कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
आमनिर्वाचन २०७९

काभ्रेबाट निर्वाचित पुरानै अनुहार

यसअघिका निर्वाचनमा हार व्यहोरेकाहरू पनि पुन: उम्मेदवार बन्दै निर्वाचित
नेपालमा नजितेसम्म र जिते पनि एकै व्यक्ति पटक–पटक दोहोरिन्छन्, यसमा सच्चिनु जरुरी छ : प्रचण्डराज प्रधान, वरिष्ठ अधिवक्ता
ज्योति श्रेष्ठ

काभ्रे — गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा काभ्रेका ६ वटै निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहोरिएका छन् । यहाँ प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ निर्वाचन क्षेत्र छन् । यसअघि भएका निर्वाचनमा हार व्यहोरेकाहरू पनि यस पटक निर्वाचित भएका छन् ।

काभ्रेबाट निर्वाचित पुरानै अनुहार

प्रतिनिधिसभातर्फ क्षेत्र–१ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङ तामाङ विजयी भए । २०६४ को संविधानसभा निवार्चनमा दोङ यही क्षेत्रबाट सभासद बनेका थिए । २०७० मा पनि उम्मेदवार बने तर हार व्यहोरे । अहिले दोङले एमालेका रेशम लामालाई ३ हजार ९ सय २८ मतान्तरले पराजित गरेका हुन् । दोङले ३४ हजार ५ सय १२ मत प्राप्त गर्दा लामाको पक्षमा ३० हजार ९ सय २८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र–२ बाट निर्वाचित एमालेका गोकुलप्रसाद बाँस्कोटा पनि पुरानै अनुहार हुन् । पूर्वसञ्चारमन्त्री बाँस्कोटाले कांग्रेस पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंभन्दा ५ हजार ८ सय ६३ बढी मत पाउँदै विजयी भएका हुन् । बाँस्कोटाले ४५ हजार ३ सय ४५ मत प्राप्त गर्दा हुमागाईंले ३९ हजार ४ सय ८२ मत पाए । २०७४ मा बाँस्कोटाले ५४ हजार ४ सय २७ मतसहित कांग्रेसका मधु आचार्यलाई हराएका थिए । २०७० मा साविकको क्षेत्र–३ मा उनले हार व्यहोरेका थिए ।

प्रदेशसभातर्फ पनि जित हात पार्ने सबै पुरानै नेता हुन् । क्षेत्र–१ (१) मा माओवादीका रत्नप्रसाद ढकालले एमालेका दिलबहादुर तामाङलाई पराजित गर्दै दोस्रो पटक प्रदेशसभा प्रवेश गर्ने भएका छन् । ढकाल गत निर्वाचनमा पनि यसै क्षेत्रबाट विजयी भएका थिए । हाल उनी वाग्मती प्रदेशका युवा तथा खेलकुदमन्त्री छन् । क्षेत्र–१ (२) मा एमालेका चन्द्र लामालाई ३ मतले हराउँदै कांग्रेसका तीर्थ लामा निर्वाचित भएका छन् । तीर्थले १९ हजार २ सय ८० मत प्राप्त गर्दा चन्द्रले १९ हजार २ सय ७७ मत पाएका छन् । लामा २०७० मा सभासद चयन भएका थिए । गत निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बने पनि उनी माओवादीका गंगाबहादुर तामाङसँग पराजित भएका थिए ।

प्रदेशकै अर्को क्षेत्र–२ (१) मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रहेका लक्ष्मण लम्साल दोस्रो पटक निर्वाचित भएका छन् । लम्सालले एमालेका कुमार खकुरेललाई १ सय ८८ मतले पछि पारे । गत निर्वाचनमा वाम गठबन्धनबाट एमालेका उम्मेदवार लम्सालले कांग्रेसका सुन्दरमणि आचार्यलाई ११ हजार ३२ मतान्तरले हराएका थिए । यसैगरी, क्षेत्र–२ (१) मा कांग्रेसका कञ्चनचन्द्र बादेले एमालेका कुमार थापालाई ४ हजार ७८ मतले पछि पार्दै विजयी भएका छन् । बादे पनि पहिलो पटक सांसद बनेका होइनन् । २०७० मा साबिक क्षेत्र–३ बाट उनी निर्वाचित भएका थिए । हाल क्षेत्र–२ बाट निर्वाचित एमालेका बाँस्कोटालाई उनले त्यसबेला पराजित गर्दै संविधानसभामा स्थान सुरक्षित गरेका थिए । गत निर्वाचनमा क्षेत्र–२ (२) मा उनी वाम गठबन्धनबाट एमालेका बसुन्धरा हुमागाईंसँग हार व्यहोरेका थिए ।

काभ्रेको राजनीतिबारे जानकार वरिष्ठ अधिवक्ता प्रचण्डराज प्रधान अन्य देशको तुलनामा नेपालमा मतदाता राजनीतिक रूपमा त्यति साक्षर नभइसकेको दाबी गरे । ‘अन्य विकसित मुलुकमा एक पटक चुनाव हारेका उम्मेदवारले फेरि अर्को चुनावमा उठ्न हुँदैन भन्ने मान्यता राखिन्छ, नेपालमा नजितेसम्म र जिते पनि एकै व्यक्ति पटक–पटक दोहोरिन्छन्,’ उनले भने, ‘जनताको मतको अपमान गर्नु हुँदैन, यसमा सच्चिनु जरुरी छ ।’

प्राध्यापक भोला केसी पटक–पटकका आन्दोलन र संघर्ष तथा निर्वाचनपछि जनताले मुलुकको मुहार परिवर्तन हुने ठूलो अपेक्षा राखे पनि सोअनुसार काम हुन नसकेको टिप्पणी गर्छन् । ‘संविधान बनेपछि आफ्ना अपेक्षाहरू पूरा होलान् भन्ने जनताको सोचले पनि मेल खाएन,’ उनले भने, ‘भौतिक विकास र परिवर्तन मात्र नभएर सर्वांगीण विकास हुनुपर्छ भन्ने मत राख्दै आए पनि पूरा भएका छैनन् । परिर्वतन र विकास नभएको होइन तर बहुआयमिक विकास हुनुपर्नेमा एकल आयमी मात्रै भएको छ ।’

निर्वाचित जनप्रतिनिधिले भौतिक विकासभन्दा पनि मानवीय विकासलाई जोड दिनुपर्ने सुझाउँछिन्, मानव अधिकारकर्मी रिता मानन्धर । उनका अनुसार मानवीय विकासका लागि चेतनाको अभाव छ, त्यसको पूर्ति हुनु आवश्यक छ । अर्की मानवअधिकारकर्मी गीता तिमिल्सना दाहालले निर्वाचित जनप्रतिनिधिले राजनीतिक आस्था र विचारलाई पन्छाएर समावेशी रूपमा विकासका काम गर्नुपर्ने जोड दिइन् ।

प्रकाशित : मंसिर १४, २०७९ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?