सिटामोल अभावको दुश्चक्र- स्वास्थ्य - कान्तिपुर समाचार

सिटामोल अभावको दुश्चक्र

डा‍‌‍‌. शेरबहादुर पुन

काठमाडौँ — एक डेंगी संक्रमित बिरामी ‘मलाई 'डा. साब ! मलाई सिटामोल अलि बढी लेखिदिनुस् है, मेरो घरमा सबै जना बिरामी छन् । अस्ति लगेको सिटामोल पनि सक्किइसक्यो' भन्दै थिए । अस्पतालबाट दिने सीमित सिटामोलको संख्याले घरमा रहेका अरु बिरामीलाई नपुग्ने गुनासो गर्दै थिए उनी ।

यो गुनासो स्वाभाविक पनि थियो किनभने ज्वरो र शारीरिक दुखाइ डेंगीका दुई मुख्य लक्षणहरू हुन् र यी दुईमध्ये एक लक्षण स्वास्थ लाभ नभएसम्म कतिपयमा रहने र कहिलेकाहीँ कसै-कसैलाई दुखाइ हप्तौं वा महिनौंसम्म रहने हुँदा सिटामोलको आवश्यकता लामो अवधिसम्म हुने गर्दछ । तसर्थ काठमाडौँमा डेंगीको लहरले ह्वात्तै उचाइ लिँदा सिटामोलको चरम अभाव सृजना भएको हो । अरु स्वास्थ समस्याहरूमा पनि सिटामोलको प्रयोग व्यापक गरिने हुँदा यसको अभाव थप पेचिलो बनेको हो ।

ज्वरो वा दुखाइ हुँदा विभिन्न प्रकारका 'पेनकिलर' औषधिहरूको प्रयोग गर्ने गरिन्छ । नेपालमा विगतदेखि फ्लेक्सन, ब्रुफेन, निम्स, प्यानओफ्ल्यामजस्ता औषधिहरूको (एनएसएआईडी समूहका औषधिहरू) प्रयोग ज्वरो वा दुखाइ कम गर्न व्यापक प्रयोग हुँदै आइरहेको छ । धेरैले सिटामोलले खासै छुँदैन भनेर यस्ता औषधिहरूको माग/आवश्यकता परेको भन्ने गरेका पनि छन् । औषधि विक्रेताहरूले पनि यस्तै औषधिहरू नै बढी दिने गरेको पाइन्छ ।नेपालको लागि डेंगी तुलनात्मक रुपमा नयाँ संक्रामक रोगको रुपमा देखा परेको हो । रोगको पहिचान सन् २००४ मा नै भएको हो । पहिचान भएको झन्डै १८ वर्ष भैसकेको भएता पनि सर्वसाधारणहरूमा फ्लेक्सन, ब्रुफेन, निम्स, प्यानओफ्ल्यामजस्ता औषधिहरूको प्रयोग डेंगीमा गर्नु हुँदैन र प्रयोग गरेमा रक्तश्रावको जोखिम हुन्छ भन्ने जानकारी नभएको देखिन्छ ।

काठमाडौंमा डेंगीले सन् २०१९ मा पहिलो पटक महामारीको रुप लिएको थियो । मैले 'डेंगी क्लिनिक' सुरु गर्दा अधिकांश बिरामीहरूले विशेषत: दुखाइ वा ज्वरो कम गर्न फ्लेक्सन वा निम्स औषधिको नै बढी प्रयोग गरेको देखेको थियो । ज्वरोभन्दा पनि दुखाइको पीडा अत्यधिक हुँदा फलेक्सन वा निम्स औषधि बिरामीको पहिलो रोजाइमा परेको देखिन्छ । यसर्थ मैले अभियानको रुपमा नै यस्ता औषधिको प्रयोग नगर्न अनुरोध गर्दै आइरहेको थिएँ/छ । पछिल्लो समय धेरैले फ्लेक्सन वा निम्स औषधिको प्रयोग डेंगीमा गर्नु हुँदैन भनेको सुनेकोले सिटामोल मात्र प्रयोग गर्ने गरेको मलाई भन्ने गरेका छन् र यसले केही हदसम्म म यो अभियानमा सफल भएको अनुभूति भएको छ । तर दुर्भाग्यावश यसको (सिटामोल) चरम अभाव सुरु भएयता फेरि फ्लेक्सन वा निम्स औषधिको सहायता लिनेको संख्या बढेको देखिन्छ ।

