कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमण दर उकालो : विज्ञ भन्छन् – ‘कम्तीमा मास्क त लगाऔं’

बुनु थारु

काठमाडौँ — कोरोना संक्रमण बढेसँगै सतर्कता अपनाउन र लक्षण देखिएमा परीक्षण गराउन भन्दै विज्ञहरूले सचेत गराएका छन् । संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदी संक्रमण उकालो लागेसँगै शंकास्पद लक्षण देखिए परीक्षण गराइहाल्नुपर्ने बताउँछन् । उनका अनुसार समयमै परीक्षण गराउँदा त्यसले जोखिम समूहलाई धेरै हदसम्म जोगाउँछ ।

कोरोना संक्रमण दर उकालो : विज्ञ भन्छन् – ‘कम्तीमा मास्क त लगाऔं’

डा सुवेदी भन्छन्– ‘संक्रमित धेरै जना सिकिस्त भएका छैनन् तर लक्षण देखिएकाहरुले परीक्षण गर्नुपर्छ। साथै चिकित्सकहरुले पनि त्यस्ता लक्षण देखेमा परीक्षण गराउन सल्लाह नदिइ यत्तिकै एन्टिबायोटिक दिनुभएन ।’ उनले परिवारमा रहेका ज्येष्ठ नागरिक तथा जोखिम समूहलाई जोगाउन पनि परीक्षण आवश्यक रहेको बताए । ‘परीक्षण गरिएको भए जति अहिले मृत्यु भइरहेको छ त्यति हुँदैन थियो होला । उनीहरु ढिलो अस्पताल आइपुग्थे । समयमै परीक्षण भए कम्तीमा अक्सिजनको निगरानी बस्न सकिन्छ र अक्सिजनको मात्रा घटेपनि समयमा औषधि दिएपछि मान्छे आईसीयूमा भर्ना हुनु पर्दैन,’ उनले भने । उनले धेरैभन्दा धेरै केस पत्ता लगाउनुभन्दा सिकिस्त हुन नदिन ध्यान दिनुपर्ने आवश्यकता देख्छन् ।

गत २४ घण्टामा ६ हजार ७०५ परीक्षण गर्दा ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउन १ गते संक्रमण दर ४.४३ रहेकोमा साउन १६ गते संक्रमण दर १५.१४ पुगेको थियो । त्यसैगरी मंगलबार ६ हजार ३०० परीक्षणमा १ हजार ९० जनामा संक्रमण पुष्टि हुँदा संक्रमण दर १७.३० पुगेको थियो ।

बुधबार कोरोना संक्रमणदर १२.९४ रहेको छ । हाल सबैभन्दा धेरै संक्रमण पुष्टि वाग्मती प्रदेशमा देखिएको छ । गत २४ घण्टामा बागमती प्रदेशमा ३ हजार १७३ पीसीआर परीक्षणमा ३८२ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी प्रदेश १ मा ७१ वटा परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको छ । साथै मधेश प्रदेशमा ४६ जनामा ८ जना, गण्डकी प्रदेशमा १०४ मा १८ जना , लुम्बिनीमा १७३ मा ४४ जना र सुदुरपश्चिम प्रदेशमा ४७ जनामा २१ जनामा संक्रमण पुष्टि भएको देखिन्छ । कर्णालीमा भने २४ घण्टामा कुनै परीक्षण नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८८५ रहँदा ३ हजार ९५६ जना काठमाडौँ उपत्यकामा रहेका छन् । गत २४ घण्टामा काठमाडौँमा २२९, ललितपुरमा ५३ र भक्तपुरमा १८ जना गरी ३०० जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौ“मा ३ हजार ९, भक्तपुरमा १०१ र ललितपुरमा ८४६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

५०० भन्दा बढी सकृय संक्रमित रहेको जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् भने २०० भन्दा बढी सकृय संक्रमित रहेको जिल्ला मोरङ रहेको छ । मनाङ, कालिकोट र हुम्लामा शुन्य संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा छ । हाल देशभरी ६४ जना आइसियुमा र ७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

