कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वमा डेंगु फैलिँदै, धरान सबैभन्दा बढी प्रभावित

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरी र संखुवासभासहित पूर्वका जिल्लामा डेंगुको प्रकोप देखिन थालेको छ । दुई सातायता धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी प्रयोगशालामा गरिएको परीक्षणमा सय जनाभन्दा बढीमा डेंगु पोजेटिभ देखिएको छ ।

पूर्वमा डेंगु फैलिँदै, धरान सबैभन्दा बढी प्रभावित

प्रतिष्ठानका प्रवक्ता डा.चूडामणि पोखरेलका अनुसार पछिल्लो समय डेंगु संक्रमितको संख्या बढेको छ । संखुवासभामा १८ जना बिरामी अस्पतालमा भर्ना भएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार डेंगु प्रभावित मोरङ, सुनसरी र झापाबाट तथ्यांक संकलन भइरहेको छ । प्रतिष्ठानका मेडिसिन विभागका प्रमुख डा.रविन मास्केका अनुसार मेडिसिन विभागको वार्डमा ९ जना डेंगु संक्रमित उपचार गराइरहेका छन् । चार वर्षअघि पनि धरानमा डेंगु ‘आउट ब्रेक’ भएको थियो । त्यसबेला धरानमा मात्र १० हजारभन्दा बढी संक्रमित थिए ।

जाडोयाममा समेत पूर्वमा डेंगु देखा परेको थियो । प्रतिष्ठानको तथ्यांक विभागका अनुसार गत पुसदेखि फागुनसम्म १७ जनाको उपचार भएको थियो । त्यसपछि शून्यमा झरेको देखिए पनि जेठ २१ देखि २७ सम्म ३२ जनाको स्वास्थ्य परीक्षणमा ५ जनामा र जेठ २८ देखि असार १ सम्म ४५ जनाको जाँच गर्दा १९ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । जेठ २३ मा धरान–१७ फोकल्यान्ड टापुकी ३७ वर्षीया महिलाको डेंगुबाट मृत्यु भएको थियो । चार वर्षयता डेंगुबाट पहिलो मृत्यु भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।

तथ्यांक केलाउँदा हालसम्म पूर्वमा डेंगुको केन्द्रबिन्दु धरान नै देखिएको छ । धरानको पनि वडा १७ मा सबैभन्दा बढी डेंगु संक्रमित पाइएका छन् । उक्त वडामा असार ३ देखि ९ सम्ममा १६ जना संक्रमित देखिएका छन् । उक्त वडासँगै जोडिएको ११ वडामा ७ जना संक्रमित भएका छन् । मेहताको अनुसार बाक्लो एवं मिश्रित बस्ती भएको धरानमा हालैका दिनमा पानीको चरम अभाव हुँदा धारामा आएको बेला र आकाशे वर्षा थापेर राख्ने गरिँदा डेंगु फैलाउने लामखुट्टे वृद्धि भएको हुन सक्छ ।

मेडिसिन विभाग प्रमुख डा. मास्केले बीपीमा पछिल्लो समय दैनिक ५/७ जना डेंगु संक्रमितहरु भर्ना हुने गरेको बताए । ‘उनीहरुलाई लक्षणका आधारमा उपचार गर्दै डिस्चार्ज दिइरहेका छौं,’ उनले भने । प्रतिष्ठानस्थित माइक्रोबायोलोजी विभागका प्रमुख एडिसनल प्रोफेसर डा. नारायणराज भट्टराईले डेंगुको परीक्षण गराउनेको संख्या दिनदिनै बढेको बताए । उनले डेंगुको सेरोटाइप गर्ने तयारी भइरहेको पनि बताए । ‘डेंगुका एकदेखि चारसम्म सेरोटाइप छन्,’ उनले भने, ‘यसअघि पनि डेंगुको सेरोटाइप पहिचान गरेका थियौं । फेरि प्रकोप फैलिएकाले कुन सेरोटाइपको डेंगु भएको हो भन्नेबारे प्रयोगशालामा परीक्षण गर्ने तयारीमा छौं ।’ उनले डेंगुको समुदायस्तरमै ‘आउट ब्रेक’ भएमा भने ज्वरो आएका सबैको परीक्षण नगरी निगरानीमा राखेर लक्षणको आधारमा उपचार गर्नुपर्ने अवस्था आउने बताए ।