केहि दिन अगाडि मात्र कतिपय डेंगी संक्रमित बिरामीहरूले सिटामोल खोज्दा नपाएकाले फ्लेक्सन प्रयोग गर्नुपर्ने बाध्यता भएको भनेका थिए । तसर्थ, अबको चिन्ता भनेको थाहा नपाएर होइन, बरु सिटामोल अभावको कारणले फ्लेक्सन वा निम्सजस्ता औषधिहरूको प्रयोग बाध्यताले गर्नुपर्ने अवस्था आएको/आउने भएको देखिन्छ ।पछिल्लो समयमा बिरामीहरू गिजा वा नाकबाट अथवा खोक्दा रगत देखिने गरेको भन्ने गरेका छन् । सिटामोलको अभावबीच फलेक्सन वा निम्सजस्ता औषधिको प्रयोगले जटिल अवस्था हुने संक्रमितको संख्या पनि बढ्ने सम्भावना देखिन्छ । डेंगी महामारीको सुरुवातीमा फलेक्सन वा निम्स जस्ता औषधिको प्रयोगले संक्रमितहरूमा रक्तश्रावका समस्याहरू देखिने गरेका थिए ।अहिले पछिल्लो समय धेरै संक्रमितहरूको मृत्यु डेंगी जटिलताबाट हुने क्रम बढ्दै गएको तथ्यांकले देखाउँदछ ।

सिटामोल धेरै रोगको ज्वरोमा प्रयोग हुने एक प्रमुख र सुरक्षित औषधि पनि मानिन्छ ।नेपाल आफैँले केहि वर्ष अगाडिसम्म सिटामोलको उत्पादन गर्ने गरेकोमा केही वर्ष बन्द भएर फेरि उत्पादन गर्न सुरु गरेको छ ।सिटामोल अति आवश्यक, धेरै रोगमा प्रयोग हुने र स्वास्थचौकीमा निःशुल्क उपलब्ध हुने भनिएको औषधि भए पनि दूर-दराजका गाउँ-गाउँमा भने अहिले पनि अभावै देखिन्छ । म काठमाडौंसँगै जोडिएका जिल्लाहरूमा बेला बेलामा स्वास्थ शिविरहरूमा जाँदा त्यहाँ आउने बिरामीले आफ्ना गाउँका स्वास्थ चौकीहरूमा सिटामोलसमेत नभएको/नहुने गरेको भन्ने गरेका थिए । यसरी सिटामोल नियमित आपूर्ति नहुँदा डेंगीजस्तो महामारी फैलिए अवस्था भयावह नहोला भन्न सकिँदैन । हालै मैले काठमाडौंसँगै जोडिएको धादिङ जिल्लामा डेंगीका बिरामीहरू बढ्दै गइरहेको देखेको थिएँ । हालै त्यहाँबाट आएका बिरामीहरूका अनुसार काठमाडौंमा जस्तै हरेक घर-घरमा डेंगीको जस्तै लक्षण भएका बिरामीहरू देखेको भन्ने गरेका छन् । त्यस्ता ठाउँ वा काठमाडौं बाहिर गाउँ-गाउँमा डेंगी फैलिए र सिटामोल नपाउने अवस्था सृजना भए स्थिति भयावह नहोला भन्न सकिँदैन ।

अन्तमा, डेंगीको दुखाइ अत्यधिक हुने र ज्वरोको तापक्रम पनि अति उच्च हुने हुँदा औषधि प्रयोगबिना बिरामीले राहत पाउने अवस्था देखिँदैन । यसमा पनि सिटामोलको विकल्प नहुँदा र डेंगी संक्रमित झन् बढ्दै जाँदा यसको चरम अभाव सृजना भएको देखिन्छ । लामखुट्टे नियन्त्रण गर्नमा उदासीन हुँदा आगामी दिनहरूमा थप डेंगी संक्रमितको संख्या बढ्न सक्ने अनुमान गर्न सकिन्छ । अर्थात् अहिले देखिएको सिटामोलको चरम अभावले थप उचाइ लिन सक्ने सम्भावना देखिन्छ । डेंगीको महामारी काठमाडौँ बाहिर पनि विस्तार हुँदै जाँदा र सिटामोलको थप सम्भावित आवश्यकतालाई मध्यनजर गर्दै यसको पर्याप्त उपलब्धता र सहज पहुँचमा सम्बन्धित निकाय अहिले नै गम्भीर हुनुपर्ने देखिन्छ किनभने हालको डेंगी महामारी तत्काल स्थगित हुने अवस्था देखिँदैन ।

(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।)

प्रकाशित : आश्विन २१, २०७९ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्

झन्‌झन् कठोर बन्दै डेंगु

डेंगुजस्तो लक्षण देखिए पनि घरमा बस्नु वा अस्पताल ढिला आउनु, घरैमा बसेर डेंगु उपचारका गलत अभ्यास गर्नु,फरक सेरोटाइपले पुनः संक्रमित हुनु डेंगु कठोर देखिँदै जानुका केही कारण हुन सक्दछन् ।
डा‍‌‍‌. शेरबहादुर पुन

