कोभिड दैनिक संक्रमण दर २ प्रतिशत नाघ्यो- स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिड दैनिक संक्रमण दर २ प्रतिशत नाघ्यो

भारतीय स्थल नाकाबाट बिहीबार नेपाल प्रवेश गरेका १२ जनामा संक्रमण पुष्टि
अतुल मिश्र

काठमाडौँ — केही दिनयता कोरोना संक्रमण निरन्तर उकालो लागिरहेको छ । असार महिना लागेदेखि नै कोभिड संक्रमण दर (पोजिटिभिटी रेट) बढ्दै गएको हो । यो दर बिहीबार २ प्रतिशत नाघेको छ । बुधबार त ३.८२ प्रतिशत पुगेको थियो ।

जबकि १५ दिनअघि असार १ मा संक्रमण दर ०.६४ प्रतिशत मात्र थियो । संक्रमण दर बढेसँगै सक्रिय संक्रमितको संख्यामा पनि उल्लेख्य वृद्धि देखिएको छ । असार १ गते ९७ सक्रिय संक्रमित रहेकामा हाल यो संख्या झन्डै तीन गुणा बढेर २८० पुगेको छ ।

छिमेकी भारतमा पछिल्ला दिन संक्रमण सघन बढ्दाकै असर हो/होइन भन्ने निर्क्योल गर्न स्वास्थ्य मन्त्रालयले सूक्ष्म अध्ययन थालेको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्ला दिन पुष्टि भएका केसको जिन सिक्वेन्सिङ पनि सुरु गरिएको छ । त्यसको परिणाम आएपछि मात्र ओमिक्रोन भेरिएन्ट वा भारतमै देखिएको बढी संक्रामक ‘बीए.४’ र ‘बीए.५’ हो भन्ने यकिन हुने मन्त्रालयका एक अधिकारीले बताए । भारतीय स्थलनाका हुँदै आउने नेपाली कामदारमा संक्रमणको दर बढी देखिएकाले ‘बीए.४’ र ‘बीए.५’ भेरिएन्ट भित्रिसकेको उनले आशंका गरे ।

केही दिनयता नाकाहरूबाट आउनेमध्ये दैनिक सरदर ५–६ जनामा संक्रमण देखिएकामा बिहीबार एकै दिन १२ जनामा कोभिड पुष्टि भएको छ । नेपालमा हालसम्म ओमिक्रोनको ‘बीए.२’ भेरिएन्टका कारण संक्रमण फैलिएको पाइएको छ ।

‘पछिल्लो समय संक्रमणको दर निरन्तर बढ्दो छ,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा.चुमनलाल दासले कान्तिपुरसँग भने, ‘मुलुकमा ओमिक्रोनको ‘बीए.२’ भेरिएन्टले नै संक्रमण फैलाइरहेको थियो, पछिल्लो समय भारतमा देखिएको ‘बीए.४’ र ‘बीए.५’ भेरिएन्टसमेत भित्रिएको हो भन्ने आंशका बढेको छ ।’

संक्रमण बढ्दै गएपछि ओमिक्रोनबाहेकका भेरिएन्टको समेत परीक्षण थालिएको उनले बताए । मन्त्रालयका अनुसार हाल सुदूरपश्चिममा १ जना र वाग्मती प्रदेशमा २ जना गरी ३ जना कोभिडका बिरामीको सघन उपचार भइरहेको छ ।

प्रकाशित : असार १७, २०७९ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्

‘बिज बल’ लाई तयार छ भारत ?

विश्व क्रिकेटका लागि यो एक प्रकारले नयाँ शब्दावली हो भन्दा पनि हुन्छ
द गार्डियन

एजबास्टन — इंग्ल्यान्डले शुक्रबार पाँचौं तथा अन्तिम टेस्टमा भारतको सामना गर्दै छ । यो फेरि मिति तय गरिएको टेस्ट हो । यसको पूर्वसन्ध्यामा धेरैभन्दा धेरै खेलाडीको भविष्यलाई लिएर प्रश्न उठेको छ । जस्तो कि विराट कोहली । भारतीय टोलीका यी पूर्व कप्तान अहिले खराब लयबाट गुज्रिइरहेका छन् । त्यसैले त उनले अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाएको पनि ७४ इनिङ्स भइसकेको छ । तर मूल प्रश्न हो, के भारतले ‘बिज बल’ को सामना गर्न सक्ने छ त ?

ऋषभ पन्त र जसप्रित बुमराह । तस्बिर : एपी

विश्व क्रिकेटका लागि यो एक प्रकारले नयाँ शब्दावली होभन्दा पनि हुन्छ । इंग्लिस टोलीका अहिलेको नयाँ प्रशिक्षक हुन्, न्युजिल्यान्डका ब्रेन्डन म्याकलम । आफू खेलाडी छँदा उनी अत्यधिक आक्रामक भएर खेल्थे । प्रशिक्षक भएयता पनि उनको शैली त्यस्तै छ, ‘अत्यधिक आक्रामक’ मात्र नभएर ‘अति धेरै आक्रामक’ । यसको प्रारम्भिक छनक त इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्ध खेलेको शैलीमै देखियो । इंग्ल्यान्ड तीन टेस्ट शृंखलामा ह्वाइटवास गर्न सफल रह्यो ।