धनकुटास्थित क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्राविधिक तथा डेंगुका फोकल पर्सन दिलीप सिंहले पूर्वमा डेंगुको प्रकोप फैलिएको बारेमा स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी दिइसकेको बताए । उनले सुनसरी र संखुवासभासहितका जिल्लामा डेंगु संक्रमित भएर उपचार गर्नेहरुको संख्या बढेको बताए । सिंहले सम्भावित संक्रमितको परीक्षण गर्ने किटको अभाव भएको बारे पनि केन्द्रमा जानकारी दिइएको प्रस्ट पारे । उनले विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बीपी प्रतिष्ठानमा केही किट रहेको बताए ।

के हुन्छ डेंगु संक्रमण भएमा ?

डेंगु भाइरसको संक्रमण हुँदा रगतमा प्लेटलेट्सको संख्या २०–३० हजारमा झर्छ । यसले गर्दा आन्तरिक रक्तश्राव हुन सक्छ । स्वस्थ मानवका रगतमा प्लेटलेट्सको संख्या ३ लाखभन्दा बढी हुन्छ । डेंगुको डाइग्नोसिस र उपचार बीपी प्रतिष्ठानमा हुन्छ । चिकित्सकहरुका अनुसार डेंगुको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउनु हो । प्रतिष्ठानका माइक्रो बायोलोजी विभाग प्रमुख एडिस्नल प्रोफेसर डा. नारायणराज भट्टराईले ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्ने, साथसाथै आँखाको गेडी तथा टाउकोको पछिल्लो भागमा धेरै दुख्ने, शरीर कटकटी दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुने हड्डीको जोर्नी एवं मांसपेसीहरु दुख्ने लक्षण देखिएमा तत्काल स्वास्थ्य जाँच गराउनुपर्छ ।

पूर्वमा किन फेरि फैलिँदै छ डेंगु ?

जनस्वास्थ्य विज्ञहरुका अनुसार सफा पानीमा हुर्कने लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने नीतिलाई निरन्तरता दिँदै घर वरिपरिको सरसफाइमा ध्यान दिन नसक्दा पूर्वमा पुनः डेंगु फैलिएको हो । डेंगु संक्रमण गराउने एडिस एजिम्टाई जातिको पोथी मच्छरले जमेको सफा पानीमा फुल पार्ने गर्छ । तराईका जिल्लामा सीमित रहेको डेंगु पछिल्लो केही वर्षदेखि पहाडी जिल्लामा पनि उक्लिएको छ ।

२०७६ मा सुनसरीको धरान हुँदै पूर्वका ११ जिल्लामा डेंगुको समुदाय स्तरमै महामारी फैलिएको छ । त्योबेला धरानका घरघरमा डेंगी रोगका बिरामी थिए । तीन तहकै सरकारले डेंगु नियन्त्रणका लागि ‘सर्च एन्ड डिस्ट्रोय (खोज र नस्ट गर)’ नीति तय गरेर अभियान थालेका थिए तर डेंगुको सामान्य नियन्त्रणसँगै पछिल्लो तीन वर्षसम्म न समुदायले उक्त नीतिलाई निरन्तरता दिए न स्थानीय सरकारले । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पब्लिक हेल्थ तथा कम्युनिटी मेडिसिनका जनस्वास्थ्यविद् डा.विजय खनालका अनुसार खोज र नस्ट गर भन्ने अभियानलाई बर्सेनि निरन्तरता दिएको भए यो पटक डेंगु फैलिने सम्भावना कम हुन्थ्यो । ‘अभियानलाई बेवास्ता गर्दा प्रकोप वा महामारी दुई वर्षको अन्तरालमा देखिने त भइहाल्यो,’ उनले भने ।

