सेतो दुबी छुँदैमा सर्दैन- स्वास्थ्य - कान्तिपुर समाचार

सेतो दुबी छुँदैमा सर्दैन

डा. प्रज्वल पुडासैनी

काठमाडौँ — जुन महिनालाई सेतो दुबी सचेतना महिनाका रुपमा  विशेषत: अमेरिकी प्रान्तमा मनाइए पनि विश्वभर नै  सेतो दुबीको सचेतना जगाउन आवश्यक छ । विश्वको करिब एक प्रतिशत जनसंख्यालाई भएको यो रोगमा छालालाई कालो वा खैरो रंग प्रधान गर्ने मेलनओसाईट नामक कोषिकामा वंशाणुगत र वातावरणका कारणले असर गर्ने गरेको पाइएको छ ।

मेलनओसाइटका कोषिकाहरू बिस्तारै बिग्रिँदै र कम हुँदै जाँदा यसले छालालाई दूध सेतो रंग प्रधान गर्दछ । सेतो दुबी धेरैजस्तो २० देखि ३० वर्ष उमेरका महिलाहरूमा बढी देखिन्छ ।

सेतो दुबीका प्रकार :

सेग्मेन्टल : अर्थात् शरीरको एउटा पूरै भागमा देखिने सेतो दूधजस्तो टाटो ।

नन् सेग्मेन्टल : अर्थात् अनुहार-हातखुट्टा, मुखभित्र, यौनी र यौनीका वरिपरी र जिउभर नै देखिने सेतो दूधजस्ता टाटा

कसरी हुन्छ सेतो दुबी अर्थात् 'भिटिलिगो' ?

इम्युन सिस्टममा गडबडी, वंशाणुगत र वातावरणका कारण मेलनओसाइटका विरुद्ध शरीरमा विभिन्न रसायन र एन्टिबडी बनेका कारण मेलनओसाइट नामक कोषिकाहरू बिस्तारै बिग्रिँदै र कम हुदै जानछन् र छाला दूधजस्तो सेतो रंगको देखिन थाल्छ । सामान्यतया मेलनओसाइटले छालालाई कालो वा खैरो रंग प्रदान गर्दछ । करिब ३० प्रतिशत सेतो दुबी भएका व्यक्तिका आमाबुबा, दाजुभाइ, दिदीबहिनीमा सेतो दुबी हुने गरेको पाइन्छ ।

यस्तै घाउचोट लागेका ठाउँमा, कस्सिने लुगा, बेल्ट लगाएका ठाउँमा, रबर, प्लास्टिक, केमिकलहरुको छालासँगको सम्पर्कबाट पनि सेतो दुबी बढ्ने गर्दछ । साथै सेतो दुबी इम्युन सिस्टमको गडबडीले हुने अरु रोग‚ जस्तैः सुगर, थाइरोइड, एनेमिया आदिसँग पनि सँगैसँगै देखिने हुँदा, सेतो दुबी भएका बिरामीमा ती रोग को जाँच गर्नुपर्ने हुन्छ ।

सेतो दुबीका लक्षण के-के हुन् ?

सेतो दूधजस्तो देखिने, सेतो कपाल उम्रेका टाटाहरू, घामको विकिरण पर्ने ठाउँ, घाउचोट लागिरहने ठाउँहरू- हातखुट्टा, कुइना, घुडा, कम्मरमा यो बढी देखिन्छ । यस्तै थोरै मानिसमा शरीरको पूरै छाला दूधजस्तै सेतो भई कुनैकुनै ठाउँमा मात्र रंग भएको छाला हुने पनि हुन्छ ।

कसैकसैमा सेतो छाला भएको ठाउँमा घामको एलेर्जीसमेत हुने हुन्छ ।

सेतो दुबी धेरै जसो मानिसमा समयसँगै बढ्दै जान्छ । छालामा घाम पर्ने स्थानमा सेतो दुबीमा रौँका वरिपरी छालाको सामान्य रंग आउने पनि गर्दछ । सेतो दुबी वंशाणुगत कारणले जीनको माध्यमबाट परिवारमा देखिए पनि, छोएर, सँगै बसेर, हात मिलाएर भने सर्दैन ।

सेतो दुबी कसरी पत्ता लगाउने ?

धेरैजस्ता मानिसमा छालामा देखिएका लक्षणबाट सेतो दुबी पत्ता लगाउन सकिन्छ र कुनै किसिमको विशेष जाँचको आवश्यकता पर्दैन । तर‚ अरु किसिमका सेतो दुबीजस्तै रोग पहिचानका निम्ति बायप्सी, वुड्स ल्याम्प आदि जाँच गर्नुपर्ने हुन्छ ।

सेतो दुबीका उपचार विधि के-के हुन् ?

