‘मुटु र फोक्सो प्रत्यारोपण भारतमा सस्तो’- स्वास्थ्य - कान्तिपुर समाचार

‘मुटु र फोक्सो प्रत्यारोपण भारतमा सस्तो’

फोक्सोभन्दा मुटु प्रत्यारोपणमा सफलताको दर उच्च
अतुल मिश्र

काठमाडौँ — अमेरिका र बेलायतको दाँजोमा भारतमा मुटु र फोक्सो प्रत्यारोपण १० गुणा कम खर्चमा हुने विज्ञले बताएका छन् । खर्च कम हुने भएकाले खाडी राष्ट्रसँगै पश्चिमी मुलुकका बिरामीसमेत भारत आउने गरेको उनीहरूको भनाइ छ ।

नयाँदिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालले फोक्सो र मुटु प्रत्यारोपणसम्बन्धी काठमाडौंमा शुक्रबार गरेको अन्तरक्रियाका विज्ञहरूले फोक्सो प्रत्यारोपण गराउनेको दाँजोमा मुटु प्रत्यारोपण गराएकाहरू बढी बाँच्ने गरेको बताए । पछिल्लो समय फोक्सो प्रत्यारोपण गराएकाहरू औसत ७.४ वर्ष र मुटु प्रत्यारोपण गराउनेहरू १३.३ वर्ष बाँच्ने गरेका छन् । फोक्सोभन्दा मुटु प्रत्यारोपणमा सफलताको दर राम्रो देखिएको छ । अपोलोका कार्डियोथोरासिक मुटु तथा फोक्सो प्रत्यारोपण विशेषज्ञ डा. मुकेश गोयलका अनुसार मुटु वातावरणको सम्पर्कमा नआए पनि फोक्सो भने निरन्तर श्वासप्रश्वासको माध्यमले वातावरण, प्रदूषण, जीवाणु आदिको सम्पर्कमा आउने भएकाले यो अंगको प्रत्यारोपणमा सफलताको दर कम देखिएको हो ।

केही समयअघि दुर्लभ कारणबाहेक सामान्यतया अन्तिम चरणको क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) अर्थात् दम भएका बिरामी र फोक्सोको फाइब्रोसिस भएका बिरामीका लागि प्रत्यारोपण आवश्यक हुन्थ्यो । पछिल्लो दिन कोभिडले गर्दा फोक्सोमा देखिने फाइब्रोसिसका केही केसमा फोक्सोको प्रत्यारोपणको आवश्यक देखिएको पल्मोनोलजी विभागका डा. एमएस कुँवर बताउँछन् ।

अन्तिम अवस्थामा पुगेका फोक्सो र मुटुका रोगीमा अंग प्रत्यारोपण नगरिए ६ महिनादेखि १ वर्षसम्ममा मृत्यु हुन सक्ने डा. गोयलको भनाइ छ । ६०–६५ वर्षभन्दा कम उमेरमा मुटु प्रत्यारोपण र ६५–७० भन्दा कम उमेरमा फोक्सो प्रत्यारोपण उपयुक्त देखिने विज्ञको भनाइ छ । मुटुको कार्यक्षमता ६० प्रतिशतभन्दा कम हुँदै गएमा यो फेल हुँदै गएको बुझ्नुपर्छ । ‘फेल भएका बिरामीमा मुटुले ३५ प्रतिशतभन्दा कम काम गर्छ,’ इलेक्ट्रोफिजियोलजिस्ट र इन्टरभेन्सनल कार्डियोलजिस्ट डा. बनिता अरोराले भनिन्, ‘यस्ता बिरामीलाई विभिन्न परीक्षण गरेर पेसमेकरजस्ता यन्त्र छातीमा प्रत्यारोपण गर्न सकिन्छ ।’ ३०–३५ प्रतिशत मुटुको कार्यक्षमता भएका बिरामी ब्रस गर्न जाँदा, ओछ्यानबाट उठेर हिँड्दासमेत स्वाँस्वाँ गरिरहेका हुन्छन् । यस्ता बिरामीलाई तीनवटा तार भएको पेसमेकर लगाइने उनले बताइन् । ‘६ महिनादेखि वर्ष दिनसम्म मुटुको कार्यक्षमता राम्रो भइहाल्छ । ४५ प्रतिशत वा योभन्दा बढी पुग्न सक्छ,’ उनले भनिन् ।

कतिपय बिरामीमा सामान्य मुटुको क्षमता फिर्ता आउँदैन । यस्ता बिरामीमा ‘सडन कार्डियाक एरेस्ट’ अर्थात् एक्कासि मुटु बन्द हुने समस्या देखिन सक्ने डा. अरोरा बताउँछिन् । ‘हालै भारतीय गायक केकेले गीत गाउँदा–गाउँदै र केही वर्षअघि पूर्वराष्ट्रपति अब्दुल कलामले भाषण दिँदादिँदै सडन कार्डियाक एरेस्ट भएको थियो,’ उनले भनिन्, ‘यस्ता समस्या भएकालाई एउटा तार भएको आईसीडी (इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर) प्रत्यारोपण गरिन्छ । जसले मुटुको हरेक चाल अनुगमन गर्छ, असामान्य चाल हुँदा बिजुलीको झड्का दिएर सामान्य चाल बनाउँछ ।’ एक्कासि मुटु बन्द भएमा छातीमा सामान्य आईसीडी राखेर ज्यान जोगाउन सकिने उनले बताइन् ।