मृत्यु हुने खोप नलगाएका, मन्त्रालयद्वारा खोप लगाउन अपिल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नेपालमा कोभिड १९ संक्रमणबाट मृत्यु भएका मध्ये ७५ प्रतिशत भन्दा बढीले कोभिड १९ विरुद्धको खोप नलगाएको पाइएकोले सबैलाई खोप लगाउन अपिल गरेको छ । मन्त्रालयका प्रवक्ता डा समीरकुमार अधिकारीले खोप नलगाएकाले कोभिडको उच्च जोखिममा हुने भएकाले खोप नलगाएका सबैलाई खोप लगाउन अनुरोध गरे ।

हालसम्म नेपालमा कुल जनसंख्याको २ करोड १८ लाख ९१ हजार २४२ (७५ प्रतिशत) जनाले पहिलो मात्राको खोप लगाएका छन् भने दोस्रो मात्रा लगाउनेको संख्या २ करोड ६ लाख ४३ हजार ९१ (७०.७) प्रतिशत जनाले दोस्रो मात्राको खोप लगाएका छन् । बुस्टर मात्रा ७३ लाख ८६ हजार ३४ जनाले लगाएका छन् । प्रवक्ता डा अधिकारी भन्छन्–‘खोपले गम्भिर स्वास्थ्य समस्या हुनबाट जोगाउनुका साथै जीवन सुरक्षा गर्छ ।हाल कोभिड संक्रमितको अस्पताल भर्ना, स्वास्थ्य जटिलता र मृत्युको तथ्यांक हेर्दा खोप नलगाएको र पूर्ण मात्राको खोप नलगाएको बढी छन् । खोप नलगाएकालाई गम्भीर रुपमा बिरामी पार्ने र मृत्यु हुने सम्भावना १० गुणा बढी हुन्छ ।त्यसैले खोप लगाउनुस्।’

सरकारले हाल १२ वर्ष माथिकालाई बुस्टर डोज दिइरहेको छ । त्यसैगरी यही भदौ ५ गतेदेखि ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि ५० जिल्लामा दोस्रो चरणको खोप अभियान सञ्चालन हुँदैछ । ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ सम्म लगाउने तयारी रहेको मन्त्रालयले जनाएको छ ।

भाइरोलोजिस्ट डा लुना भट्टले अहिलेको भेरियन्ट निकै नै संक्रामक रहेकोले संक्रमितको संख्या केही हप्तामै उच्च संख्यामा पुग्न सक्ने बताउँछिन् । उनले भनिन्–‘दैनिक संक्रमित ४ हजारसम्म पनि पुग्न सक्छ । संक्रमितको संख्या बढाउनुभन्दा नियन्त्रणमा ध्यान दिनु आवश्यक छ । सर्वसाधारण पनि सचेत हुन जरुरी छ।’ उनका अनुसार अहिलेदेखि नै संघसंस्थाले मिलेसम्म अनलाइन व्यवस्था सुचारु गर्नुपर्छ ।

विज्ञहरु चौथो लहर सुरु भइसकेको बताउ“दै जनस्वास्थ्यका मापदण्ड राम्ररी पालना गरे कोभिडमात्र होइन श्वासप्रश्वासका अरु रोगहरुबाट पनि जोगिने बताउँछन् । डा लुना भन्छिन्–‘ अब त चाडपर्व पनि सुरु भयो । चुनाव पनि आउन लागेको छ। भिडभाड झनै बढ्छ । संक्रमण बढ्न सक्ने सम्भावना धेरै छ ।अहिले सजग रहे पछि चाडपर्व राम्ररी मनाउन पाइन्छ ।जोखिम बढ्दैन । अहिले सिजनल फ्लु पनि बढेको छ । मास्क अनिवार्य गर्नुपर्छ । भिडभाडमा कम भयो भने श्वासप्रवासको अरु रोग पनि कम हुन्छ ।’

संक्रामक रोग विशेषज्ञ डा सुवेदीले संक्रमण उचाइमा पुग्न धेरै समय नलाग्ने बताउँदै केही हप्ता संक्रमण बढी नै रहने बताए । ‘कुनै ठाउँमा छिटो लहर सुरु हुन्छ त कुनैमा ढिलो । सहरबजारमा छिटो संक्रमण फैलिन्छ । मास्क लगाउ“दा पनि जोगिने सम्भावना ठूलो रहन्छ ,’उनले भने ।

प्रकाशित : श्रावण २५, २०७९ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?