कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

चितवनमा डेंगीसँगै स्क्रब टाइफसको चिन्ता बढ्दो

रमेशकुमार पौडेल

चितवन — विशेष गरेर मुसाको शरिरमा बस्ने किर्नाले टोक्दा हुने स्क्रब टाइफस रोग चितवनमा बढेको छ । पाँच दिनको फरकमा भरतपुरको सरकारी अस्पतालले दुईपटक सूचना निकालेर स्क्रबको फैलावट प्रति सजग रहन अपिल गरेको छ ।

चितवनमा डेंगीसँगै स्क्रब टाइफसको चिन्ता बढ्दो

आइतबार अस्पतालले निकालेको सूचनामा डेंगी तथा स्क्रब टाइफस लगायतका बिरामीको चापले अस्पतालको मेडिकल वार्डका ५२ बेड र अब्जरभेसन वार्डका सबै १२ बेड भरिएको उल्लेख छ ।

‘आकस्मिक कक्षका ३५ बेड पनि सधैं लगभग भरिएका हुन्छन् । त्यसैले अवस्थालाई बुझिदिनुहुन अनुरोध छ,’ अस्पतालले सूचनामा भनेको छ । अस्पतालले असोज २५ गते मंगलबार प्रेस विज्ञप्ती नै निकालेर ज्वरोका बिरामीहरुमा स्क्रब टाइफस रोग पनि देखिएको हुँदा यो रोगबाट जोगिन अपिल गरेको थियो । प्रायः बिरामी रोग लागेको हप्ता दिनपछि अस्पताल आएको र उनीहरुमा जटिल लक्षणहरु देखिएको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालमा मात्रै नभएर स्क्रब चितवनमा नै बढ्दो छ । चितवन स्वास्थ्य कार्यालयका सूचना अधिकारी रहेका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार साउन यता शनिबारसम्म २८४ जनामा स्क्रब देखिएको छ । भरतपुर अस्पतालमा बुधबार ७५ जनामा परिक्षण गर्दा १२ जनामा डेंगी पत्ता लागेको थियो । त्यसै गरी त्यो दिन ६२ जनामा परीक्षण गर्दा १० जनामा स्क्रबका बिरामीहरु पत्ता लागेको भरतपुर अस्पतालका प्रवक्ता वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा.गोविन्द कँडेलले बताए ।

‘काठमाडौं लगायतका ठाउँमा डेंगीको महामारी छ । तर हाम्रो अस्पतालमा एक महिनाअिघसम्म डेंगीका बिरामी खासै थिएनन् । तर स्क्रब टाइफसका बिरामीहरु प्रशस्तै थिए । अहिले पनि अवस्था खासै फरक नभएको हुँदा सचेत हुन आवश्यक छ,’ डा. कँडेलले भने । दसैंका बेला परेको पानीका कारण अचेल डेंगीका बिरामी पनि पहिलाभन्दा केही बढेको र स्क्रबका बिरामी पनि आइरहेको उनले बताए ।

मुसा या अन्य जीवहरुमा लाग्ने संक्रमित किर्ना(माइट)ले टोक्दा स्क्रब टाइफस हुन्छ । मान्छेको नरम र कमलो छाला भएका ठाउँमा यसले टोक्छ । ‘प्रायः मुसा र छुचुन्द्रको कानमा यस्ता किर्ना बस्दछन् । मुसाबाट मान्छेमा सरेका यस्ता किर्नाहरुले टोकेर ज्वरो निकाल्छ । यसले छालको नरम ठाउँमा टोक्ने हुँदा ज्वरो आएका बिरामीलाई घरमै पनि त्यस्तो ठाउँमा कालो दाग या खत छ छैन हेर्न सकिन्छ,’ उनले भने ।

ज्वरो आएको पाँच दिनपछि परिक्षण गर्दा बल्ल स्क्रब भए/नभएको निर्क्यौल हुन्छ । ‘कसै कसैले ज्वरो आएको एक दुई दिनमै टेस्ट गरेका पनि होलान् । उनीहरुमा देखिएको हुँदैन । हाम्रो अस्पतालमा जुन देखिएको छ त्यो भर्ना भएका बिरामीको टेस्ट गर्दा देखिएको हो । गाउँमा ज्वरो आएपछि औषधि खाएर हप्ता १० दिनसम्म निको नभएपछि उनीहरु भर्ना नै हुनुपर्ने गरेर अस्पताल आएका थिए,’ डा.कँडेलले भने ।

टाइफसको संक्रमण भएका व्यक्तिमा ज्वरो आउँछ । काम ज्वरो नै चल्ने, शरिर गल्ने, आलस्य हुने, शरिरमा गिर्खा आउने, छाला रातो हुने पनि गर्दछ । ‘४० प्रतिशत केशमा किर्नाले जहाँ टोकेको छ नि त्यहा सानो घाउ भएको कालो खत पनि देखिन्छ । यी लक्षणहरु सुरुको एक हप्तासम्म देखिन्छन्,’ डा.कँडेलले भने । एक हप्तापछि रोग जटिल बन्ने, रक्तचाप घट्ने, मृगौला र कलेजोमा असर पर्ने छालामा पनि डाबर पनि देखिने उनले बताए ।

‘फोक्सोमा दुई तिर पानी जम्ने, पेटमा पनि पानी जम्ने गर्दछ । हप्ता दिनमा रोग पत्ता नलागेर औषधि चलाउन ढिला हुँदा यस्तो जटिल अवस्थामा बिरामी पुग्दछन् । हामी कहाँ आईसीयूमा नै राख्नुपर्ने गम्भीर अवस्थाका बिरामीहरु प्रशस्तै आए,’ डा.कँडेलले जानकारी दिए । सुरु मै रोग पत्ता लागे सजिलै निको हुने उनले बताए । अस्पताल आएका गम्भीर अवस्थाका बिरामीको परीक्षण गर्दा मात्रै रोग पत्ता लागेका कारण समुदायमा यो रोग धेरै नै रहेको हुन सक्ने उनको अनुमान छ ।

चितवन स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसी बर्खा लागेसँगै यो रोगको प्रकोप सुरु हुने बताउँछन् । मंसिरसम्म रोग देखिने गरेको छ । शरिरको भाग खुला राखेर खेत बारी, चौर र झाँडी भएको ठाउँमा जान नहुने केसीले बताए । मुसा ओहरदोहर गर्नसक्ने सम्भावित ठाउँहरुमा सकेसम्म जाँदै नजाने र जानै परेर सावधानी अपनाउन उनले सुझाव दिए । अस्पताल आएका टाइफस संक्रमितहरु निको भएर नै फर्केका छन् ।


प्रकाशित : आश्विन ३०, २०७९ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?