परिस्थिति जस्तै होस्, अत्यधिक सकारात्मक रहने । यही सूत्र हो ‘बिज बल’ को । लगातार तीनै टेस्ट इंग्ल्यान्डले चौथो इनिङ्समा लक्ष्य पछ्याएर जितेको थियो । सबै अवसरमा इंग्ल्यान्डले जसरी खेलेको थियो, त्यो नै हो ‘बिज बल’ । यही शैलीमा रहेर जोनी बेरिस्टोले निकै आक्रामक भएर ब्याटिङ गरे र अविश्वसनीय रूपमा इंग्ल्यान्डलाई जिताए । यस्तै ब्याटिङ कप्तान बेन स्टोक्सको ब्याटबाट पनि देखियो । टेस्ट क्रिकेटमै बलभन्दा पनि बढी रन ।

सबैभन्दा पहिले शृंखलाकै कुरा । पाँच टेस्टको सिरिजमा भारत २–१ ले अगाडि छ । गत सेप्टेम्बरमा भारतले ओभल टेस्ट जितेपछि शृंखलामा अग्रता लिएको हो । तर, ओल्ड ट्राफोर्डमा हुनुपर्ने अन्तिम टेस्ट भने भएन । टेस्ट सुरु हुन बिहानी समयमा मात्र भारतले यो टेस्ट नखेल्ने घोषणा गरेको थियो । यसको कारण थियो, खेलाडी र टिम कर्मचारीबीच कोरोना भाइरस संक्रमणको डर । खास कुरा यतिमै मात्र सीमित थिएन । भारतीय खेलाडीको मनसाय नै थिएन यो टेस्ट खेल्ने ।

यो टेस्ट सकिएलगत्तै इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु हुनै लागेको थियो, यस्तोमा सबै खेलाडी पाँचौ टेस्ट खेलेर न घाइते हुन चाहन्थ्यो, न त थकित हुन चाहन्थ्यो । त्यस अर्थमा विवादास्पद परिस्थितिमा यो टेस्ट पछि सारिएको थियो । भारतीय खेलाडीको ध्यान सकेसम्म चाँडै घर फर्किनुमै थियो । त्यसैले भारतीय खेलाडी पैसाको लोभी भए भनेर पनि आलोचना भयो । अब त्यही टेस्ट ओल्ड ट्राफोर्डको स्थानमा एजबास्टनमा हुनेछ ।

ओल्ड ट्राफोर्डले यसअघि नै दक्षिण अफ्रिकाको आतिथ्यता गरेको थियो । अहिलेको टेस्टको कार्यक्रम मिलाउन । कोहलीले पछिल्लो जनवरीमा भारतीय टिमको नेतृत्व छाडेका थिए । त्यसयता टिमको कप्तानी गरिरहेका छन् रोहित शर्माले । उनी अचेल रातो र सेतो दुवै बलको क्रिकेटमा भारतीय टिमका कप्तान छन् । तर, यिनै रोहितले पाँचौं यो टेस्ट भने खेल्ने छैनन् । कारण उनी कोभिड संक्रमित छन् । त्यसैले भारतीय टिमको नेतृत्व गर्नेछन् तीव्र गतिका बलर जसप्रित बुमराहले ।

सन् १९८७ यता पहिलोपल्ट कोही तीव्र गतिका बलरले भारतीय टिमको टेस्ट क्रिकेटमा कप्तानी गर्नेछन् । कपिल देव भारतीय क्रिकेटका सबैभन्दा सफल बलरमध्ये एक हुन् । तर, उनी कप्तानका रूपमा त्यति धेरै सफल रहेनन् । बुमराहले के कस्तो गर्नेछन्, त्यसमा पनि नजर हुनेछ । भारतसँग नयाँ प्रशिक्षक पनि छन् राहुल द्रविड । उनले रवि शास्त्रीको स्थान लिएका छन् । रोहितको अनुपस्थितिमा भारतीय टोलीमा नयाँ प्रारम्भिक ब्याट्सम्यान आवश्यक पर्नेछ । त्यसमा मायंक अग्रवाल वा शुभमन गिल हुनेछ ।

दुवैले अहिलेसम्म इंग्ल्यान्डमा टेस्ट क्रिकेट खेलेका छैनन् । यसबीच नम्बर तीनका ब्याट्सम्यान चेतेश्वर पुजारालाई टिमबाट हटाइसकिएको थियो । र, उनी फेरि टिममा फर्किसकेका पनि छन् । ससेक्सका लागि उनले काउन्टी क्रिकेटमा धेरै रन बनाएका छन् । हुन सक्छ, श्रेयस ऐयर वा हनुमा बिहारीमध्ये एकले खेल्ने मौका पाउन सक्नेछ । टिमका पूर्व उपकप्तान अजिन्क्या रहाने पनि टिममा छैनन् । त्यो अर्थमा अनुभवको कमी समस्या हुनसक्छ ।

भारतलाई एउटा समस्या के पनि हुनेछ भने उपलब्ध दुई स्पिनर रवीन्द्र जडेजा या रविचन्द्रन अश्विनमध्ये कसलाई खेलाउने त ? तर, सबैको ध्यान तिनै कोहलीमै हुनेछ । उनले सन् २०१९ यता शतक बनाउन सकेका छैनन् अन्तर्राष्ट्रिय क्रिकेटमा । बुमराहको टिमले इंग्ल्यान्डको ‘बिज बल’ सामना गर्न कस्तो रणनीति लिनेछ, त्यो वास्तवमै हेर्नलायक हुनेछ । इंग्लिस क्रिकेट अहिले नयाँ अध्याय लेख्ने क्रममा छ । एउटा तगारो अब भारत हुन सक्नेछ ।

प्रकाशित : असार १७, २०७९ ०६:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×