'डेंगु क्लिनिक' मा भर्खर बसेर बिरामीहरु हेर्न मात्र के लागेको थियो अचानक अस्पताल प्राङ्गणमा एक जना बिरामी बालिका अचेत हुँदा सँगै आएका बुवाले उपचारका लागि आकस्मिक कक्षतिर लग्दै थिए । यो घटना देखेर घर फर्कंदै गर्दा  झल्झली सम्झना आयो र मेरो आँखा नै रसायो ।

'डेंगु क्लिनिक' को सेवा सकेपछि घर फर्कनुअघि सहकर्मीसँग बालिकाको अवस्थाको बारेमा खोजिनीति गर्दा ती बालिका त्यहाँबाट बाल अस्पताल रिफर भइसकेको रहेछ । ती बालिकाभन्दा अगाडि एक महिला पनि अचानक अचेत भइ भुइँमा ढलेकी थिइन्। थप केहि व्यक्तिहरु पनि अचेत भएर ढलेका थिए ।

अस्पताल परिसरमा यसरी अचेत भइ ढल्ने क्रम पछिल्लो केही दिन यता दैनिक जस्तो देखिने गरेको छ । यस्तो अवस्था मैले कोभिडको दोस्रो लहरमा मात्र देखेको थिएँ। सन् २०१९ को डेंगु महामारीमा हजारौैं मानिसले यस अस्पतालबाट सेवा लिएका थिए तर बिरामीहरू एकपछि अर्को ढल्ने गरेका भने थिएनन्। लेखकले मात्र होइन लेखकका सहकर्मीहरुले पनि सन् २०१९ को डेंगु महामारीमा भन्दा अहिले डेंगु संक्रमितहरूमा कडा लक्षण देखिने गरेका अनुभव सुनाउने गरेका छन।स्वास्थ मन्त्रालयका अनुसार साउनयता भदौ ३० सम्म ११ जना डेंगु बिरामीको दुखद निधन भइसकेको छ। यसर्थ अहिले लेखकको मनमा एक प्रश्नले ठाउँ ओगटेको छ ।" के डेंगु झन् झन् कठोर बन्दै गइरहेको हो" ?

हामीले "डेंगु क्लिनिक" सुरु गर्दा खासै डेंगु कडा भएको अनुभव गरेका थिएनौँ ।तर पछिल्लो समय डेंगुको विशेष औषधि हुँदैन र ज्वरो/शारीरिक पीडा कम गर्न सिटामोलबाहेकको औषधिको प्रयोग गर्न नहुने थाहा पाएपछि धेरै मानिसहरू डेंगु जस्तो लक्षण लिएर घर-घरमा नै बस्न थालेका छन् ।

एक युवकले आफुमा डेंगु जस्तो लक्षण देखिएको भए तापनि परिवारको अस्पताल जाने सल्लाहविपरीत घरमा बसेको र केही मिनेट अचेत/बेहोस समेत हुनु परेकोले मात्र उपचारको लागि आइपुगेको भनेका थिए। उहाँले अस्पताल समयमा नआउँदा त्यस्तो अवस्था सिर्जज भएको स्वीकार्नु भएका थियो ।

हाल कतिपयले केही दिन हल्का ज्वरो देखिएको वा शरीरमा हल्का दुखाइ भएको अनि सिटामोल खाएपछि सहज हुँदा अस्पताल नगएको तर एक दुई दिनमा फेरि अचानक डेंगुका लक्षण विशेषत: अत्यधिक दुखाइ र वाकवाक/बान्ता भएपछि आइपुग्ने गरेका भन्ने गरेका छन्। कतिपयले भने खोक्दा वा बान्ता हुँदा वा गिँजा/नाकबाट रगत देखिएको समेत भन्ने गरेका छन् जुन जटिल अवस्थामा जान सक्ने सूचकका रूपमा लिने गरिन्छ।हाल बिरामीहरु सकेसम्म अस्पताल नजाने मनिस्थितिमा रहेका र ढिला गरी आउँदा डेंगु कडा भैसकेको देखिन्छ।

हाल समुदाय स्तरमा डेंगु फैलँदो छ।आजको मितिसम्म पनि डेंगु बिरामीले सिटामोलले आफ्नो पीडा/दुखाइमा बीसको उन्नाइस सुधार नहुँदा बाध्यताले फ्लेक्सन, निम्स जस्ता दुखाइ/ज्वरो कम गर्ने औषधिहरु खाने गरेका भनेका देखिन्छन्। यीमध्ये कतिपयलाई डेंगु संक्रमण हुँदा प्रयोग गर्न हुँदैन भन्नेसमेत जानकारी भएको भन्ने गरेका पनि छन् । यसको प्रयोगले कतिपयमा रक्तश्रावको समस्यासमेत देखिएका छन । बिरामीहरू प्लेटेलेट्सको संख्यामा कमी देख्दा आत्तिएको/आत्तिने गरेका देखिन्छन् ।तर हाल प्लेटेलेट्सको संख्या बढाउने औषधि नहुँदा बिरामीहरू वैकल्पिक उपचार वा उपायमा विशेष चासो दिने गरेका देखिन्छन् जुन स्वाभाविक पनि हो।