उनको अनुसार डेंगु संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोक्ने जतिलाई संक्रमण हुन्छ । उक्त जातको लामखुट्टे बिहानसाँझको बढी सक्रिय हुने भएकाले सतर्कता अपनाउनुपर्ने पनि उनले बताए । रोगप्रतिरोधात्मक क्षमताको आधारमा कति गम्भीर बिरामी बनाउन सक्छ भन्ने भर पर्ने पनि उनले बताए । उनले डेंगु नियन्त्रणका लागि ‘खोज र नस्ट गर’ भन्ने अभियानको विकल्प नरहेको बताए । उनले भने, ‘एडिस एजिप्टाई जातको लामखुट्टे टायर, गमला, प्लास्टिकको बोतल वा सफा पानी जमेको स्थलमा फुल पार्ने र त्यही नै लार्भा, प्यूपाको जीवन चक्र पूरा गरेर लामखुट्टे बन्ने भएकाले त्यस्तामा पानी जम्न दिनु हुँदैन । या त दुई/तीन दिनमै पानी परिवर्तन गर्नु पर्छ । मट्टितेल छर्किन पनि सकिन्छ ।’

लामखुट्टेको टोकाइबाट बच्न झुल लगाउने, शरीर ढाक्ने लुगा लगाउनुपर्ने उनको सुझाव छ । विभिन्न रासायनिक तत्त्व मिसाएर फगिङ (धूवाँ फाल्नु) गर्नु अल्पकालीन उपाय मात्र रहेको डा. खनालले बताए । उनले भने, ‘फगिङले लामखुट्टे त भाग्छ तर पानीमा रहेको लार्भा प्युपा भने मर्दैन । यता फगिङले नसर्ने रोग उच्च रक्तचाप, मधुमेह, दम, मुटुको समस्या भएकाहरुलाई पनि उल्टो असर पार्छ ।’

उनले डेंगु संक्रमितले बढीभन्दा बढी झोलिलो पदार्थ, फलफूल सेवन गर्न सुझाव दिएका छन् । उनले भने, ‘ज्वरो घटाउने र टाउको दुखाइ कम गर्ने नाममा एस्पिरिन र ब्रुफिन भएको फ्लेक्सनजस्ता औषधि भने सेवन गर्न हुँदैन । पारासिटामोल भए हुन्छ । उल्टी भएमा वा पातलो दिसा बढी भएमा जीवनजल सेवन गर्ने हो ।’

यसैबीच, धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा पत्राचार गर्दै ६ हजार थान डेंगु टेस्ट किट माग गरेको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धनकुटास्थित प्रदेश स्वास्थ्य निर्देशनालयसँग समन्वय गरेर किटसहित विज्ञ, प्राविधिक टोली पठाउन आग्रह गरिएको छ । मेहताले भने, ‘धनकुटाबाट उक्त टोली आएपछि प्रभावित क्षेत्रमा डेंगुको टेस्ट गर्ने छौं । सम्भवतः बिहीबारदेखि वडावडामा पुगेर सर्च एन्ड डेस्ट्रोय अभियानलाई तीव्रता दिने छौं ।’

डेंगुको अवस्था पत्ता लागेपछि नियन्त्रण, व्यवस्थापनमा सहज हुने उनले बताए । मेहताले वडाहरुलाई पनि पत्राचार गरिसकेको बताए । उनको अुनसार धरान नगरप्रमुख हर्कराज राई र उपप्रमुख अइन्द्रविक्रम वेघाको नेतृत्वमा एक/दुई दिनभित्रै बृहत् रूपमा उक्त अभियान थाल्ने गरी माइकिङ सुरु हुनेछ ।

प्रकाशित : असार १३, २०८० २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?