कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

रोबोटिक सर्जन

यो प्रविधिअन्तर्गत सर्जन कन्सोल (रोबोटलाई चलाउने माध्यम) मा बस्छन् र रोबोटलाई चलायमान बनाउँछन् । त्यसपछि उक्त रोबोटको सहयोगमा बिरामीको शल्यक्रिया गर्ने गर्छन् । 
सन्जु पौडेल

लुम्बिनी — सहरबजारमा जन्मे–हुर्केकै कारण किन्जु अधिकारी गाउँले परिवेशमा भने त्यति घुलमिल हुन पाइनन् । विद्यावारिधि गरेका बुवा घरमै भएकाले किन्जु र भाइका लागि घरैमा पढ्ने वातावरण राम्रो थियो । बाल्यकालमा शान्त अनि लजालु स्वभावकी किन्जुलाई घुम्न भने सानैदेखि खुब मन पर्थ्यो ।

रोबोटिक सर्जन

उनलाई पढेर डाक्टर नै बन्छु भन्ने चाहनाले भने छोडेन । तर त्यो चाहना पूरा गर्न कति पढ्नुपर्छ भन्ने आकलनचाहिँ उनको कलिलो दिमागले गर्न भ्याएको थिएन ।

त्यसैले उनी पढाइका अलावा विद्यालयस्तरमा हुने अधिकांश खेलकुद प्रतियोगितामा भाग लिने गर्थिन् । म्याराथन, हाइजम्प, बास्केटबल लगायत खेलमा पुरस्कारहरू जितिन् । तर डाक्टर बन्नका लागि पढाइमा बढी केन्द्रित हुनुपर्ने थाहा पाएपछि भने उनले खेलका लागि समय दिन भ्याइनन् ।

डाक्टर बन्ने चाहना भएकैले होला उनलाई घाउचोट र रगतदेखि कहिल्यै डर लागेन । कसैको घाउ देखे सफा गरेर औषधि लगाइदिन मनपर्थ्यो । चिनेजानेकाको घाउ सफा गर्न अघि सर्थिन् उनी । २०४६ सालमा भक्तपुरको ठिमीमा जन्मिएकी किन्जु कक्षा १२ उत्तीर्ण भएपछि एमबीबीएसको तयारीमा लागिन् । लगत्तै काठमाडौं मेडिकल कलेजमा एमबीबीएस भर्ना भइन् । ‘एमबीबीएस अध्ययन गर्न सहज त होइन,’ उनले भनिन्, ‘तर म पढाइमा राम्रै विद्यार्थी भएकाले पनि हिम्मत आयो र अध्ययनका लागि अघि सरें ।’

सन् २०१४ मा एमबीबीएस उत्तीर्ण गरिने किन्जुले । एमबीबीएस पास गरेका अधिकांश जागिर गर्दै फ्याकल्टी स्टडीतर्फ लाग्छन् । तर उनले भने पढाइलाई मात्र निरन्तरता दिन पाए भन्ने सोच्न थालिन् । तर उनलाई पैसा तिरेर नभई पूर्ण छात्रवृत्तिमा पढ्ने चाहना थियो । त्यसका लागि लागिपरिन् र नाम निकाल्न सफल भइन् । ‘बी एन्ड बी अस्पतालमा पढाइ र तालिम सुरु गरें,’ उनले भनिन्, त्यहाँ प्रायः बिरामी युरोलोजीसँग सम्बन्धित आएको देखेपछि त्यही विषय पढ्न मन लाग्यो ।’ युरोलोजीको सुपर स्पेसलाइजेसन रोजिन् र पढ्न थालिन् किन्जुले ।

त्यतिबेला भने उनलाई पढाइ अलिक गाह्रो भएको र चुनौती थपिएको महसुस भयो । २०२० को अन्तिममा पढाइ र तालिम सकियो । त्यसलगत्तै २०२१ मा उनले पाकिस्तानको कलेज अफ फिजिसियन्स एन्ड सर्जन्स पाकिस्तानमा एफसीपीएस युरोलोजी विषय पढ्ने मौका पाइन् । छात्रवृत्ति नै पाएकाले खर्च गर्नुपर्ने समस्या भएन । त्यहाँ उनी क्लिनिकल परीक्षामा उत्कृष्ट भइन् ।

किन्जुले पढाइका दौरान भारत गएका बेला एक अस्पतालमा तीनवटा रोबोटको सहयोगमा उपचार भइरहेको देखेकी थिइन् । त्यसपछि उनमा पनि रोबोटिक सर्जन बन्ने इच्छा पलाएको थियो । ‘त्यसबीचमा मलाई महिलाको क्यान्सर उपचार गर्नका लागि फिल्डमा जान सुझाव पनि आएको थियो ।’ उनले भनिन्, ‘तर महिलाको मात्र किन ? भन्ने ठानेर मैले रोबोटिक्स पढें ।’ खासमा महिलावादी वा महिलाको डाक्टर भनेर चिनिन मन नलागेकैले रोबोटिक्स पढेको बताउँछिन् किन्जु ।


