कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छालाको दीर्घरोगले पनि हुनसक्छ मानसिक समस्या

डा. प्रज्वल पुडासैनी

काठमाडौँ — छालाका दीर्घरोग र मानसिक स्वास्थ्य अन्तरसम्बन्धित छन् । छालाका दीर्घरोगमा हुने मानसिक अस्वस्थताबारे धेरै अनभिज्ञ छन् । अनुसन्धानहरूमा करिब ४० प्रतिशत छालाका दीर्घरोगीलाई कुनै न कुनै किसिमको मानसिक अस्वस्थता हुने देखिएको छ ।

छालाको दीर्घरोगले पनि हुनसक्छ मानसिक समस्या

जसले पुन: छालारोगलाई बढाउँछ। दीर्घछालारोग‚ जस्तैः कत्ले रोग (सोरायसिस), सेतो दुबी, एक्जेमा, चाया-पोतो, डन्डीफोहोर (एक्ने), ढुसी (फंगल इन्फेक्सन) आदि रोगहरूले शरीरको छालाको स्वरुप बिगार्ने र विरूपणले मानसिक अस्वस्थता निम्त्याउँछ ।

मानसिक अस्वस्थता-डिप्रेसन, चिन्तारोग (एन्जाइटी), हीनताबोध र आत्महत्या गर्ने विचारका रुपमा देखिन्छ । त्यस्तै गम्भीर खालको कत्ले रोग र डन्डीफोहोरले करिब ५ प्रतिशत बिरामीलाई आत्महत्या गर्ने विचारसमेत आउने देखिएको छ । यसैगरी निजामती कर्मचारी अस्पतालका विभागीय प्रमुख डा. सुशील पौडेलका साथमा म आफैंले १२८ जना छालाको ढुसी (फंगस) का बिरामीमा गरेको अनुसन्धानमा ५७ जना (करिब आधा) बिरामीलाई मानसिक स्वास्थ्यमा धेरै ठूलो असर परेको देखिएको छ । साथै छाला चिलाउने, पोल्ने, बिझ्ने, दुख्ने भएका बिरामीलाई मानसिक स्वास्थ्यमा धेरै असर गरेको देखिएको छ । यसले गर्दा सामाजिक र अतिरिक्त क्रियाकलापमा समेत असर गरेको पाइएको छ । यस्तै मैले पोखराका २ सय जना चाया-पोतोका बिरामीमा गरेको अनुसन्धानमा पनि दीर्घरुपमा भएको चायापोतोले मानसिक स्वास्थ्यमा ठूलो असर गरेको देखिएको थियो ।

जसरी छालारोगले मानसिक स्वास्थ्यमा असर गर्दछ, त्यसरी नै मानसिक अस्वस्थता र तनाव धेरै लिने मानिसलाई पनि छालारोग (डन्डिफोहोर, कत्ले रोग, अटोपिक एक्जेमा, पसिना धेरै आउने रोग, कपाल झर्ने रोग) बढी हुने गरेको देखिन्छ ।

छालारोगका बिरामी लाई मानसिक अस्वस्थता किन हुन्छ?
भ्रूण विकासका क्रममा छाला, मस्तिष्क र नसा एउटै कोषिकाबाट विकसित हुँदै जान्छन्, जसले स्वतः छाला र मस्तिष्कको अन्तरसम्बन्धलाई चित्रण गर्छ । यस्तै छालारोग भएका बिरामीलाई हुने तनावले स्ट्रेस होर्मोन अर्थात् तनाव होर्मोनको उत्पादन हुन्छ र त्यसले छालामा विभिन्न प्रकारका एलर्जी र संक्रमण सिर्जना गर्दछ ।

शारीरिक रोग र मानसिक स्वास्थ्यबारे अन्तरनिर्भरताको जानकारी किन आवश्यक ?
कुनै पनि शरीरको रोग र मुलत: दीर्घरोगले मानिसको मानसिक स्वास्थ्यलाई असर गर्दछ । यस्तै डिप्रेसन, चिन्तारोग (एन्जाइटी), र आत्महत्या अहिले प्रमुख मानसिक रोगका रुपमा देखा परेका छन् । हाम्रो जस्तो विपन्न र अति विपन्न राष्ट्रहरुबाट मात्रै करिब ७७ प्रतिशत आत्महत्या हुने गरेको छ ।

दीर्घ छालारोगका बिरामीहरूमध्ये करिब ९ प्रतिशतमा मुख्य डिप्रेसन र ५ प्रतिशतमा आत्महत्याको विचार आउने तथ्यांक हामी चिकित्सक र जनमानसका लागि पनि चिन्ता र चासोको विषय हो । यस्तै समयमै मानसिक अस्वस्थता र दीर्घरोगको निदानले मानसिक, सामाजिक र आर्थिक हानी कम गर्न सकिन्छ । मानसिक अस्वस्थता पत्ता लाग्नेबित्तिकै मनोचिकित्सकको परामर्श र उपचार लिइहाल्नु उपयुक्त हुन्छ ।

कसरी गर्ने छालारोग र मानसिकरोग भएका बिरामीको उपचार?
छालारोगका बिरामीहरूको समयमै रोग पहिचान र उपचार गर्नुपर्दछ । समयमै उचित उपचार गर्नाले दीर्घरोगबाट हुने शारीरिक विरूप र मानसिक असर कम गर्न सकिन्छ । निजामती कर्मचारी अस्पतालमा गरिएको अध्ययनमा करिब ७० प्रतिशत छालामा देखिने ढुसीका बिरामीले त्यसमा लगाउनै नहुने स्टेरोइड क्रिम लगाउने गरेको पाइएको छ र ६३ प्रतिशतमा सोही कारणले रोग दीर्घकालसम्म रहेर मानसिक असर परेको देखिएको छ ।

तसर्थ समयमै छालारोगको परामर्श लिई रोगअनुसारको उपयुक्त उपचार गरी मानसिक अस्वस्थताबाट बच्न सकिन्छ । छालारोगका बिरामीमा भएको मानसिक अस्वस्थताको उपचार-विश्राम विधि (रिल्याक्सेसन टेक्निक), संज्ञानात्मक व्यवहार विधि (कग्निटिभ बिह्याभियर थेरापी) र मनोचिकित्सकीय औषधि प्रयोगबाट गर्न सकिन्छ । त्यसका लागि जनमानस, छालारोग विशेषज्ञ र मनोचिकित्सकहरूले सहकार्य गर्न जरुरी छ । छालारोग विशेषज्ञका रुपमा दक्षिण एसियाका विज्ञहरूबीच आगामी फागुन २२ गते मैले यसै विषयलाई लिएर तयार पारेको आफ्नो सोधपत्र पनि प्रस्तुत गर्न लागेको छु‚ जसमा भारत, बंगलादेश र श्रीलंकाका विज्ञ चिकित्सकहरू पनि वक्ता रहनुहुनेछ ।

डा. पुडासैनी निजामती कर्मचारी अस्पतालमा छालारोग विशेषज्ञका रुपमा कार्यरत छन् ।

प्रकाशित : फाल्गुन ९, २०७८ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?