पहाडी जिल्लामा किन हारे एमाले हस्ती ?- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहाडी जिल्लामा किन हारे एमाले हस्ती ?

डम्बरसिं राई

खोटाङ — अध्यक्ष केपी ओलीनजिक मानिएका एमालेका निवर्तमान प्रमुख सचेतक विशाल भट्टराईले खोटाङमा २ हजार ६ सय ६९ मतान्तरले हारे । गठबन्धनका उम्मेदवार माओवादीका रामकुमार राईले उनलाई पछि पारेका हुन् । राईले ३१ हजार ५ सय ३१ र भट्टराईले २८ हजार ६ सय ८२ मत पाए ।

स्थानीय तहको निर्वाचनमा खसेको मतको आधारमा हेर्ने हो भने गठबन्धनको मत जोड्दा ४७ हजार ५ सय १३ देखिन्छ । तर गठबन्धनको मत ३१ हजार ३ सय ५१ मात्र खस्यो । यसमा भट्टराईको २८ हजार ६ सय ८२ मत आएको छ । स्थानीय तहको चुनावमा एमालेको मत २८ हजार ७ सय ९७ देखिन्छ । यसका आधारमा स्थानीय तहको तुलनामा एमालेको १ सय १५ मत कम आएको छ ।

एमाले जिल्ला कमिटी खोटाङका सचिव कुमार आचार्यले भने स्थानीय तहको तुलनामा उल्लेख्य प्रगति भएको दाबी गरेका छन् । ‘गठबन्धनकै कारण झिनो मतले चुनाव हारिएको हो,’ आचार्यले भने । स्थानीयले भने भट्टराई पटक–पटक निर्वाचित भए पनि जिल्लाको अवस्था नसुध्रिएकाले मत घटेको बताएका छन् । सडक, पुललगायतका भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतको अवस्था नसुध्रिएकाले मत नदिएको हुन सक्ने स्थानीयको भनाइ छ । एमालेभित्र अन्य नेता नभएजस्तो जहिल्यै आफैं मात्र उम्मेदवार हुने प्रवृत्तिले पनि यस्तो समस्या आएका एमालेका एक नेताले बताए ।

भट्टराईले भने जिल्लावासीले अत्यन्तै मायाका साथ भोट दिएको बताएका छन् । उनले भने, ‘जिल्लाका अरू नेताहरू घर जानुपरे खोटाङ छाड्नुपर्छ तर मैले जिल्ला आउनुपर्छ, त्यसैले मलाई माया गरेका हुन् ।’

माओवादीका पोलिटब्युरो सदस्य तथा प्रदेश १ खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीसमेत रहेका राई पनि सशक्त नेता हुन् । उनले २०६४ मा खोटाङ क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्य र २०७४ मा खोटाङ (२) बाट जितेका थिए । राई लामो समयदेखि खोटाङकै भूगोलमा खटिएकाले भट्टराईका लागि जित निकाल्न असहज बन्यो ।

प्रदेश १ का संस्थापक मुख्यमन्त्री शेरधन राईले पनि भोजपुरबाट पराजय खेपेका छन् । गठबन्धनका उम्मेदवार माओवादीकै सुदन किरातीले २ हजार ३ सय ८९ मतले राईलाई हराएका हुन् । राईले २६ हजार २ सय २ मत र किरातीले २८ हजार ५ सय ९१ मत ल्याएका थिए ।

२०७४ मा प्रदेश १ मुख्यमन्त्री, २०७२ मा सूचना तथा सञ्चारमन्त्रीसमेत भइसकेका राईलाई गठबन्धन नै मुख्य बाधक बनेको भोजपुर एमालेका अध्यक्ष शरण राईको ठहर छ । तर त्यत्तिले मात्रले हारेका होइनन् उनी । जनताको जनजीविकासँग टुट्नु, भड्किलो जीवन शैली, मुख्यमन्त्री हुँदा पनि प्रदेशको नाम राख्न नसक्नु, मुख्यमन्त्री हुँदा सरकारी स्रोत दोहनको आरोप खेप्नु लगायतका कारण उनी चुनाव हारेको पौवादुंगा गाउँपालिका–८ का भूपाल राई बताउँछन् । ‘किरातीले चुनाव हराउनुमा शेरधनको जनतासँगको सामीप्यता नहुनु, भड्किलो जीवन शैली, किरात प्रदेश नामांकनको पक्षमा नलाग्नु हो,’ राईले भने ।

