मुख्यमन्त्री शाहीको निर्वाचन खर्च १८ लाख ८९ हजार- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुख्यमन्त्री शाहीको निर्वाचन खर्च १८ लाख ८९ हजार

जनकबहादुर शाही

हुम्ला — हुम्ला जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. (२) बाट उम्मेदवार बनेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले निर्वाचनको खर्च विवरण बुझाएका छन् । 

शुक्रबार प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालय हुम्लामा बुझाएको विवरणअनुसार मुख्यमन्त्री शाहीले निर्वाचनमा १८ लाख ८९ हजार रुपैयाँ खर्च गरेका छन् । शाहीको निर्वाचनमा प्रतिनिधि परिचालनमा ५ लाख १० हजार, कार्यालय संचालनमा ८० हजार, सवारी साधन प्रयोगमा ४ लाख ८० हजार रुपैयाँ खर्च भएको मुख्यमन्त्री शाहीको निजी सचिवालयले जनाएको छ । यस्तै मतदाता नामावली छपाइमा २० हजार, प्रचारप्रसार सामग्रीमा ६ लाख ७९ हजार, गोष्ठी तथा अन्तरक्रियाका लागि १ लाख २० हजार रुपैयाँ गरी जम्मा १८ लाख ८९ हजार खर्च भएको छ ।

हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा ३ जना, प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. (१) मा ५ जना र प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. (२)मा ५ गरी १३ जना उम्मेदवार थिए । जसमा प्रतिनिधिसभा सदस्य उम्मेदवार राप्रपाका तेजबहादुर रावत र नेकपा एमालेका दल रावलले खर्च विवरण बुझाइसके पनि नेकपा माओवादी केन्द्रका छिरिङ दम्डुल लामा कार्चेनले भने खर्च विवरण बुझाएका छैनन् ।

प्रदेश १ बाट उम्मेदवार बनेका राप्रपाका छापे ऐडी र एकीकृत समाजवादीका हस्तबहादुर शाहीले खर्च विवरण बुझाए पनि गठबन्धनका उम्मेदवार रहेका रणसिंह परियार, स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाही र एमालेका दल फडेराले निर्वाचन खर्च विवरण बुझाउन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेशसभा २ तर्फ राप्रपा नेपालका सुमन रावत, राप्रपाका नैनबहादुर रावत, जसपाका बलिराज शाही र एमालेका छक्कबहादुर लामासहित सबै उम्मेदवारहरुले निर्वाचन खर्च विवरण बुझाइसकेका जिल्ला निर्वाचन कार्यालय हुम्लाका निर्वाचन अधिकारी श्यामबहादुर रानाले बताए । उम्मेदवारहरुलाई यो महिनाभित्र खर्च विवरण बुझाउने समयावधि दिइएको छ ।

प्रकाशित : मंसिर २३, २०७९ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्

चिल ठोक्किएर क्षति पुगेको तारा एयरको जहाज मर्मत सुरु

जनकबहादुर शाही

हुम्ला — बुधबार मध्याह्न चिलसँग ठोक्किएर क्षति पुगेको तारा एयरको जहाजको मर्मत कार्य सुरु भएको छ । मर्मतका लागि आएको प्राविधिक टोलीले सिमकोटस्थित ठोक्किएर जहाजको नोजभित्र छिरेको चिल निकालेर क्षति पुगेको भागको मर्मत कार्य सुरु गरिएको हो ।

बुधबार सर्केगार्ड र अदानचुली गाउँपालिकाको सिमानामा पर्ने मनेलेक क्षेत्रमा तारा एयरको ट्विनअटर विमान चिलसँग ठोक्किँदा जहाजको अग्र भागमा क्षति भएको थियो । बुधबारदेखि सिमकोट विमानस्थलमै रहेको जहाज मर्मतका लागि काठमाडौंबाटै प्राविधिक जनक तामाङको नेतृत्वमा सात सदस्यीय टोली सिमकोट पुगेको छ ।

जहाज मर्मतमा संलग्न प्राविधिक टोलीले जतिसक्दो चाँडो क्षति पुगेको जहाजको मर्मत कार्य गरी संचालनमा ल्याउने बताएको तारा सिमकोटका स्टेसन इन्चार्ज सरस्वती लामाले बताइन् ।

बुधबार दिउँसो तारा एअरको एन-एकेएल कलसाइन भएको जहाजको टुप्पोमा चिल ठोक्किँदा जहाजमा क्षति पुगेको थियो ।

प्रकाशित : मंसिर २३, २०७९ १६:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×