कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सुलभ फार्मेसी’ सञ्चालनका लागि काठमाडौं महानगरपालिकाको ६ करोड बजेट 

काठमाडौँ — काठमाडौं महानगरपालिकाले महानगरवासीलाई सहुलियत मूल्यमा औषधि उपलब्ध गराउन ‘सुलभ फार्मेसी’ को योजना अगाडि सारेको छ । उक्त योजना अन्तर्गत महानगरपालिकाले ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

‘सुलभ फार्मेसी’ सञ्चालनका लागि काठमाडौं महानगरपालिकाको ६ करोड बजेट 

महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि स्वास्थ्य कार्यक्रममार्फत कुल ९२ करोड ६६ लाख ४४ हजार विनियोजन गरेको छ ।

उपप्रमुख सुनिता डंगोलले आइतबार नगरसभाको १३ औँ बैठकमा महानगरपालिका क्षेत्रभित्रका सहरी स्वास्थ्य क्लिनिकहरुको स्तरोन्नतिसहित स्वास्थ्य प्रवर्द्धन केन्द्रमा रुपान्तरण गरी महानगरवासीका लागि ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ योजना ल्याएको बताइन् । सरल र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन ३५ करोड रकम विनियोजन गरिएको छ ।

यस्तै बालबालिकाको स्वास्थ्य उपचारका लागि सरकारी, सामुदायिक वा निजी अस्पतालसँगको सहकार्यमा एक निर्दिष्ट नगर अस्पताल सञ्चालनमा ल्याउन १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

महानगरपालिकाले देशभरका विभिन्न गाउँपालिकाहरुका लागि मागको आधारमा ३५ वटा एम्बुलेन्स खरिद गरी उपलब्ध गराउन ७ करोड रकम विनियोजन गरिएको जनाएको छ । त्यसैगरी महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा (१०२) हटलाइन सञ्चालन गर्न १ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

महानगरभित्रका व्यक्तिगत तथा संस्थागत भान्छाहरुलाई स्वस्थ्यकर बनाइ आरोग्यता कायम गर्न ‘स्वच्छ भान्छा’ कार्यक्रमका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख डंगोलले जनाइन् ।

महानगरपालिकाले ध्यान, योग, व्यायाम एवं वैकल्पिक तथा परम्परागत आयुर्वेदिक उपचार पद्दतिका माध्यमबाट आरोग्य जीवन सम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लागि पनि आवश्यक बजेटको प्रबन्ध मिलाएको जनाएको छ ।

प्रकाशित : असार १०, २०८० १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?