कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घट्दै स्तनपान दर

बुनु थारु

काठमाडौँ — नेपालमा पूर्णरुपमा स्तनपान गराउने प्रवृत्ति घट्दै गएको पाइएको छ । सरकारको तथ्यांकअनुसार सन् २०११ देखि निरन्तररुपमा स्तनपान दर घट्दै गएको देखिन्छ । 

घट्दै स्तनपान दर

नेपाल जनसांखिक स्वास्थ्य सर्वेक्षणले ६ महिनाभन्दा मुनिका ५६ प्रतिशत बालबालिकाहरुलाई पूर्णरुपमा स्तनपान गराउने गरेको पाइएको हो । सन् २०११ को सर्वेक्षणमा यो संख्या ७० प्रतिशत रहेकोमा सन् २०१६ को सर्वेक्षणमा घटेर ६६ प्रतिशत पुगेको थियो । नेपाल मल्टी इन्डिकेटर क्लस्टर सर्भे (मिक्स) २०१९ को तथ्यांकले नेपालमा पूर्ण स्तनपान गराउनेको संख्या ६२ प्रतिशतमात्र रहेको देखाएको छ ।

आमाको दूध बच्चाका लागि उत्कृष्ट प्राकृतिक आहार मानिन्छ । जति लामो समयसम्म बच्चालाई स्तनपान गराइन्छ त्यति नै आमा र बच्चाहरुको स्वास्थ्यका लागि लाभदायक हुने विज्ञहरु बताउँछन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार बच्चाहरुलाई विशेषरूपमा पहिलो ६ महिनासम्म स्तनपान गराउनु पर्दछ र त्यसपछि उनीहरू दुई वर्ष वा त्योभन्दा माथिको उमेरसम्म उनीहरूलाई ठोस् आहारका साथ स्तनपान गराइरहनु पर्दछ । तर विभिन्न कारणले आमाहरुले स्तनपान गराउन सकेका छैनन् ।

बाल स्वास्थ्य नर्सिङ विज्ञ डा सुरक्षा सेवदीले पहिलेभन्दा अहिले कामकाजी महिला बढ्दै जानु र उनीहरुले चाहेर पनि स्तनपान गराउन नसकेको बताउँछिन् । भन्छिन्, ‘काममा जाँदा बच्चा छोडेर हिड्नुपर्‍यो । ६ महिनासम्म गराउनैपर्ने हो तर बिदा भनेजस्तो पाइँदैन । कतिपयले फिगर बिग्रिन्छ भनेर खुवाउँदैनन् । कतिपयमा दूध नै नआउने पनि समस्या हुन्छ ।’ उनले गर्भावस्थमा राम्रो स्याहार नपाएका, तनाव, मोटोपनको समस्याले पनि भनेजस्तो दूध नआउने समस्या हुने बताउँछिन् ।

‘स्तनपान नगराउँदा आमा अनि बच्चा दुवैलाई असर हुन्छ । आमाको दूध गान्निने गएर स्तन क्यान्सर हुन सक्छ । कामकाजी महिलाले आफ्नो दूध संकलन गरेर बट्टामा राखेर पनि खुवाउन सक्छन्,’ सुवेदी भन्छिन् ।

युनिसेफकाअनुसार आमाको दूधमा रोगहरूसँग लड्ने सबै पोषकतत्वहरु सन्तुलित मात्रामा पाइन्छ जुन अन्य कुनै पनि दूधमा पाइँदैन । साथै स्तनपानले शिशु काखमा बस्न र रमाउन पाउने हुनाले, आमा र शिशुबीच बलियो सम्बन्ध स्थापित हुन्छ । त्यसैगरी स्तनपानले शिशुको बौद्धिक विकासमा सहयोग गर्छ  ।

प्रसूति गृह तथा स्त्री रोग अस्पतालकी बाल रोग विशेषज्ञ एवं नवजात शिशु विभागीय प्रमुख डा. कल्पना उपाध्याय सुवेदी पनि कामकाजी महिलाले समयमा स्तनपान गराउन नसक्दा यसको दर घटिरहेको देख्छिन् । भन्छिन्, ‘सर्वेक्षणले पनि घटेको देखायो । सायद कोभिडले पनि होला । सुरक्षितरुपमा स्तनपान गराउन सकिने भए पनि कोभिडमा आमाहरुले स्तनपान गराउन हिच्किचाए ।’ उनले अझै पनि आमा र बच्चाको स्वास्थ्यको लागि स्तनपान गराउनुपर्छ भन्ने जनचेतना पुगिनसकेको बताइन् ।

