कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

फेरि कोभिडको अर्को लहर आए तर्सिनु पर्दैन 

काठमाडौँ — नेपालमा कोभिडको महामारी कम भएको छ । हाल औसतमा दैनिक ५-१० जना संक्रमितहरु देखिने गरेको राष्ट्रिय तथ्यांकले देखाउँदछ । मृत्यु भने शून्यमा झरेको धेरै दिन भइसक्यो । यो हाम्रो लागि राहत हो ।

फेरि कोभिडको अर्को लहर आए तर्सिनु पर्दैन 

तर छिमेकी देश चीनका केही ठूला सहरमा लकडाउन गरिएको र भारतमा पनि केही दिनयता कोरोना संक्रमितको संख्यामा बढोत्तरी भएसँगै त्यसले सबैलाई सशंकित भने बनाएको छ ।

नेपालले गएका दुई वर्षमा कोभिडका विभिन्न लहरहरुसँग लड्दाको तीतो अनुभवले छिमेकी देशहरुमा फेरि कोरोनाको संख्यामा बढोत्तरी देखिँदै जाँदा सर्वसाधारणमा चासो र जिज्ञासा हुनु स्वाभाविक पनि हो । तर 'कोभिडको लहर फर्किए दोश्रो लहरमा जस्तै होला त ?' भन्ने प्रश्न मुख्य देखिन्छ । किनभने तीन लहरमध्ये दोश्रोले (डेल्टाको लहरले) नेपालको स्वास्थ प्रणाली ध्वस्त पार्नुका साथै निरोगी वयस्कहरुलाई सबैभन्दा बढी प्रभावित बनाएको थियो ।

'तेश्रो लहरको मोडल' भन्नाले तेश्रो लहरमा देखिएको अवस्थालाई भन्न खोजेको हो । नेपालमा कोभिडले नेपालमा तीनवटा ठूला लहरहरुको ल्यायो । तीनै लहरहरु फरकफरक विशेषता लिएर प्रस्तुत भएका थिए । पहिलो लहरमा दैनिक औसतमा झन्डै छ हजारसम्म संक्रमित भएका थिए भने ४३ जनासम्मको मृत्यु भएको थियो । यो लहरमा जेष्ठ नागरिक तथा दिर्घरोगीहरु सबैभन्दा बढी प्रभावित भएका थिए । खोप विकासकै क्रममै रहेको हुँदा कोरोनाबाट बच्न जनस्वास्थका मापदण्डहरु नै लगभग निर्विकल्प उपाय मानिन्थ्यो । तर, अरु देशहरुमा भन्दा नेपालमा तुलनात्मक कम मानवीय क्षति भएको थियो । तसर्थ सो समयमा जेष्ठ नागरिक तथा दिर्घरोगीहरु कोरोना संक्रमणको उच्च जोखिममा छन भन्ने गरिन्थ्यो ।

पहिलोबाट दोश्रो लहरसम्म आइपुग्दा कोरोनाले बिल्कुल फरक हर्कतमा प्रस्तुत भएको थियो । कोरोनाको जटिल अवस्था जेष्ठ नागरिक तथा दिर्घरोगीहरुबाट निरोगी युवाहरुमा सर्‍यो र अक्सिजनको सघन अभाव देखिएको थियो । दोश्रो लहरको कारक डेल्टा भेरियन्ट (भारतीय भेरियन्ट) तीव्र गतिमा फैलने सक्ने र घातक भाइरस थियो । मृत्युको संख्या औसतमा दैनिक २४६ सम्म पुगेको थियो । अस्पतालमा अक्सिजनको हाहाकार र यही कारणले कतिपय अस्पतालहरुले बिरामी भर्ना गर्न समेत अस्वीकार गरेका थिए । डेल्टाले भारत र नेपालगन्जमा (नेपाल) अक्सिजन र अस्पताल शय्याको अभाव गराएको भएतापनि काठमाडौंले त्यसप्रति ध्यान नदिएको तथा सोही अनुरुप तयारी समेत नगरेको देखिन्थ्यो । फलस्वरूप, अस्पतालमा एम्बुलेन्सको (अरु अस्पतालहरुले समेत फर्काईएका) ताँती देखिन्थ्यो भने अधिकांश संक्रमितहरुको बाटोमा नै मृत्यु भइसकेको हुन्थ्यो ।

शय्या नभए पनि अक्सिजन उपलब्ध गराउन आग्रह गर्दै/पाइने आशामा संक्रमितहरु शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालसम्म आइपुग्दथे । आफैं सवारी साधन चढेर अस्पताल आइपुगेका कतिपय संक्रमितहरु हिँड्दा हिँड्दै शरीरमा अक्सिजनको स्तर अचानक खस्केर आकस्मिक कक्ष अगाडि लड्ने गरेका थिए । अस्पताल इमरजेन्सीका स्वस्थाकर्मीहरु कुनै महायुद्धमा होमिरहेका जस्ता देखिन्थे । यही लहरमा खोपको प्रभावकारितालाई हामीले नजिकबाट नियाल्ने मौका पाएका थियौं । लगभग सबैजना खोप नलगाएकाहरु मात्र आकस्मिक कक्षमा कडा निमोनिया लिएर भर्ना हुने गरेका थिए । सो समयसम्म अधिकांश मानिसहरु खोपबाट हुनसक्ने स्वास्थ सुरक्षालाई लिएर सशंकित हुने र लिन हिच्किचाउँथे । समग्रमा, युवा र दिर्घरोग नभएका अर्थात् पहिलो लहरमा देखिएकोभन्दा ठिक उल्टो अवस्था दोश्रो लहरमा देखिएको थियो।