पहाडमा विचार पनि अडिक नै भएर बसेकाले विचारप्रधान राजनीति कायमै रहेको राई बताउँछन् । किरातीमा जनयुद्धको भावना, संघीयता, समावेशी, गणतन्त्रजस्ता मूलभूत विशेषतालाई जोडदार उठाउन सक्ने क्षमता भएकाले शेरधनको हार भएको राईको भनाइ छ ।

ओखलढुंगामा एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवार गठबन्धनका उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडासँग हारे । २०७४ को चुनावमा खतिवडालाई करिब ५ हजार ३ सयको मतान्तरले हराएका सुनुवार यो चोटि ६ हजार ८ सय १८ मतले पछि परेका छन् । गठबन्धनकै कारण सुनुवारले हार बेहोर्नुपरेको एमाले ओखलढुंगाका अध्यक्ष शंकर कटवालको भनाइ छ । खतिवडाले ३३ हजार ५ सय ५६ र सुनुवारले २६ हजार ७ सय ३८ मत ल्याएका छन् ।


प्रकाशित : मंसिर १८, २०७९ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौंमा मिडिया र मनोरञ्जन क्षेत्रबारे छलफल

‘राउन्ड टेबल डिस्कसन अन एकेडेमिया इन्डस्ट्री एलायन्स इन मिडिया एन्ड इन्टरटेनमेन्ट सेक्टर’
कान्तिपुर संवाददाता

काठमाडौँ — मिडिया र मनोरञ्जन क्षेत्रका विषयमा दुई दिने छलफल तथा अन्तक्र्रियात्कम कार्यक्रम आयोजना भएको छ ।

एसबी सर्भिसेस, मिडिया इन्टरटेनमेन्ट स्किल काउन्सिल र पूर्वाञ्चल विश्वविद्यालयले गत बिहीबार र शुक्रबार राजधानी काठमाडौंको होटल एभरेस्टमा ‘राउन्ड टेबल डिस्कसन अन एकेडेमिया इन्डस्ट्री एलायन्स इन मिडिया एन्ड इन्टरटेनमेन्ट सेक्टर’ कार्यक्रम आयोजना गरेका हुन् ।
कार्यक्रममा विभिन्न विज्ञले नेपालको मिडिया र चलचित्र क्षेत्रको विकासका लागि गर्नुपर्ने कामहरुबारे चर्चा गरे । ‘नेपाल र भारत समान धर्म संस्कृति भएका देश रहेको उनले बताए । ‘हामी दुवै देशका भावना तथा कथालाई समेट्ने गरी काम गर्न सक्छौं । म यस पटक नेपाल आउँदा जति सोचेको थिएँ, त्योभन्दा उपलब्धि भएको महसुस गरेको छु,’ उनले भने ।
नेपाल र भारत दुवै संस्कृतिक रुपमा धनी भएकाले दुवै देशले मिलेर अघि बढ्न सके मिडिया र इन्टरटेनमेन्ट क्षेत्रमा धेरै अघि बढ्न सकिने मिडिया एन्ड इन्टरटेनमेन्ट स्किल काउन्सिलका सीईओ मोहित सोनीले बताए । यसका लागि आफ्ना तर्फबाट सक्दो सहयोग गर्न तयार भएको उनको भनाइ छ ।
शैक्षिक क्षेत्रबाट सञ्चार र मनोरञ्जन क्षेत्रमा धेरै प्रगति गर्न सकिने त्रिभुवन विश्वविद्यालयका इनोभेसन आईटी सेन्टर निर्देशक सुवर्ण शाक्यले बताए । ‘दक्ष जनशक्ति उत्पादन गर्न नेपालका विश्वविद्यालयसँग सहकार्य गर्न पनि सकिन्छ । यस क्षेत्रका सबै विज्ञ तथा उद्योगीहरूलाई विश्वविद्यालयहरूमा इन्क्युबेसन सेन्टर स्थापना गर्न म हरसम्भव प्रयास गर्छु । यसका लागि हामीलाई पीपीपी मोडल राम्रो हुन्छ,’ शाक्यले भने ।
आफूहरुले विद्यार्थी, कलेज, अनुसन्धानकर्ता र उद्योगहरूलाई प्रविधिमा जोड्न चाहेको आइएमएसके डट नेटका संस्थापक जय नरेशले बताए ।

प्रकाशित : मंसिर १८, २०७९ २०:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×