शरीरको पाँच प्रतिशतभन्दा कम छाला सेतो छ भने स्टेरोइड मलम र ट्याक्रोलिमस मलम चिकित्सकको सल्लाहबमोजिम लगाउनु पर्छ । पाँच प्रतिशतभन्दा बढी शरीरको छाला सेतो भएमा भने फोटोथेरापी अर्थात् प्रकाशको माध्यमले सेतो दुबीको उपचार गर्नुपर्ने हुन्छ । तर‚ फोटोथेरापीको उपलब्धता सबै ठाउँमा नहुने हुँदा यस्ता बिरामीमा चिकित्सकको सल्लाहबमोजिम खाने औषधि स्टेरोइड सेवन गर्नु उचित हुन्छ ।

सेतो दुबीको मानसिक पाटो र उपचार :

सेतो दुबी छालाको दीर्घरोग भएकाले यसले गर्दा मानिसलाई डिप्रेसन, एन्जाइटी पनि देखिन सक्छ । त्यसैले सेतो दुबी भएका बिरामीलाई मनोचिकित्सकको उचित परामर्श र उपचार दिएमा यसले छालामा सामान्य रंग ल्याउन मद्दत गर्ने पनि अनुसन्धानहरूले देखाएका छन् ।

यस्तै शरीरका अनुहार, हातलगायत ठाउँमा भएका सेतो दुबीलाई कस्मेटिक क्यामोफ्लाजबाट विभिन्न रंग भएका क्रिमहरू लगाई छालाको सामान्य रंगजस्तो देखाउन पनि सकिन्छ ।

सेतो दुबीमा गरिने शल्यक्रिया

सेतो दुबीको उपचारका निम्ति विभिन्न किसिमका शल्यक्रिया पनि गर्न सकिन्छ । यस्ता शल्यक्रियामा तिग्रा, पाखुरालगायतका ठाउँबाट सामान्य रंग भएका छाला निकाली सेतो दुबी भएका ठाउँमा टाँस्ने गरिन्छ । यस्तै सामान्य रंग भएका छालालाई निकाली त्यसमा विभिन्न रसायन प्रयोग गरी झोलिलो पदार्थ बनाई दुबी भएको ठाउँमा राखेर गरिने शल्यक्रिया पनि अहिले निकै प्रचलित हुँदै आएको छ ।

सेतो दुबी छोएर नसर्ने, मानसिक असर गर्ने र यसको समयमै उपचार गरे धेरै हदसम्म न्यूनीकरण गर्न सकिने हुँदा यसबारे जानकारी फैलाउन निकै जरुरी छ ।

डा. पुडासैनी निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) तथा भक्तपुर स्किन एन्ड कस्मेटिक सेन्टर (बीएससीसी)मा छालारोग विशेषज्ञका रुपमा कार्यरत छन् ।

प्रकाशित : असार ७, २०७९ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्

मंकीपक्सबारे जान्न पर्ने तथ्य

कसरी बच्ने ? नेपालमा मंकीपक्स रोग फैलन सक्ने सम्भावना कति ?
डा. प्रज्वल पुडासैनी

विश्वका १२ युरोपेली देशमा ९२ जनामा पुष्टि भइसकेको मंकीपक्स रोग चासोको विषय बनेको छ । कोभिडले आक्रन्त पारेको विश्वलाई मंकीपक्स फेरि एक चुनौती बन्ने हो कि भन्ने डर हामी सबैमा रहेको छ।

यो रोग बिफर रोग लाग्ने प्रजातिको भाइरसद्वारा श्वासप्रश्वास, घाउचोट लागेका ठाउँ, थुकको माध्यमबाट आँखा, मुख र नाकबाट सर्न सक्छ । त्यस्तैगरी समलैंगिक यौन सम्पर्कबाट पनि यो सरिरहेको पाइएको छ ।

ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने, थकाइ लाग्ने, शरीरमा गाँठा बढ्ने, ज्वरो आएको १–३ दिन पछि अनुहार र हात खुट्टामा चिलाउने, पोल्ने खालको, बिमिरा, पानी फोका आउनेलगायतका लक्षणहरु हुन सक्छन् ।

धेरैजसो बिरामीमा २ देखि ४ हप्तामा यो रोग कुनै जटिलताबिना नै ठीक हुन्छ । अफ्रिकामा मंकीपक्स देखिएका १० मध्ये १ बिरामीको मृत्यु हुने गरेको देखिएको छ ।

जसरी पीसीआरमार्फत कोभिड पत्ता लगाइन्छ, त्यसरी नै मंकीपक्स छालाका पानी फोका, घाउ, बिमिरा, थुक, सिंगान, विर्य, श्वासप्रश्वास नलीको पीसीआर गरी पत्ता लगाउन सकिन्छ । त्यस्तै छालाको बायोप्सी गरी पनि यो रोग पत्ता लगाउन सकिन्छ ।

कसरी बच्ने ?