पढाइ सकेर नेपाल फर्केपछि सन् २०२१ मा नेपाल मेडिकल काउन्सिलको परीक्षा पास गरिन् र रजिस्टर्ड युरो अन्कोलोजिस्ट एन्ड रोबोटिक सर्जन बन्न सफल भइन् किन्जु । आफू नेपालको पहिलो युरो अन्कोलोजिस्ट एन्ड रोबोटिक सर्जन भएको र त्यतिबेला भारतमा समेत उक्त उपाधि पाउने महिला डाक्टर नभएको बताउँछिन् किन्जु । उनका अनुसार नेपालमा हाल यस विषयका महिला डाक्टर निकै कम छन् ।

नेपाल फर्केपछि उनले इन्टरनेटमार्फत एउटा जानकारी पाइन् । एचसीजी क्यान्सर सेन्टर बैंग्लोरको फेलोसिप खुला गरिएको सूचना थियो त्यो । नेपालीले त्यसमा आवेदन दिन पाउने/नपाउने थाहा नभए पनि किन्जुले आवेदन दिइन् । विज्ञताकै कारण हुनुपर्छ उनले फेलोसिप पाइन् । १७ जनामध्येमा उनले उक्त अवसर पाएकी थिइन् । ‘नयाँ ठाउँ, एक्लो बसाइ, भाषाको अनविज्ञता केही डर थियो मनमा । साथै, रमाइलो पनि,’ उनले भनिन्, ‘तर पनि अवसर छोड्ने कुरा भएन ।’ २०२२ मा उनले एचसीजी क्यान्सर सेन्टरमा इन्टुइटिभ फेलोसिप अन युरो अन्कोलोजी एन्ड रोबोटिक सर्जरी अध्ययन गरिन् । फेलोसिपपछि उनले अस्पतालमै युरो अन्कोलोजी एन्ड रोबोटिक कन्सल्टेन्टका रूपमा जागिर पाइन् । त्यसयता उनी एचसीजी क्यान्सर सेन्टरमा कार्यरत छिन् ।

सर्जनले बिरामीको शल्यक्रिया गर्नका लागि रोबोटको प्रयोग गर्ने गर्छन् । ‘यो उपचारको एड्भान्सड मोडल जसले शल्यक्रियालाई छिटो छरितो साथै सरल बनाइदिन्छ,’ किन्जु भन्छिन्, ‘त्यस्तै, रगत कम बग्ने, अस्पतालको बसाइ कम गर्न सहयोग पुग्छ ।’ अन्य किसिमबाट भन्दा रोबोटको सहयोगमा गरिएको उपचारको नतिजा राम्रो हुने भएकाले पछिल्लो समय यो प्रविधि धेरैको रोजाइमा परिरहेको उनले बताइन् । यो प्रविधिअन्तर्गत सर्जन कन्सोल (रोबोटलाई चलाउने माध्यम) मा बस्छन् र रोबोटलाई चलायमान बनाउँछन् । त्यसपछि उक्त रोबोटको सहयोगमा बिरामीको शल्यक्रिया गर्ने गर्छन् । किन्जुले भने बिरामीको शल्यक्रियाका लागि ‘दा भिन्सी रोबोटिक सिस्टम’ प्रयोग गर्ने गरेको बताइन् ।

अध्ययन र अनुसन्धानमा सफल किन्जुले विभिन्न अवार्डसमेत जितेकी छन् । आउटस्ट्यान्डिङ कन्ट्रिब्युसन टु रिसर्च एन्ड एकेडेमिक्स अवार्ड, योङ एनोभेटिभ अवार्ड, योङ वुमन हेल्थ केयर लिडरसिप अवार्ड इन युरो अन्कोलोजी एन्ड रोबोटिक सर्जरी फेलोसिप अवार्ड । यी अवार्ड उनका लागि विशेष छन् । अप्रत्याशित रूपमा दिइएका अवार्ड भएकाले पनि उनी यी उपलब्धि सुनाउँदा खुसी हुन्छिन् । २०२१ मा उनले यस क्षेत्रमा क्रियाशील स्वास्थ्यकर्मीलाई प्रदान गरिने पाँच हजार डलर पुरस्कारस्वरूप पाएकी थिइन् । उक्त पुरस्कार विश्वमा पाँच जनाले मात्र पाउने गरेका छन् ।

किन्जुले सफलतासँगै चुनौती र संघर्षको पनि सामना गरेकी छन् । सक्षम भए पनि कतिपय अवस्थामा महिलालाई पछाडि पार्न खोजिने उनको अनुभव छ । ‘तर म कहिल्यै पनि डगमगाइन् । बरु अन्य समयमा भन्दा बढी मिहिनेत गरेर काम देखाउनेतर्फ लागें ।’ श्रीमान् डाक्टर प्रदीप बरालको सहयोगले पनि आफूलाई अघि बढ्न, देश बाहिर रहेर पनि सेवामूलक काममा सक्रिय रहन सहज भएको किन्जुले बताइन् । महिला सर्जनसँग सम्बन्धित थुप्रै संस्थामा सदस्य रहेकी किन्जुले नेपालका महिला सर्जन र युरो अन्कोलोजी पढ्न चाहनेलाई आफूले जानेको सिकाउने पनि गर्छिन् । फुर्सदको समयमा भने किन्जु सानै छँदा सिकेको बास्केटबल खेल्छिन् । ‘खेलकुद र घुमघामले काममा थप ऊर्जा मिल्छ,’ उनी भन्छिन् ।


प्रकाशित : जेष्ठ २२, २०८१ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?