कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'सुस्त महामारीका रूपमा देखिँदै एन्टिबायोटिक रेसिस्टेन्स'

काठमाडौँ — एन्टिबायोटिक औषधिको कार्य क्षमतामा विश्वव्यापी ह्रास आउन थालेपछि भावी दिनमा महामारीको रूप लिन सक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

'सुस्त महामारीका रूपमा देखिँदै एन्टिबायोटिक रेसिस्टेन्स'

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना र यूएसएआईडी एमट्याप्सको सहयोगका सात प्रदेशका पत्रकारहरूलाई गरिएको अभिमुखीकरण कार्यक्रममा अधिकारीहरूले एन्टिबायोटिक औषधिको प्रभावकारिता माथि विश्वस्तरमै प्रश्न उठेको बताए ।

हाल विश्वमा थुप्रै एन्टिबायोटिक औषधिले काम नगरेको अवस्था छ । चिकित्सकको सिफारिस बिना सिधै पसलबाट किनेर खाने, पुरा मात्रा सेवन नगर्ने कारणले शरीरमा एन्टिबायोटिकले काम नगरेर रेसिस्ट भएको अवस्था छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले पनि एन्टिबायोटिक रेसिस्टेन्सलाई दस चुनौतीभित्र राखेको छ ।

नेपाल सरकारले एएमआर राष्ट्रिय कार्ययोजनासम्बन्धी राष्ट्रिय रणनीति न्याप एएमआर ०२१– २०२६ अद्यावधिक गरेको छ । न्याप एएमआर २०२१– २०२६ मन्त्रिपरिषद्‍बाट पास हुने चरणमा रहेको अधिकारीहरूले बताएका छन् ।

कार्यक्रममा यूएसएआइडी एमट्याप्स कार्यक्रमका सिनियर टेक्निकल एडभाइजर एन्टिमाइक्रोबियल रेसिस्टेन्स डाक्टर सन्तोष दुलालले सन् २०१९ मा विश्वका २ सय ४ देशबाट गरिएको तथ्यांक संकलन अनुसार एन्टिबायोटिकले काम नगरेर अर्थात एन्टिमाइक्रोबियल रेसिस्टेन्सका कारण अनुमानित १२ लाख ७० हजार नागरिकको मृत्यु भएको र ४९ लाख ५० हजार मृत्युसँग अप्रत्यक्ष सम्बन्ध रहेको बताए । एन्टिबायोटिकमा ह्रास विश्वका गरिब देशहरूमा बढी देखिएको छ ।

डा. दुलालका अनुसार ३५ वर्ष यता नयाँ एन्टिबायोटिक औषधि बनेको छैन । पछिल्लो समय सन् १९८७ मा ‘लिनेजोलिड’ एन्टिबायोटिक बनेको थियो । सुक्ष्मजीवहरुको प्रतिरोधी क्षमता विकास भई एन्टिमाइक्रोबियलको प्रयोग गर्दा पनि जीवित रहन र वंश बढाउन सक्ने क्षमता विकास हुँदा पहिला काम गर्ने एन्टिबायोटिकले रोगविरुद्ध काम गर्न छाड्ने अवस्था आएको हो । एन्टिबायोटिक, एन्टिभाइरल, एन्टिफंगल र एन्टिप्यारासाइट जस्ता औषधिहरूले मानिस, जनावर र बोट बिरुवामा लाग्ने रोगको रोकथाम र नियन्त्रणमा मद्धत गर्छ ।

कम्युनिटी चिकित्सक डा. विवेका श्रेष्ठले औषधिको जथाभावी प्रयोगले प्रतिरोधी क्षमतामा ह्रास आउन थालेको बताइन् । उनले एन्टिबायोटिकले विश्वव्यापी चुनौती दिएको स्पष्ट पारिन् । एन्टिबायोटिकको असरका कारण सन् २०३० सम्म थप २ कोड ४० लाख मानिस चरम गरिबीमा पुग्ने अनुमान गरिएको छ । यसले सन् २०५० सम्म वार्षिक ३.८ प्रतिशत कुल ग्राहस्थ उत्पादनमा असर गर्ने अधिकारीहरूले बताएका छन् ।

प्रकाशित : असार ११, २०८० १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?