तेश्रो लहर भने दक्षिण अफ्रिकामा ओमिक्रोनको उदयसँगै भएको थियो । नेपाललगायत विभिन्न देशहरुले दक्षिण अफ्रिकाबाट ओमिक्रोन भित्रिन सक्ने सम्भावनालाई मध्य नजर गर्दै हवाई यातायातमा कडाई गरेका थिए । डेल्टाको मारबाट भर्खरै तंग्रिदै गरेको नेपालको लागि यो अर्को थप चुनौती थियो । विश्वका वैज्ञानिक तथा विश्व स्वास्थ संगठनले कोरोनाको सुनामी नै आउँछ भन्दै गर्दा मलाई भने दक्षिण अफ्रिकाका चिकित्सकहरुको अनुभव, तथ्यांक र आफ्नो विश्लेषणहरुको आधारमा ओमिक्रोनको लहर कम्तीमा पनि दोश्रोको जस्तो हुँदैन जस्तो लागेको थियो । धेरै मानिसहरु संक्रमित भइसकेका थिए भने खोपले पनि निरन्तरता पाइरहेको अवस्था भएकोले पनि मैले त्यस्तो तर्क राखेको थिएँ ।

खोप लगाउनु भनेको संक्रमण नै नहुनु त होइन, तर संक्रमित भए जटिल अवस्था वा मृत्यु हुने सम्भावनालाई कम गर्नु हो ।तसर्थ तेश्रो लहरमा खोप लगाएकाहरु पनि संक्रमित त भए तर उनीहरुमा रुघाखोकीजस्ता सामान्य लक्षणहरु मात्र देखिए ।तर, खोप नलगाएका वृद्ध तथा दिर्घरोगीहरुको मृत्युमा भने पूर्ण ब्रेक लागेन जुन अनुमानित नै थियो ।ओमिक्रोनको लहर ह्वात्तै बढ्यो र विगतका देखिएका दुई लहरमाभन्दा बढी संक्रमित पनि देखिए तर मृत्युदर भने अत्यधिक कम देखियो । यही सम्भावना वा प्रक्षेपण लेखकले ओमिक्रोन देखिए लगत्तै भन्दै आइरहेको पनि थियो जुन विश्वका वैज्ञानिक तथा विश्व स्वास्थ संगठनको धारणा भन्दा विपरीत थियो ।

अहिले भारतमा अर्को लहरको चर्चा चलिरहेको छ भने चीन, बेलायत, अमेरिका आदि देशहरुमा संक्रमितको संख्या बढिरहेको जानकारीहरु प्राप्त भइरहेका छन् । तर ती देशहरुमा संक्रमणका कारक भेरियन्टमा नेपालमा देखा परिसकेका ओमिक्रोनका म्युटेड उपप्रजातिहरु वा ती उपप्रजातिहरुको 'मिक्स्ड अप हाईब्रिड' भाइरसहरु नै भएको अनुसन्धानहरुबाट पुष्टि भएका छन् । तसर्थ यी भाइरसहरु नेपालमा देखिए डेल्टाले दोश्रो लहरमा पारेको जस्तो प्रभाव देखाउन सक्ने सम्भावना/क्षमता देखिँदैन । र, त्यस्तै कोरोना म्युटेड वा हाइब्रिड स्वरुपमा निरन्तर देखिने सक्ने भएतापनि नेपालमा खोप कुल जनसंख्याको ६६.३ प्रतिशत र त्यस्तै लक्षित जनसंख्याको १८ वर्षमाथिका ८३.१ प्रतिशतले दुई मात्र खोप लगाइसकेको र लगाउने क्रम यथावत रहेकोले आगामी लहरहरु 'तेश्रो लहरको मोडल' मा जान सक्ने देखिन्छ ।

अर्थात् संक्रमितको संख्यामा केही थपघट होला तर जटिल अवस्था देखिएर अस्पतालमा शय्या नै अभाव हुने अवस्था अथवा डेल्टाको लहरमा देखिए जस्तो अवस्था हुने सम्भावना भने देखिँदैन । किनभने खोपको पूर्ण खोप लगाउँदा जटिल अवस्था वा मृत्यु हुने सम्भावनामा धेरै कमी हुने वैज्ञानिक अनुसन्धानहरु तथा हामी स्वयम्‌ले पनि अनुभव गरिसकेका छौं ।

प्रकाशित : वैशाख ८, २०७९ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×