प्रत्यारोपणमा नेपालीलाई करिब ७६ हजार अमेरिकी डलर खर्च हुने अपोलोले जनाएको छ । अपोलोमा ८ वर्षयता १ सय ९६ वटा फोक्सो प्रत्यारोपण र १५ वर्षको अवधिमा ९० वटा मुटु प्रत्यारोपण भएको छ ।

प्रकाशित : जेष्ठ २०, २०७९ २३:३४
प्रतिक्रिया
पठाउनुहोस्

१० औं कान्तिपुर हाफ म्याराथन शनिबार बिहान

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘जलवायु परिवर्तन’ नाराका साथ कान्तिपुर हाफ म्याराथनको दसौं संस्करण शनिबार (जेठ २१) हुने भएको छ । सिटी म्याराथनको अवधारणामा अगाडि बढाइएको कान्तिपुर हाफ म्याराथनको पछिल्लोपल्ट २०७६ जेठ ११ मा भएको थियो ।

महिला र पुरुष दुवैको २१.१ किमिको हाफ म्याराथन, कर्पोरेट दौड (५ किमि), ह्विलचियर रेस (३ किमि) गरी तीन विधामा प्रतिस्पर्धा हुने आयोजक कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले जनाएको छ । हाफ म्याराथनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगितामा १ हजार ५ सयभन्दा बढीले नाम दर्ता गराएको केएमजीले जनाएको छ ।

सामाजिक विषयवस्तुलाई अभियानको रूपमा सञ्चालन जनचेतना जगाउने उद्देश्यमा कान्तिपुर हाफ म्याराथन सुरु भएको हो । पछिल्लोपल्ट ‘एन्टी पोलुसन रन’को रुपमा नवौं संस्करण सम्पन्न भएको थियो । उक्त संस्करण पुरुषतर्फ अनिश थापामगर र महिलातर्फ विश्वरुपा बुढाले जितेका थिए ।

अनिशले १ घन्टा ०८ मिनेट ०४ सेकेन्ड र विश्वरुपाले १ घन्टा २३ मिनेट २८ सेकेन्डको टाइमिङ निकालेका थिए ।

कोभिड–१९ महामारीका कारण पछिल्लो दुई वर्ष यो हाफ म्याराथन प्रभावित भई आयोजना हुन सकेको थिएन ।

म्याराथनमा सहभागी हुनेले विभिन्न एउटा बिरुवा (वनस्पति) साथै लैजान पाउनेछन्, जसलाई आफ्नो घर वा कार्यालयमा सजाउन सकिनेछ । हाफ म्याराथनमा देशकै नाम चलेका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । २१.१ किमिमा महिला र पुरुषका विजेताले १–१ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यो गत संस्करणभन्दा दोब्बर वृद्धि हो । दोस्रो, तेस्रो, चौथो र पाँचौं हुनेले क्रमश : ५० हजार, ३० हजार, २० हजार र १० हजार प्राप्त गर्नेछन् ।

विभिन्न कर्पोरेट हाउसमा संलग्न व्यक्तिहरूका लागि ५ किमिको कर्पोरेट विधा राखिएको छ । विजेतालाई पोखरा र दोस्रो हुनेलाई नगरकोटमा बस्ने–घुम्ने प्याकेजको व्यवस्था गरिएको छ भने तेस्रो हुनेले माउन्टेन फ्लाइटको टिकट हात पार्नेछन् । शारीरिक रूपमा फरक क्षमता भएकाहरूका लागि ह्विलचियर दौड निकै रोचक हुने गर्छ । यो रेसमा पहिलो, दोस्रो र तेस्रो हुनेले ३० हजार, २० हजार र १० हजार प्राप्त गर्नेछन् ।

एनआईसी एसिया बैंक मुख्य प्रायोजक रहेको कान्तिपुर हाफ म्याराथनलाई नेपाल एथलेटिक्स संघको पनि मान्यता रहेको छ । तीन महिनाभित्र अन्तर्राष्ट्रिय हाफ म्याराथन प्रतियोगितामा सहभागिता जनाए खेलाडी छनोटको आधार यसै प्रतियोगितालाई लिइने संघले जनाएको छ ।

दौडको सुरुआती र अन्तिम बिन्दु कान्तिपुर पब्लिकेशन्सको केन्द्रीय कार्यालय थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्क हुनेछ । ह्विलचियर रेस थापाथलीबाट सुरु भएर माइतीघर मण्डला, बिजुलीबजारबाट घुमेर पुन: थापाथलीमै आएर सकिनेछ । ५ किलोमिटर कर्पोरेट दौड थापाथलीबाट सुरु भएर माइतीघर, बानेश्वर, तीनकुनेबाट फर्किएर पुन: सोही रुटमा थापाथली आएर टुंगिनेछ ।

हाफ म्याराथन पनि थापाथलीबाटै सुरु हुनेछ । माइतीघर, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली, थिमि, सल्लाघारी, कटुन्जे रोडबाट सोही रुट फर्किएर थापाथली आएर सकिनेछ ।

कान्तिपुर हाफ म्याराथनको दसौं संस्करणसम्म आइपुग्दा महिलातर्फ कान्छीमाया कोजु पाँचपल्ट र पुरुषतर्फ आर्मीका हरिकुमार रिमाल चारपल्ट च्याम्पियन भइसकेका छन् ।

प्रकाशित : जेष्ठ २०, २०७९ २३:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×