  • बाँदर, मुसालगायत जनावरबाट यो रोग सर्न सक्ने हुनाले तिनको सम्पर्कबाट टाढा रहने
  • मंकीपक्स रोग लागेका बिरामीलाई सुरुमै पहिचान गरि अलग राखी उपचार गर्ने
  • सामाजिक दूरी कायम गर्ने, हात धुने, मास्क लगाउने र स्वास्थ्यकर्मीले पीपीईको प्रयोग गर्ने
  • सुरक्षित यौनसम्पर्क मात्र गर्ने

नेपालमा मंकीपक्स रोग फैलने सम्भावना कति ?

मंकीपक्स रोग मूलत: पश्चिम र मध्ये अफ्रीकाका देशहरुमा व्याप्त रहेपनि अहिले असाधारण रुपमा विश्वका अन्य देशहरुमा देखिनु चिन्ताको विषय हो। समलैंगिक यौन सम्पर्कबाट निकै तीव्र गतिमा फैलने सम्भावना रहेको यस रोगमा योनीको वरिपरि, अनुहार र हातखुट्टामा चिलाउने, पोल्ने, बिमिरा, पानी फोका आउने हुन्छ । भाइरसको प्रकृति केही समयसम्म निष्क्रिय रूपमा रहनु र आफूलाई परिवर्तन गरी फरक रूपमा प्रस्तुत हुने हुन्छ, यसरी परिवर्तित भाइरसको संक्रामकता र जटिलता बढी गराउँछ ।

वैदेशिक रोजगारका लागि मानिस ओहोरदोहोर गरिराख्ने, चुनावका क्रममा हुलमुल र मानिसको भीड बढी हुने, मठ मन्दिर र जंगलमा बाँदर तथा मुसा व्याप्त रहेकाले यो रोग नफैलिएला भनेर भन्न सकिँदैन । कोभिड जस्तो संक्रामक र जटिलता नहुने भए पनि हामी सबै बच्नु र जानकारी लिनु उचित हुन्छ ।

मंकीपक्सको उपचार कसरी गर्ने ?

भाइरल संक्रमण भएकाले कुनै पनि भाइरल संक्रमणमा जस्तै ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने, थकाइ लाग्ने, शरीरमा गाँठा बढ्ने आदि समस्यालाई त्यही अनुसारको उपचार गर्नुपर्छ ।

ज्वरोको लागि सिटामोल, जिउ दुखाइका लागि इबुप्रोफेंन र ब्याक्टेरियल संक्रमणका लागि एन्टिबायोटिक औषधि चिकित्सकको सल्लाह बमोजिम खाने गर्नुपर्छ ।

त्यस्तै गरी निर्मूल भइसकेको बिफर रोगका निम्ति प्रयोग गरिएको एन्टिभाइरल औषधि ‘टेकोभिरीम्याट’ युरोपमा प्रयोगमा आइसकेपनि उक्त औषधि मंकीपक्सको उपचारमा अनुसन्धान अझै भइरहेको छ।

बिफर र मंकीपक्स एउटै प्रजातिका भाइरस भएकाले, बिफरमा प्रयोग भएकै खोपले करिब ८५ प्रतिशतमा मंकीपक्स रोग लाग्नबाट बचाउँछ र यदि मंकीपक्सको संक्रमण भइहाले पनि निकै हल्का किसिमका लक्ष्यण देखिन्छन् र ती कुनै जटिलता बिना आफैं ठिक हुन्छन् । तर बिफर निर्मूल भइसकेकाले धेरै मानिसले यसको खोप लगाएका छैनन् । त्यस्तै सन् २०१९ देखि मंकीपक्सका निम्ति दुई वटा डोजमा लगाइने खोप पनि प्रयोगमा ल्याइएपनि सरल रूपमा भने यो पाइएको छैन ।

डा. पुडासैनी निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) तथा भक्तपुर स्किन एन्ड कस्मेटिक सेन्टर (बीएससीसी)मा छालारोग विशेषज्ञका रुपमा कार्यरत छन् ।

प्रकाशित : जेष्ठ १७, २०७९ ११:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×