२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

तेस्रो पटकमा गच्छदारलाई हराउँदै भगवतीको संसद्‍ यात्रा

गच्छदारको ३० वर्षे अपराजित यात्रामा विराम
सुम्निमा चाम्लिङ

इटहरी — सुनसरी–३ बाट दुई पटकसम्म पराजय भोगेकी भगवती चौधरी तेस्रोपटक ऐतिहासिक जित निकाल्न सफल भएकी छन् । अपराजित यात्रामा रहेका नेपाली कांग्रेसका उम्मेदवार तथा पाँच पटकसम्म उपप्रधानमन्त्री भइसकेका विजयकुमार गच्छदारलाई पराजित गर्दै चौधरी विजयी भएकी हुन् ।

तेस्रो पटकमा गच्छदारलाई हराउँदै भगवतीको संसद्‍ यात्रा

उनको पहिलो संसदीय निर्वाचनको जितसँगै सुनसरीबाट प्रत्यक्ष प्रतिनिधिसभा जित्ने एक्ली थारु महिला बनेकी छन् । भगवतीलाई हराएर इतिहास रच्ने दाउमा रहेका गच्छदारको प्रयास यसपटक भने असफल रह्यो । दोस्रो संविधानसभा ०७० र ०७४ को प्रतिनिधिसभा निर्वाचनमा गच्छदार विरुद्ध लडेकी उनले यसपटक भने बाजी मारिन् ।

गच्छदार सुनसरी ३ बाट ०४८, ०५१ र ०५६ मा नेपाली कांग्रेसबाट विजय भएका थिए । राजनीति यात्रामा तीन दशकदेखि जित्दै आएका गच्छदार यस पटक पनि विजयको खोजीमा सुनसरी आएका थिए । तर भगवतीले यसपटक गच्छदारलाई सहज रुपमा पराजित गरिन् । अधिकांश समय राजधानीमा बस्दै आएका गच्छदार चुनाव जित्न कठिन हुने संकेत पाएपछि पछिल्लो समय निकै सक्रिय बनेका थिए ।

भगवतीलाई ०७० मा ३ सय ६४ र ०७४ को चुनावमा ३ सय २१ को झिनो मतान्तरले कठिन जित निकाल्न सफल बनेका विजय यसपटक भने संसद प्रवेश गर्नबाट बञ्चित बने । अघिल्लो चुनावमा चौधरीले गच्छदार विरुद्ध धाँधलीको आरोप लगाउँदै पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् । तर उक्त मुद्दामा आजसम्म पेसीसमेत चढेन । भगवतीले गच्छदार सत्तामा रहेको कारण उक्त मुद्दामा अदालतले न्याय दिन नसकेको भन्दै आएकी थिइन् ।

उनले इटहरी–११ को थारु बस्तीमा भएको पहिलो चुनावीसभामा अदालतले न्याय दिन नसके पनि जनताले न्याय गर्ने कान्तिपुरलाई बताएकी थिइन् । उनले भनेझै यसपटक जनताले भारी मत दिँदै भगवतीलाई संसदमा पठाएका छन् ।

गच्छदारले भने तीन दशकयता सरकारमा रहे पनि आफ्नो पुरानो विरासत जोगाउन सकेनन् । पटकपटक जिते पनि अपेक्षा अनुरुप जनताको समस्या सम्बोधन गर्न नसक्दा गच्छदारको नतिजा उल्टो आएको स्थानीय अगुवाहरू बताउँछन् ।

को हुन् भगवती चौधरी ?

पूर्वको राजनीतिमा भगवती चौधरी परिचित अनुहार हो । महिला नेतृहरुको स्थानमा उनको नाम अग्रस्थानमा छ । सुनसरीको गढी गाउँपालिका औरावनीमा जन्मिएकी ५१ वर्षीया उनी साहसी नेतृको रुपमा परिचित छिन् ।

पारिवारिक पृष्ठभूमि समेत राजनीति र सामाजिक क्षेत्रमा रहेकोे कारण उनमा सानैदेखि समाजसेवा गर्ने रुची थियो । २०५१ सालदेखि ग्रामीण महिला उत्सकुता विकास मञ्च संस्था स्थापना गरी स्थानीय महिलाहरुको हितमा शिक्षा, स्वास्थ्य, आर्थिक र कानुनी शिक्षा सचेतना फैलाउँदै आएकी थिइन्। २०५९ देखि फरवार्ड लघुवित्त स्थापना गरी महिलाहरुको आर्थिक विकासमा जोड दिँदै आएकी छिन् ।

उनी २०४८ मा नेकपा एमालेको पार्टी सदस्यता लिँदै राजनीतिमा प्रवेश गरेकी थिइन् । महिलाको क्षेत्रमा काम गर्दै आएकी उनी २०५८ देखि सक्रिय राजनीतिमा लागिन् । ०६४ मा नेकपा एमाले सुनसरी सदस्य हुँदै २०७० मा कोसी अञ्चल कमिटी सदस्य बनिन् । नेकपा एमालेको नवौं र दसौं महाधिवेशनबाट केन्द्रीय सदस्य तथा श्रम तथा स्वरोजगार केन्द्रीय विभागको उपप्रमुख बनेकी छन् । हाल उनी सुनसरी सहइन्चार्ज हुन् ।

२०६८ मा करिब ६ महिना वन तथा भू–संरक्षण राज्यमन्त्री रहिन् । ०६४ मा संविधानसभा सदस्यमा मनोनित भइन् । समाजशास्त्र तथा व्यवस्थापन संकायमा स्नातकोत्तर पूरा गरेकी उनी हाल इलेक्ट्रोल सिस्टम डेमोक्रेसीमा विद्यावारिधि गर्दैछिन् ।पुरुषको तुलनामा महिलालाई राजनीतिक क्षेत्रमा निकै संघर्ष गर्नुपर्ने उनको अनुभव छ । उनले भनिन्, ‘महिलालाई राजनीतिमा पहाड जत्तिकै चुनौती छ, उच्च ओहदामा बसेर काम गरिसकेको उम्मेदवारसँग लड्दा थप चुनौती छ ।’

प्रकाशित : मंसिर १३, २०७९ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?