डेंगीमा हुने छालाका समस्या र उपचार- स्वास्थ्य - कान्तिपुर समाचार

डेंगीमा हुने छालाका समस्या र उपचार

हाल संक्रमित हुने कतिपय बिरामीमा बिमिरा/डाबर आदि केही नदेखिए पनि ज्वरो आएको ३ देखि ५ दिनमा उग्र रुपमा हत्केला, पैताला, जिउ चिलाउने र दैनिक क्रियाकलाप तथा राति सुत्नसमेत गाह्रो हुने समस्या देखिएको छ । यस्ता लक्षण ५ देखि ७ दिनमा कुनै जटिलताबिना नै कम हुँदै जान्छन् । धेरै चिलाएमा चिलाउन कम गर्ने ‘एन्टीहिस्तामिन’ औषधि चिकित्सकको सल्लाहबमोजिम सेवन गर्नु पर्दछ ।
डा. प्रज्वल पुडासैनी

काठमाडौँ — हालै अस्वाभाविक रुपमा देशभर देखिएको डेंगी रोगले प्रकोपको रुप लिएको छ ।‘एडिस इजेप्टी’ नामक लामखुट्टेको टोकाइबाट हुने डेंगी भाइरसको संक्रमण बर्सेनि रुपमा देखिन्छ । 

धेरैजसो डेंगीका बिरामी कुनै लक्षणबिना अथवा ज्वरोमात्र आएर ठिक भएर जान्छन् भने कतिपयमा डेंगी भाइरसको संक्रमण भएको ३-१४ दिनमा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, जोर्नी दुख्ने, ढाड दुख्नेलगायत लक्षण देखिन्छ । त्यस्तै प्रकोप फैलिएको ठाउँमा विशेषतः बालकहरूमा शरीरका विभिन्न अंगहरूमा रक्तस्राब हुने, रगतमा प्लाज्माको मात्रा कम हुने र फोक्सो तथा पेटमा पानी जम्मा भई ‘हाइपोभोलेमिक सक’ हुने हुन्छ । शरीर धेरै सुनिएमा, पेट धेरै दुखेमा, धेरै वाकवाकी लागेमा, धेरै आलस्य भएमा, कलेजो सुन्निएमा र रगतमा प्लेटलेटको मात्रा कम भएमा डेंगीको जटिलता बढी हुन सक्ने सम्भावना हुन्छ ।

छालामा देखिने डेंगीका लक्षण के–के हुन् ?

सामान्यतया डेंगीका आधा जसो बिरामीमा ज्वरो आएको ३ देखि ४ दिनमा चिलाउने खालका रातो डाबर र टाटाहरू देखिन्छन् । यस्ता डाबरहरू खुट्टाबाट सुरु भई पैतालातिर र छाती र ढाडबाट सुरु भई अनुहार‚ हात, खुट्टा र हत्केला तथा पैतालामा पनि फैलिने गर्दछन् । यस्ता डाबरहरू १ हप्तामा आफैं हराएर जान्छन् । त्यस्तै प्लेट्लेटको मात्रा कम भएका बिरामीमा हातखुट्टामा रगतका नली फुटेर हुने टाटा (पेटेकी) जस्ता डाबर देखिन सक्छ । साथै मुखभित्र र आँखामा पनि यस्ता राता टाटाहरू देखिन सक्छ र हत्केला तथा पैताला सुन्निने, छाला निक्लिने र छुँदा सूक्ष्मानुभूत हुने पनि हुन्छ ।

हाल संक्रमित हुने कतिपय बिरामीमा बिमिरा/डाबर आदि केहि नदेखिए पनि ज्वरो आएको ३ देखि ५ दिनमा उग्र रुपमा हत्केला, पैताला, जिउ चिलाउने र दैनिक क्रियाकलाप तथा राति सुत्नसमेत गाह्रो हुने समस्या देखिएको छ । यस्ता लक्षण ५ देखि ७ दिनमा कुनै जटिलताबिना नै कम हुँदै जान्छन् । धेरै चिलाएमा चिलाउन कम गर्ने ‘एन्टिहिस्तामिन’ औषधि चिकित्सकको सल्लाहबमोजिम सेवन गर्नुपर्छ ।

डेंगीका लक्षण भएका बिरामीमा डेंगीको एन्टीजेन ‘एन एस १’ (जुन ज्वरो आएको १ हप्ता सम्म पोजिटिभ आउँछ) र डेंगी ‘आईजीएम’ र ‘आईजीजी’ एन्टीबडी परीक्षण गरी पत्ता लाग्छ । यसका साथै पीसीआर विधिबाट पनि डेंगी भाइरस पत्ता लाग्छ । डेंगीका लागि हालसम्म कुनै पनि किसिमको एन्टिभाइरल औषधि उपलब्ध छैनन् । यसको उपचार बिरामीको लक्षणबमोजिम गरिन्छ । ज्वरो र दुखाइका लागि सामान्य पारासिटामोल मात्र सेवन गर्नुपर्छ । बजारमा सजिलै पाइने दुखाइ कम गर्ने फ्लेक्सोन, इबुप्रोफेन आदि औषधि डेंगीमा सेवन गरेमा रक्तस्राब हुने सम्भावना हुन्छ तसर्थ सेवन गर्नुहुँदैन ।

