२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६०

'स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न नीतिगत सुधार आवश्यक'

काठमाडौँ — स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न समस्याहरुको समाधान गर्नका लागि नीतिगत सुधार गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रममा बोल्दै सांसदहरुले स्वास्थ्य क्षेत्रको समस्या समाधानका लागि नीतिगत तहबाट सुधार थाल्नुपर्ने धारणा राखे ।

'स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न नीतिगत सुधार आवश्यक'

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य गगन थापाले सरकारले चिकित्सकहरुको दरबन्दी नथपेका कारण अस्पतालहरुमा चिकित्सकको अभाव भएको बताए । उनले निजी अस्पतालहरुले नर्सहरुलाई कम पारिश्रमिक दिएर काममा लगाइरहेको भन्दै स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुको सेवा, सुविधा बढाउनुपर्ने धारणा राखे ।

‘अस्पतालमा डाक्टर नभएको डाक्टर उपलब्ध नभएर होइन । सरकारले दरबन्दी नदिएर हो । अहिले सरकारले दरबन्दी खोल्यो भने हजारौँ डाक्टरहरु आउँछन् । सरकारी स्केलमा सरकारी अस्पतालमा नर्सको भ्याकेन्सीमा ५ सिट खोल्दा ५०० ले एप्लाइ गर्छन् । नर्स त्यहाँ नआएको हो र ? नर्स प्राइभेटमा नआएको हो । तलव नदिएको कहाँ भन्दा प्राइभेटमा हो, जहाँ १५ हजार तलव दिइरहेका छन्,' उनले भने, 'स्वास्थ्यको जनशक्तिको सन्दर्भमा सेवा, सुविधा नै हो । स्वास्थ्यको जनशक्ति पढ्न पनि अरुभन्दा फरक छ । गाह्रो छ । खर्चिलो पनि छ । त्यसकारण अरु क्षेत्रको सेवा, सुविधाले धान्न सक्दैन । यी कुराहरुलाई कानूनले सम्बोधन गर्न आवश्यक छ ।'

उनले स्वास्थ्य क्षेत्रमा काम गर्ने डाक्टर, नर्स लगायत कर्मचारीहरुको सेवा सुविधा बढाउनुपर्ने बताए ।

कार्यक्रममा एमाले सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले कानूनलाई समयानुकुल सुधार गर्नुपर्ने बताए । उनले विगतमा एउटा भावना र कतिपय त दबाबमा पनि कानून बनेको भन्दै अब ती कानूनहरुले काम गर्न नसक्ने बताए । उनले कानून बनाउनुपूर्व अनुसन्धान गरेर अनुसन्धानका आधारमा कानून बनाउनुपर्नेमा जोड दिए ।

नेकपा माओवादी केन्द्रका सचिव एवम् प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले गुणस्तरीय चिकित्सा शिक्षा दिने कुरामा कुनै सम्झौता गर्नु नहुने बताए । उनले विश्वविद्यालय, मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकार स्पष्ट पार्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले सरकार, संसद् र राजनीतिकर्मीको प्राथमिकता स्वास्थ्य सरोकारको विषयमा नपरेको बताइन् । उनले स्वास्थ्य सम्बन्धी धेरै ऐन भएपनि स्वास्थ्य क्षेत्रको सुधार हुन नसकेको भन्दै काम गर्नका लागि दुईवटा ऐन मात्रै बनाएपनि हुने धारणा राखिन् ।

प्रकाशित : चैत्र ३०, २०८० १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?