स्तनपानलाई बढावा दिन प्रसूति गृहले करिब एक वर्षदेखि मिल्क बैँक पनि सञ्चालनमा ल्याएको छ । मिल्क बैंकले आमाको दूध खान नसक्ने, दूध नै नआउने आमा, आमाले खुवाउन नसक्ने समस्यालाई समाधान गर्न सहयोग गरिरहेको छ । नेपालमा झन्डै ८१ हजार बच्चाहरू समय नपुगी जन्मन्छन् जसलाई आमाको दूध सजिलोसँग खुवाउन गाह्रो हुन्छ मिल्क बैंकको स्थापनाले आमाको दूध बच्चाले खान नसकेर यत्तिकै सुकेर जाने र फर्मुला मिल्कको प्रयोग गर्ने बाध्यता पनि हटेर गएको डा सुवेदीको भनाइ छ ।

सरकारले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण) सम्बन्धी ऐन (२०४९) अनुसार आमाको दूधको विकल्पमा अन्य दुध बेचविखन गर्न नपाइने उल्लेख गरिएको छ । तर हालसम्म यो ऐन संशोधनमा आउन सकेको छैन जसले गर्दा फर्मूला दूधको प्रयोग बढ्दै गएको तथ्यांकहरुले पनि देखाएका छन् । विज्ञहरुकाअनुसार फर्मूला दूधले कुनै एन्टीबडी प्रदान गर्दैन र बच्चालाई जोखिममा पार्न सक्छ ।

परिवार कल्याण महाशाखा पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले आमा र बच्चा दुवैको स्वास्थ्यका लागि स्तनपान एकदमै महत्वपूर्ण रहेको बताउँछन् । भन्छन्–‘बच्चाको पहिलो खोप नै आमाको दूध हो । आमाको दूधले रोगसँग लड्ने क्षमता विकास गर्नुकासाथै नवजात शिशुको मृत्युदर पनि कम बनाउँछ । बच्चाहरुमा नसर्ने रोगहरुको जोखिम पनि कम गराउँछ ।’

उनले स्तनपानसम्बन्धी रणनीति र नीति बनेपनि उपलब्धिमूलक सफलता हासिल गर्न नसकेको बताए । उनले भने, ‘स्तनपान गराउनेको संख्या घट्दै गएको छ । आमाको दूधभन्दा पनि अरु किसिमका खानेकुराहरु खुवाउने बढेका छन् । यसले चुनौती थपेको छ ।’

उनी थप्छन्, ‘बट्टाको दूधलाई न्यूनीकरण गर्नुपर्छ भन्ने हो तर अपेक्षितरुपमा जान सकिएको छैन । अझै प्रभावकारी बनाउनुपर्छ ।’ उनले संघ, प्रदेश र स्थानीय तहमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिएमएस) लाई निरीक्षण गर्ने निरीक्षक पनि तोकेको बताउँदै यससम्बन्धी सचेतना अभियानहरु पनि निरन्तर सञ्चालन भइरहेको जनाए । ‘मातृ शिशुमैत्री अस्पताल अभियान पनि सञ्चालन गरिरहेका छौं जसमा संघीय तथा प्रादेशिक अस्पतालका विशेषज्ञ स्वास्थ्यकर्मीहरुलाई आमाको दूधलाई प्रवर्द्धन गर्न अभिमुखीकरण तालिम पनि दिइरहेका छौं,’ उनले भने ।

हाल सरकारले कार्यालयमा काम गर्न जाने महिलाले प्रसूतिपछि ९८ दिन बिदा दिने प्रावधान छ । स्तनपान गराउने महिलाको संख्या क्रमशः घट्दै गएकाले थप तीन महिना बिदा दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ को उपदफा (१) संशोधनको चरणमा छ ।