डेंगीका करिब ५ प्रतिशत बिरामीमा रगतमा प्लाज्माको मात्रा कम हुने, पानीको मात्रा कम हुने र ‘हाइपोभोलेमिक सक’ हुने सम्भावना हुने हुँदा यस्ता बिरामीलाई अस्पतालमा भर्ना गरी प्रशस्त पानी सेवन गर्ने, सलाइन पानी दिने र प्लेट्लेट ट्रान्सफुज गर्नुपर्ने हुन्छ । डेंगीविरुद्धको खोप उपलब्ध छ । हालै प्रयोगका लागि अनुमति दिइएको खोप लगाएका मानिसमा डेंगीको जटिलता ९० प्रतिशतले कम हुने, अस्पताल भर्ना ८० प्रतिशतले कम हुने र लक्षण ५० प्रतिशतले कम हुने बताइएको छ ।

डा. पुडासैनी निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) तथा भक्तपुर स्किन एन्ड कस्मेटिक सेन्टर (बीएससीसी)मा छालारोग विशेषज्ञका रुपमा कार्यरत छन् ।

प्रकाशित : आश्विन २४, २०७९ १७:००
प्रतिक्रिया
पठाउनुहोस्

छालामा सनस्क्रिन प्रयोग किन आवश्यक छ ? 

सनस्क्रिन क्रिमले घामको हानिकारक विकीरणबाट जोगाउन मद्दत गर्छ 
डा. प्रज्वल पुडासैनी

काठमाडौँ — सनस्क्रिन भनेको घामबाट बच्नको लागि प्रयोग गरिने क्रिम हो । घाममा विभिन्न हानिकारक विकरणहरु हुन्छन् । जस्तै ‘अल्ट्राभोइलेट ए’(युभिए), युभिबि आदि । युभिएले छालालाई कालो बनाउन सक्छ । जस्तै चर्को घाममा स्वीमिङ गर्दा छाला डढ्न सक्छ । यी विकीरणहरुले फोटो एजिङ गराउँछन् जसले अनुहारमा चाउरीपना आउने, कालो दाग बस्ने, छालालाई आफ्नो उमेरभन्दा वृद्ध उमेरको देखाउँछ ।

यी विकरणले छालाको क्यान्सर गराउने, एलर्जी हुने, बिबिरा, डाबर निकाल्ने, कालोपोतो निकाल्ने, सानो–सानो तिलकोठीहरु पनि बढाउन सक्छन् । यी सबैबाट बच्न सनस्क्रिनको आवश्यकता पर्दछ ।

घाममा हिँड्दामात्र सनस्क्रिनको प्रयोग गर्नुपर्छ भन्ने छैन । बादल लागेको बेला, पानी परेको बेला, बसभित्र यात्रा गर्दा, घरमै रहँदा पनि सनस्क्रिन लगाउनुपर्छ । घरभित्रबाट बस्दा पनि झ्यालबाट विकीरणहरु आउन सक्छन् । सनस्क्रिनको प्रयोग आफ्नो छालाको प्रकारअनुसार प्रयोग गर्नु उचित हुन्छ । यो मुख्यत: ३ खालको हुन्छ: क्रिम, जेल र लोसनमा । चिल्लो छालाका लागि जेलबेस्ड उपयुक्त हुन्छ भने सुख्खा छालाका लागि हामीले क्रिम लगाउन सुझाउँछौं । त्यसैगरी जसको चिल्लो र सुख्खा दुवै छैन र मिस्क प्रकारको छाला छ भने उनीहरुलाई लोसनबेस्ड सनस्क्रिन उपयुक्त हुन्छ ।

कति र कसरी लगाउने ?

सनस्क्रिनले लगाएकै कारणले पनि एलर्जी हुन सक्छन् त्यसैले आफ्नो छाला सुहाउँदो सनस्क्रिन लगाउन जरुरी छ । बजारमा विभिन्न किसिमका सनस्क्रिन पाइन्छन् ।सनस्क्रिन सबैभन्दा राम्रो मेडिकलबाट लिएको राम्रो । सनस्क्रिन रोज्दा एकदमै बास्नादार, रंगीचंगी प्याकेट भएको रोज्नुहुँदैन । औषधीय गुण भएको सनस्क्रिन रोज्नुपर्दछ ।

