कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

स्याङ्जा-२ मा सुरुवाति अग्रता एमालेकी अर्याललाई

प्रतीक्षा काफ्ले

स्याङ्जा — मतदान भएको १० दिनपछि बुधबार रातिदेखि स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु गरिएको छ । निर्वाचन आयोगले मंसिर ४ को मतदानलाई सदर गर्दै बुधबार मतगणना गर्न निर्देशन दिएको थियो ।

स्याङ्जा-२ मा सुरुवाति अग्रता एमालेकी अर्याललाई

वालिङ नगरपालिकाको भवनमा भइरहेको मतगणनाको सरुवाति चरणमा एमाले सचिव पद्माकुमारी अर्यालले कांग्रेस उपसभापति धनराज गुरुङलाई उछिनेकी छिन् । पछिल्लो मतपरिणामअनुसार अर्यालले २६४८ मत ल्याउँदा गुरुङले २३७८ मत ल्याएका छन् ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चापाकोट नगरपालिकाअन्तर्गत कांग्रेसले ४ वटा बुथ कव्जा गरी मतदान गरेको आरोप नेकपा एमाले लगायतका राजनीतिक दलले लगाएपछि मतगणना रोकिएको थियो । बुथ कब्जा गरेर मृत्यु भएका र विदेशमा रहेका मतदाताको नाममा पनि मत खसालेको भन्दै सुरु भएको स्याङ्जा–२ को विवाद जिल्लास्तरबाट सुल्झन नसकेर आयोगमा पुगेको थियो । आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना गर्न आयोगले निर्देशन दिएको हो ।

स्याङ्जाको चापाकोट नगरपालिका–३ को दिसिङकोट आधारभूत विद्यालय, वडा ४ को राममन्दिर मावि, वडा ५ का जनसक्रिय आधारभूत विद्यालय र दिनदलायु आधारभूत विद्यालयका सबै मतदात केन्द्रमा कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गरेर फर्जी मत खसालेको एमालेको दाबी छ । यी बुथमा अस्वाभाविक मत खसेको र प्रहरी प्रशासन पनि मूकदर्शक बनेको एमालेलगायतका दलको आरोप थियो । अरु क्षेत्रमा औसतमा ६० प्रतिशत मत खसे पनि त्यहाँ ९८ प्रतिशतसम्म मत खसेको भन्दै एमाले उम्मेदवार पद्मा अर्याल, राष्ट्रिय स्वतन्त्र पाटीका टीकराज गुरुङ लगायतले मतदानका भोलीपल्ट (मंसिर ५ गते) आयोगसमक्ष निवदेन दिएर पुन: मतदानको माग राखेको थिए ।

विवाद चुलिँदै गएपछि लामोसमयसम्म मतगणना वा मतदान के हुने भन्ने अन्योल थियो । कांग्रेसले भने मतगणना सुरु गर्न माग गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको थियो । मंसिर ४ गते चापाकोट नगरपालिका–१ आंधीचौघेरास्थित भानु मावि मतदान केन्द्रमा कांग्रेस र एमालेका प्रतिनिधिबीच विवाद भएपछि प्रहरीले सुरक्षाका लागि भन्दै हवाइ फायरसमेत गरेको थियो । वालिङमा रहेको निर्वाचन अधिकृतको कार्यालयअघि एमाले र काँग्रेसका छुट्टाछुट्टै दवावमुलक आन्दोलन भएका थिए ।

यस्तै, कांग्रेसले चापाकोट नगरपालिका–१ को भानु मावि आँधीचौघेरा, गल्याङ नगरपालिका–७ मनहरिखर्कको मतदान केन्द्र, कालीगण्डकी गाउँपालिकाको अमरदीप मावि र कोटाकोट आधारभूत विद्यालय केन्द्रमा एमालेले बुथ कब्जा गरेको आरोप लगाएको थियो । स्याङ्जा दुईमा मुख्य प्रतिस्पर्धीका रुपमा कांग्रेसबाट केन्द्रीय उपसभापति धनराज गुरुङ, एमालेबाट केन्द्रीय सचिव पद्मा अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ रहेका छन् ।

प्रकाशित : मंसिर १५, २०७९ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?