नेपाल जनसांखिक स्वास्थ्य सर्वेक्षणले स्वास्थ्य संस्थामा बच्चा जन्माउनेको प्रतिशत सन् २०१६ मा ६४ प्रतिशत रहेकोमा सन् २०२२ मा ७९ प्रतिशतसम्म पुगेको देखाएको छ । त्यसैगरी सर्वेक्षणमा १८ प्रतिशत जीवित जन्म अपरेशन (सी–सेक्शन)द्वारा हुने गरेको छ भने निजी स्वास्थ्य संस्थामा जन्मिएका आधाभन्दा बढी बच्चाहरु अपरेशनबाट हुने गरेको सर्वेक्षणमा उल्लेख छ । स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढेपनि स्तनपानको दर पनि घट्दो छ ।

युनिसेफ नेपालका पोषणविज्ञ फुल्गेन्द्रप्रसाद सिंहले स्तनपानको महत्व अझै बुझाउन नसकिएको धारणा राख्छन् ।भन्छन्–‘स्तनपानको दर घट्नुमा अभिभावकको तथा स्वास्थ्यकर्मी दुवैको कमजोरी देखिन्छ । आमाको दूध महत्वपूर्ण छ भनेर सचेतना अभियान एकदमै जरुरी देखिन्छ ।’ उनी स्वास्थ्य संस्थामा बच्चा जन्मिने दर बढेपनि स्तनपानको दर बढ्न नसक्नु दुःखद रहेको बताउँछन् ।

भन्छन्, ‘अस्पतालमा सिजेरियन सेक्सन बढेको छ । आमालाई बच्चासँगै राखिँदैन र उ बट्टाको दूधमा भर पर्छ । अपरेशन गरेर बच्चा पाएपनि तपाईंले म दूध खुवाउँछु भन्न पाउनुहुन्छ । आमासँग छुटाएर राख्न पाइँदैन । यदि चिकित्सकले नै छुटाउन चाहन्छ भने उसलाई नेपाल मेडिकल काउन्सिलले कारबाही गर्न सक्ने व्यवस्था छ ।’ उनले आमाको दूध आउँदैन भनेर आमा तथा स्वास्थ्यकर्मी दुवैले प्रयास नै नगर्ने बताउँछन् । भन्छन्–‘अपरेशन गरेर बच्चा हुदैमा दूध खुवाउन हुँदैन भन्ने गलत धारणा छ । आमाको दूध नआउने होइन । १ प्रतिशत होला । बच्चा जन्मिएको दिनमा उसलाई ५ देखि ७ एमएल दूध मात्र चाहिन्छ । दोस्रो दिन १० देखि २० एमएल चाहिन्छ । प्रयास गरिदैन भने दूध आउँदैन ।’

उनले युनिसेफको सहयोगमा २४ वटा ठूला अस्पतालहरुमा स्वास्थ्यकर्मीहरुलाई ३ दिनको ‘स्ट्याडर्न्ड ब्रेस्ट फिडिंग’ काउन्सिलिग दिइने जनाए । ‘ बच्चाले पहिलो दिन खुवाउनु भएन भने त्यो पछि खुवाउन गाह्रो हुन्छ । बच्चालाई बट्टाको दुधको बानी लाग्छ । कामकाजी दूध निकालेर बट्टामा राखिदिने र घरका सदस्यले खुवाइदिन सक्छन् । जुन ६ देखि ८ घण्टासम्म राख्न सकिन्छ । फ्रिजमा २४ घण्टादेखि बीमा ७२ घण्टासम्म राख्न सकिन्छ ,’ उनले भने ।

बाल स्वास्थ्य नर्सिङ विज्ञ सुवेदी भन्छिन्–‘कार्यालयमा स्तनपान कक्ष हुनुपर्छ ।सरकारले पनि ६ महिना बिदा दिने नियम बनाउनुपर्छ । आमाहरुले कसरी दूध खुवाउने जानकारी नभएको हुन सक्छ त्यसमा पनि जनचेतना फैलाउनुपर्छ । गर्भावस्था तथा सुत्केरी अवस्थामा राम्रो स्याहार पाए यसले दूध प्रशस्त आउने हुन्छ।’

प्रकाशित : असार १३, २०८० २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?