कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपी प्रतिष्ठानमा क्यान्सर ट्युमरको दुर्लभ र जटिल शल्यक्रिया

प्रदीप मेन्याङ्बो

(सुनसरी) — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको न्युरो सर्जन युनिट र कार्डियो थोरासिक भास्कुलर युनिट (सीटीभीएस) मिलेर भारतको बिहार प्रान्तका सात वर्षीय बालकको न्युरोग्याङ्गिलिओमा भएको क्यान्सरको ट्युमरको शल्यक्रिया गरेका छन् । निकै दूर्लभ मानिएको यो क्यान्सरको ट्युमर ती बालकको घाँटीबाट सुरु हुने मेरुदण्डको हड्डी हुँदै फोक्सोको धेरैजसो भागमा फैलिएको थियो ।

बीपी प्रतिष्ठानमा क्यान्सर ट्युमरको दुर्लभ र जटिल शल्यक्रिया

शल्यक्रियामा संलग्न प्रमुख न्यूरो सर्जन डा. आलोक दाहालका अनुसार १० लाखमा एक जनालाई हुने यो क्यान्सर बालबालिकामा देखिनु अझ दुर्लभ हो । उनका अनुसार क्यान्सरको ट्युमरलाई पहिले न्युरो युनिटले र दुई सातापछि सीटीभीएस टिमले शल्यक्रिया गरेर झिकेका थिए ।

‘यो दुर्लभ र गम्भीर रोग हो । झन् बच्चामा त अझ दुर्लभ र जटिल नै मान्नुपर्छ । नेपालमा यस्ता रोग र शल्यक्रियाको रिसर्च कतै नभेटिएकाले अन्तर्राष्ट्रिय जर्नलमा दिने तयारी पनि हुँदैछ,’ उनले भने, ‘यस्तो रोग १० लाख जनामा एक जनालाई हुनसक्छ । त्योभन्दा महत्त्वपूर्ण एउटा बच्चाको न्युरोग्याङ्गिलिओमाको उपचार गर्न न्युरो सर्जन तथा कार्डियो थोरासिक भास्कुलर सर्जनले मिलेर गरेको यो मुलुककै पहिलो हो ।’

न्युरोग्याङ्गिलिओमाले च्याप्दै लगेपछि ती बच्चाको उमेर करिब चार वर्ष नपुग्दै हातखुट्टा चल्न छाडेको थियो भने फोक्सोमा पनि ट्युमर फैलिएपछि श्वासप्रश्वासमा पनि समस्या देखिन थालेको थियो । प्रतिष्ठानका डा. दाहालका अनुसार ती बालकलाई उपचारका लागि सुरुमा अस्पतालको इमरजेन्सीमा ल्याइएको थियो । ‘न्युरोको समस्या देखेपछि मलाई बोलाए । मेरुदण्डको एक्सरे गर्दा ट्युमरले थिचिएर हाड नै बांगिएको र मक्किसकेको अवस्था देखियो । एमआरआई रिपोर्टमा घाँटीदेखि सुरु भएर मेरुदण्डका तीन ठाउँमा न्युरोग्याङ्गीलिओमा (मासुको ट्युमर) पलाउनुका साथै फोक्सोको अधिकांश भागमा पनि ट्युमर फैलिएको देखियो ।’

बालकको अवस्था जटिल हुँदै गएकाले तत्काल मेरुदण्डको ट्युमर हटाउन न्युरो सर्जरी युनिटले शल्यक्रिया गर्ने निर्णय गरेको उनले बताए । उनका अनुसार ५ घण्टा लामो शल्यक्रिया गरेर ती बालकको मेरुदण्डमा फैलिएको ट्युमर निकालेको र हिँडडुल गर्न सक्ने भएपछि कार्डियो थोरासिक भास्कुलर युनिट (सीटीभीएस)का एसोसिएट प्राध्यापक डा. लोकेश जैसवाल र डा. विजय साहको टोलीले फोक्सोमा फैलिएको ट्युमरको शल्यक्रिया गरेका थिए । 'हाम्रो सल्लाहअनुसार पहिले न्युरो सर्जरी युनिटमा भर्ना गरेर करिब ५ घण्टा लगाएर बच्चाको मेरुदण्डको ट्युमर निकाल्यौं । त्यसपछि १४ दिनसम्ममा बालकको हातखुट्टा चल्न थाल्यो । सामान्य हिँडडुल गर्न सक्ने भएपछि सीटीभीएस युनिटका डा. जैसवालको टिमले फोक्सोको ट्युमर निकाल्न शल्यक्रिया गर्नुभयो,' उनले भने ।

उनका अनुसार ती बालकलाई उपचारका लागि वैशाख ४ गते भर्ना गरेर गत जेठ १ गते डिस्चार्ज गरिएको थियो । सोमबार फलोअपका लागि बोलाइएका ती बालकको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको डा. दाहालले दाबी गरे ।

उनका अनुसार फेरि पनि ट्युमर नफैलियोस् भनेर रेडियोथेरापी गराउन बालकको परिवारलाई सल्लाह दिइएको छ ।

‘यस्ता दुर्लभ र जटिल उपचार न्युरो सर्जरी सेवा र मुटुको कार्डियो थोरासिक भ्यास्कुलर सर्जरी (सीटीभीएस) सेवा दुवै भएको अस्पतालमा मात्र सम्भव हुन्छ । पूर्वमा यो सेवा बीपी प्रतिष्ठानले मात्र दिँदै आएको छ,’ उनले भने । दुईवटा टिमको परामर्श र सल्लाहबिना यस्तो शल्यक्रिया सम्भव नहुने उनको भनाइ छ ।

बीपी प्रतिष्ठानमा बालकको मेरुदण्ड र फोक्सोको ट्युमर निकाल्दा बढीमा ७० हजार रुपैयाँ खर्च भएको थियो ।

डा. दाहालले दुई महिनाअघि पनि विराटनगर उपमहानगरबाट ल्याइएका १३ महिनाको बच्चाको मेरुदण्ड र दिसा जाने नलीको बीचमा पलाएको सेक्रोकक्सिजिएल ट्युमर ८ घण्टा लगाएर शल्यक्रिया गरेका थिए । 'ल्याएको सुरुको दिनमा ४ गुणा ४ सेन्टिमिटर ट्युमर थियो । उपचारको क्रममा राख्दाराख्दै ७ दिनमा त यति छिटो बढ्यो कि १२ गुणा १३ सेन्टिमिटरको भयो,' उनले भने, 'तत्काल बच्चालाई बेहोस बनाएर शल्यक्रिया गरेर ट्युमर फालियो । ती बच्चाको फलोअप भइरहेको छ । अहिले बच्चा स्वस्थ छ ।'

यस्तै करिब ६ महिनाअघि पनि राजविराजबाट ल्याइएका दुई महिनाका बच्चाको मस्तिष्कसँग जोडिएका इन्सेफालोकोइल ट्युमर शल्यक्रिया गरेको निकालिएको थियो । यी तिनै खाले ट्युमर बच्चाको सन्दर्भमा दुर्लभ मानिने भएकाले चिकित्सा विज्ञानको जर्नलमा प्रकाशित गर्ने तयारी भइरहेको डा. दहालले बताए ।

प्रतिष्ठानमा पाँच वर्षको अवधिमा बालबालिकाको ट्युमर र नसासम्बन्धी समस्या भएका करिब सय जनाको सफल शल्यक्रिया गरिसकेका छन् भने वयस्कहरूको करिब हजार जनाको शल्यक्रिया गरिसकेको उनले बताए ।

प्रकाशित : असार १४, २०७९ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?