छाती नचिरी नेपालमै पहिलोपटक मुटुको सफल शल्यक्रिया
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा नेपालमै पहिलोपटक ट्रान्सक्याथेट एओर्टिक भल्भ ट्रान्सप्लानटेसन(टाभी) बाट छाती नचिरी मुटुको सफल शल्यक्रिया सम्पन्न भएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![छाती नचिरी नेपालमै पहिलोपटक मुटुको सफल शल्यक्रिया](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/third-party/274832750652145306015908970930386444179796n-0432022021254-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले फागुन १६ गते सोमबार एक ८० वर्षीया महिलाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको र शुक्रबार डिस्चार्ज गरी घर पठाउन सफल भएको बताए ।
डा अधिकारीका अनुसार यस उपचार पद्दतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात् क्याथेटरद्वारा मानवनिर्मित भल्भ मुटुभित्र छिराई रोग भएको एओर्टिक भल्भको स्थानमा प्रत्यारोपण गरिन्छ ।
यसरी प्रत्यारोपण भएको भल्भले तुरुन्तै काम सुरु गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुने र बिरामीलाई बेहोस गरी छाती र मुटु चिरी शल्यक्रिया गर्नु नपर्ने भएकोले जटिलताहरु न्यून हुने र बिरामीलाई चाँडै डिस्चार्ज गर्न सकिने हुन्छ । यो पद्दतिबाट शल्यक्रियाको तुलनामा उपचार प्रभावकारी हुनुका साथै मृत्युदर पनि कम भएको विभिन्न अध्ययनहरुले देखाएका छन्।
साथै यस पद्दति विशेषगरी वृद्धवृद्धाका लागि मात्रै उपयोगी हुने डा अधिकारीले बताएका छन् । विशेषगरी वृद्धवृद्धामा विभिन्न प्रकारका जटिल रोग र शारीरिक दुर्वलतासमेत हुने भएकोले चिरेर शल्यक्रिया गर्दा बढी जोखिम हुने चिकित्सकहरू बताउँछन् ।शरीरका अंग चिर्दा जोखिम भएकाले वृद्ध-वृद्धामा यो पद्दति उपयोगी हुने बताइन्छ ।
संसारमै पहिलाे पटक सन् २००२ मा फ्रान्समा यस प्रविधिद्वारा उपचार गरिएको थियो । अन्य विकसित देशहरुमा पनि यो पद्दतिबाट नियमित रुपमा उपचार हुँदै आए पनि नेपालमा भने शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा पहिलो पटक सफल उपचार गरिएको अस्पतालले जनाएको छ ।
प्रकाशित : फाल्गुन २०, २०७८ १९:१३