कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समानुपातिकमा सबै दललाई मत

लक्ष्मी गौतम

पाँचथर — पाँचथरका मतदाताबाट संगठनको स्वरूप र उम्मेदवार नै नभएका राजनीतिक दलले पनि भोट पाएका छन् । गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा सबै दलका चुनाव चिह्नमा मत जाहेर गरेको देखिएको छ ।

समानुपातिकमा सबै दललाई मत

प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपत्रमा रहेका ४७ र प्रदेशसभाका ३६ वटै राजनीतिक दलले मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले जानकारी दिए । ‘थोरै, धेरै जे जति भए पनि सबै दलका चुनाव चिह्नमा भोट दिएको पाइयो’, दाहालले भने ।

मुख्य निर्वाचन अधिकृतको सचिवालयले प्रकाशन गरेको समानुपातिकतर्फको अन्तिम परिणाममा कांग्रेस, एमाले, राप्रपा, माओवादी केन्द्र र राप्रपा नेपालसँगै जिल्लामा कुनै किसिमको उपस्थिति नदेखिएका दलका चुनाव चिह्नमा पनि भोट खसालेको भेटिएको हो । यहाँका दलहरूले न्यूनतम एकदेखि अधिकतम २६ हजारभन्दा धेरै भोट पाएका छन् ।

एक–एक भोट पाउनेमा नेकपा (माओवादी समाजवादी), मितेरी पार्टी नेपाल र तराई मधेस लोकतान्त्रिक पार्टी छन् । यस्तै नेपाल जनता पार्टी र नेपाल लोकतान्त्रिक पार्टीका चुनाव चिह्नमा २–२ मत परेको पाइएको छ । ३ मत प्राप्त गर्ने दल तीनवटा छन् भने एक सय भोट नकटाउने दलको संख्या ३४ छ । भर्खरै चर्चामा आएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ९ सय ४८ मत प्राप्त गरेको छ भने एमालेले २६ हजार ५ सय ९२ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा कांग्रेसले १९ हजार ४४, माओवादीलाई १२ हजार १ सय ६९ र एकीकृत समाजवादीले ३ हजार ३ सय ८७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नतिजामा उल्लेख छ ।

यसैगरी प्रदेशसभाको समानुपातिकतर्फ पनि पाँचथरका नागरिकले एमालेलाई नै पहिलो मत दिएका छन् । प्रदेशसभातर्फको समानुपातिकमा एमालेले २८ हजार २६, दोस्रो स्थानमा कांग्रेसलाई १९ हजार ८ सय ४७ र माओवादीलाई १० हजार ६ सय ८२ मत प्राप्त भएको छ ।

प्रकाशित : मंसिर १८, २०७९ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?