आधार (पोषिलो खानपान) भएन भने स्वास्थ्य जटिलता हुने जोखिम रहन्छ,’ स्त्री तथा प्रसूति रोग विशेषज्ञ सुवेदीले थपे ।

महिनावारीका बेला उचित सरसफाइ नगरे पिसाबनली र यौनजन्य अंगहरुमा संक्रामक रोगहरु लाग्ने जोखिम हुन्छ । पोषिलो खानेकुरा, माछामासु, फलफुल, दुधदही, हरियो सागपात तरकारी खान नपाए स्वास्थ्य जटिलता आउँछन् । अत्यधिक रगत बगेर हेमोग्लोभिन कमी हुने, ढिला गरी स्वास्थ्य संस्था आइपुग्दा कतिलाई रगत चढाउनुपर्ने, संक्रमण भैरहेको हुने र किड्नीमा इनफेक्सन समेत देखिने गरेको सुवेदीले भने ।

निशुल्क प्याडले रोकेन छात्राको अनुपस्थिति

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार देशैभरका ३९ प्रतिशत महिलाहरु महिनावारीको समयमा नुहाउन र सुरक्षित तथा गोप्य ठाउँमा प्याड लगायतका महिनावारी सामाग्री फेर्न पाउँदैनन् । सबैभन्दा बढी कर्णाली प्रदेशका ५४ प्रतिशत महिला यो सास्तीसंग जुधिरहेका छन् ।

मर्यादित महिनावारी अभियन्ता राधा पौडेलका अनुसार नेपालमा ९ र विदेशमा १० थरीका महिनावारी सामाग्री पाइन्छन् । नेपालमा १५ देखि ४९ वर्ष उमेर समुहका महिला तथा किशोरीहरुसँग गरिएको अध्ययन अनुसार महिलाहरुले सुतीको कपडा, पुनः प्रयोग गर्न मिल्ने प्याड तथा बजारमा पाइने सेनेटरी प्याड, ट्याम्पन, महिनावारी कप, सुतीको कपडा लगायतका महिनावारी सरसफाई सामाग्री प्रयोग गर्छन् । प्याड ४ देखि ६ घण्टामा फेर्नुपर्ने हुन्छ । यसका लागि घर तथा विद्यालयमा शौचालय प्रयोग गर्नुपर्ने हुन्छ ।

प्याडको व्यवस्थापन तथा विसर्जन व्यवस्था नहुदा विद्यालयमा निशुल्क प्याड वितरणले छात्राहरुको अनुपस्थितीलाई रोक्न सकेको छैन । सरकारले सामुदायिक विद्यालयका छात्राहरुलाई निशुल्क सेनेटरी प्याड वितरण गर्न थालेको पाँच वर्ष भैसकेको छ । तर, विद्यालयका शौचालयमा पानी नहुने, शौचालयका झ्याल ढोका भत्किएका हुने हुदा प्याड व्यवस्थापन तथा विसर्जन गर्न कठिनाइ हुने गरेको छ ।

प्याड फ्याल्न डष्टविन राखिएको हुदैन । निशुल्क वितरण गरिने प्याडको लम्बाइ छोटो, रगत नथेग्ने, कम सोस्ने जस्ता गुणस्तरहीन पाइने गरेको छ । यिनै असहजताले गर्दा सामुदायिक विद्यालयका १५ देखि २२ प्रतिशत छात्राहरुले महिनावारीका बेला विद्यालय छाड्ने गरेको बेयोन्ड बेइजिङ कमिटी संस्थाको ‘सेनेटरी प्याड विसर्जन अभ्यास २०२२’ प्रतिवेदनले औल्याएको छ । प्रतिवेदनका लागि बाजुरा, काभ्रे र मोरङका छ वटा सार्वजानिक विद्यालयमा अध्ययन गरिएको थियो ।