अहिले प्लेटेलेट्सको संख्या बढाउने वैकल्पिक उपायमा मेवाको पातको प्रयोग सबैभन्दा बढी प्रचलनमा आएको देखिन्छ । तर यसको प्रयोगको बारेमा विषय विज्ञसँग परामर्श नलिइ साथीभाइ वा सामाजिक सञ्जाललाई पछ्याउँदै उपभोग गर्दा फाइदा भन्दा बेफाइदा भएका धेरै घटना देखिन्छन् । केही दिन अगाडि एक युवा महिला सहकर्मीको सल्लाहअनुसार अत्यधिक मेवाको पातको प्रयोग गर्दा अचेत अवस्थामा आकस्मिक कक्षमा आइपुगेका थिए। हाल घर घरमा डेंगु संक्रमित रहेको अवस्थामा पूर्ण/सही जानकारीबिना, अनियन्त्रित र जथाभावी मेवाको पातको प्रयोग भइरहेको र जनस्वास्थ चासोको विषयसमेत बनेकोले सम्बन्धित निकायले जतिसक्दो चाँडो आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न सके नागरिकमा अन्योलता तथा यसबाट हुनसक्ने जटिलतालाई धेरै हदसम्म कम गर्न सकिने थियो।

डेन-१,डेन-२, डेन-३ र डेन-४ गरी डेंगुका चार सेरोटाइप छन् । संक्रमित व्यक्ति अर्को प्रकोपको समयमा दोस्रो पटक पनि पुनः संक्रमित हुन सक्दछ एक पटक संक्रमित भएको व्यक्तिमा अर्को प्रकोपमा फरक सेरोटाइपले पुनः संक्रमण गरे पहिलेको भन्दा लक्षण झन् कडा हुन सक्दछ । सन् २०१९ को डेंगु महामारीमा डेन-२ सेरोटाइप देखिएको भनेर अनुसन्धान लेख प्रकाशित भएका छन।हाल डेंगु क्लिनिकमा दोस्रो पटक पनि संक्रमित भए भनेर आउने धेरै बिरामीहरू छन् ।

सन् २०१९ डेंगु महामारीमा संक्रमित भएका तर लक्षण नदेखिएकाहरू पनि धेरै हुन सक्छन् । तसर्थ हाल फैलँदै गरेको डेंगुको सेरोटाइप सन् २०१९ को भन्दा फरक र दोश्रो पटक संक्रमित भैरहेको रहेछ भने संक्रमितहरूमा सन् २०१९ मा भन्दा झन् कडा लक्षणसहित आउने सम्भावना बढेर जानेछ ।र फलस्वरूप अस्पतालमा चाप र शय्यामा कमी हुनसक्नेछ। हाल काठमाडौँका विभिन्न अस्पतालहरुमा शय्या अभाव भइरहेको समाचार पनि आइरहेका छन्। लेखकले साउन महिनादेखि डेंगुको लहर उकालो लाग्दै गर्दा सेरोटाइपको बारेमा जानकारी सार्वजनिक हुनुपर्ने राय व्यक्त गर्दै आइरहेको पनि हो।यसबाट चिकित्सक वा नीति निर्माताहरूलाई डेंगुले लिन सक्ने अवस्थाको बारेमा आकलन गर्न सहज हुनेछ।

अन्तमा, डेंगु संक्रमित अस्पताल परिसर वा घरमा ढल्ने क्रम दिनानुदिन बढ्दै जाँदा लेखकलाई कोभिड दोस्रो (डेल्टा) लहरको झझल्को दिएको छ ।यसले डेंगु विगतमा भन्दा झन्झन् कठोर रुपमा प्रस्तुत हुँदै गइरहेको देखाउँदछ। डेंगुजस्तो लक्षणहरु देखिए पनि घरमा बस्नु वा अस्पताल ढिला आउनु, घरैमा बसेर डेंगु उपचारका गलत अभ्यास गर्नु,फरक सेरोटाइपले पुनः संक्रमित हुनु जस्ता हाल डेंगु कठोर देखिँदै जानुका केही कारणहरु हुन सक्दछन्।यद्यपि विस्तृत अध्यन भने हुनुपर्दछ र यो आवश्यकता पनि हो।किनभने डेंगुको यस्तो अवस्था/चुनौती भविष्यमा पनि सामना गर्नुपर्नेछ।

(पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)

प्रकाशित : भाद्र ३१, २०७९ २०:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×