कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेंगीका १, २ र ३ सेरोटाइप पुष्टि 

विज्ञ भन्छन्–‘सेरोटाइप सिफ्ट हुँदा जटिल बिरामी र मृत्युको संख्या बढ्यो’
बुनु थारु

काठमाडौँ — यो वर्ष महामारीको रुपमा फैलिएको डेंगीका ३ सेरोटाइप (समूह) पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभरबाट लिइएको ३३४ नमुनाबाट सेरोटाइप १, २ र ३ पुष्टि भएको हो ।

डेंगीका १, २ र ३ सेरोटाइप पुष्टि 

त्रिभुवन विश्वविद्यालयमा ५० वटा नमुना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २७२ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वटा नमुना परीक्षणमा यी ३ सेरोटाइप पुष्टि भएका हुन् ।

ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले १५४ नमुनामा सेरोटाइप १, ३४ वटा नमुनामा सेरोटाइप २ र ८१ वटा नमुनामा सेरोटाइप ३ देखिएको जनाए । उनले भने–‘६ वटामा मिश्रित सेरोटाइप भेटिएको छ भने ५९ वटा सेरोटाइपको नमुना नेगेटिभ पाइएका छन् । परीक्षण गर्दा प्रक्रिया नमिलेको, परीक्षण गर्ने डेंगी किट राम्रो गुणस्तरको नभएकाले पनि नेगेटिभ आउने सम्भावना रहन्छ ।’

७७ वटै जिल्लामा फैलिएको डेंगीबाट साउनयता ५३ हजार ९५१ जना संक्रमित र ६२ जनाको मृत्यु भइसकेको छ । डेंगी शून्य नै नभए पनि केशहरु हाल निकै कम भइसकेका छन् । तथ्यांक हेर्ने हो भने दैनिक १० देखि १२ जनामा डेंगी पुष्टि भइरहेको छ ।

नेपालमा सन् २००४ मा पहिलो पटक डेंगी पुष्टि भएको थियो । सन् २००६, २०१०, २०१३, २०१६, २०१७ तथा २०१९ मा डेंगीका सबैभन्दा धेरै केश पुष्टि भएका थिए । सबैभन्दा धेरै सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा डेंगी पुष्टि भएको थियो जसले महामारीको रूप लिएको थियो । त्यतिबेला ६८ जिल्लामा फैलिएको डेंगीबाट ६ जनाको मृत्यु भएको थियो ।

डा दाहाल भन्छन्–‘यो वर्ष सेरोटाइप २ भन्दा बढी ३ सेरोटाइप देखिन्छ । १ पनि बढी नै देखिएको छ । कुनै एउटा सेरोटाइपबाट एक पटक संक्रमण भयो भने त्यो सेरोटाइपको इम्युनिटी त आउँछ तर अर्को सेरोटाइपबाट संक्रमित भएमा बढी जटिल खालका लक्षणहरु देखिन सक्छन् । त्यसैले गर्दा मृत्यु पनि बढेको हुन सक्छ । अस्पताल भर्ना हुने दर पनि तुलनात्मकरुपमा बढी देखिएको हो भन्ने एउटा पाटो देखिएको छ ।’

उनले अध्ययनका लागि डेंगी पोजिटिभका नमुना सातै प्रदेशलाई प्रतिनिधित्व हुने गरी लिइएको र एकदम पिक सिजन (सेप्टेम्बर)तिर लिइएको बताए । ईडीसीडीले डेंगीबाट भएको मृत्युदरबारे पनि अध्ययन गरिरहेको जनाएको छ । ‘हामीले डेंगीबाट मृत्युको विश्लेषण गरिरहेका छौं । अझै पनि कतिपय ठाउँबाट अस्पतालले रिपोर्टिङ नगरेका पनि हुन सक्छन् । डेंगी अब प्रत्येक वर्ष बढ्दै जानेजस्तो देखिन्छ । हामीले आफ्नो कामको पनि रिभ्यु गर्नेछौं । आगामी वर्ष कस्तो योजना बनाउने र कुन मोडालिटीमा बढी फोकस गर्ने र मासिक क्यालेन्डर बनाएर काम गर्ने सोचेँका छौँ,’ डा दाहालले भने ।

भाइरोलोजिस्ट डा लुना भट्टकाअनुसार डेंगीको वर्गीकरण सेरोटाइप हो ।उनी डेंगीको एउटा सेरोटाइप देखिएमा त्यसबाट बन्ने एन्टिबडीले अर्को सेरोटाइपको डेंगीले काम नगर्न सक्ने भन्दै त्यसले जटिलता निम्त्याउन सक्ने बताउँछिन् । भन्छिन्–‘डेंगीका ४ समूह छन् । एउटै ठाउँमा सबै प्रकारका सेरोटाइप नहुन सक्छन् । सेरोटाइप अनुसन्धानका लागि महत्वपूर्ण पाटो हो । भविष्यमा सेरोटाइपको अध्ययनले खोप बनाउनका लागि मद्दत गर्न सक्छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलका रिसर्च युनिटका संयोजक डा शेरबहादुर पुन सेरोटाइप सिफ्ट भएकाले यो वर्ष बढी जटिलता र मृत्यु भएको आंकलन गर्न सकिने बताउँछन् । उनका अनुसार एउटै क्षेत्रमा पटक–पटक डेंगु देखिए त्यो घातक हुन सक्ने र अस्पताल भर्ना हुने जोखिम हुने हुन्छ ।

‘यदि यो वर्ष डेंगु १ ले संक्रमण गरेको छ भने अर्को वर्ष २, ३ वा ४ ले संक्रमण गराउँदा त्यो कडा लक्षण हुन सक्छ । सेरोटाइप जाँच महत्वपूर्ण पाटो हो । यसको अध्ययनले भविष्यमा निम्त्याउन सक्ने जटिलता र त्यसको नियन्त्रण लागि भूमिका खेल्न सक्छ,’ उनले भने ।

सन् २०१९ मा सेरोटाइप १ र २ देखिएको थियो भने ४ वर्षको अन्तरालमा सेरोटाइप १ र ३ बढी हाबी भएको देखिन्छ । यद्यपि नेपालमा ४ वटै सेरोटाइप देखिइसकेको विभिन्न अध्ययनले देखाएको डा पुन बताउँछन् ।

भन्छन्–‘नेपालमा ४ वटा सेरोटाइप छ भनेर अध्ययनले देखाइसकेका छन् । कहिले देखिएला कहिले नदेखिएला । २०१९ मा सेरोटाइप २ बाट संक्रमित भएका र हाल सेरोटाइप ३ ले संक्रमित हुँदा धेरैलाई जटिलता देखिएको हुन सक्छ । सेरोटाइप सिफ्ट हुनेबित्तिकै लक्षण कडा हुने र मृत्युको सम्भावना बढेर जाने हुन सक्छ ।’

प्रकाशित : मंसिर २२, २०७९ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?