कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाविरुद्ध स्वास्थ्य सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ — सरकारले कोरोना संक्रमणदर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणदर बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो ।

कोरोनाविरुद्ध स्वास्थ्य सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमणदर बढिरहेकाले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे ।

स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरूलाई कोरोना संक्रमणदर बढिरहेकाले संक्रमणदर घटाउने तयारी थाल्न निर्देशन दिइसकेको अधिकारीले बताए । पछिल्लो समय कोरोना संक्रमणदर कम भएसँगै आमसर्वसाधारणहरूले स्वास्थ्यका मापदण्ड पालना गर्न छाडेको भन्दै स्वास्थ्यका मापदण्ड पुनः पालना गर्न आवश्यक रहेको उनले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीले भने, 'हामी विश्वव्यापी रुपमा कोभिड-१९ को संक्रमण वा कुनै नयाँ किसिमको संक्रमण आउँदा थाहा पाउने, त्यसको विश्लेषण गर्ने अन्तर्राष्ट्रिय प्लेटफर्ममा सधैँ जोडिरहेका हुन्छौँ । अन्तर्राष्ट्रिय स्वास्थ्य विधि नियमावली अनुसार फोकल पर्सनको हिसावले, फोकल इस्युको हिसावले पनि हाम्रो सबै कुराहरुको जानकारी भइरहेको हुन्छ । अहिले पछिल्लो समय छिमेकी मुलुकमा संक्रमण दर बढिरहेको छ । विश्वव्यापी रपमा संक्रमण घटेको भए पनि हामी बसको क्षेत्रमा संक्रमण धेरै बढ्दै गइरहेको छ । हामीले पहिलो लहरमा पनि त्यो भोगेका र देखेका छौँ । पहिलो लहरमा भारतमा संक्रमण्को उच्च बिन्दुमा पुगेको एक महिनाभित्र नेपालमा पनि संक्रमण बढेको अवस्थाहामीले भोगेका छौँ । अहिले भारतमा संक्रमण बढ्दैछ भनेपछि हामीकहाँ संवेदनशीलता बढाउनुपर्ने हुन्छ ।'

यस्तै विदेशबाट आउने नागरिकलाई ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न र सबैले मास्क अनिवार्य लगाउन पनि अधिकारीको आग्रह छ । साथै कोरोनाको विभिन्न चरणका खोप लगाउन बाँकी रहेकाहरुलाई समयमै कोरोनाविरुद्धको खोप लगाउन पनि अधिकारीले आग्रह गरेका छन् ।

प्रकाशित : वैशाख १९, २०७९ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?