कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नरदेवी आयुर्वेद चिकित्सालयका कर्मचारी भन्छन् : जनशक्ति पुगेन

काठमाडौँ — नरदेवी आयुर्वेद चिकित्सालयका चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवलाई जनशक्ति अभावका कारणले अपेक्षित सेवा प्रवाह गर्न नसकिएको गुनासो गरेका छन् ।

नरदेवी आयुर्वेद चिकित्सालयका कर्मचारी भन्छन् : जनशक्ति पुगेन

आइतबार आकस्मिक अनुगमनमा पुगेका मन्त्री यादवलाई अस्पतालका कार्यकारी निर्देशक डा. रामदेव यादवले चिकित्सकदेखि नर्सिङ स्टाफसम्मको अभाव रहेको र त्यसमाथि दरबन्दी नथपिँदा सेवाको गुणस्तर कायम राख्न चुनौती भइरहेकोले यसबारे गम्भीर भएर समस्या समाधान गरिदिन ध्यानआर्कषण गराए ।

‘चिकित्सालयसँग स्रोतसाधन पनि सीमित मात्र छ । बजेट अभावका कारण सबै सेवा सोचे अनुसार दिन सकेका छैनौं,’ उनले भने, ‘जेनरेटर नहुँदा विद्युत् जाँदा सेवा रोक्नुपर्ने अवस्था छ ।’ डा. यादवले अत्याआवश्यक उपकरणको समेत अभाव रहेको जानकारी गराए ।

स्वास्थ्यमन्त्री यादवले नेपालकै प्रमुख आयुर्वेदिक चिकित्सालयका रूपमा स्थापित नरदेवीलाई सबल बनाउन कुनै कसर बाँकी नराख्ने बताए । ‘अस्पतालको सेवाको गुणस्तर सुधार गर्न के–के चाहिएको छ, सूची बनाएर दिनुहोस्,’ उनले भने, ‘सम्भव भएसम्म सबै प्रकारको जनशक्ति र स्वास्थ्य सामग्री व्यवस्थापन गर्छु ।’

मन्त्री यादवले चिकित्सालयमा थन्किएको एमआरआई मेसिन चाँडै सञ्चालनमा ल्याउन पनि निर्देशन दिए । अनुगमनको क्रममा मन्त्री यादवले विभिन्न शाखा, फार्मेसी, ओपीडी, शल्यक्रिया कक्षलगायतको निरीक्षण गरी उपचारत बिरामी, कुरुवासँग समस्याबारे बुझेका थिए ।

प्रकाशित : असार ३, २०८१ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?