सनस्क्रिन लिँदा पनि कुन एसपिएफको लिने भन्नेमा पनि ध्यान दिनुपर्छ । एसपिएफ अर्थात ‘सन प्रोटेक्सन फ्याक्टर’ ।यो भनेको कति विकिरणहरु हाम्रो छालाबाट भित्र गएर असर गर्छ भन्ने मापन हो ।सनस्क्रिनले नराम्रो विकिरणलाई बचाउने काम गर्दछ । नेपाल तथा भारतमा प्राय गहुँगोरो छाला हुने भएकाले ३० एसपिएफको सनस्क्रिनले पुग्छ जसले लगभग ९७ प्रतिशत घामको विकिरणबाट बचाउँछ भनिन्छ । त्यसैगरी एकदम गोरो छाला, लुपस भएका र पोतोहरु आइराख्नेलाई ५० एसपिएफ उपयुक्त हुन्छ भनिन्छ । यसले ९८ प्रतिशत जति घामको विकिरणबाट बचाउँछ । अझ बजारमा त २०० एसपिएफसम्मका सनस्क्रिन पनि पाइन्छन् तर धेरै एसपिएफको सनस्क्रिन प्रयोग गर्दैमा घामको विकिरणबाट पुरै बचिने होइन। धेरै प्रयोग गर्ने भन्दा कसरी प्रयोग गर्नेमा यसको प्रभावकारिता देखिन्छ ।

सनस्क्रिन लगाउनुभन्दा पहिले आफ्नो छालमा एलर्जी हुन नदिन चेक गरेर मात्र लगाउनुपर्छ । हाम्रो कान पछाडी एकदम पातलो छाला हुन्छ त्यसमा थोरै लगाएर हेर्ने एलर्जी भएन भने त्यो छालालाई उपयुक्त हुन्छ । त्यसैगरी हत्केलाभन्दा माथिको भागको छालामा पनि परीक्षण गर्न सकिन्छ त्यसबाट पनि अन्दाज लगाउन सकिन्छ ।

सनस्क्रिन अनुहार र घाँटीमा ३ देखि ५ ग्राम अर्थात १ चिया चम्चा लगाए पुग्छ । साथै छाला एक्सपोज हुने भाग जस्तै हात तथा खुट्टामा पनि प्रयोग गर्ने । सनस्क्रिन दिनकाे एकपटक मात्र लगाएर पुग्दैन पटक पटक प्रयोग गर्नुपर्छ । सामान्यतया प्रत्येक २ घण्टामा सनस्क्रिन लगाउनुपर्छ नभए सनस्क्रिन दिनको ३ पटक लगाउन सल्लाह दिन्छौँ ९ बजे,१२ बजे र ३ बजे । यो समय सम्भव भएन भने दिनको दुईपटक प्रयोग गर्नुपर्छ ।

सनस्क्रिन ‘फिजिकल’ र ‘केमिकल’ गरी दुई प्रकारको हुन्छ । धेरैजसो केमिकल सनस्क्रिनको प्रयोग भइरहेको हुन्छ । यो सनस्क्रिन लगाएको १५ मिनेट देखि आधाघण्टापछि मात्र घाममा जाने, स्वीमिङ गर्ने, चर्को घाममा हिँड्ने गर्दा राम्रो हुन्छ । किनकी यो सनस्क्रिन छालामा सोसिन समय लाग्छ । खेलाडीहरुले भने ‘फिजिकल’ सनस्क्रिनको प्रयोग गर्छन् । यो सनस्क्रिन छालामा लगाउनेबित्तिकै काम गरिहाल्छ । एकदम घाममा गइराख्नुपर्ने, पर्वतारोही, गर्भवती तथा बच्चाकोलागि यो सनस्क्रिन उपयुक्त हुन्छ । गर्भावस्थामा केमिकल सनस्क्रिनको प्रयोग गर्नुहुँदैन । २ वर्ष माथिका बच्चाहरुले पनि सनस्क्रिनको प्रयोग गर्न सक्छन् भनिन्छ तर सानो उमेरमा यसको आवश्यकता खासै पर्दैन ।

अर्को अहिले ‘कम्प्याक्ट फर्म’मा पनि सनस्क्रिनहरु आउन थालेका छन् जुन कम्प्याक्ट फाउन्डेसन जस्तो हुन्छ जसले कालोपोतोहरु लुकाउन सक्छ । सनस्क्रिन लगाएपछि मेकअप लगाउन मिल्छ भन्ने प्रश्न पनि धेरैले सोध्ने गरेका छन् । लगाउन मिल्छ तर केही समय मात्र छालाामा लगाउने र पखालिहाल्नुपर्छ ।

सनस्क्रिनको महत्व छ तर सबैले किन्न नसक्लान् र प्रयोग गर्न नसक्लान् । सकेसम्म छायाँमा रहेर काम गर्नुपर्छ । १० देखि ४ बजेको घाममा एकदमै विकिरण हुन्छ भनिन्छ । घामबाट बच्न ह्याट लगाउने, चस्मा लगाउने, कपडाले अनुहार तथा घाँटी छोप्न सकिन्छ। साथै छाता ओढेर हिँड्ने ,मास्क र टोपी लगाएर हिँड्न सकिन्छ ।

(डा पुडासैनीसँग बुनु थारुले गरेको कुराकानीमा आधारित)

प्रकाशित : श्रावण २१, २०७९ १८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×