२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३५१

सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनामा क्यान्सर अस्पताल

रासस

चितवन — यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सातै प्रदेशमा सेवा विस्तार गर्ने जनाएको छ । अस्पतालले सात प्रदेशमा क्यान्सर रोकथाम र नियन्त्रण तालिम, स्क्रिनिङ तथा बहिरङग सेवा विस्तार गर्ने योजना बनाएको हो ।

सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनामा क्यान्सर अस्पताल

अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलले अस्पतालमा आउने बिरामीको चाप कम गर्न र बिरामीलाई उच्चस्तरको सेवा प्रदान गर्नका लागि सेवा विस्तार गर्न लागेको जानकारी दिए ।

'अस्पतालको शल्यक्रिया सेवामा स्तरोन्नति गरी थप प्रविधिमैत्री बनाइ सेवा प्रदान गर्ने योजनामा हामी लागेका छौँ,' उनले भने । त्यसैगरी अस्पतालको प्याथोलोजी सेवामा मोलिक्यूलर प्रयोगशाला पूर्णरुपमा सञ्चालन गरिने, रेडियसन सेवामा थप अत्याधुनिक मेसिन जडान गरिने उनले बताए ।

न्यूक्लियर मेडिसिनतर्फ राष्ट्रिय गौरवको रुपमा रहेको साइक्लोट्रोनसहितको पेट सिटी स्क्यान सेवा स्थापना गरी उक्त सेवाका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्नेतर्फ अस्पताल लागेको उनको भनाइ छ ।

'हामीले अस्पताललाई क्यान्सर उपचारमा सबै सेवायुक्त बनाउने योजनामा लागेका छौँ । रक्त क्यान्सरको उपचारमा महत्वपूर्ण मानिने बोनम्यारो प्रत्यारोपण सेवाको स्थापना गर्नका लागि चिनियाँ सरकारको अनुदानमा काम अघि बढेको छ,' उनले भने ।

अस्पतालबाटै दक्षजनशक्ति उत्पादन गर्नका लागि शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्ने प्रक्रियामा रहेको पनि उनको भनाइ छ । यहाँ उपचारका लागि छिमेकी देशबाटसमेत बिरामी आउने गरेका छन् ।

प्रकाशित : चैत्र २६, २०८० १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?