नेपालजस्ता न्युन आय भएका देशहरुमा महिनावारीका बेला पुराना कपडामा टाला बनाएर प्रयोग गर्ने चलन छ । सरकारले सामुदायिक विद्यालयका छात्राहरुलाई निशुल्क सेनेटरी प्याड वितरण गर्ने र अन्य किशोरी तथा महिलाहरुले पनि प्याड नै रोज्ने गरेका छन् । व्यवस्थित विसर्जनतर्फ बेलैमा ध्यान नदिए आफैँले प्रयोग गरेर फ्यालेका प्याडले वातावरण फोहोर र दुषित हुने मर्यादित महिनावारी अभियन्ता पौडेलले बताउँछिन् ।

‘नेपालमा ७० वटा संस्थाले प्याड बनाउँछन्, सेवाग्राहीले रोजेर प्रयोग गर्नु उसको सुरक्षा, पहिचान र आत्मसम्मानको कुरा हो,’ वातावरणीय असरलाई जोड दिदै उनले भनिन्, ‘प्लाष्टिक र केमिकलले बनाइएका ति सामाग्री जलायो भने हावामा, बगायो माटो र पानीमा, फाल्यो भने जंगल र खेतीमा असर पार्छ, कसरी नष्ट गर्ने वा पुनःप्रयोग गर्ने ध्यान दिन जरुरत भैसकेको छ ।’

‘महिनावारीमैत्री विश्वव्यापी हातेमालो’

राष्ट्रिय महिनावारी सञ्जालले विगतमा झै ‘अन्तरराष्ट्रिय महिनावारी स्वास्थ्य दिवस’ आयोजना गर्दैछ । यही मे २८ का दिन ‘महिनावारीमैत्री विश्वव्यापी हातेमालो’ नाराका साथ दिवस मनाउन लागेको छ । दिवसमा चार सय बढीको उपस्थितिले काठमाडौं, भक्तपुर र ललितपुरमा साइकल र्‍याली गर्ने तयारी छ ।

काठमाडौंमा महिनावारी स्वास्थ्यबारे प्यानल डिस्कसन आयोजना गर्ने, गायकहरुको महिनावारी सञ्जाल तथा सचेतनामुलक सामाग्रीहरु सार्वजानिक गर्ने कार्यक्रम छन् । मे २८ लाई विश्वमा महिनावारी दिवसका रुपमा मनाउन थालिएको एक दशक भएको छ । नेपालमा सन् २०१८ बाट सुरु भएको सञ्जालका संयोजक गुणराज श्रेष्ठले बताए ।

सचेतनामुलक कार्यक्रमहरु बालबालिका केन्द्रित गर्नुपर्ने स्त्री तथा प्रसूति रोग विशेषज्ञ सुवेदी सुझाउँछन् । पहिले १५/१६ वर्षमा पहिलो पटक महिनावारी हुने र अहिले छिटो महिनावारी हुने पुस्ताबीचको सोचाइ तथा बुझाइ फरक हुने गर्छ ।

‘११ वर्षको बालिकाले महिनावारी भएकैले आज म बाबासंग बसेर किन खादिन, बाबालाई छोइनु हुदैन भन्ने कुराले बालमस्तिष्कमा पार्ने असरबारे छलफल गर्नपर्ने भैसक्यो,’ सुवेदीले भने, ‘जति बुझाउन खोज्दैनौं, उनको बालमस्तिष्कले म महिनावारी भएकै कारण परिवारका सदस्यसंग टाढा हुनुपर्ने रहेछ भने किन महिनावारी हुन्छ भन्नेसम्मको हिनताबोध ल्याउन सक्छ ।’

देउडा गायक शोभाले महिनावारी भएका बेला अलग्गै बस्नुपर्ने कुराले युवापुस्ता र परिवारबीचको सामिप्यतामा दुरी बढाउने भन्दै सचेतनाका गतिविधिहरु गाउँ केन्द्रित गर्नुपर्ने सुझाउँछिन् । ‘काठमाडौंमा मात्रै सचेतना गरेर भएन, होटलमा गोष्ठी गरेर भएन,’ उनी भन्छिन्, ‘जसले छाउ मान्छन्, उनैलाई खोजी खोजी सचेतना गर्ने गर्नुपर्छ, मनैबाट परिवर्तन ल्याउन विद्यार्थी, शिक्षक, जनप्रतिनिधिलाई पनि सिकाउनुपर्छ ।’

प्रकाशित : जेष्ठ १३, २०८१ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?